जन्मसो बारे
जन्मसो बारे
अहिलेको फेसवुकले व्याप्ति पाएको बेलामा फेसवुक नचलाउने त निराक्षर जत्तिकै भइन्छ । त्यसैले म पनि फेसवुक चलाउँछु । फेसवुकमा मैले दुई वटा ‘कमेन्ट’ त्यहाँ हाल्न तयार गरेर राखेको छु–एउटा हो, ‘जन्मदिनको उपलक्ष्यमा हर्कबढाईंका साथ हार्दिक शुभकामना !’ र अर्को हो–‘भावपूर्ण श्रद्धाञ्जलि ।’
हुन पनि फेसवुक खोल्यो कि त्यहाँ मुख्यगरी दुई कुराको रेलोमा फँसिहालिन्छ । कि त त्यहाँ फेसवुकका हजारौं मित्रहरू, ती मित्रहरूका पनि मित्रहरूका, या तिनका श्रीमतीका÷श्रीमानका, या तिनका छोराछोरीका, बुहारीका, नातिनातिनीका जन्मदिनको लर्को हुन्छ । कि त तिनका या तिनका छिमेकीलगायतका कुनै न कुनैको मृत्युको नक्सासहित दुःख प्रकट गरिएको हुन्छ । त्यो जन्मदिनको उपलक्ष्यको दिवसको घारीबाट या निधनको बिस्कुनबाट कृतघ्न भएर उपिउँ फड्किएको जस्तो गरी त्यतिकै भाग्नु त हुँदैन । त्यतिकै भाग्ने हो भने त ‘ब्लक ठोक्ने’ धम्की आउँछ, त्यसकारण ती तयारी भनाई पेस्ट गर्यो, चम्पट ठोक्यो गर्छु ।
मजस्तो निकै ‘निस्पृह हुँ’ भन्नेलाई त कुनै प्रतिव्रिmया नगरी फेसवुक ख्यारख्यार अघि बढाउन गाह्रो पर्छ भने महत्वाकाङ्क्षाग्रस्त राजनीतिका युवालाई यो फेसवुकले कति अप्ठेरोमा पारेको होला ! आफ्नो गाउँ–ठाउँका, क्षेत्रका, जिल्लाका कसैको निधनमा श्रद्धाञ्जलिका दुई शब्द प्रतिक्रिया मात्र होइन, स्टाटस नै हालेन भने त ती मतदाताका मनबाट निकालामा परिने डरले कति च्याप्तो हो ! अर्कातिर आफूदेखि माथिका सयौं–सयौं नेताको, नेताका श्रीमतीको, नेताका छोराछोरीको जन्मदिनको हिसाब राखेर वडो सुन्दर तस्वीरसँग शब्द कुँदेर शुभकामना पनि हाल्नै प¥यो । तिनीहरू कसैको यसो टाउको दुःखेको थाहा भयो भने “शीघ्र स्वास्थ्यलाभको हार्दिक कामना” भनेर लेख्न छुटाउनु पनि भएन । ठिनेमिने नेतालाई त चाकरी पुर्याउन पनि यस फेसवुकले कति अफ्ठेरो गरी गाँजेको होला !
अहिले म यो सानो लेखमा धेरैतिर बरालसिङ् हुँदिन । फेसवुकको चर्चा पछिपछि कुनै ठाउँमा गरुँला । अहिले भने सिरिप् ‘जन्मोत्सव’, ‘जन्मसो’, ‘जन्मजयन्ती’ या ‘जन्मउत्सव’ बारे एक छिन् विमर्श गर्न अनुमति माग्छु ।
जन्मसो भनेकै के हो ?
