६ पुष २०८१, शनिवार

राजनीतिमा लागेर मैले के पाएँ ?

२ मंसिर २०८१, आइतवार
Image

राजनीति गर्नु सम्मानको कुरा हो । सारमा भन्दा राजनीति गर्ने मानिसले समुदायको, समाजको, देशको अर्थात आपूmबाहेक अरुको हितमा काम गर्नु हो । सबैको हित भित्र आफ्नो पनि हित हुन्छ भन्ने विस्वास गर्नु हो । राजनीतिको माध्ययमबाट गरिने समाज सेवा, देश सेवा सबैभन्दा उत्तम सेवा हो । देश सेवाका सबै नीति राजनीतिको मातहत हुन्छन् । त्यसैले राजनीतिलाई नीतिहरुको माउ नीति भनेको । 

राजनीतिमा मानिस कसरी आकर्शित हुन्छन्, के कारणले मानिसलाई राजनीतिले आकर्षण गर्छ ? सबैको कारण एउटै हुन्छ भन्ने छैन । म राजनीति बुझेर राजनीतिमा लागेको थिइन । कसैले फकाएर राजनीतिमा लगेको पनि होइन । राजनीतिमा लागे पछि यो यो फाइदा हुन्छ भनेर कसैले भनेको थिएन । म आफ्नो खुसीले राजनीतिमा जोडिएको हुँ । राजनीतिमा जोडिन परिवारको बिरासत, स्कुल कलेजको प्रभाव, अग्रजको सुझाव, नातेदार आदिको पनि प्रभाव हुने गर्छ । मेरो हकमा यी मध्ये कुनै थिएनन् । 

म कलिलो उमेरमै समाजमा हुने कतिपय घटनामा आफ्नो दृष्टिकोण राख्थें । बोल्थें, सकेको सहयोग गर्थें । मन नपरेको कुरामा दृणतापूर्वक बिरोध गर्थें । गाउँसमाजका पनि ‘ठूला’ भनिने कतिपय मानिसको कुरा काटेको सम्झना छ । 

२०४०।४१ सालतिरको कुरा हुनुपर्छ । एकजना नचिनेको मानिस आउनु भयो । म त्यो समयमा काकरभिट्टामा जनसेवा नामको लज चलाउथें । त्यही लजमा मलाई वहाँले भेट्नु भयो । अलिअलि बुझिने र धेरै नबुझिने कुरा गर्नुभयो । वहाँको व्यवहार, कुरा गर्ने तरिका, मलाई दिएको महत्व र गरेको आदरसम्मान मन प¥यो । म वहाँको साथि भएँ । पटकपटक भेट गर्न थाल्नुभयो । धेरै पछि थाहा पाएँ म तत्कालिन नेकपा माले पार्टीको सम्पर्कमा पुगेको रहेछु । त्यसपछि वहाँले देखाएको बाटोमा यात्रा शुरु भयो । वहाँ हुनुहुन्थ्यो कमरेड देबकुमार आचार्य तत्काल चिन्दा डि. कौडिन्य भनेर चिनियो । त्यसपछि केही भूमिगत बैठक, प्रशिक्षणमा सहभागि हुन थालें । 

२०४३ सालमा हुन लागेको पञ्चायती चुनावमा मलाई पार्टीले तत्कालिन काकरभिट्टा गाउँ पञ्चायतमा जनपक्षिय प्रधानपञ्चको उम्मेद्वार बनाउने चर्चा चलेको थियो । मैले मानिन अर्थात आँट गरिन, मलाई प्रधानपञ्चको जिम्मेवारी पुरा गर्न सक्छु जस्तो लागेन । दाजु कृष्णप्रसाद उप्रेती चुनावमा प्रधानपञ्चको उम्मेद्वार बन्न चाहनु हुन्थ्यो । वहाँलाई नै समर्थन गर्ने निर्णय पार्टीले गरेको रहेछ । त्यो चुनावमा म युवक सङ्गठनको सभापतिमा चुनाव लडें । चुनाव जितें ।

