विचार
विचार
प्रकाश सपुतको सकम्भरी हेर्दै थिएँ । समाजमा हुनसक्ने र भइरहेको एउटा पक्षको सुन्दर चित्रण गरिएको रहेछ । चेतनामूलक लाग्यो । तर अन्तिममा बोलिने एउटा वाक्यले झसंग बनायो । त्यो वाक्य यस्तो थियो–‘सकम्भरीजी राजनीतिमा आएर पार्टीलाई सहयोग गर्नु पर्यो ।’
जुन गीतमा मुख्य पात्र सकम्भरीलाई यौन व्यवसायी महिलाका रुपमा चित्रण गरिएको छ । राज्यले महिलाहरुलाई राजनीतिमा आउन आरक्षणको व्यवस्था गरेको छ । फलस्वरूप ४०५ भन्दा बढी महिलाहरु राजनीतिमा प्रत्यक्ष संलग्न छन् । आधा आकाश ढाक्ने भनिएका महिलाहरुले आधा धर्ती नै ढाक्ने अवसर प्राप्त गरेका छन् । आफ्नै क्षमता र बलबुताले राजनीतिमा स्थान बनाएका महिलाहरुको संख्या पनि उल्लेख्य नै छ ।
कार्यकारी र निर्णायक पदमा ठूलै संख्यामा निर्वाचित भएका छन् । २५ जना महिलाहरु पालिका प्रमुखमा, ६९ जना महिलाहरू वडाअध्यक्षमा निर्वाचित भएका छन् । हाम्रो देशको पछिल्लो जनगणनाले पुरुषको भन्दा महिलाको संख्या ५ लाख बढी भएको देखाएको छ । सतहमा जे देखिए पनि यथार्थमा निर्णायक पदमा पुगेर आफ्नै निर्णयलाई लागू गराउन कतिले सकेका छन् त ? कानून निर्माण गर्ने ठाउँमा पुगेका सांसद महिलाहरुले उठाएका आवाजबाट कति कानून बने त ? यी सबै प्रश्नको जवाफ खोजीकै बिषय भएका छन् ।
महिलाहरुले गर्ने राजनीतिमा नीति सिद्धान्तप्रति निष्ठा हुन्छ । सामाजिक जागरण र रुपान्तरणका कुरा हुन्छन् । बिकृति र बिसंगतिविरुद्ध विद्रोह हुन्छ । महत्वाकांक्षा भन्दा बढी सेवा भावना हुन्छ । छक्का पन्जा र दाउ पेच हुँदैन भन्दा पनि हुन्छ । समग्रमा भन्नु पर्दा महिलाहरुको राजनीति सरल रेखामा बगेको हुन्छ । कसलाई बढाउने र कसलाई लडाउने भन्नेमा आफूहरुसँग उल्लेख्य मत हुँदाहुँदै पनि महिलाहरु त्यस्तो कार्यमा सहभागी हुँदैनन् । त्यसो त आफ्नै क्षमता र बलबुताले राजनीतिमा उदाएका र भविष्य खोजिरहेका महिलाहरु पनि छन् । समाजसेवा मध्येको उत्तम सेवा राजनीतिले गर्न सक्छ भन्ने कुरा बुझाउन सके अझै धेरै र योग्य महिलाहरु राजनीतिमा आकर्षित हुनेछन् । तर प्रकाश सपुतकी सकम्भरीलाई राजनीतिक पार्टीले कसरी परिचालन गर्ला ?