‘जन्मोत्सव’, ‘जन्मसो’, ‘जन्मजयन्ती’ या ‘जन्मउत्सव’ जे भने पनि हामी कोही जन्मेको तिथिमिति परेका दिन सम्बन्धितको भलाई, सुस्वास्थ्य, उन्नति, प्रगतिको कामना गर्ने, खुसी प्रकट गर्ने, खुसी मान्ने कार्य हो । कसैको पनि प्राप्ति, उदय, मिलन, जन्म राम्रो कुरा हो, सुखद् हो । गुम्नु, विछोडिनु, निधन हुनु नराम्रो हो, दुखद् हो । त्यो सुखद् क्षणमा खुसी मान्ने प्रव्रिmया नै जन्मोत्सवको प्राथमिक कुरा हो ।
नयाँ मान्छेको जन्म भनेको एउटा नयाँ सम्भावनाको उदय हो, नयाँ ऊर्जाको प्राप्ति हो । धेरैधेरैको लागि नयाँ आशा भरोसा नै हो । कति मान्छेले नयाँ बालकको प्राप्तिका निम्ति कतिकति देउ–देउता भाकेको, हरिवंश पुराण लगाएको, तीर्थबर्त गरेको, अस्पताल धाएर पनि नयाँ बालक नपाएर पीडामा छट्पटाएको हामीले थाहा पाएकै छौं । त्यसकारण यो प्राप्तिमा हरेक आफन्तले अनेक सुखका, सम्भावनाका गुत्थीहरू बसेको देख्छन् र अत्यन्तै भावुकतापूर्ण खुसीमा हुन्छन् र त्यो जन्मको दिन वा क्षण उत्सवमय बन्छ । त्यसलाई जन्मउत्सव भनिन्छ । त्यसउपरान्त वर्षवर्षमा त्यही तिथिमिति दोहोरिँदै आगमन भएको वखत जन्मेको दिन भनेर मनाइने पर्वउत्सवलाई जन्मदिनको उपलक्ष्यमा मनाइने दिवस जन्मसो, जन्मजयन्ती आदि भनिन्छ ।
प्रचलनले अचेल ‘जन्मजयन्ती’ भन्ने शब्दको प्रयोग भने ज्यादाजसो महान् व्यक्तित्वको जीवनकालपछि मानिनेझैं गरी प्रयोग गर्न थालिएको पाइन्छ । तैपनि शाब्दिक अर्थमा भने जन्मोत्सव भन्नु र जन्मजयन्ती भन्नु पर्याय नै हो ।
जन्मोत्सव मनाउन कहिलेदेखि थालियो होला ?
यो कहिलेदेखि भन्ने प्रश्नको तथ्यगत उत्तर त पाइँदैन नै । तर यति चाहिँ भन्न सकिन्छ कि यो प्रचलन हजारौं हजार वर्ष पुरानो भने हो । जसरी हामी गुरु पूर्णिमा, बुद्धजयन्ती, राम नवमी, कृष्ण जन्माष्टमी आदि भन्छौं यसले हामीलाई हजारौं वर्ष अगाडि लैजान्छ । यी व्यासको जन्मदिन, हिन्दुका भगवान राम, कृष्णका जन्मदिन ठानिन्छन् । विव्रmम सम्बत्ले, इस्वी सम्बत्ले, नेपाल सम्बत्ले पनि हामीलाई निकै अगाडि नै धकेल्दछ । विव्रmम सम्बत्ले विव्रmमादित्यको जन्मलाई सम्झाउँछ भने इस्वीसम्बत्ले इसामसिहको दोस्रो जन्मलाई सम्झाउँछ । त्यस्तै नेपाल सम्बत्ले विभूति शङ्खधर साख्वालाई सम्झाउँछ । बुद्धपूर्णिमाले सिद्धार्थ गौतमको जन्मलाई सम्झाउँछ ।
