६ पुष २०८१, शनिवार

कला

फराकिलो ‘फेमिनिजम’

१२ चैत २०७९, आइतवार
Image

महिला सशक्तिकरणलाई कलाको विभिन्न माध्यमबाट देखाइने गरिन्छ । कलाका माध्यममध्ये फिल्म मार्फत देखाइने महिला सशक्तिकरणको विषय भारतमा पनि नयाँ भने होइन । सन् १९५७ मा निर्देशक महबुब खानद्वारा निर्देशित ‘मदर इन्डिया’ले भारतीय महिला सशक्तिकरणको गाथा मात्र गाएन विश्वस्तरममा यसलाई ओस्करको यात्रासम्म पु¥यायो । मदर इन्डियापछि भारतमा अनेकौँ फिल्महरू महिला सशक्तिकरण विषयमा बन्दै आएका छन् । हालै रिलिज भएका दुई फिल्महरू‘जय जय जय जय हे’ र ‘कला’ महिला सशक्तिकरणका क्षेत्रमा बनेका फिल्म हुन् । महिला सशक्तिकरणको विषयलाई उठान गरेका यी दुई फिल्मले ‘फेमिनिजम’ को साँचो अर्थ केलाउने प्रयास गरेका छन् । दुईमध्ये ‘कला’ले विगत (सन् ४० को दशक) को समाजमा महिलाको अवस्थाबारे व्याख्या गर्छ भने ‘जय जय जय जय हे’ले वर्तमान समाजमा उठ्न खोजेको महिला सशक्तिकरणको आवाज मुखरित गरेको छ ।

‘जय जय जय जय हे’

मल्यालम फिल्म ‘जय जय जय जय हे’निर्देशक विपिन दासद्वारा निर्देशित फिल्म हो । जयाभारती (जया) मध्यमवर्गीय परिवारमा हुर्केकी केटी हुन् । वर्तमान समाज जसले महिलालाई कथित स्वतन्त्रता उपलब्ध गराएको धाक लगाउँछ, त्यही धाकको पारिलो रापमा हुर्केकी केटी हुन् जया । फिल्मले बिम्ब प्रयोग गर्दै बिम्बबाटै महिला सशक्तिकरणको वकालत गरेको छ । श्रीमान्ले श्रीमतीलाई थप्पड हिर्काउनु, झर्काे मान्नु अनि चाहेजति भोग गर्नु सामान्य ठान्ने समाजमा जब श्रीमतीले श्रीमान् विरुद्ध शारीरिक अनि मानसिक धावा बोल्छिन् तब यो समाजको तेस्रो नेत्र खुल्छ । श्रीमतीको पिटाई खाएको श्रीमान् समाजमा खुलेर भन्न सक्दैन । पुरुषवादी मनोरोगबाट ग्रसित पति अदालत पुग्छ । अदालतमा स्वतन्त्रताको विषयमा सोधेको प्रश्नको जवाफमा श्रीमान् भन्छ–‘उसले चाहेको स्वतन्त्रता त मैले दिएकै छु नि !’ यहीँ यो फिल्मको उद्देश्य उजागर हुन्छ । महिलालाई आवश्यक स्वतन्त्रता प्रदान गर्ने वा नगर्ने अधिकार पुरुषलाई कसले दियो?के पुरुषले दिएको स्वतन्त्रता मात्र महिलाले उपभोग गर्नुपर्ने ?