प्रधानपञ्चमा पार्टीका उम्मेद्वार कृष्णप्रसाद उप्रेतीलाई जिताउन प्रयास गरे पनि सफल भइएन । ससी खतिवडा (दर्जी)ले चुनाव जित्नुभयो । म ससी खतिवडाको नेतृत्वमा बनेको काकरभिट्टा गाउँ पञ्चायतको बोर्डको सदस्य बन्न पुगें । त्यो बोर्डमा ससीले राखेको प्रस्तावमा कसैले बिरोध गर्ने आँट गर्दैनथे । म अलि बढी छलफलमा भागलिने, सोध्ने, मन परेको कुरामा सहमत जनाउने र मन नपरेको कुरामा फरक मत राख्ने गर्थें । एक पटक त फरक मत दर्ज नै गर्नुपर्ने अवस्था भयो । विषय थियो तत्कालिन रानी ऐश्वर्यले नेतृत्व गरेको सामाजिक परिषदमा आर्थिक सहयोग गर्ने । प्रधानपञ्च ससी खतिवडाको यस्तो सहयोग गरेर राजपरिवारको नजिकमा भएको देखाउन र देखिन चाहने मनसाय थियो । यस्तो चलन थियो । प्रधापञ्चले फरक मत नलेख्नु बरु अर्को बैठकमा छलफल गरुँ भने । मैले मानें । यति बेलासम्ममा मेरो पहिचान ससीलाई चुनौति दिने मानिस हो भनेर बनेको थियो । मलाई नदेख्नेहरुले पनि मलाई सुनेका हुँदा रहेछन् । भेट र परिचय हुँदा निकै हार्दिकताका साथ कुरा गर्थे, सम्मान गर्ने । 

२०४५ सालमा जनपक्षिय जनप्रतिनिधिहरुको सङ्गठन ‘जनपक्षिय मञ्च–झापा’ बन्यो । यसको तारतम्य डि. कौडिन्यले नै गर्नु भएको थियो । यसमा मसहित झापाका जनपक्षिय भनेर चुनाव जितेका धेरै जनप्रतिनिधि पक्राउ प¥यौं । यसै क्रममा म दुई वर्ष जेल जीवन बिताउन पुगें । 

अचानक गिरफ्तार भएर जेल जीवन बिताउन वाध्य हुनुपर्दा व्यक्तिगत जीवन  पारिवारिक जीवनमा निकै क्षति त भयो तर मेरो पहिचान त्यहीबेला निकै विस्तार भयो । राजनीतिमा जोडिएपछि राजनीति, समाज, इतिहास, धर्म, समाजको विकास, अर्थनीति, पार्टीको लक्ष, दुनियामा भएका पार्टीहरुको संक्षिप्त अवस्था, नेपालमा गठन भएका पार्टीको इतिहास, दर्शन, मान्यता आदिका बारेमा धेरै कुरा बुझ्ने अवसर पाएँ । यो सिकाई औपचारिक थिएन तर धेरै कुरा सिक्ने अवसर राजनीतिमा लागेकाले पाएको थिएँ । 

पञ्चायतको अन्त्य पछि २०४७ सालमा जेलबाट मुक्त भएर घर पर्कियौं । त्यसपछि पार्टीका विभिन्न जिम्मेवारीमा बसेर काम गर्ने अवसर प्राप्त भयो । पार्टीको गाउँ कमिटी, इलाका कमिटी, जिल्ला कमिटीमा बसेर करिव बिस वर्ष काम गरें । १२ वर्ष त नेकपा एमाले झापा जिल्ला कमिटीको विभिन्न जिम्मेवारीमा बसेर काम गरें । बहुदलिय व्यवस्था स्थापना पछिका स्थानिय र संसदिय चुनावमा सक्रिय सहभागि भएर पार्टीका उम्मेद्वारलाई जिताउन प्रयास गरियो । कति सफल भईयो र कति असफल भयो । यो स्वभाविक थियो । ६२।६३को आन्दोलन, दुईदुई पटकको संविधानसभाको चुनावमा सकृयता पूर्वक लागियो ।

