६ मंसिर २०८१, बिहिवार

विचार

धरातल नटेकेको समृद्धि, सधै खतरा

७ साउन २०८१, सोमवार
Image

अहिले नेपाल आर्थिक समृद्धिको कुरा गर्छ । सुखी नेपाली समृद्ध नेपालको कुरा गर्छ तर देशमा आर्थिक विचलन व्यापक छ । आर्थिक विचलनको बाटो हिडेर आर्थिक समृद्धि प्राप्त हुँदैन भन्ने ज्ञान कहिले आउला भन्न सकिने अवस्था छैन । 

के हो आर्थिक समृद्धि ? आम मानिसले बुझेको आर्थिक समृद्धि भनेको धनको धनी हुनु हो । आफ्नो र परिवारको आधारभूत आवश्यकता पुरा गर्न धौधौ भएकालाई आपूmसँग भएको भन्दा धेरै धन हुनु हो । धेरै धन भएपछि जीवन चलाउन सहज हुन्छ भन्ने मान्यता व्याप्त छ । हुन पनि मानिसलाई जीवन चलाउन, परिवार चलाउन, स्वास्थ, शिक्षा, आवास, भोजन, मनोरञ्जन, सुविधायुक्त जीवनको लागि पैसा अपरिहार्य बस्तु हुन पुग्यो । मानिसलाई यसका अतिरिक्त मानसम्मान, इज्जत, पद, प्रतिष्ठा, शक्ति (पावर) पनि चाहिन्छ । त्यो पनि पैसासँगै गासिन पुग्यो । त्यसैले सबैलाई पैसा चाहियो । सामान्य मानिसलाई पैसा जीवन र परिवार चलाउन चाहियो । अत्यावश्यक बस्तुको जोहो गर्न पैसा चाहियो । तर पद, प्रतिष्ठा, मान, सम्मान र शक्तिका भोकालाई यी सबै प्राप्त गर्न जसरी हुन्छ पैसा चाहियो । 

काम, व्यवसाय, उद्योग, सेवा गर्नु र पैसा कमाउनु राम्रो हो । गर्नु यही पर्छ । तर हाम्रो समाजका कतिपय मानिस यो बाटोलाई त्यति उचित ठान्दैनन् । किनकि यो बाटोबाट पैसा त आउँछ तर समय धेरै र पैसा थोरै आउँछ भन्ने मान्यता राख्छन् । त्यसैले छोटोबाटोबाट चाडै धनी हुने बाटो खोज्ने गर्छन् । 

व्यक्ति–व्यक्ति र परिवार–परिवार समृध्द नभई समाज समृद्ध हुँदैन । समाज समृद्ध नभई देश समृद्ध हँुदैन । आर्थिक समृद्ध हुनका लागि व्यक्ति, परिवार, समाज र देश धनी हुन आवश्यक छ । जनता धनी भए भने देश धनी हुने बाटो खुल्छ । त्यसैले सरकारको पहिलो काम जनतालाई धनी बनाउन पहल गर्ने हो । 

धनी हुन वा धनी बनाउन श्रम, उद्यम, व्यवसाय, सेवा अनिवार्य शर्त हो । तर हाम्रो समाजमा केही मानिसलाई भोगको तृष्णा यति विधि छ कि श्रम, उद्यम, व्यवसाय, सेवा आदिको बाटो भएर आउने धनको धैर्यता नै छैन । त्यसैले एकदमै जोखिम मोलेर चाडै र धेरै धन कमाई हुने बाटोले आकर्षण गरिहाल्छ । समाजका कतिपय मानिसको यो मनोविज्ञान बुझेका धुर्त ठगहरु चाडै कमाई हुने लोभ देखाएर मानिसलाई फसाईरहेका छन् । ठगी रहेका छन् । कमजोर बुझाई भएका र लोभी मानिस यस्ता धुर्तको पासोमा फसिरहेका छन् । वैदेशिक रोजगारीका नाममा हुने ठगी, सहकारी ठगी, बैंक ठगी, लागु औषधीको पासो, सेवा विनाको दलाली, मिटर व्याजी आदि यसैका उपज हुन् । व्यक्ति–व्यक्ति चाडै धनी हुने यी उपायहरु खुव फस्टाएका छन् । तर यो धन्धाले थोरै मानिसको आर्थिक फाइदाका लागि धेरै मानिसलाई लुटने, ठग्ने, झुक्याउने, फसाउने, विगार्ने काम गर्छन् । हेर्दा केही मानिसले चमत्कारिक फाइदा गरेको देखिन्छ । तर, त्यो चमत्कारिक उन्नतिमा धेरै मानिसको पीडा लुकाएको हुन्छ । यस्ता ठगहरु मध्येका केही कहिलेकाही कानूनको आँखामा पर्छन् र कारवाही भोग्छन् । 

यसरी गैर कानूनी बाटोबाट चाडै धनी हुन चाहनेका लागि अवरोधको रुपमा कानून हुन्छ । त्यसैले कानून बनाउने र कानून खेलाउनेहरुसँग यस्ता मानिस सम्पर्क विस्तार गर्छन् । सके आपैm शक्तिमा पुग्ने र नसके आपूmलाई सहयोग गर्नेलाई शक्तिमा पुयाउने खेल खेल्छन् । त्यसका लागि ठुलै रकम खर्च वा लगानी गर्न तयार हुन्छन् । 