फिल्मको अर्काे सशक्त पक्ष भनेको शिक्षाको अधिकार पनि हो । जब नारी शिक्षित बन्छिन् तब मात्र महिला सशक्तिकरणको नारा सार्थक हुने कुरालाई फिल्मले आत्मसात गरेको पाइन्छ । अहिले सहरीकरणसँगै महिला सशक्तिकरणका नाममा घन्काइने नाराभन्दा कोसौँ दुर यो फिल्मको सन्देश छ । छोटो लुगा लगाएर आधा रातसम्म एक हातमा चुरोट अनि अर्काे हातमा वाइनको गिलास बोकेर डान्सबारमा नाच्दैमा ‘फेमिनिजम’ले सार्थकता नपाउने विषय फिल्मले उठान गरेको छ । शिक्षित नारी, ठूलो सोचाई अनि अस्तित्वका लागि सङ्घर्ष गर्ने अठोटले मात्र महिला सशक्तिकरणको सपनालाई साकार बनाउने तर्क फिल्मले हामीसामू राखेको छ ।

‘कला’

कोभिडपछि उदय भएको ओटिटीले धेरै राम्रा कन्टेन्टहरु हामीसामू ल्याइरहेको छ । नेटफ्लिक्सको पछिल्लो फिल्म ‘कला’ कलाप्रेमी फिल्म हेर्ने दर्शकका लागि सरप्राइज प्याकेज हो । फिल्म ‘बुलबुल’पछि अनविता दत्तद्वारा निर्देशित फिल्म ‘कला’ले पनि उनको अघिल्लो फिल्म बुलबुल झैँ समाजमा महिलाको स्थानबारे आफ्नो दृष्टिकोण राख्छ । तृप्ती डिम्रीले ‘लैला मजनु’ अनि ‘बुलबुल’पछि फेरि एकपटक आफूलाई कथित नायिकाभन्दा अझ माथि उठाउन सफल बनेकी छन् । छोरा र छोरी बिचको अन्तर अनि सन् १९४०–५० को दशकको पृष्ठभूमिमा सामाजिक रुपमा महिलाको स्थान विषय उठान गरिएको यो फिल्म धैर्यपूर्वक फिल्म हेर्ने, बुझ्ने अनि मनन गर्ने सीमित दर्शकका लागि मात्र हो । तडकभडकभन्दा अलि पर नाम झैँ कलाले ओतप्रोत भएको यो फिल्मले तत्कालीन समाजमा महिलाको स्थितिको बयान गरेको छ । 

फिल्मको अर्काे सशक्त पक्ष यसको संगीत पनि हो । म्युजिकल फिल्मलाई संगीतले नै थ्रीलर रुप दिएको छ । कबिरको दोहादेखि लिएर स्वानन्द किरकिरे अनि वरुण ग्रोवरको लेखनले गीतलाई फिल्मको बहावमा साथ दिएको छ । तत्कालीन संगीतलाई रेट्रो फेबर प्रदान गरिएको अमित त्रिवेदीको संगीतले कानलाई ‘सुकुन’ दिन्छ । निर्देशक अनविता दत्त अनि अभिनेत्री तृप्ती डिम्री यो फिल्मका लागि जति प्रशंसालायक छन् त्यति नै प्रशंसा निर्मात्री रहेकी अनुष्का शर्माको हुन जरुरी छ जसले महिला सशक्तिकरणका क्षेत्रमा ‘एनएच १०’, ‘फिलौरी’, ‘परी’, ‘बुलबुल’ हुँदै ‘कला’लाई समाजको ऐनाको रूपमा ल्याउने प्रयास गरेकी छन् । 

महिला सशक्तिकरणको नाममा सभ्यता अनि संस्कारमाथि खेलवाड गर्ने जमातले यी माथिका दुवै फिल्म हेर्न अनि मनन गर्न जरुरी छ । नारी स्वतन्त्रता अनि समानताको राग अलापेर नथाक्ने समाजको भित्री क्रुर रुप हेर्दै यसलाई समय रहँदै पखालेर नयाँ समाजको निर्माणमा लाग्न यी र यस्ता फिल्महरूले एक–एक इँटा थप्ने काम गर्दै जान आवश्यक छ ।

लेखकको बारेमा
Image
हेमन्त निरौला

लोकतन्त्र पोस्टका संस्थापक सहकर्मी हेमन्त निरौला कला, साहित्य र खेल विषयमा कलम चलाउन रुचि राख्नुहुन्छ ।