१९ मंसिर २०८१, बुधवार

विचार

कस्तो नेता रोज्ने ?

१४ मंसिर २०८१, शुक्रवार
Image

नेपाली समाज यतिखेर नेतालाई गाली गर्नमा व्यस्त छ । विशेष गरी पचासको दशक आसपास र पछि जन्मे हुर्केको पुस्तामा आक्रोश र निराशा अलि बढी नै देखिन्छ । यो पुस्ताले त्योभन्दा पहिलाको नेपाल र नेपाली समाज प्रत्यक्ष देख्न, बुझ्न र भोग्न पाएन, परेन । त्यसपछिको नेपाललाई उसले विश्वका विकसित मुलुक युरोप, अमेरिका, अस्ट्रेलिया, जापान, दुवई, सिंगापुर आदिसँग तुलना गरेको पाइन्छ । भारत र चीनसँग पनि तुलना गरेको पाइन्छ । यो तुलनाले गर्दा धेरैलाई निराश र आक्रोशित बनाएको भान हुन्छ । 

आजको आक्रोति पुस्ताले पचासको दशक पहिलाको नेपाल कस्तो थियो भनेर बुझ्न चाहेको देखिदैन । यो पुस्तालाई लाग्छ यत्रो तीस तीस वर्षमा किन भएन त ? 

यो तीस बत्तीस वर्ष (२०४७–२०८०)मा देशको राजनीतिले हिँडेको बाटो एकछिन थामिएर सोचौ त कस्तो थियो । २०५२ सालबाट देशमा माओवादीले चलाएको हिंसात्मक बिद्रोहको अवस्था थियो । दश वर्षसम्म यो बिद्रोहको सघन र प्रत्यक्ष प्रभाव रह्यो । यो अवधिमा भौतिक विकास सडक, बिजुली, पुल, टेलिफोन, अस्पताल, स्कुल, ठूलठूला निर्माणका काम, ठूलाठूला विकासका परियोजना कुनै शुरु भएनन्, भएकाको काम ठप्प भयो । विकास भएन मात्रै होइन भएका संरचना एवं विकासको ध्वङ्स पनि यो अवधिमा निकै धेरै भयो । त्यो समयमा पनि मुल धारका राजनीतिक दल नेकपा एमाले र नेपाली काङ्ग्रेसलाई सिध्याउन माओवादी र तत्कालिन राजा समेत लागे । मुलुृकले राजनीतिक निकास पाउन अत्यन्तै सकस भएको अवस्था थियो । बिद्रोहमा १७ हजार मानिस मारिए । माओवादी एक्लैले सत्ता पल्टाउन र टिकाउन सकिदैन भन्ने बोध गरे पछि बल्ल उसले कि राजासँग मिल्नु पर्ने कि राजनीतिक दलहरुसँग मिल्नु पर्ने अवस्था थियो । तत्कालिन राजाले माओवादी र राजनीतिक दललाई समदूरीमा राखेर मिल्न पनि नदिने सहकार्य पनि नगर्ने नीति लिएको थाहा पाएपछि मात्रै माओवादी सात राजनीतिक दलसँग मिल्न सम्भव भएको थियो । सात दल र माओवादी मिल्ने कुरा पनि त्यति सहज थिएन । एकले अर्कोलाई सिध्याउन अनेक खेल खेलेका थिए । माओवादीले गाउँगाउँमा भएका एमाले र कांग्रेसका कार्यकर्ताको छानिछानी हत्या गरेका थिए । विस्थापित हुन वाध्य बनाएको थियो । माओवादीले जित्न नसक्ने र एमाले कांग्रेसले देश राजाको निरङ्कुशतामा फर्कने अवस्था देखेपछि मिल्न वाध्य भएका हुन् ।   

माओवादी र तत्कालीन सातदलको संयुक्त प्रयासमा २०६२–६३ को दोश्रो जन आन्दोलनले राजतन्त्रको अन्त्य ग¥यो । सातदल र माओवादीका बिचमा बृहत शान्ति सम्झौता भयो । त्यसपछिको पहिलो काम संविधानसभाबाट संविधान निर्माण गर्नु थियो । यसका लागि आठ वर्षको समय लाग्यो । यो कम सकसपूर्ण काम थिएन । तराई मधेशमा भएको पटक–पटकको आन्दोलन, धनजनको क्षति कम अत्यास लाग्दो थिएन । माओवादीले बाँडेका जातै पिच्छेका राज्य र अधिकारको लागि भनेर गरिने अनिश्चित बन्द, हडताल, आगजनी, लुटपाट, हत्या, दर्जनौं भूमिगत पार्टीं र तिनको आतङ्क झेल्दै मुलुक अगाडि बढ्यो । पहिलो पटकको संविधानसभा संविधान नै निर्माण नगरी भङ्ग भयो । दोश्रो पटक संविधानसभाको निर्वाचन गरेर पुनः संविधान जारी भयो । यो विश्वकै दुर्लभ घटना हो । यो काम पनि सहजै भएको होइन । 

