१८ चैत २०८१, मङ्गलवार

विचार

स्वार्थको रोटी सेकिरहेकाहरुको भडकाउ र अराजकता

१४ चैत २०८१, शुक्रवार
Image

नेपालले यतिबेला प्रतिस्पर्धात्मक बहुदलीय राजनीतिक प्रणाली र खुला समाजको अभ्यास गरिरहेको छ । विभिन्न राजनीतिक दलहरु छन् । नेपाली काङ्ग्रेस, नेकपा एमाले, नेकपा माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र अरु बिभिन्न क्षेत्रीय पार्टीहरु सकृय छन् । 

नेपालको भूगोल त्यति धेरै ठूलो नभए पनि एक सय चालीस जातजाति, एक सय पच्चिस भाषाभाषी, तराईदेखि हिमालसम्मको भौगोलिक विविधता छ । विभिन्न धर्म, संस्कृति, रीतिथिति, परम्परा, भेषभुषा, फरक–फरक खानपान, पेशा र जीवन शैली यहाँका महत्वपूर्ण विशेषता हुन् । 

आर्थिक रुपमा नेपाल विश्वका अति कम विकसित देशहरु मध्येको एक हो । सन् २०२६ मा अतिकम् विकसित मुलुकबाट कम विकसित मुलुकमा उक्लने तरखरमा छ । 

भौगोलिक हिसावले नेपाल विश्वका दुई ठूला मुलुक भारत र चीनको विचमा रहेको छ । भारत र चीन दुवै मुलुक जनसङ्ख्या र भूगोलका हिसावले नेपालभन्दा कैयौं गुणा ठूला र आर्थिक रुपमा पनि धेरै नै शक्तिशाली छन् । चीन विश्वको दोश्रो ठूलो आर्थिक शक्ति बनिसकेको छ भने भारत पाचौं ठूलो । यी दुई ठूला राष्ट्रको आ–आफ्नो स्वार्थ नेपालसँग नगासिने कुरै भएन । 

नेपालभन्दा धेरै परको युरोपियन युनियन र त्योभन्दा पनि परको विश्व शक्ति अमेरिकाको पनि नेपालसँग घुमाउरो सम्वन्ध हुने नै भयो । नेपाल अति कम विकसित देश भएकाले छिमेकी मुलुक भारत र चीनसँगको सम्बन्ध राम्रो बनाउनै पर्छ र ती देशबाट नेपालको विकास र व्यापारको सम्भावना खोज्नै पर्छ । त्यतिले मात्रै पुग्दैन नेपालले विश्व मञ्चमा आफ्नो परिचय सहित उभिएर युरोप, अमेरिका, रुस, अस्ट्रेलिया लगायतका देशसँग व्यापार र सहयोगको हात बढाउन प्रयास गर्नुपर्छ, गर्दैछ । 

नेपाल विश्वको यस्तो सामरिक महत्वको स्थानमा अवस्थित छ कि यसले आफ्नो परराष्ट्र नीति सन्तुलित बनाउन आवश्यक छ । नत्र ‘साँडेको जुधाईमा बाछाको मिचाई’ हुने सम्भावना बलियो छ । क्षेत्रीय रुपमा भारत र चीनको विचमा तीब्र प्रतिस्पर्धा छ । दुवै देश पूर्वका उदीयमान शक्ति राष्ट्रहरु हुन् । विश्वको अवस्थामा हेर्दा अमेरिका र चीन कट्टर प्रतिस्पर्धी हुन् । चीन अमेरिकालाई उछिनेर पहिलो शक्ति बन्ने होडमा छ । विश्वमा आफ्नो प्रभाव हर हिसावले विस्तार गर्न प्रयासरत छ भने उता अमेरिका चीनलाई कुनै पनि हालतमा पहिलो शक्ति बन्न नदिन कटिवद्ध छ ।