अहिले आफ्नो उमेर पचास–साठी नाघेकाको मनमा जन्मोत्सव भन्दा राजाको जन्मोत्सव, रानीको जन्मोत्सव, आदिकवि भानुभक्त जन्मजयन्ती, महाकवि लक्ष्मीजयन्ती आदि सम्झना आउँछन् । जन्मोत्सवमा गरिएका ती जयजयकार या कार्यव्रmमहरू मनमा घुम्छन् । मलाई यो लेख्तै गर्दा रूपचन्द विष्टको सम्झना आउँछ । मकवानपुरको जिल्ला पञ्चायतले राजाको जन्मोत्सवमा उनलाई केही मन्तव्य व्यक्त गर्न बोलाउँदा उनी मञ्चमा जाँदैनन् । उनलाई कार्वाहीको हल्ला हुन्छ । मुद्दा राष्ट्रिय पञ्चायतसम्म पुग्छ । राष्ट्रिय पञ्चायतमा रूपचन्द बिष्ट जवाफमा बोल्छन्– “मैले आजसम्म आफ्नो जन्मोत्सव मनाएको छैन । अरूको जन्मलाई पनि म उत्सव मान्दिनँ । मान्छे अदालतमा चलिरहेको मुद्दा हो । यसको फैसला चिहानमा पुगेपछि हुन्छ । मान्छे, भगवान्, नेता, गुरु जोकोहीको जन्मको होइन; उसको महान् कामको पूजा र निकृष्ट कामको निन्दा हुनुपर्छ ।” कस्तो थियो पञ्चायतकाल ! हाम्रा मनमा यस्तै कुरा खेल्छ ।
तर अचेलका बालबालिकाले जन्मदिवसको कुरा गर्दा ‘हेप्पी बर्थ–डे’ सम्झिन्छन् । उनीहरू आफूले चकलेट बाँडेको, केक काटेको, चुच्चे टोपी लगाएको र आफ्नै ‘बर्थ–डे’ मानेको दृश्य आँखाभरि खेलाउँछन् ।
हामीले त आफूलाई जन्मदिवस मनाउने हैसियतको ठान्दै ठानेनौं, आफ्नो जन्मदिन नै कुन दिन आउँथ्यो, बित्थ्यो, कहाँ हुन्थ्यौं, पत्तै पाउँदैनथ्यौं । लेखक जीवनाथ धमलाले लेखेका छन्– ‘सन् २००० तिर जर्मनीमा घुम्दै गर्दा जर्मनमित्रहरूले उनलाई ‘हेप्पी बर्थ–डे धमला !’ भनेर उपहार दिँदा उनी चकित भएका थिए अरे । भीसाका लागि आफूले पठाएका कागजातबाट याद गरेर उनीहरूले धमलालाई जन्मदिनको शुभकामना दिने तर स्वयं उनलाई भने आफ्नो जन्मदिनको यादै नहुने । हामी साँच्चै त्यस्तै छौं भन्नु कि त्यस्तै थियौं भन्नु ? अब त्यस्तै थियौं भन्नुपर्ला । अहिले हामीलाई पनि हाम्रा छोराछोरीहरूले अलिक बदलेका छन् ।
के जन्मोत्सव मनाउनै पर्ने हो त ?
यस बारेमा अनेक बहस गर्न सकिन्छ । हामी सबैका आआफ्ना टाउकामा बुद्धिको पोको छ । आफ्नै मनभित्र वादविवाद, तर्कवितर्क गर्नुपर्छ । कुरा काटाकाट गर्नुपर्छ । आफ्नै मनभित्र गम्भिर बहस गर्नुपर्छ । हाम्रा मनमा स्थापित भएर बसेको मनपर्दो कुरा हामीलाई मनपर्नाको कारण के हो ? खोज्नु पर्छ ।
कार्लमार्क्सभन्छन्– ‘कुनै पनि समाजको चिन्तन त्यहाँको शासक वर्गले स्थापित गरेको चिन्तन हो । त्यसलाई उल्टाउने प्रयास नै क्रान्तिकारी कार्यको सुरुआत हो ।’
