१२ जेठ २०८१, शनिवार

झापा विद्रोहमा कम थिएन महिलाको योगदान

२१ फागुन २०८०, सोमवार
Image

झापा, २१ फागुन । इतिहासमा उथलपुथल ल्याउने झापा विद्रोहको अग्रदस्तामा पुरुषहरुको नाम देखिए तापनि त्यसलाई सफल बनाउन क्रान्तिकारी जोशका साथ प्रत्यक्ष र अप्रत्यक्ष संलग्न महिलाहरुको चर्चा भने ज्यादै थोरै हुने गरेको छ । 

आजसम्म विद्रोहका बारेमा लेखिएका किताब र लेखहरुमा पनि महिलाको भूमिकाका बारेमा त्यति उल्लेख गरेको पाइँदैन । वास्तवमा झापा विद्रोहमा महिलाको योगदान पुरुषको भन्दा कम नरहेको नेकपा एमालेकी केन्द्रीय सदस्य मेनुका काफ्ले बताउनुहुन्छ ।

उहाँका अनुसार लीला कट्टेल, सीता खड्का, गौरा प्रसाई, जीवन घिमिरे, रीता खड्का जस्ता वीरांगानाहरु विद्रोह सुरु हुनु अघि नै क्रान्तिको तयारीका लागि भूमिगत भइसकेका थिए । क्रान्तिकालमा सुरक्षित सेल्टर दिने र राज्यको दमन खेप्ने महिलाहरुको साहसिक कथाको अझै खोजी हुन नसकेको उहाँको कथन छ । 

लीला कट्टेल त कोअर्डिनेसन केन्द्र (कोके) झापाकै कार्य समिति सदस्य हुनुभएको विभिन्न दस्तावेजहरुले देखाउँछ । सीता र गौरा उमेरका हिसाबले कलिलै भएकाले उनीहरु बालसेना (रेडगार्ड)मा आवद्ध भएर पार्टीले अह्राएका गतिविधि गरेको पार्टीको दस्तावेजमा उल्लेख छ । 

झापा विद्रोहमा योगदान पुर्याउने महिलाहरुमा एकथरि कलिलो उमेरका विद्यार्थी थिए भने अर्काथरि श्रीमान राजनीतिमा लागेपछि क्रान्तिकारी विचारबाट प्रभावित भएका पत्नीहरु थिए । यसबाहेक शिक्षकको रुपमा काम गरिरहेका सचेत महिला र किसान महिलाहरु क्रान्तिमा होमिएको नेकपा एमाले सल्लाहकार परिषद सदस्य विष्णु प्रसाई बताउनुहुन्छ ।

सामन्ती सोच र निरंकुश शासन भएको समाजमा महिलाले कम्युनिस्ट बनेर विद्रोहको राँको बोकेर हिँड्नु आफैमा क्रान्तिकारी रहेको एमाले नेतृ लत्ता प्रसाईको भनाई छ । पुलिसको निगरानी छल्दै सेल्टरमा दुःखपूर्वक दिनरात बिताउनु र पार्टीको गतिविधिमा सामेल हुने क्रममा महिलाहरुले भोगेका एक एक सास्तीहरु कथा बन्न सक्ने उहाँ बताउनुहुन्छ ।

झापा विद्रोहका योद्धाहरुलाई खाना खुवाउने, सेल्टर दिने र उनीहरुको सन्देश गाउँहरुमा फिजाउने कार्यमा थुप्रै विद्यार्थी र पाका महिलाहरु सहभागी थिए । जीवन घिमिरे, विश्वश्वरा दाहाल, जानुका दाहाल, इन्दिरा चापागाई, छायाँदेवी चापागाई, नीरा प्रसाई खरेल, रीता खड्का चौधरी, लक्ष्मी ढकाल लगायतका नेताहरु झापा विद्रोहमा सामेल भएका थिए । 

नेपालमा महिलाको योगदान जहिल्यै ओझेल पर्ने गरेको छ । आन्दोलनको बिगुल फुक्नु पर्दा र कठिन घडीहरुमा महिलालाई अघि सार्ने गरेको देखिन्छ । “नारा र दस्तावेजहरुमा पनि महिला अधिकार र हितका कुरा धेरै पाइन्छन्” एमाले केन्द्रीय सदस्य काफ्ले भन्नुहुन्छ, “जब आन्दोलनले सफलता पाउँछ, पद र अवसर वितरणका बेला महिलाहरुलाई बिर्सने गरिन्छ । घोषणा पत्र र नाराहरु भुल्ने गरिन्छ ।”

झापा विद्रोहमा पनि महिलाले जुन त्याग, संघर्ष र बलिदानी भावना प्रकट गरेका थिए, त्यसको उचित खोजी र सम्मान आज पनि हुन नसकेको महिलाहरुको गुनासो छ ।

झापा विद्रोह मात्र होइन, त्यसपछि भएका २०४६ र २०६२ सालको जनान्दोलन, दशवर्षे जनयुद्ध लगायतका विभिन्न आन्दोलनमा महिलाले अग्रणी भूमिका निर्वाह गरेका थिए । जनयुद्धमा महिलाले बन्दुक बोकेर युद्धमैदानको कमान्ड समेत सम्हालेका थिए । तर, आन्दोलनपछि आएको राजनीतिक परिवर्तनमा महिलाले उचित सम्मान र अवसर पाउन सकेको नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य लक्ष्मी न्यौपाने बताउनुहुन्छ ।

झापा विद्रोहमा जेल परेका पाँच योद्धा रामनाथ दाहाल, नेत्र घिमिरे, बीरेन राजबंशी, कृष्ण कुइँकेल र नारायण श्रेष्ठलाई २०२९ फागुन २१ गते साँझपख झापा र इलामको सीमानास्थित सुखानी जंगलमा गोली हानेर हत्या गरिएको थियो । 

त्यसको १७ वर्षपछि जनान्दोलनको बलमा मुलुकमा प्रजातन्त्र वहाली भयो । प्रजातन्त्र बहाली भएको २६ वर्षपछि (२०७२ फागुन १९ गते) मात्र राज्यले सुखानीमा जीवनको आहुती दिएका ती पाँच योद्धालाई सहिदको रुपमा चिन्यो ।

सुखानी हत्याकाण्ड भएको सहादतस्थलमा पाँच विद्रोहीको सालिकसहित अग्लो स्मारक निर्माण गरिएको छ । सालिक राखिनु अघि त्यहाँ पाँच वटा रुखको फेदमा फलामको बेराभित्र सिमेन्टको सानो स्मारक मात्र थियो । झापा विद्रोहलाई सम्झिएर विद्रोहीहरुप्रति श्रद्धासुमन अर्पण गर्न त्यहाँ वर्षेनी हजारौं मानिस जान्छन् । फागुन २१ गते विभिन्न कम्युनिस्ट पार्टीले श्रद्धाञ्जलि कार्यक्रमको आयोजना गर्दै आएको नेकपा एमाले प्रदेश कमिटी सदस्य गणेश पोखरेलले बताउनुभयो ।

तस्वीर ः सन्धान मिडियाबाट लिइएको हो ।


लेखकको बारेमा
Image
अम्बिका भण्डारी
अम्बिका भण्डारी  राष्ट्रिय समाचार समितिको समाचारदाता समेत हुनुहुन्छ ।