११ वैशाख २०८१, मङ्गलवार

पर्यटक लोभ्याउन निजी लगानीमा भ्यूटावर

२६ माघ २०७९, बिहिवार
Image

झापा, २५ माघ । विर्तामोडको मुक्तिचोकबाट दुई किलोमिटर दक्षिणमा पर्यटक आकर्षित गर्ने उद्देश्यका साथ निजी लगानीमा नौ तले भ्यूटावर निर्माण भएको छ ।

शिक्षासेवी जयनारायण ढुंगानाले विर्तामोड-२ मा आठ बिगाह निजी जग्ग्गामा निर्माण गर्नुभएको श्रीजय ड्रिमल्याण्ड पार्कमा रु. एक करोड लगानीमा भ्युटावर बनाउनुभएको हो ।

झापाको मुख्य व्यापारिक केन्द्र विर्तामोडमा रहेको यो भ्यूटावर र पार्कले आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने सम्भावना रहेको स्थानीय बिजय बराल बताउनुहुन्छ ।

चार दशक अघि जिल्लाकै पहिलो कनकाई अंग्रेजी आवासीय माध्यमिक विद्यालय स्थापना गर्नुभएको शिक्षासेवी ढुंगाना पछिल्लो समय पर्यटकीय पार्क निर्माणमा जुट्नु भएको हो ।

सो पार्कमा लिची, आँप, अम्बकलगायतका विभिन्न प्रजातिका फलफुलका बोट हुर्किएका छन् । डुलफिरका लागि आउने पर्यटकले बगैंचामा ताजा फलफुल किनेर खान पाउनुका साथै दृश्यावलोकन गर्न सक्नेछन् ।

ढुंगानाले विगत छ बर्षेदेखि पार्क निर्माण सुरु गर्नुभएको हो । “मलाई पार्कमा पर्यटकको घुँइचो लगाएर पैसा कमाउला भन्ने छैन”, उहाँले भन्नुभयो, “समाजलाई शिक्षा दिने र पर्यावरणलाई स्वच्छ बनाउने सोचले ग्रीन पार्कको परिकल्पना गरेको हुँ ।”

उहाँले पार्कभित्र निर्माण गर्नुभएको नौ तले भ्यूटार १०९ फिट अग्लो छ । जहाँबाट झापाका विभिन्न स्थानको दृश्यावलोकन गर्न सकिन्छ । टावरको आठ तलासम्म सपिङ कम्प्लेक्स सञ्चालनको तयारी भइरहेको उहाँले बताउनुभयो । 

पार्कको औपचारिक उद्घाटन हुन बाँकी छ । तर, आन्तरिक पर्यटक भने घुम्न आउन थालिसकेको उहाँले बताउनुभयो । पार्कमै सेमिनार र बनभोज कार्यक्रम गर्न सकिने स्थानको समेत व्यवस्था गरिएको छ । “आफूसँग भएको नगद र बैंकबाट ऋण स्वरुप लिएको करिब रु. तीन करोड खर्च भइसक्यो,” उहाँले भन्नुभयो, “अझै कति खर्च हुन्छ, लेखाजोखा छैन ।”

सञ्चालक ढुङ्गानाले पार्कमा स्विमिङ पुल, रिसोर्ट, फुटसल समेत बनाउने तयारी रहेको जानकारी दिनुभयो । पार्कमा प्रत्येक बर्ष ‘लिची फेस्टिबल’ गरिदै आएको छ । लिचीको बोटमा आफुखुशी टिपेर ताजा फल खान फेस्टिबलमा टाढादेखि पर्यटक आउने गर्छन् । 

फेस्टिबलमा बच्चादेखि ज्येष्ठ नागरिकसम्मले रु १०० तिरेर आफैं बोटमा टिपेर पेटभरि लिची खान पाइने व्यवस्था गरिएको हुन्छ । अमेरिकाको बोस्टनलगायतका स्थानमा घुम्न जाँदा त्यहाँ ‘एप्पल फेस्टिबल’मा सहभागी भएको अनुभवका आधारमा आफूले यस्तो प्रयास गत वर्षदेखि शुरु गरेको उहाँले बताउनुभयो । उहाँका अनुसार बगानमा यतिबेला बम्बई, जफ्फरपुर, कलकत्तिया, मेकिलन आदि जातका लिची छन् ।