७ फागुन २०८१, बुधवार

विचार

पार्टीले जित्दा लोकतन्त्रले नहारोस्

३ फागुन २०८१, शनिवार
Image

नेपालमा राजनीतिक रुपमा बहुदलीय व्यवस्था कायम छ । यो व्यवस्थामा दुई वा दुईभन्दा बढी पार्टीले आपसमा प्रतिस्पर्धा गरेर जनमत प्राप्त गर्ने र पाएको जनमतका आधारमा सरकार बनाउने, सरकार चलाउने गर्छन् । सरकार चलाउने पार्टीले आफ्नो नीति तथा कार्यक्रम लागु गर्छन् । अहिलेको विश्वमा बहुदलीय प्रतिस्पर्धात्मक राजनीतिक परिपाटीलाई नै उत्तम मानिदै लगिएको छ । यद्यपि यो व्यवस्थामा पनि कमी कमजोरी नभएका होइनन् । कमी कमजोरीका बाबजुत कुनै सकृय राजतन्त्र, सैनिक शासन, एक दलीय व्यवस्था वा परिवारको शासन व्यवस्थाभन्दा यसलाई उत्तम मानिएको छ । 

नेपालले २००७ सालसम्म जहानियाँ शासन (परिवारबादको शासन), २०४७ सालसम्म सकृय राजतन्त्रको नेतृत्वमा निर्दलीय पञ्चायती व्यवस्था र त्यसपछि बहुदलीय व्यवस्था लागु भयो । बहुदलीय व्यवस्थामा तीनवटा संविधान बने । २०४७ सालको संविधान, २०६३ सालको अन्तरिम संविधान र २०७२ को नेपालको संविधान । यति छोटो अवधिमा तीन तीन वटा संविधानको अभ्यास गर्ने देश सायद नेपाल मात्रै हो कि ? यसले देशको शासन व्यवस्था अस्थिर अवस्थामा भएको देखाउँछ । 

अहिले पनि सरकार बन्ने र भत्कने क्रम जारी छ । विगत सत्तरी वर्षको अवधिमा र त्योभन्दा पहिला पनि देशमा कुनै पनि कार्यकारी प्रधानमन्त्रीले पाँच वर्ष शासन गरेको अवस्था छैन । देशमा आशातित विकास नहुनुमा अस्थिर राजनीति प्रमुख कारण हो ।

२०४७ साल पछिको राजनीति तरल र अस्थिर हुनुको दोष राजनीतिक पार्टीहरुलाई जान्छ । यसको खोजी गरिनु पर्छ । हुन त करिव ३०–३२ वर्षको बहुदलीय राजनीतिक अभ्यास त्यति पुरानो र लामो होइन । तर यो अवधि राम्रो अभ्यास गर्नका लागि कम पनि होइन । मुख्य गरी नेपाली काङ्ग्रेस, नेकपा एमाले र नेकपा माओवादी पार्टी यो अस्थिर राजनीतिका लागि मुख्यरुपमा दोषी छन् । यसका कारणहरु खोजी गरौं । 

मेरो बुझाईमा २०५० सालतिर नेकपा एमाले र नेपाली काङ्ग्रेस निकै बलिया पार्टी थिए । जनआकर्षण यी दुई पार्टीमा नै थियो । यी दुई पार्टी एकअर्कामा यति असहिष्णु बने कि एकले अर्कालाई निषेध गर्ने स्तरको व्यवहार गरे । एकले अर्कालाई आफ्नो राजनीतिक  प्रतिस्पर्धिभन्दा दुस्मन जस्तो व्यवहार गर्न थाले । एकले अर्काको विरुद्ध भए नभएका आरोप लगाए । एकले अर्काका नेता, कार्यकर्ता, समर्थक, मतदातालाई विधि पद्धति, नीति, विधि मिचेर, भत्काएर आरोप लगाउने, अन्याय गर्ने र न्याय नदिने व्यवहार गरे । जुन पार्टीले सरकार बनाउँछ त्यो पार्टीले अर्को पार्टीका नेता, कार्यकर्ता, मतदाता, समर्थक सम्मलाई दुःख दिने काम गरे । आफू सत्तामा भएको समयमा विधि, पद्धति, नीति, नियम सबै मिचेर आफ्ना समर्थकलाई मात्रै अवसर दिने काम गरियो । यो पहिलो गल्ति थियो । हुन त यो अवस्था नेपालको मात्रै होइन समग्र दक्षिण एसियामा नै यस्तै छ । योभन्दा खराव अवस्था पनि छ । 

