झापा, ८ मङ्सिर । राष्ट्रिय चिकित्सा शिक्षा आयोगबाट स्वीकृति प्राप्त झापाको बीएन्डसी मेडिकल कलेजले चिकित्सा शास्त्र अन्तर्गत एमबीबीएस (स्नातक तह)को पठनपाठनको तयारी पूरा गरेको छ ।
सर्वोच्च अदालतले वि.सं. २०८० चैत्र १३ गते बीएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिनका लागि परमादेश जारी गरेको थियो । सोही परमादेशका आधारमा काठमाडौं युनिभर्सिटीले सम्बन्धन प्रदान गरेको हो ।
चिकित्सा शिक्षा आयोगले चालू शैक्षिक सत्रका लागि बीएन्डसीलाई ५० जना विद्यार्थी पढाउन पाउने सिट निर्धारण गरेको थियो । हाल नियमानुसार नै विद्यार्थी भर्ना चलिरहेको कलेजका जनसम्पर्क अधिकृत प्रमिश गिरीले बताउनुभयो ।
पहिलो वर्षमा ५० जना विद्यार्थीलाई अध्यापन गराउन कलेजले आवश्यक जनशक्ति, भौतिक पूर्वाधार र शैक्षिक सामग्रीहरुको व्यवस्था गरिसकेको बताउनुभयो ।
कलेजले मेचीनगर नगरपालिका वडा नं. १२ धाइजनमा विद्यार्थीलाई पठनपाठन गराउन सकिने गरी पाँच तले बेसिक साइन्स ब्लकलाई चिटिक्क पारेर सजाएको छ भने क्लिनिकल साइन्स अध्यापनका लागि विर्तामोड नगरपालिका वडा नं. ५ स्थित बीएन्डसी हस्पिटलमा व्यवस्था मिलाइएको उहाँले जानकारी दिनुभयो ।
“एमबीबीएस पठनपाठनका लागि धेरै वर्षअघिदेखि हामी तयारी अवस्थामा थियौं,” उहाँले भन्नुभयो–“धाइजनमा सुविधासम्पन्न साइन्स ब्लक छ । प्राक्टिसका लागि विद्यार्थीहरुले बीएन्डसीको आधुनिक हस्पिटल नै उपयोग गर्न पाउनेछन् ।”
कलेजले पठनपाठनको नेतृत्व गर्नका लागि प्रा.डा. उमेश शर्मालाई प्रिन्सिपल नियुक्त गरेको छ भने प्रा.डा. पवनकुमार लालदासलाई बेसिक साइन्स ब्लकको कोअर्डिनेटरको जिम्मेवारी प्रदान गरेको जनसम्पर्क अधिकृत गिरीले बताउनुभयो ।
हस्पिटलबाट आठ किलोमिटर पूर्वमा निर्मित बेसिक साइन्स भवनमा १५० जना विद्यार्थीलाई सहज रुपमा पठनपाठन गराउने सक्ने क्षमता रहेको कोअर्डिनेटर प्रा.डा. लालदासले जानकारी दिनुभयो ।
“शान्त र सुविधासम्पन्न छ पढाउने भवन,” उहाँले भन्नुभयो–“बेसिक साइन्स भवनमा पाँच तला छन् । दुई वटा ठूला सेमिनार हल छन् । सात वटा डिपार्टमेन्टका अलग अलग कक्षा कोठाहरु छन् । अत्याधुनिक प्रयोगशाला र पुस्तकालय तयार छ ।”
काठमाडौं युनिभर्सिटीको सेमिस्टार प्रणालीमा एमबीबीएसको पठनपाठन हुने र यसपाली भर्ना भएकाहरुले दुई वर्षसम्म बेसिक साइन्स भवनमै बसेर सैद्धान्तिक र प्रयोगात्मक कक्षा लिने उहाँले बताउनुभयो ।