नेपाल दुवै छिमेकी देश चीन र भारतसँग सन्तुलित सम्बन्ध कायम राख्दै आफ्नो राजनीतिक स्थिरता, सुरक्षा र विकास चाहन्छ । त्यसै गरी नेपालभन्दा धेरै परको युरोपियन युनियन, अमेरिका लगायतका विश्व शक्तिसँग पनि मित्रताको सम्बन्ध कायम राख्दै आफ्नो मुलुकमा शान्ति, स्थिरता र विकास चाहन्छ । 
अब अनुमान गरौं नेपालको स्वार्थमा छिमेकी मुलुक भारत, चीन लगायत युरोपियन युनियन, अमेरिका र अन्य सहयोगी देशहरु के नेपाललाई नेपालले चाहे अनुसार नै सहयोग गर्न चाहन्छन् वा उनीहरुको पनि केही स्वार्थ छ ? यस विषयमा अलिकति चासो नराखी नेपालमा हुने गरेका र भएका गतिविधिको वास्तविक भेउ पाउन सकिदैन । 
विश्वका पछिल्ला घटनालाई हेरौं, युक्रेनमा रुसले आक्रमण गर्दा हामी धेरैलाई लागेको थियो रुसका अगाडि युक्रेन एक हप्ता पनि टिक्छ कि टिक्दैन । तर दुई वर्ष वितिसक्ता पनि रुस युक्रेन युद्ध रोकिएको छैन । युक्रेनको काँधमा बन्दुक राख्ने त अमेरिका र युरोपियनहरु रहेछन् भन्ने हामी जस्ता बबुरालाई बल्ल थाहा हँुदैछ । यतिका दिनको युद्धपछि रुसलाई जित्न र गलाउन नसकिने रहेछ बेकारको खर्च मात्रै भयो भन्ने लागे पछि अमेरिकाले पछि हट्ने सङ्केत देखाएको छ । यसमा अमेरिकाले युक्रेनमा गरेको लगानी वापत बहुमूल्य खानीमा अमेरिकाको पहुँच हुनेमा युक्रेनले सहमति जनाएर पनि धर पाएको छैन । युरोपले आफ्नो लगानी डुब्ने डरमा युक्रेनलाई उकास्न छाडेको छैन । यो युद्धमा युक्रेनलाई हौस्याउने र सहयोग गर्ने देशहरुले युक्रेनसँगको आत्मिय र सहयोगी सम्बन्धभन्दा माथि नाफाघाटाको सम्बन्ध अगाडि राखे । अर्थात व्यापार प्रमुख बन्न पुग्यो । अब युक्रेनले युद्धको खर्च बापत सहयोगी देशलाई कुनै न कुनै प्रकारको क्षतिपूर्ति दिनु पर्ने अवस्था देखिदैछ । युद्धले पु¥याएको जनधनको क्षति व्योहोर्नु पर्ने भयो नै भूभाग पनि गुमाउनु पर्ने देखिदैछ । यो युद्धबाट युक्रेनले नोक्सानै नोक्सानमात्रै व्यहोर्दैछ जस्तो देखिदैछ । यसको एउटै कारण हो युक्रेन भौगोलिक र सामरिकरुपमा रुस र युरोपको बिचमा रहेकोले हो । पश्चिामा देशहरुले पहिला युक्रेनमा आफ्नो अनुकूलको सत्ता स्थापना गरे र त्यसैलाई प्रयोग गरेर रुसलाई कमजोर पार्ने कोशिस गरे । सफल असफलको मुल्याङ्कन त हुदैजाला तर युक्रेनी जनताले जुन जनधन र समयको क्षति व्योहोर्न प¥यो त्यो युक्रेनको इतिहासले कहिल्यै भुल्ने छैन ।

अब फेरी नेपाल तिरै पर्कौं । नेपालसँग विशेष सम्बन्ध भएको, तिनतिरबाट घेरिएको, जीवन शैली, रहनसहन, खानपान, धर्म संस्कृति, तिर्थाटन, वैवाहिक सम्बन्ध आदिले जेलिएको नेपाल भारतको सिमा एक अर्का मुलुकका नागरिकका लागि खुला छ । नेपालको व्यापारको ठुलो हिस्सा भारतसँगै हुन्छ । 