बहुदलीय व्यवस्था शुरु हुँदा कै अवस्थामा स्वर्गीय मदन भण्डारीले कम्तिमा दश वर्ष यी दुई ठूला पार्टीले मिलेर शासन चलाउने, स्वस्थ प्रतिस्पर्धा गर्ने, एकअर्काका शीर्ष नेताका विरुद्धमा उम्मेद्वार नदिने भनेर प्रस्ताव गरेका थिए । तर त्यो लागु भएन । तीस वर्षभन्दा लामो अभ्यास पछि यी दुई ठूला दल मिलेर सरकार चलाउने अभ्यास शुरु भएको छ । यसको एउटै कारण भनेको स्थिर सरकार दिनु हो । स्थिर सरकारले मात्रै देशको विकास गर्न सक्छ भन्ने बोध सबैलाई भएको छ । 

यो बेला विगतमा भएका गल्तिहरुको समीक्षा गर्नु सान्दर्भिक हुन्छ । त्यो समयमा आआफ्नो पार्टी बलियो बनाउन भएका सबै जनताको पार्टीकरण गरियो । कसैले पनि कुनै पार्टीमा नलागी वा पार्टीको सदस्य नभई स्वतन्त्र नागरिक भएर बस्न नपाउने अवस्था बनाइयो । नागरिकलाई कुनै समस्या पर्दा, कुनै अवसर पाउँदा, कतै प्रतिस्पर्धा गर्नुपर्दा, कुनै जिम्मेवारी लिनु पर्दा, साँध सिमानाको झगडा हुँदा, दाजुभाइ, श्रीमान् श्रीमतीको सामान्य भैmझगडामा समेत पार्टीकरण हुने अवस्था बन्यो । जन्ति, मलामीमा पनि पार्टीको प्रभाव राम्रै देखिन्थ्यो । विकास र अवसरमा त अहिलेसम्म पनि प्रभाव राम्रै देखिन्छ । माओवादी पार्टी मूलधारमा आएपछि पार्टीकरणमा माओवादीले एक नम्बरको नेपाली काङ्ग्रेस र सँगसगै जस्तो रहेको नेकपा एमालेलाई जितेर अरु दुई पार्टीभन्दा अगाडि आयो । देशमा निर्माण भएका व्यावसायिक र पेशागत सङ्घ सङ्गठनमा पनि अति राजनीतिकरण भयो । जनता, जनता र स्वतन्त्र हुन पाएनन् जस्तै भयो । धेरै मानिसले एकै पटक एकभन्दा धेरै पार्टीको सदस्यता लिएर बसेको पनि पाएको छु । यसको कारण पार्टीप्रतिको आस्था होइन अवसरमा पहुँच,  सामाजिक सुरक्षा र समस्या पर्दा सहयोगको अपेक्षा थियो । यो अवस्थाको पूर्णरुपमा अन्त्य भइसकेको छैन । यद्यपि विगतको जस्तो असहिष्णुता र आरोप प्रत्यारोप अहिले छैन । 

पार्टीले विगतमा र अहिलेसम्म पनि गरेको यो कार्य पार्टी बलियो बनाउनका लागि गरेका हुन् । पार्टी बलियो बनाउने धुनमा गरेको यो कार्यले केही समयका लागि पार्टी बलियो त भयो होला तर राज्यमा यसका असरहरु दीर्घकालसम्म प्रभाव पार्ने खालका भए । 

कस्ता प्रभाव देखिए ? 