पार्टीमा काम गरिरहदा सामाजिक, राजनीतिक चरित्र र द्वन्द, समाजका विभिन्न अवस्था, राज्यको चरित्र, नेता र कार्यकर्ताको सम्वन्ध, जनताको इच्छा चाहना, विकासको अवस्था र प्रयास आदिका बारेमा जान्ने अवसर प्राप्त भयो । म पाटीका जिम्मेवारीमा हुँदा प्रशिक्षण लिने र प्रशिक्षण दिने काम निकै भयो । प्रशिक्षण दिन पढनु जान्नु पथ्र्यो । मैले बिभिन्न माध्यामबाट सिक्न प्रयास गरिरहें । यो सिकाईले मेरा क्षमताको विकास भयो । यो जान्ने अवसरसँगै समाजका धेरै मानिसका बिचमा पहिचान पुग्यो । भिन्न राजनीतिक दलका मानिस र नेतासँग पनि हेलमेल, नोकझोक भयो । यसले पनि केही सिकायो । आपूm आवद्ध पार्टीसँग सम्वद्ध समर्थक, कार्यकर्ता, नेतासँग बाक्लै उठबस भयो । विचार आदान–प्रदानका अनेकन अवसर प्राप्त भयो । यसले मेरो पहिचानमा विस्तार हुन पुग्यो । मेरो क्षमतामा बृद्धि भयो । आज मसँग समाज, राजनीति, अर्थनीति आदिको जुन चेत छ त्यसका लागि राजनीतिको गहिरो योगदान छ । त्यसैगरी मेरो पहिलो सामाजिक छवि र परिचय राजनीतिबाट बनेको हो । यो मैले राजनीतिमा लागेको कारण नै पाएको हो । यसमा मलाई गर्व छ । 

कतिपय मानिसको बुझाईमा राजनीतिमा लाग्नुको सफलता राजनीतिका लाभका पद प्राप्त गर्नु हो भन्ने छ । जहाँसम्म मैले कुनै राजनीतिक लाभको पद प्राप्त गरिन वा गर्न सकिन भन्ने छ त्यसमा मेरो बुझाई नै फरक छ । राजनीतिमा लाभको पद भन्ने हुदैन । कुनै राजकिय पद भनेको लाभको पद नभएर काम गर्नका लागि दिएको जिम्मेवारी हो । यस्तो जिम्मेवारी पाउन मैले अहिलेसम्म कुनै मेहनत गरिन । पार्टीका बैठकहरुमा एकदुई पटक यदि पार्टीले यो जिम्मेवारीका लागि मलाई उपयुक्त ठान्छ भने म तयार छु भनें । तर जिरह गरिन । मैले यसलाई प्राथमिकतामा राखिन । त्यसैले पार्टी भित्रका गुटउपगुटको सन्तुलन मिलाउन र नेता रिझाउन लागिन । जसले बढी नै चाहना राख्नु भएको छ वहाँले राम्रो गर्नु होला, जिम्मेवारी पुरा गर्नु होला भन्ने विस्वास गरियो । यस्तो विस्वास कति पटक अविस्वासमा परिणत भएको छ । समाजमा यस्तो पनि हुन्छ, राम्रो र नराम्रो, ठीक र बेठिक सँगसगै हिँडछ । कहिले बेठिक अगाडि देखिन्छ भन्ने मान्यता राख्छु । धेरै निरास छुइन । जति राम्रो हुनुपर्ने हो त्यति राम्रो हुन नसके पनि पहिलाकोभन्दा राम्रो हुदैछ भन्नेमा विस्वास गर्छु । 

म राजनीतिमा लाग्दा नेपालमा पञ्चायती व्यवस्था थियो । राजाको निरङ्कुस शासन व्यवस्था थियो । बन्द समाज थियो । खुलारुपमा बोल्ने, लेख्ने, सङ्गठन गर्ने, पार्टी खोल्ने, राजनीतिका कुरा गर्ने, शासकको विरोध गर्ने, शासनमा देखिएको कमजोरीको आलोचना गर्ने अवस्था थिएन । बिरोध गर्नेहरु, स्वतन्त्रता चाहिन्छ भन्नेहरु, सङ्ठन गर्न पाउनु पर्छ भन्नेहरु जेलमा हुन्थे । त्यसको शिकार म आपैm पनि हुँ । गीत, कविता, कथा, उपन्यास, निवन्ध लेखेर पुस्तक छपाउन, गीत गाउन, सिनेमा बनाउन, दरवारको स्विकृति चाहिन्थ्यो । त्यो बेला प्रकाशित हुने सिमित पत्रपत्रिकामा छापिएका समाचारले सरकारको सेन्सर पार गरेर मात्र छापिन पाउथे । दरवार र पञ्चायतको विरोधमा कुनै कुरा गर्न, लेख्न, भन्न, सुन्न, सुनाउन पाइदैन थियो । गोरखा पत्र, रेडियो नेपाल र नेपाल टेलिभिजनले जे भन्छ त्यही समाचार हो । त्यसैलाई पत्याउनु पथ्र्यो । विदेश जान चाहनेले स्थानिय प्रहरीबाट असल चालचलन भएको भनेर सिफारिस लिनुृ पथ्र्यो । त्यसको अर्थ राजा र पञ्चायतको समर्थकले मात्रै यस्तो सिफारिस पाउथे । यस्तो सिफारिस पछि पनि गृह मन्त्रालयको विवेकमा वा अनुमतिमा मात्रै पासपोर्ट बनाउन पाउथे । 