हुन त सकम्भरीहरुले राजनीतिमा आउनु हुन्न भन्ने होइन, आउनु पर्छ । कलाकार बन्ने उत्कट इच्छा भएकी सरल स्वाभावकी फुलमायाको कलिलो यौवन चुँडेर सकम्भरी बन्न बाध्य पार्नेहरुको लंका जलाउन पनि त्यो वर्गका शोषणमा परेकाहरुको प्रतिनिधित्व गर्नु पर्छ । राजनीतिलाई पेशा बनाएर इज्जतदार कहलिएका पातकी प्रवृत्तिको भण्डाफोर गर्नुपर्छ । तर, के यो समाजले सकम्भरीलाई राजनीतिमा पचाउन सक्ला र ? तपाई हामीलाई यो प्रश्नको उत्तर खोज्न गाह्रो परे पनि ‘पार्टीमा’ भन्ने शब्दसँगै ओठबाट फुस्किएको कुटिल मुस्कानले पार्टीमा लागेपछि राजनीतिक शक्तिको आडमा मान प्रतिष्ठा प्राप्त गर्न सक्नेमा फुलमाया ढुक्क छे ।
नेपालको राजनीतिमा धेरै महिलाहरुलाई सकम्भरी बनाइएको छ । रोशनी– महरा काण्ड, शेरधन–बालिका काण्ड, बिमला–एकराज काण्डहरु यसका उदाहरण हुन् । यस्ता उदाहरणहरुले सतहमा नदेखिएका धेरै महिलाहरुलाई नेताहरुले सकम्भरी बनाएका छन् भन्ने बुझिन्छ । महिलालाई एउटा भोग्य वस्तुको रुपमा मात्र हेर्नेहरुका कारण आज रोशनी, बिमला र बालिकाहरु बदनाम छन् । तर महराहरु ससम्मान खदा माला लगाएर मञ्चमा भाषण गरिरहेका छन् । यस्ता पाखण्डी प्रवृत्तिहरुले महिलाको राजनीति सप्रन दिँदैनन् ।
अधिकांश सफल महिला राजनीतिज्ञहरु पारिवारिक बिरासतबाट आएका छन् । इन्दिरा गान्धी, बेनजिर भुट्टो र बेगम खालिदा जिया यसका उदाहरण हुन् । जय ललिता, सुश्मा स्वराज र ममता बनर्जिहरु आफ्नै बलबुताले सफलता पाएका राजनीतिज्ञ हुन् । त्यसो त महिलाहरुका कारण ठूल्ठूला राजनीतिक उथल पुथल नभएका होइनन् । सुन्दर स्त्रीको रुप लावण्यमा मुग्ध भएर कतिपय राजा रजौटाहरुले राजपाट नै दाउमा लगाएका छन् । सत्यवतिको प्रेममा परेका राजा भारतका कारण महाभारतको युद्ध हुन पुग्यो । त्यसो त यो युद्धका लागि कुन्ती र गान्धारी पनि प्रमुख कारण मध्ये पर्छन् । विवाह पूर्वको यौन सम्बन्धबाट जन्मिएको सन्तान र विवाह पश्चात् जन्मिएको सन्तान बिच आमाले गर्ने विभेद् अनि आफ्नै सन्तानलाई राजा बनाउने हुटहुटी जस्ता बिषय पनि महाभारत युद्धका कारण हन् । अर्कोेतिर मिश्रकी महारानी क्लियोपेट्रा जस्ता सुन्दरी राजनीतिज्ञ पनि छन् । जसले रोम सम्राट जुलियट सिजर लगायत कैयन तत्कालीन शासक र शासक बन्ने दौडमा रहेकाहरुलाई आफ्नो रुप जालमा फसाएर बर्षौसम्म एकछत्र राज गर्न सफल भएकी थिइन् ।
सकम्भरी एउटी राम्रो कलाकार बन्न चाहन्छिन् । तर त्यो सपना पूरा गर्न उनले आफैंलाई बेच्नु पर्ने हुन्छ । के महिला कलाकारहरु यसरी नै कलाकार बन्छन् त ? के सबैले यौन दुरुपयोग गर्नु पर्छ र ? हुन त बेलाबखत यस्ता बिषयहरु पनि समाचारका शीर्षक बन्ने गरेका छन् । तर त्यसैलाई सत्य ठान्नु पनि महाभूल हुने छ ।
कला क्षेत्रमा सफल भैसकेका रेखा, कोमल र करिश्माहरुलाई सकम्भरीको रुपमा भित्राइएको हो र ? यिनीहरु कलाकार मात्र होइन क्षमतावान राजनीतिकर्मी पनि हुन्।तर सपुतको गीतले राजनीतिमा लागेका महिला कलाकारहरुलाई अन्याय गरेको देखिन्छ । तर अर्को पाटो केलाउँदा शोषित पीडित महिलाहरु राजनीतिमा आए सम्मानित जीवन जिउन पाउँनेछन् भन्ने कुराको सन्देश पनि गीतले दिएको छ । निश्वार्थ भावनाले जनताको सेवा गर्ने स्वाभावकै कारण महिलाहरु राजनीतिमा छिट्टै उदाउँछन् । अनेकथरी कुटनीतिक प्रपञ्च रचेर आफूलाई सधैं सत्ताको केन्द्रविन्दुमा राख्न रुचाउने प्रवृत्तिका कारण अकारणै पनि सकम्भरी बनाइदिन सक्छन् । बालिका खड्का झैं चुकिसकेपीि गरेको बिद्रोहको कुनै औचित्य हुन्न । अतः राजनीती गर्ने महिलाले दह्रो खुट्टा टेकेर मात्र यात्रामा निस्कनु पर्छ । रातो तुल मुनि तोरीको दाना ओछ्याएर लडाउन खोज्ने आफ्नै सहकर्मी पनि हुन सक्छन् । दृढ आत्मबिश्वासले मात्र महिलाहरुलाई राजनीतिमा सफल बनाउँछ ।