२२ असोज २०८१, मङ्गलवार

नेपाली बुहारी मन्जुको कथा

१७ असार २०८०, आइतवार
Image

असार लागेसँगै झरि सुरु हुन्छ, पानीले खेतहरु टम्मै भरिएको देखिन्छन् । कतै बिऊ काडेको पनि देख्न थालियो । यस्तै हेर्दै झरि रोकिएको समय पारेर म कामबाट घर फर्कदै थिएँ । घरको त्यस्तै छ सय मिटर नजिक पुगिसकेको के थिएँ, फेरि पानी मज्जाले बर्षियो । 

साँझको सात साढे सात बजेको हुनपर्छ, ब्यागको ल्यापटप पनि भिज्ने भयो सोची बाटो छेउको घुम्ति पसलमा रोकिएँ । पानी झन् झन् दर्किन थाल्यो । कोही मुढामा भने कोही टेबलमा बसेर बेलुकीको चिया र सितनसँग दिनभरीको थकान मार्दै थिए । यहाँ वरिपरि खुलेका प्राय पसलहरुको ग्राहक केहि गाउँले हुन् भने धेरै चाहिँ पत्ती मिल (प्लाईउडको कच्चा पदार्थ बनाइने मिल)का श्रमिकहरु नै हुुन्छन् । धेरै त्यस्ता मिलहरुमा श्रमिकहरु भने छिमेकी मुलुक भारतको आउँछन् । दिनभरि पहाडबाट आएका रुखका मुडाबाट प्लाईउड बनाउने कच्चा पदार्थ बनाउन मिलमा काम गर्ने र बेलुकी थकान मेट्नु प्रायको दैनिकी हो ।

सबै आफ्नै सुरमा गफिदै थिए । म त्यहाँ त्यो समय नौलो भएर सबै माहोल नियाल्दै थिएँ । सबैजना सोमरस र खाजा लिइरहेको ठाउँ मलाई केहि नगरी बस्न असहज महसुस भयो । पसले दिदीसँग दालमोठ मागेर खाँदै त्यहाँ भएका सबै क्रियाकलाप माथि आँखा लाउँदै गएँ । मलाई घर पुगेर खाना खान जति हतार थियो पानीलाई रोकिन हतार नै छैन । अघिदेखि कानमा परिरहेको राजवंशी भाषाको संवादतिर अब ध्यान दिन थाले । 

राजवंशी समुदायको बिचमा हुर्केको मैले त्यहाँ भइरहेको संवाद कति बुझे कति बुझिन । एकजना महिला र पुरुष राजवंशी भाषामा त्यस मिलको भण्डारी (खाना बनाउने मेस चलाउने मान्छे) फोहोरी रहेको बिषयमा कुरा गरेकोसम्म मैले बुझे । मलाई पनि राजवंशी भाषा आउँछ भन्ने देखाउन मैले ती महिलातर्फ हेर्दै ‘तुई राजवंशी’– भने । जवाफमा उनले ‘हाँ’ भन्न नदिदै मैले अर्को राजवंशी वाक्य ‘तोमार घर कुन्ती ?’ भनिहाले । ‘एठेने छे’ न के भनिन् उनले ।

चाँदीको सिक्री र हातमा शंखबाट बनेको चुरा (राजवंशी भाषामा ‘सखा’ भनिन्छ) बाहेक केहि नलगाएको महिलाले झट्ट आदिवासी महिलाको झल्को दिन्थिन् । म्याक्सी भनिने महिलाको पहिरनमा रहेकी उनी राजवंशी हो कि भनी म अड्कल लाउँदै थिएँ । घर भन्न सहज नमानेको भान त मैले नपाएको होइन तर गफ गरौ भनेरै मैले अब नेपालीमा संवाद सुरु गरे ।

‘ठ्याक्कै घर चाहिँ कहाँ नि दिदी ?’ मैले सोधेँ ।

‘पहाडमा नि छ अहिले यही मिलमा काम गर्छु यतै बस्छु’, प्रष्ट नेपाली भाषामा उनले भनिन् ।

‘अनि श्रीमान, छोरा छोरी ?’, एउटी महिला एक्लै पनि रहन सक्छिन् भन्ने सोच्न नसक्ने हाम्रो समाजको एउटा हिस्सा मैले पनि उनको बारेमा जान्न श्रीमान र बालबच्चाकै कुरा सोधेछु । 

‘छ दुइटा ठुलठुलै छोराहरु, बुढा चाहिँ छोडेको टेन्सन छ भाइ’, यी यसैले गर्दा छोडेको भन्दै रक्सीको ग्लास देखाइन् । मैले ठट्टा गर्दै सोधे, ‘तपाईले खाएर कि बुढाले दिदी ?’ 