मानिसको आर्थिक पहुँचको सिमा कस्तो थियो भन्ने सानो मेरै उदाहरण दिउँ । काकरभिट्टामा मैले पसल गर्ने मेरो घरको भूइँ ढलाई गर्न १० बोरा सिमण्ट चाहिएको थियो । बजारमा सिमण्टको अभाव थियो । तत्कालिन अञ्चलाधिसको सिफारिसमा मात्रै सिमेण्ट पाइन्थ्यो । म दुई दिन चन्दगडी धाएँ तर सिफारिस पाउन सकिन । देशकै स्वास्थ सेवा र पहुँचको अवस्था कस्तो थियो भनेर बुझ्न अग्रणी झापा जिल्लाको स्वास्थ सेवाको अवस्था हेरे पुग्छ । पचास, पचपन्न सालसम्म जन्मेका धेरै बच्चाहरु कि त घरमा जन्मेका छन् कि त भारतको नक्सलबाडीमा जन्मिएका छन् । अरु धेरै कुरा यही अनुसारका थिए । 

त्यस्तो बेलामा म राजनीतिमा लागेको हुँ । यो अवस्था परिवर्तन गर्न लागेको हुँ । अवस्था परिवर्तन गर्न पहिला व्यवस्था परिवर्तन गर्नु पर्छ भनेर लाग्यौं । विगतलाई फर्केर हेर्दा केही नभएको होइन । यति हो अभैm धेरै गर्न सकिने अवस्था थियो । त्यो गर्न बाकि छ । 

मलाई लाग्छ राजनीतिमा मेरोभन्दा धेरै योगदान गरेका, जीवन दिएका, लोमो समय जेल बसेका, घरवार, श्रीसम्पति सर्वस्व भएका धेरै छन् । तिनको तुलनामा मैले निकै थोरै योगदान गरेको हुँ । लामो र ठूलो योगदान गर्ने धेरैले अहिलेको परिवर्तन देख्दै नदेखी धर्ती छाड्न पुगे । गुमेको परिवार र धन फेरी जोडन सकेनन् । मैले त सानो योगदान गरेर पनि यो परिवर्तनको महशुस आफ्नै जीवनकालमा देखेको छु, भोगेको छु । सम्झिदा मलाई गर्व लाग्छ यो परिवर्तनका लागि मैले पनि योगदान गर्न पाएँ भनेर । यो अवसर समयले दिएको थियो । सबैलाई सधै आउदैन । म राजनीतिमा नलागेको भए पनि यो अवस्था आउने थियो । मेरै योगदानले मात्रै यसमा तात्विक प्रभाव पर्दैन थियो । जसले यो परिवर्तनमा योगदान गरेनन् उनीहरुले पनि यो उपलव्धिको उपभोग गरिरहेका छन् । तर म र मजस्ता धेरैले परिवर्तमा योगदान गरेकोमा जुन गर्व गर्न पाएका छौं त्यो सबैले गर्न सक्दैनन् । त्यसैले म भन्छु राजनीतिमा लागेर मैले धेरै पाएको छु । 

लामो सङ्घर्ष पछि प्रजातन्त्र, लोकतन्त्र हुदै गणतन्त्र प्राप्त भएको छ । हामी सबैले आ–आफ्नो जिम्मेवारी ठिकठिक ढङ्गले पुरा गर्ने हो भने देश समृद्ध र देशबासी सुखी हुन लामो समय लाग्दैन । अहिलेको समस्या हामी आफ्नो जिम्माको काम राम्ररी सम्पन्न गर्दैनौ तर देश बनेन भनेर अरुलाई दोष दिन्छौं । यसको कारण ठिक मानिस ठिक ठाउँमा नभएर हो । यसमा सुधार गर्ने अभियान चलाउँ । आफ्नो जिम्मेवारी पुरा गर्दै जाउँ । देश बन्छ । 

लेखकको बारेमा
Image
रामचन्द्र उप्रेती

(लेखक नेपाल बहुउद्देश्यीय सहकारी संस्थाका संस्थापक अध्यक्ष हुनुहुन्छ ।)