२३ वैशाख २०८१, आइतवार

गौरादहको “नमूना घरवास” पर्यटकको रोजाईमा

१० असोज २०८०, बुधवार
Image

झापा, १० असोज । गौरादह नगरपालिका–५ मा नमूना एकीकृत कृषि सहकारी खेतीले सञ्चालन गरेको नमूना घरबास (होमस्टे) आन्तरिक तथा बाह्य पयर्टकको रोजाईमा परेको छ । 

जिल्लामा सहकारी भ्रमणका लागि आउने मुलुकका विभिन्न जिल्लाका संघसंस्था, सहकारी र जनप्रतिनिधिहरुदेखि पर्यटकीय स्थल घुम्नका लागि आउने पर्यटकका लागि यो नमूना घरवास पहिलो रोजाईमा पर्ने गरेको हो ।

पूर्वपश्चिम राजमार्गको पाडाजुँगी चोकबाट करिब २० किलोमिटर दक्षिणमा रहेको यस घरवासमा हिउँदमा मात्र होइन बर्षातको समयमा शहरका सुविधा सम्पन्न होटल छाडेर पर्यटकहरु खाना र बास बस्नका लागि पुग्ने गरेका छन् । 

सहकारीले प्रदेश नम्बर १ मै पहिलोपटक दुई बर्षअघि ५० जना अट्ने सक्ने क्षमताको रु एक करोड २० लाखको लागतमा कृषि पर्यटन प्रवद्र्धनका लागि बनाएको बातानुकूलित कृषि घरवास हो यो ।

“पाहुनाको खाँचो छैन”, सहकारीका व्यवस्थापक अर्जुन खतिवडाले भन्नुभयो, “सधै भरिभराउ नभए पनि हामीले गरेको नमूना खेती हेर्न आउने पर्यटक बाँस बस्ने गरि आइरहनुभएको छ ।” 

कृषि पर्यटनलाई लक्षित गरी संंस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आर्थिक सहयोगमा १२ कठ्ठा जमीनमा निर्माण भएको नमूना घरवास आकर्षक र सुन्दर छ । 

घरवासमा आठ वटा सुुत्ने र बस्ने सुविधा सम्पन्न कोठा तथा एउटा ८० जना अट्ने तालीम हल छ । विसं २०७० मा महारानी झोडा साना किसानले प्रवद्र्धन गरेको सहकारीले नाफा कमाउने भन्दा पनि सेवा गर्ने उद्देश्यले घरवास बनाएको उहाँको भनाई छ । व्यवस्थापक खतिवडाले भन्नुभयो, “अवलोकन भ्रमणमा देशभरका सहकारी, संघसंस्थाबाट आउनुहुने पाहुनालाई सस्तो र गुणस्तरीय सेवा प्रदान गरिरहेका छौं ।” बार्षिक रुपमा एक हजार बढी पाहुना बास बसिसक्नु भएको उहाँले जानकारी दिनुभयो । 

उहाँले होमस्टेका सुन्दर वातानुकूलित कोठामा एक दिन बस्नका लागि प्रतिव्यक्ति साझा कोठामा रु ३००, दुई बेड भएको कोठाको रु एक हजार र विशेष कोठाको रु दुई हजार पाँच सय मात्र तिर्नुपर्ने र सहकारीले नै उत्पादन गरेको स्वादअनुसारका खानाको व्यवस्था समेत रहेको जानकारी दिनुभयो । सहकारीले जैविक तरकारी खेती, गाई फार्म, माछा, लोकल कुखुरा, आचार उद्योग, पापड उद्योग, डेरी उद्योगलगायत सञ्चालन गर्दै आएको छ । 

सरकारले मुलुक भरमा तोकेका १०० पर्यटकीय गन्तव्यमध्ये एक कृषि गन्तव्यका रूपमा सूचीकृत सहकारीलाई घरवास निर्माणका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पटक पटक गरेर रु. एक करोड ३० लाख उपलब्ध गराएको थियो । 

सहकारीले हाल मकै, गहुँ, धानलगायतका विउ विउन समेत उत्पादन र विक्री वितरण गरिरहेको छ ।