‘बुढाले नि हौ मैले त अस्ति भर्खरदेखि खाएको यही छोरीकाँ त खान्छु’, भनेर उनले पसले दिदीतर्फ हेर्दै बोलिन् ।

ती महिलाको बारेमा जान्ने इच्छा जागेर म सोध्दै गएँ, उनी भन्दै गइन् । बिस्तारै म बातावरण सहज बनाउँदै उनको जन्मदेखि आजको दिनसम्मको कहानी सोध्न थाले । 

भारत आसामको अलपुद्वार भन्ने ठाउँमा जन्मिएकी रे मन्जु मेचे । ‘बोडो हौ हामी बोडो, यता मेचे हुन्छ त त्यही हो म’ भन्छिन् उनी । कति सालमा जन्मिएको बताउन नसक्ने उनी सत्र बर्षको हुँदा नेपाल आएकी रहिछन् । झापा ज्यामिरगढिको कच्चुबारीबाट आफन्तकोमा गएका रहेछन् श्रीमान श्रीमती मकर मेचे र सघे मेचे । दिदीसँग झगडा गरेर छिमेकीकोमा गएकी मन्जुले रिसमा छिमेकी बोजुसँग कतै टाडा कसैले काम गर्ने मान्छे खोज्यो भने म छु है भनिछिन् । नेपालबाट गएका मकर मेचे र सघे मेचेले घरमा काम सघाउने कोही केटी पाए मान्छे बनाएर पाल्ने गफ दिएका रहेछन् मन्जुकी छिमेकी बोजुलाई । कोही केटी पाए मान्छे बनाएर पाल्ने कुरा घमण्डसाथ भन्न सक्ने त्यो बेलाको समाज र महिलाप्रतिको दृष्टिकोण बुझ्न सकिन्छ । मान्छे बनाउने भन्नेहरुले हुन चाहिँ आफ्नो घरका नानी केटा केटीलाई स्कुल पठाउने अनि दिनभरि घरधन्दा सघाउने मान्छे खोजेका रहेछन् । घरमा रिसाएर हिँडेकी किशोरी मन्जु छिमेकमा आएका पाहुनासँग मान्छे बनिएर पालिन नेपाल आइन् । ‘उ त्यहाँ छ गाडी भन्दै धुलाबारीबाट हिडाउँदै हिडाउँदै कच्चुबारी लगे नि, हजूरआमा खै गाडी भन्छु के को हुनु गाडी त्यही हो भन्छन् हिँडाको हिँडाई’, हाँस्दै सुनाइन् उनले नेपाल छिरेको कहानी ।

‘मेरी नातिनी लिएर आउँछु भनेकी रहेछिन् बोजुले अलि तल लागे पछि त लाईट बालेर को आए भनेर मान्छे बसेका बाटैभरि’, सुनाउँदै गइन् । ‘पहाडमा छिमेकी रहेछन् क्या बाबु तिम्रो भेना र त्यहाँ छन् नि नेउपानेहरु, तिनेरू क्या’, उनले भनिन् । मैले चिनेकै नेउपाने थरका मान्छेको कुरा भएर मैले हजुर भने र फेरि सुन्न थाले ।

‘हो भेना चाहिँ टुहुरो रछन् कि, राई हुन् अनि उनीहरु ‘नेउपानेकै साथ लागेर धुलाबारी आएका रहेछन्, काम सघाउन हली भनुङ् न’ उनले थपिन् । 

‘भेना काम गर्न त्यही मेचे बोजुकोमा बस्न थालेका रछन् कि म त पहिलो दिन आए हो मलाई देख्नासाथ उसले त दाउ थापिसक्या रैछ, यसलाई त भन्छन् नि हो त्यसरी नै’ उनी मज्जाले आफ्नो बाल्यकाल सुनाउन थालिन् । 

आएकै दिनदेखि त्यहाँका भाई बहिनीलाई छुरी देखाएर मन्जुलाई भाउजु सम्बोधन गर्न लगाउने डर देखाउने तर्साउने फकाउने सबै गर्न थालेछन् । तिनि राई दाई अब मन्जुलाई जसरी पनि बिहे गर्ने भन्नेमा लागे । ‘अहिले त यस्ती छु त्यो बेला झन् यी खुट्टा यत्रा यत्रा थिए, ज्यान कस्तो थियो गाला राताराता तिम्रो भेनाले त्यसै अत्ति गर्या हैन नि’ उनले आफ्नो जवानीको कहानी सुनाइन् । उनलाई र उनले छोडेको श्रीमानको बारेमा सुनाउँदा समेत अझै हामीलाई भेना भनी चिनाउँछिन् मन्जु । 

‘सारै गर्न थाल्यो एउटा जिन्दगी कसैसँग काट्नै पर्छ आखिरी भन्न थाले सबैले अनि तिनैसँग बिहे भयो, जेठो छोरा हुन्जेल त राम्रै गर्यो त्यसपछि त दिनै कुट्ने नानी मलाई भनी साध्ये छैन’, उनले भनिन् । ‘पहिलैदेखि जुवा तास रक्सी र अरु आईमाईसँग सम्बन्ध राख्ने नराम्रो बानी थियो तिम्रो भेनाको’, उनले थपिन् । अहिले सुन्दा बुझ्दा मन्जुसँग बिहे हुनु अगावैदेखि त्यस्ता कुलतमा थिए रे भेना । छोराहरु सानै हुँदाबाट एक्लै हुर्काएकी रहेछिन् । तिम्रो भेनालाई देखाउनु थियो ऐले आफ्नो गरेर खाने बनाए गर्व गर्दै सुनाइन् ।