यो जन्मोत्सव मनाउनै पर्ने हो वा होइन आफूआफैं मनमनमा गम्भिर बहस गरेर निक्र्योल निकाल्नु राम्रो । जीवन भनेको यात्रा हो । यात्रा त रमाइलो हुनु राम्रो हो, म कति हिडें, कति आएँ थाहा हुनु राम्रो हो । कानो गोरुलाई औंसी न पूर्णे भनेझैं ‘कति हिडें हिडें क्यै सुद्धि नै छैन’ हुनु नराम्रो हो भन्ने कोणबाट सम्झिनु राम्रै हो । वर्षवर्षमा यति वर्षको भएँ भन्नु, वर्ष पुगेको दिन अलिकति रमाइलो गर्नु ठिकै हो । लामो जीवनयात्रामा बाटामा ठाउँठाउँ चौतारो हुनु, एक छिन सुस्ताउनु, यति किलोमिटर हिडियो भन्ने बोध हुँदै हिड्नु राम्रो हो । यो सम्झिएर जन्मोत्सव मनाउनु उचित सम्झे पनि हुन्छ ।
‘आ !ऽ यो यति वर्ष र उति वर्ष भनेर, ‘साठी वर्ष !’ बाफ रे ! सत्तरी वर्ष, पचहत्तर वर्ष, चौरासी वर्ष !’ भन्दा बुढो भएको जस्तो पो हुँदो रहेछ । बरु कति वर्षको भइयो भइयो । थाहै नहोस् ! बिहे गरेको पनि हिजोअस्ति जस्तो लाग्छ, मैतालु ल्याएको गएको पनि हिजोअस्ति जस्तो लाग्छ । त्यसरी नै बितोस् बरु !’ यो जन्मोत्सव सन्मोत्सवको केही काम छैन भन्ने ठाने पनि भयो । यो आआफ्नो तर्क हो ।
पर्गेलेर हेर्नेबुझ्ने हो भने यो जन्मोत्सव मनाउने परम्परा त जन्मदैमा श्रेष्ठ मान्नेहरूको परम्परा हो, भाग्यवादीहरूले चलाएको चलन हो । “स्वावास ! राजाको कुलामा जन्मियो ! स्यावास् ! ब्राह्मणको कुलमा जन्मियो ! क्षेत्रीयको कुलमा जन्मियो, धनवान् श्रीसम्पत्तिले युक्तका घरमा जन्मियो ! स्यावास् ! छोरो भएर जन्मियो, मर्द भएर जन्मियो !” भन्दै जन्मदै खुसी मानेर अरुहरू भन्दा बेगल पार्ने परम्परा हो यो ।
अब मनमा कुरा खेलाऔं ! जन्मँदैमा मान्छे उत्सवयोग्य महान् भएको हुन्छ र ? कि पछि उसले गरेका महान् कर्मले मान्छे जन्मोउत्सव मनाउनलायक बन्ने हो ? जन्मले त मान्छे महान् वा नीच हुने होइन नै । गीताले पनि “मान्छे जन्मँदा शूद्र नै हुन्छन्, पछि कर्मले बाहुन हुने हो” भन्छ । यो कुरा मान्ने हो भने मान्छेले कर्मलाई सम्मान गर्ने हुनुपर्यो र राम्रो कर्म गरेको दिनलाई उत्सवको दिन बनाउनु पर्ने हो ।
गौतम बुद्धको जन्मदिनलाई मानेको त उनी जन्मेका कारणले होइन, पछि उनले बुद्धत्व प्राप्त गरेका कारणले, बुद्धत्व प्राप्त गरेपछि आफ्ना चेलाहरूलाई सारनाथबाट ज्ञान बाँड्न (धर्मचक्र प्रवर्तन गरेका) थालेका कारणले वा ज्ञान प्रदान गर्दै कुशीनगरमा प्राण बिसर्जन (महापरिनिर्वाण प्राप्ति) गर्दासम्मका उनका कार्यहरूबाट हो । बुद्धको हकमा त उनको जन्मदिन, उनले बुद्धत्व प्राप्त गरेको दिन तथा अन्त्यमा महापरिनिर्वाण प्राप्त गरेको दिन तीन वटै तिथि बैसाख पूर्णिमा भएका कारण पनि बुद्धपूर्णिमा भनिएको हो । त्यसैले बुद्धमार्गीहरूले त्यसबेलैदेखि बुद्धपूर्णिमालाई उत्सवको रूपमा मान्दै आएका हुन् । अहिले त बुद्धको जन्मोत्सव मनाएकै पच्चीस सय वर्षजति भए ।
जन्मसो मनाउने नै हो भने कसरी मनाउने ?