२०७२ साल असोजमा बढो कष्टसाध्य अवस्थाबाट संविधान जारी भयो । संविधान जारी हुन नपाउदैदेखि सम्पूर्ण तराईलाई एक प्रदेश अर्थात मधेश प्रदेश बनाउनु पर्छ भनेर गरिएको आन्दोलन, नाकाबन्दी, त्यो बेलाको जातीय र क्षत्रीय विद्वेष बिर्सनै नसकिने अवस्था हो । माओवादीले चलाएको सशस्त्र विद्रोहले गर्दा गाउँबाट सुरक्षाको खोजी गर्दै धेरै मानिस शहर पसे । यता तराई आन्दोलनका कारण तराईमा बसोवास गर्ने धेरै पहाडे मूलका मानिसले तराई छाडे । यी घटनाले सामाजिक सद्भाव र संरचनामा नै खलबल ल्यायो । 

ठिक यही बेला २०७२ सालमा महाभूकम्प गयो । नौ हजारभन्दा धेरै मानिसको निधन भयो । खर्वौंको भौतिक क्षति भयो । देशमा ठूलो सकस पछि बनेको नयाँ संविधानको कार्यान्वयनको लागि निर्वाचन सम्पन्न गर्नु थियो । निर्वाचन भयो । नयाँ संविधानले व्यवस्था गरेबमोजिम संघीयता कार्यान्वयन गर्नु थियो । त्यसको प्रारम्भ भयो । संसदमा कुनै एक पार्टीको बहुमत आउने अवस्था थिएन, आएन । यो बीचमा संसदबाट बनेको कुनै पनि सरकारले पाँचवर्ष त के तीन वर्ष पनि पूरा गर्न पाएन । 

अस्थिर सरकार, लोभी कर्मचारी, भ्रष्ट राजनीतिक व्यक्तिहरुका माझमा असल मनसायले देश विकासमा लाग्ने नेता र कर्मचारीलाई पनि टिक्न र सोचेको जस्तो वा चाहेको जस्तो काम गर्न कहाँ सजिलो हुन्छ र ? तर पनि केही भएको छैन भन्ने होइन । यति धेरै अवरोध, समस्या, अप्ठ्यारा, साधन श्रोतको न्युनताका बिचमा पनि केही नभएको र हुँदै नभएको होइन । 

यदि सही मनसाय भएको असल राजनीतिक नेतृत्व तलदेखि माथिसम्म पुग्न र पु¥याउन सके अब हामी चाँडै नै देशलाई विकास गर्न सक्छौं । यसका लागि कुनै जादुमयी, चमत्कारी, दैवी शक्ति भएको नेता आउँछ र उसैले सबैथोकको विकास गरेर समृद्धि हाम्रो हातहातमा राखिदिन्छ भन्ने भ्रमबाट मुक्त हुन जरुरी छ । यस्तो भ्रममा नेपाली मतदाता परेको भान भएको छ । 

देश विकास भनौं वा समृद्धि चमत्कार र भाग्यको उपज नभई सामूहिक सङ्कल्प, दृढ अठोट, व्यवस्थित योजना, नियमित एवं अनुशासित अभ्यासको परिणाम हो । यस्तो अभ्यासका लागि असल नेता र अनुशासित जनता हुन आवश्यक छ । 

एउटा नेता असल भयो भने उसले क्रमशः अनुशासित जनताको पङ्ति तयार गर्छ । नेताको प्रभाव क्षेत्रका आधारमा असल नेता भए असल अभ्यास हुन्छ । नेता भनेको देश हाक्ने ठूला नेता मात्रैलाई सम्झनु भूल हुन्छ । एउटा परिवार चलाउने घर–परिवारको नेता असल भयो भने घर–परिवारमा असल अभ्यास हुन्छ र त्यसको नतिजा एवं भविष्य राम्रो बन्दै जान्छ । एउटा संस्था, सङ्घ कम्पनि, स्कुल, कलेज, विध्यालय, विश्व विध्यालय, कार्यालय आदिको जिम्मा पाएको नेता असल भए त्यहाँ असल अभ्यास हुन्छ । असल अभ्यासले तत् क्षेत्रको भविष्य बनाउँदै लान्छ । त्यसै गरी टोल, गाउँ, नगर, जिल्ला, प्रदेशको नेतृत्व गर्ने अवसर पाएको नेता असल भए ती ती क्षेत्रमा असल अभ्यास हुन्छ । असल अभ्यासले सबैका लागि सुखद परिणाम निकाल्छ । यो असल अभ्यासको प्रकृयाले नै समृद्धिको गन्तव्यमा पुग्न सघाउ पुग्छ । यो नियमित र नियम अनुसारको असल अभ्यास बिना समृद्धिको यात्रा असम्भव छ । यो नियमित र नियम अनुसारको असल अभ्यास गर्न असल नेता र अनुशासित जनता सँगसगै मिलेर काम गर्नु पर्छ । 