१) पार्टी बलियो बनाउन सङ्ख्या विस्तार गर्दा पार्टीमा समर्पित भएर लाग्ने कार्यकर्ता र नेताको गुणस्तर विकास हुन सकेन । गुणस्तर विकास नगरी थपिएको सङ्ख्याले पार्टीमा त्याग होइन लाभको खोजी गर्न पुग्यो । 

२) राजनीतिमा लाग्ने, राजनीति गर्ने भनेकै व्यक्तिगत लाभका लागि हो भन्ने भाष्य बन्न पुग्यो । राजनीति गर्नु समाज र देशको सेवा गर्ने उत्तम र महान कार्य हो भन्ने मान्यता धुमिल हुन पुग्यो । 

३) राजनीतिमा लागेर व्यक्तिगत फाइदा लिन चाहने मानिसले फटाफट फड्को मार्न थाले । 

४) राजनीतिमा महत्वपूर्ण जिम्मेवारीमा भएका व्यक्तिलाई प्रभावमा पारेर विधि, नीति, पद्धति आदिको धज्जी उडाउँदै चाँडै धनी हुन चाहने र धन भएकाहरु अझै धेरै धनी हुन राजनीतिक पदको दुरुपयोग गर्न आफू पार्टीको कार्यकर्ता, सहयोगी, समर्थक आदि भएको प्रभाव दिन सफल भएका छन् । 

५) पार्टी र राज्य शक्तिको दुरुपयोग गरेर आफ्नो स्वार्थ पूरा गर्न आफू अनुकूलका मानिसलाई उम्मेद्वार बनाउने, सके उम्मेद्वार बन्ने यस्ता उम्मेद्वारलाई व्यापक आर्थिक सहयोग गर्ने, चुनावमा पैसाको प्रभाव भए मात्रै जित्न सकिन्छ नत्र हारिन्छ भन्ने भाष्य स्थापित गर्ने काम भएको छ । यसले चुनावमा धेरै आर्थिक सहयोग गर्ने मानिसलाई पार्टीको जिम्मेवारी दिने, कुरा सुन्ने, लाभ पुर्याउने गरी कार्य गर्ने खालका कामले महत्त्व पाउन थाल्यो । 

६) सबैतिर अति पार्टीकरण गर्नाले पार्टी, सत्ता र शक्तिको दुरुपयोग गरेर निहित स्वार्थ पूरा गर्न चाहने व्यक्तिहरु पार्टी र सत्ता शक्तिको नजिकमा झुम्मिने क्रम बढ्यो । यस्तै मानिसले अवसर लिने अवस्था बन्यो । 

७) पार्टीमा निष्ठाको राजनीतिक गर्ने नेता, कार्यकर्ता, सदस्य, समर्थक, शुभचिन्तकमा क्रमशः निराशा बढ्न थाल्यो । 

८) पार्टी र सर्वसाधारण जनताको सम्वन्धमा खुकुलोपन आउने र जनता पार्टीको नीति कार्यक्रमबाट टाढिने, निस्कृय बस्ने क्रम बढ्न थाल्यो । 

९) नयाँ पुस्तामा पार्टीप्रतिको आकर्षण हुनै छाड्यो । राजनीति त्याग, समर्पण र सेवाको काम हो भन्ने भाष्य नै रहन पाएन । 

१०) सबैतिर (पार्टीका आन्तरिक चुनाव, सामाजिक सङ्घसस्था, पेशागत सङ्घ सङ्गठन, उपभोक्ता समिति, टोल विकास संस्था आदिमा) हुने चुनावमा पैसा बोल्न थालेकाले पैसा खर्च गर्न सक्नेले मात्रै चुनावमा भाग लिने र नेता बन्ने अवस्थाको सिर्जना भयो । 

