७ जेठ २०८१, सोमवार

बैंकमा ढुंगा हान्ने महाअभियानका चार कार्यकर्ता पक्राउ

२७ वैशाख २०८१, बिहिवार
Image

विर्तामोड, २७ बैशाख । विर्तामोडको दुई वटा बैंकमा ढुंगा हानेको आरोपमा मेडिकल व्यवसायी दुर्गा प्रसाई नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका चार कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरु विर्तामोड–३ का २७ वर्षीय मनकुमार तामाङ, बुद्धशान्ति–४ का १६ वर्षीय दिपेश राई, विर्तामोड–४ का १८ वर्षीय पवन दुलाल र विर्तामोड–५ का ३४ वर्षीय अन्जेश राई रहेका छन् ।

उनीहरु प्रसाईको नेतृत्वमा रहेको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानको युवा संगठन नागरिक युवा दस्ताका कार्यकर्ता रहेको प्रहरीले जनाएको छ । 

आज दिउँसो दस्ताले विर्तामोडको सिटी सेन्टरबाट बैंक तथा वित्तीय संस्थाको ज्यादतिविरुद्ध भन्दै र्याली निकालेको थियो । र्यालीको अगुवाई दस्ताका जिल्ला संयोजक भीम तुम्बाहाम्फेले गरेका थिए ।

र्याली सुरु हुनासाथ र्यालीका सहभागीले विर्तामोड–५ स्थित एभरेस्ट बैंक र ज्योति बिकास बैंकको कार्यालयमा ढुंगा हानेका थिए । ढुंगा हान्ने चार जनालाई प्रहरीले तत्कालै नियन्त्रणमा लिएको थियो ।

पक्राउ गरिएका चारै जना इप्रका अनारमनीमा छन् । ढुंगा लागेर दुबै बैंकको भवनका सिसा दुलो परेका छन् ।