पपुलर नेताको बिगबिगी ः हामी नेता कस्तो छान्छौं र कसरी छान्छौं । यो निकै महत्वपूर्ण विषय हो । मतदाताहरु अक्सर गरेर पपुलर नेतालाई रुचाउने गर्छन् । पपुलर नेताको विशेषता भनेको मतदाताको नजिक जाने, मतदातासँग विशेष सम्वन्ध बनाए जस्तो गर्ने, गर्न हुने नहुने सबै काम गर्छु भन्ने, मतदातालाई झुट बोलेर भए पनि आश्वस्त पार्ने, गलत गर्नेहरु प्रति कठोर भएर प्रस्तुत हुन नसक्ने, टालटुल गरेर काम चलाउने प्रवृत्तिको हुन्छन् । यस्तो नेतालाई धेरैले राम्रो मान्छे भन्ने गर्छन् । जस्तै एउटा स्कुलको ‘हेड मास्टर’ पपुलर चरित्रको भएमा स्कुलको अनुशासन बिग्रन्छ । विद्यार्थीको भविष्य अन्योलमा पर्छ । शिक्षकले पढाए नपढाएको राम्ररी हेरिदैन, शिक्षक समयमा आए नआएकोमा ख्याल गरिदैन, कक्षा कोठामा गए नगएको मतलव गरिदैन, कोर्स पूरा गरे नगरेको मतलव हुँदैन । कुनै शिक्षकलाई किन नगरेको भनिदैन, कुनै विद्यार्थीलाई अनुशासनमा राख्न प्रयास गरिदैन । सबै कुरा ‘हुन्छ’ यस्तै त हो नि भनेर सबैको राम्रो हुन सकिएला तर विद्यालयको र विद्यार्थीको भविष्य बिग्रन्छ । यो पपुलर नेताको चरित्र हो । यसको प्रभाव सधै निराशाजनक नै हुन्छ । 

आफ्ना लागि नेता बन्ने ः एक खालका नेताको उद्देश्य नै गजवको हुन्छ । गर्नु केही छैन तर जे पनि गर्छु भनेर मानिसलाई भ्रममा पार्ने गर्छन् । जसरी पनि जित्ने र पदमा पुग्ने मात्रै उद्देश्य हुन्छ । पदमा किन पुग्ने भने मान सम्मान ग्रहण गर्ने, पैसा कमाउने, हैसियत बनाउने र देखाउने, आपूmलाई विशिष्ट भएको अनुभूति गर्ने । यो प्रकारका नेता जस्तो सुकै बाचा गर्न तयार हुन्छन् । पैसा खर्च गरेर चुनाव जित्ने वा पदमा पुग्ने कुरामा विश्वास गर्छन् । त्यसैले पैसा नै सबैथोक हो भन्ने सोच्ने गर्छन् । यो कोटीका नेता चुनावमा राम्रै खर्च गर्ने र चुनाव जितेर पैसाकै जोहोमा लाग्ने । जसलाई गर्नु केही छैन, थिएन उसले गरेन भन्नु नेता जसलाई बनायौं उसलाई बुझ्न र चिन्न नसक्नु हो । 

अहिलेको जनचेतनाको अवस्था हेर्दा चमत्कारी नेता, बढी आश्वासन दिने र आपूmसँग राम्रो सम्वन्ध भएको वा चिनेको मानिस अर्थात् पपुलर नेता र पैसालाई सबैथोक ठान्ने, धेरै पैसा खर्च गर्नसक्ने नेतालाई आफ्नो प्रतिनिधि अर्थात नेता छान्ने बढी सम्भावना छ । यस्तै नेताले जित्ने परम्परा छ । चमत्कारी नेता, पपुलर नेता र धेरै पैसा खर्च गर्ने नेताले चुनाव जित्ने तर कामको नतिजा दिन नसक्ने हुन्छ । किनकि काम, विकास, नतिजा, सुशासन, अनुशासन, नियमितता यस्ता नेताको प्राथमिकता होइन । त्यसैले यी मध्ये प्राय सबै नेता एक चुनाव जिते पछि अर्को चुनाव जित्न नसक्ने अवस्थामा पुग्छन् । कतिपय इमान्दार नेता त चुनावबाट भाग्न चाहन्छन् । 

यदि हामी दिगो विकास चाहन्छौं, असल नेताको नेतृत्व भएको हेर्न चाहन्छौं, अनुशासित समाज चाहन्छौं भनो चमत्कारिक नेता खोज्न छाडौं । पपुलर नेताको भ्रममा नपरौं र पैसाको बलमा चुनाव जित्न चाहनेको पछि नलागौं । अन्यथा नेताले गाली खाने र जनताले दुःख पाइरहने अवस्थाले नै निरन्तरता पाउने हो । 

लेखकको बारेमा
Image
रामचन्द्र उप्रेती

(लेखक नेपाल बहुउद्देश्यीय सहकारी संस्थाका संस्थापक अध्यक्ष हुनुहुन्छ ।)