‘अरु त केहि पिर छैन जेठो छोरो अहिले पच्चीस बर्ष भयो ड्राइवर गर्छ अर्को कन्डक्टर गर्छ बिहे गरेको छ, नातिनी छ राम्रो छ, म यस्तै काम गर्दै खाँदै छु’, मन्जुले भनिन् । 

ड्राइवर भने पछि लाईसेन्स र लाईसेन्स हुन नागरिकता चाइयो, मैले उत्सुक हँुदै सोधे–‘अनि छोराहरुको नागरिकता छ अनि तपाइँको ?’ 

‘त्यही त जिन्दगी बर्बाद पार्दिन्छु तेरो भनेर ईख लेको छ मलाई बनाइदेन नि भेनाले नागरिकता, छोराहरुको चाहिँ बडाबाउहरुलाई भनेर बनाइदिएँ’, उनले सुनाइन् । 

विवाह दर्ता भएको छ रे तर श्रीमानले बोकेका रहेछन् । मन्जुका श्रीमानले दोस्रो बिहे गरिसकेका रहेछन् । छोराहरु आफ्नै छुट्टै गरेर खाँदै रहेछन् । सबै कुरा सुन्दै गए कति कुराहरु भए, उनले भोगेको तनाव, पीडा र यातनाका कहानीले मेरा आँखा रसाउथे भने उनको हिम्मत, साहस र अझै छोराहरु र श्रीमान प्रति राख्ने भावना, बोल्ने बचन र ब्यवहारले म नतमस्तक हुन्थे । 

‘म कहिले काही लेख्छु, धेरै भयो नलेखेको तपाइँको कुरा लेख्छु ल दिदी ?’, भनेको मात्र के थिए उनको अनुहारको भावभङ्गी परिवर्तन भयो । मैले उनको बारेमा लेख्ने र उनीसँग तस्वीर खिच्न राखेको प्रस्ताव ठाडै नकारिन् । 

हतासको स्वरमा हात जोडेर उनले भनिन, ‘बाबु मैले तिम्रो भेनालाई खुसीले छोडेको मलाई केहि चाहिदैन, नलेख्नु ल बाबु ।’ यतिका बर्ष उनले हाम्रो पितृसत्तात्मक समाजबाट भोगेको पीडा र अझै रहेको श्रीमानको डर देखिन्थ्यो । मन्जु दिदीलाई ढुक्क बनाउन म भन्न थाले, ‘दिदी सबै कुरा बुढा, छोराछोरी भनेर आफ्नो जिन्दगी बिताउने कति धेरै महिलाहरु हुनुहुन्छ जसले तिनीहरुबाटै तिरस्कृत ब्यवहार भोगिरहेका छन् उनीहरुको पनि त कथा हो यो । तपाई आफुलाई परेको सम्झिनुस् कति गारो छ अझै तपाई जस्तो देश छोडेर आफ्नो राष्ट्र छोडेर आफ्नो जवानी पसिना यो नेपालमा बगाउने थुप्रै तपाई जस्तो महिला दिदीहरुको पनि त कथा यस्तै छ । दिदी सम्झिनुस् त मधेशका थुप्रै चेलीहरु जसले श्रीमान, छोराछोरी र परिवारको माया त पाएनन् पाएनन्, न आफ्नो जन्म देशको पहिचान पाए न त कर्म गरेको देशको पहिचान पाए ।’ मैले आफुले लेख्ने आशय बुझाउन खोज्दै दिदीलाई फेरि उनको बारेमा लेख्ने प्रस्ताव राखे ।

‘ह्या म त बस्दिन यहाँ, मेरो एउटा भाइ छ भदाहरु छन्, भेनाले नि अर्की ल्यायो भान्जाहरुले राम्रो गर्दैनन् भने आइज दिदी यतै भन्दै छ, आफ्नै देशमा मर्छु म त जान्छु भाइ उतै इन्डिया, तपाईले किन लेख्नु ?’ उनले सोधिन् ।

तपाईलाई नागरिकता दिलाउन त म सक्दिन मन्जु दिदी न तपाईको श्रीमानसँग किन यसो गरिस् भन्दै जाने ल्याकत राख्छु तर म लेख्छु तपाईको बारेमा मनमनै सोचेँ । चार प्याकेट दश रुपैयाँ गोटाको दालमोठ खाइसक्दा मन्जुको एकसरो कथा र पानी दुवैले बिश्राम खोजे । ‘फेरि भेटियोस् है दिदी, म लेख्छु तपाईको बारेमा’, भन्दै म घर लागेँ ।

लेखकको बारेमा
Image
ऋषब

मेचीनगर–१० निवासी ऋषब सामाजिक विषयवस्तुमा लेख्न रुचाउनुहुन्छ ।