आधुनिक भारत बनेदेखि नै नेपालको राजनीतिमा भारतको दख्खल देखिने गरि छ । कुनै बेला नेपालको क्याबिनेट बैठकमा भारतका प्रतिनिधि राख्ने चलन समेत थियोरे । नेपालले स्वतन्त्र राष्ट्र हुन र भारतको अधिनस्त होइनौं भन्ने अवस्था सृजना गर्न निकै मेहनत गरेको छ । नेपालका हरेक राजनीतिक शक्तिसँग भारतको पहुँच छ भने नेपालमा हुने हरेक राजनीतिक परिवर्तनमा भारतको प्रत्यक्ष अप्रत्यक्ष सहयोग वा घुसपैठ भएको कुरा घाम जत्तिकै छर्लङ्ग छ । त्यसो भए भारत नेपालसँग के चाहन्छ भनेर पनि बुझ्नु पर्छ । 

मेरो निजी विचारमा भारत नेपालमा सधै आफ्नो अनुकुलको परिस्थिति होस् । नेपालको सरकारले भारतले चाहेको जस्तो निर्णय गरोस् । नेपालको बजारमा भारतको निर्वाध व्यापार होस् । नेपालको जलश्रोत, सडक, हवाई सम्पर्क भारतले चाहे जसरी होस् । नेपालमा भारत विरोधि कुनै गतिविधि नहोस् भन्ने चाहन्छ । यो विषयमा वार्ता गरेर नेपाल र भारत दुवैलाई के गर्दा फाइदा हुन्छ । छलफल गरेर निर्णयमा पुग्न सकिन्छ । भारतको सुरक्षाको चासो पनि छ । यसमा पनि भारत विरुद्धका गतिविधि हुन नदिन प्रयास गर्न सकिन्छ । गर्नुपर्छ, गरेकै छ । तर सबैभन्दा भारतको चासोको अर्को विषय नेपाल चीन तिर फर्केर पनि नहेरोस्, बोल्दा पनि भारतलाई सोधेर बोलोस् । चीनलाई नेपालमा कुनै कुरामा सहभागि नगराओस् भनेर चाहन्छ । यो भारतको संकिर्णता बाहेक केही होइन । यो मान्न सकिदैन । भारतलाई यो मन पर्दैन । 

नेपाल र भारतको व्यपारमा धेरै नै असन्तुलन छ । हामीले भारतमा निकासी गर्ने बस्तु र सेवा न्युन छ । हामी भारतको ठूलो बजार हौं । तर पनि भारत हाम्रा निकासी योग्य बस्तुमा बेलाबखतमा झमेला झिकेर हेपाहा प्रवृत्ति देखाई रहन्छ । भारत नेपालमा उद्योग र उत्पादनको विकास भएको मन पराउदैन किनकि यहाँ उत्पादन भएपछि उसको नेपालको बजार खुम्चिन्छ । जस्तै नेपाल सिमण्टमा आत्मनिर्भर भएपछि भारतिय सिमेण्ट नेपालमा बिक्न बन्द भयो । बरु नेपालको सिमण्ट भारत जान थाल्यो । यसमा उसले चाइनाको लगानि भएको भनेर केही ब्राण्डका सिमेण्ट रोक्यो । बिजुलीमा त्यसै गर्छ । 

नेपाल कमजोर भइरह्यो भने भारतको दवाव र प्रभाव सधै कायम रहने कुरा र भारत निर्भर नेपालको अवस्था हुने कुरामा भारत विस्वास गर्छ । त्यसैले नेपालमा अस्थिरता सृजना गर्न चाहन्छ । २००७ साल पछिको अवस्था यही हो । सरकारमा बस्नेले भारतको कुरा सबै मान्दा भारतले नेपाललाई सहयोग गरिरहने नत्र अस्थिरता सृजना गर्न विभिन्न पात्र, नेता, दललाई उचाली रहने गर्छ । भएको यही हो । 

पञ्चायतको उत्तरार्धमा राजपरिवारसँग टसल भयो । २०४५ सालमा नाकाबन्दी ग¥यो । त्यसपछि बहुदलवादीलाई सहयोग ग¥यो । २०५२ सालबाट माओवादीले विद्रोह गरेर देशको बहुदलिय व्यवस्था उल्टाउन खोज्दा उसैलाई सहयोग ग¥यो । आश्रय दियो । तालिम दियो । पैसा दियो । हतियार दियो । 