यस बारेमा पश्चिमबाट आयातित तरिकाउपर धेरैका आलोचनात्मक प्रतिक्रिया आएकै हुन्– ‘हामीले हाम्रो पूर्वीय गौरवशाली परम्परालाई अपमान गर्यौं, केक काट्ने, चुच्चे क्रिश्चियन टोप लगाउने, बत्ती निभाएर ‘हेप्पी बर्थ–डे टु यू’ भन्दै सामूहिक आवाज गरेर’ मनायौं भनेर यी नक्कली चलनप्रति धेरैका आलोचना छन् । यस्तो आलोच्य चलन नेपालमा निजी शिक्षाका कुरूप उदाहरण वोर्डिङ स्कुलहरूले भित्र्याएका चलन हुन् । भाषामा आएका थुप्रै विकृत शब्दहरूको झारजङ्गलको स्रोत पनि त्यही हो । तर अब दुःख मानेर मात्र हुँदैन । यो सबलाई मनन गर्दै संस्कृतिमा सुधार गर्दै अघि बढ्नु नै छ ।
चुच्चे टोपी किन लगाउनु पर्यो ? लगाउने हाम्रा आफ्नै कति राम्रो टोपी छैन र ? हाम्रै गाम्चा, दोसल्ला छैनन् र ? खाने हाम्रै कति मिठा परिकारहरू छैनन् र ? सेलरोटी, खिर, पुवा, ढकने आदि बनाएर सबै सहभागीलाई खुवाउने गर्ने हो भने स्वस्थकर पनि हुने, हाम्रो खर्च पनि बच्ने हुन्थ्यो । तर प्रधानमन्त्रीहरू पनि पो झल्लरी मल्लरीसँग केक नै काट्ने गरेर दुस्प्रचार गरिदिन्छन्, अनि हामी एक्कादुक्काका कुरा उठेर बोल्यो हावाले उडाउँछ, बसेर बोल्यो कसैले सुन्दैन हुन्छ ।
अझ मेरै कुरा गर्ने हो भने म त भन्छु, यो उताको भयो, परायाको हो भनेर परहेज पनि नगरौं र यो हाम्रो हो भनेर त्यसैमा लिसो लाग्ने पनि नगरौं । बरु वैज्ञानिकता कुनमा छ ? कुन तरिका किफायती छ ? कुन तरिका छरितो छ ? कुन तरिका स्वस्थकर छ ? छरछिमेकमा सद्भाव बढाउन कुन तरिका सहज होला ? केटाकेटी, वयस्क, ज्येष्ठ नागरिक, छुत–अछूत सबै जातजाति सहभागी बन्ने र खुसी मनाउने पारा बारे माथापच्ची गरौं र अगुवाहरूले त्यो तरिकाको प्रचार गरौं । अचेल त विनाश्रममा धनढ्य बनेका टुप्पामा पलाएका तल सुर्के माथि फुर्केहरू बढेका छन् । तिनलाई के हो राष्ट्र र राष्ट्रियता ? के हो संस्कार र संस्कृति केही थाहा छैन । कालोधनले अन्धा भएकाहरू अन्जानमा राम्रो संस्कृतिलाई सर्वनाश गर्दैछन् । त्यस्तालाई संयमपूर्वक निरुत्साहित गरौं ।
मनाउने नै हो भने पनि, म यसबेला सम्झिँदैछु झापाली प्रसिद्ध साहित्यकार चूडामणि रेग्मीलाई । उहाँले आफ्नो जन्मदिन मनाउने कुरालाई ‘चौरासी’ मनाउने कुरालाई साहित्य सम्वद्र्धन, साहित्यिक प्रकाशनमा या स्रष्टाहरूलाई सम्मान गर्ने, कदर गर्नेमा उपयोग गरेर हामीलाई नयाँ नयाँ प्रेरणा दिँदै हुनुहुन्छ । यस्तै काँकरभिट्टाका कृष्णप्रसाद उप्रेतीले पनि ८० वर्ष प्रवेशमा कृति प्रकाशन गरे । यसपल्ट सुनें जन्मदिनको उपलक्ष्यमा पत्रकार महासंघलाई केही रकम प्रदान गरे । हो, यस्ता सृजनात्मक कार्यहरू गरौं । कसैले आफ्नै छोरी–नातिनीहरूका लागि अक्षयकोषको स्थापना गरे पनि भयो, छिमेकको विद्यालयमा अध्ययनरत फिस तिर्न मुस्किल पर्ने छात्रछात्रालाई सहयोग हुने काम गरे झन् राम्रो । होइन भने यो जन्मोत्सव मनाउने कामलाई सामन्तवादी संस्कृति मानेर छोडे झन् राम्रो ।
(विर्तामोड, झापा, मोवाइल : ९८५२६६२३३३)