११) आपराधिक कर्ममा संलग्न भएका, आपराधिक पृष्ठभूमि भएका कतिपय मानिसले पार्टी कार्यकर्ता, पार्टीको नेता, पार्टीको टिकटमा निर्वाचित भएकाले कानुनी कार्वाहीबाट बच्न  सजिलो हुने अवस्था बन्न पुग्यो । यस्तै यस्तै । 

झट्ट हेर्दा सबैतिर पार्टीकरण गरेकाले पार्टी बलियो भएजस्तो लाग्न सक्छ तर पार्टीका मान्छे धेरै हुनुभन्दा राजनीति बुझेका, राजनीतिलाई पेशा होइन सेवाको रुपमा लिएका, पार्टी बुझेका, पार्टीको नीति कार्यक्रम बुझेका र त्यसमा विश्वास भएका, ठाउँमा हुँदा त्यसलाई लागु गर्ने प्रतिवद्धता भएका नेता, कार्यकर्ता हुन आवश्यक छ । त्यस्तो सङ्ख्या थोरै भए पनि प्रभावकारी हुन सक्छ । आम मानिसले यस्ता नेता र कार्यकर्तालाई हेरेर चुनावमा समर्थन गर्ने वा नगर्ने निर्णय मतदानको माध्यमबाट गर्न पाउनु लोकतन्त्र हो । निर्धक्क भएर चुन्ने र चुनिने अवस्था सिर्जना हुनु लोकतन्त्र हो । 

सबैतिर पार्टीकरण हुँदै जाँदाको परिणाम राजनीति र पदका लागि अयोग्य मानिस पार्टीमा हर्ताकर्ता हुन पुगेको अवस्था छ । यस्तै मानिसले पार्टी र पार्टीले उम्मेद्वार बनाउने, महत्वपूर्ण ठाउँमा जिम्मेवारी पाउने अवस्था बन्दै गयो । चुनाव जित्न मतदाताको मनको मतभन्दा उम्मेद्वारको पैसा प्रभावी बन्दै गयो । यस्तो प्रकृया र प्रभावले अन्ततोगत्व लोकतन्त्र नै कमजोर हुँदै जान थालेको छ । 

लोकतन्त्र कमजोर हुनुको प्रमाण पार्टीहरु प्रतिको आकर्षण कम हुनु र वैकल्पिक पार्टी र नेताको खोजी गर्नु हो । भरपर्दो विकल्प नपाउनु हो । छिटोछिटो पार्टी र नेता परिवर्तन गर्नु हो । राजनीति प्रति नै बितृष्णा जाग्नु हो ।  लोकतन्त्र कमजोर हुँदा चुनावमा पार्टीले जित्ला, पार्टीका पैसावाल उम्मेद्वारले जित्लान् तर लोकतन्त्रले हार्दै जाने छ । त्यसैले हरेक चुनावमा लोकतन्त्रले जितोस् भनेर पार्टीहरुले ध्यान दिन जरुरी छ । यदि पार्टीहरु लोकतन्त्रलाई जिताउनभन्दा केही थान आफ्ना अनुकूलका उम्मेद्वारलाई जिताउन लाग्ने र त्यसैमा जितेको रमाइलो मान्ने हो भने आम सचेत मानिसले पार्टीका खराव उम्मेद्वारलाई धनको मत दिएर जिताउनभन्दा लोकतन्त्रलाई जिताउन असल उम्मेदारलाई मनको मत दिन आवश्यक छ । लोकतन्त्रको असल अभ्यासले मात्रै समाज र देशको भलो हुन्छ । त्यसैले चुनावमा लोकतन्त्रले जित्ने अवस्थाको सृजना गरौं । पार्टीले जित्दा लोकतन्त्रले हार्ने अवस्थाको सृजना हुन नपाओस् ।

लेखकको बारेमा
Image
रामचन्द्र उप्रेती

(लेखक नेपाल बहुउद्देश्यीय सहकारी संस्थाका संस्थापक अध्यक्ष हुनुहुन्छ ।)