डा. गोविन्द केसीलाई उचाले । उनी उचालिए । नेपालमा बन्दै गरेको स्वास्थ जनशक्तिको विकासमा एकाएक रोकावट भयो । नेपालीहरु डाक्टर, नर्स पढन भारत जाने अवस्थाको सृजना भयो । नेपाललाई नोक्सान भयो भारतलाई फाइदा भयो । यस्ता उदाहरण अनगिन्ती छन् । नेपाल हरेक क्षेत्रमा कमजोर भयो भने भारतको व्यपार बढछ र सजिलै नियन्त्रणमा लिन सकिन्छ भन्ने भारतले नबुझ्ने कुृरै भएन । त्यसैले समय–समयमा नयाँनयाँ पात्रहरुमा लगानि गरिरहन्छ । त्यसको पछिल्लो उदाहरण दुर्गा प्रसाई भएका छन् । उनीले नेपाललाई भारतमा मिलाई दिउँसम्म भन्न भ्याएका छन् । सायद अब उनले कुनै दिन यो देशलाई भारतमा मिलाई दिए खाएको ऋण सबैको मिनाहा हुन्छ भनेर पनि समर्थन बटुल्न कोशिस गर्ने दिन नआउला भन्न सकिदैन । 

अहिले भारतको विशेष गरी सत्तारुट पार्टी भाजपालाई नेपाललाई हिन्दु राष्ट्र बनाउन राजाको साथ चाहिएको छ । दुर्गा प्रसाई राजाका प्रचारक भएका छन् । गणतन्त्रका पक्षधर सबैलाई दवावमा राख्न यो कार्ड फालिएको छ । 

युरोपियन युनियन नेपालमा कृस्चियन मिसनरीको विकास चाहन्छ । धर्म परिवर्तन गर्न सजिलो हुने गरिको नीति चाहन्छ । धर्म परिवर्तन गर्न सकिने समुदायको पहिचान गरेर लगानी गरिरहेको छ । आर्थिक विपन्न गरिब, जातिय दमनमा परेका दलित, प्रकृति पुजक समुदायमा तिब्र आक्रमण छ । उनीहरुको स्वार्थ पुरा गर्न सहयोग गर्नु उनीहरुको धर्म हो । 

अमेरिकीहरु नेपालमा टेकेर चीनलाई हान्न चाहन्छन् त्यो उनीहरुको स्वार्थ हो । त्यसका लागि सहयोगी वातावरण बनाउन उनीहरुको प्रयास हुन्छ । नेपालको सत्ता उनको स्वार्थ अनुकुल होस् भन्ने चाहन्छन् । यसमा भारत र अमेरिकन स्वार्थ मिल्न सक्छ । तर धर्मको मामलामा भारत नेपाललाई हिन्दु राष्ट्र बनाउन चाहन्छ । त्यसमा युरोपियन र अमेरिकनसँग भारतको मत बाझिन सक्छ । 

चीन स्थिर र समृद्ध र नेपाल चाहन्छ । ताकि नेपाल आफ्नो खुट्टामा दह्रोसँग उभियो भने, उसले कसैको बैसाखी टेकेन भने, नेपालले चीन नीति आफ्नै बुतामा उभिएर लियो भने चीनको सुरक्षामा सहयोग पुग्ने र एक चीन नीतिको बलियो अवधारणा बोकेको छिमेकि चीनले पाउछ । यो उसको स्वार्थ हो । 

नेपाल अति नै संवेदनशील भुगोलमा अवस्थित भएकाले यसले अत्यन्तै सोचविचार गरेर मात्रै कदम चाल्नु पर्छ । नेपाल आर्थिकरुपमा कमजोर र अस्थिर भयो भने यसलाई प्रयोग गरेर आ–आफ्नो स्वार्थको रोटी सेक्न विदेशी शक्तिले प्रयोग नेपालीलाई नै गर्ने हो । गरिरहेका छन् । नोक्सान नेपाल र नेपालीले नै व्योहोर्ने हो । त्यसैले सबैले सचेत बनौं, सतर्क बनौं । समृद्ध नेपाल र सुखी नेपालीको अभियान पुरा गर्न लागौं । भडकाउ र अराजकताको भ्रममा नपरौं ।