यी बाहेक नेपालमा केही उचन्तिका व्यवसाय फस्टाए । जस्तै घरजग्गाको व्यपार, सार्वजनिक निर्माण (ठेक्कापट्टा), अनुदान केन्द्रित व्यवसाय, नदीजन्य उत्खनन् अर्थात क्रसर उद्योग, मेनपावर व्यवसाय, कन्सल्टेन्सी व्यवसाय आदि आदि । यस्ता उचन्तिका व्यवसाय ठगी त थिएनन् तर यस्ता व्यवसायको धरातल कमजोर थियो । यी व्यवसायको पारदर्शिता छँदैछैन भने हुन्छ । पारदर्शी हिसावले यी व्यवसाय गर्न खोज्नेले अहिले यी र यस्ता व्यवसाय टिकाउनै सकस छ । 

‘भ्रष्टाचार’ नवधनाढ्यहरुका लागि आफ्नो समृद्धिको राम्रो आधार बनेको छ । कानून छलेर व्यवसाय गर्नेहरुका लागि भ्रष्ट नेता र भ्रष्ट कर्मचारी आवश्यक पर्छ । छोटो समयमा कानून छलेर, ठगी गर्ने र उचन्तिको व्यवसाय गर्ने नवधनाढ्यहरुलाई कानून बनाउने र कानून खेलाउनेको सहयोग र सहकार्य आवश्यक हुन्छ । यस्ताको सहकार्यले ती दुवै वर्गको सेवा गर्छ र दुवै वर्गलाई नवधनाढ्य बनाउने काम गर्छ । 

देशमा बढेको आर्थिकमन्दीको प्रभावले ‘फियर‘ व्यवसाय गर्नेहरुका लागि समस्या थपिएको छ । कानून बनाउने र कानून खेलाउनेहरुलाई कुनै प्रभाव परेको छैन । म्यानपावर कम्पनि र कन्सलट्यान्सहरुको व्यवसाय फस्टाएकै छ । घरजग्गाका कारोवारी, सहकारीको रकम अपचलन गर्नेहरु, बैंक सहकारी र वित्तिय संस्थाबाट कर्जा लिएर दुरुपयोग गर्नेहरु बढी समस्यामा छन् । केही उचन्तिका व्यवसायीको कारोवार घटेको छ । आर्थिक मन्दीको बाछिटा लगभग सबै व्यवसायमा परेको छ । एक हिसावले भन्दा यो आर्थिक मन्दीको कारणले हाम्रो समृद्धिको धरातल कस्तो छ त्यो देखाई दिएको छ । 

एउटा हास्यव्यङ्ग कार्यक्रमका प्रस्तोता भन्दैथिए ‘सरकारमा जो आए पनि सत्तामा त दलाल नै हुन्छन् नि’ नेपालीलाई भुटानी शरणार्थी बनाउने, ललिता निवास किनबेचको प्रवन्ध मिलाउने, मठमन्दिर, गुठी, शिक्षालय, विद्यालय आदिका जग्गालाई व्यक्तिको स्वामित्वमा पु¥याउने, ठेक्कापट्टा, खरिदबिक्रि, लेनदेन, नियुक्ति, अनुमति पत्र सबैतिर कमिशनको कमाई फस्टाउनु अप्राकृतिक समृद्धिको सुचक हो । यसले थोरै मानिसको समृद्धिका लागि धेरै मानिसको समृद्धिको बाटो छेकेका हुन्छन् ।  

सरकारको राजश्व खुम्चिएको छ, वैदेशिक ऋणको भार बढेको छ । विकास खर्च थोरै त छ नै त्यो पनि लक्ष अनुरुप खर्च हँुदैन र खर्च गर्न असार पर्खिने चलन छँदैछ । किनकि असारमा हतार हतार विकास खर्च गर्दा नै कानून बनाउने, खेलाउने र उचन्तिका व्यवसाय गर्नेलाई फाइदा पुग्छ । 

माथि वर्णन गरिएको हाम्रो वर्तमान अवस्थाले हामीलाई समृद्धि तिर हिँडाउँदैन । यसले सत्तासँग दोस्ती गर्ने भुँइफुट्टा वर्ग जन्माउछ । यस्तो पद्दति र यो वर्गले हजारौंको भागबाट खोसेर केहीलाई धनी बनाउँछ । यो  पूँजीवाद र सामन्तवादको विकृत अवशेष हो । यसलाई निर्ममतापूर्वक निषेध नगरेसम्म राष्ट्रिय पूँजी र स्वभिमानी पूँजीपति वर्गको विकास हँुदैन । 

देशलाई समृध्दको बाटोमा हिँडाउन ‘फियर’ व्यवसायी (राष्ट्रिय पूँजिपति वर्ग), पेशा प्रति इमान्दार एवम् व्यवसायिक कर्मचारी र दुरदृष्टि भएका इमान्दार एवम् प्रतिवद्ध राजनीतिक नेताको खाँचो पर्दछ । यो शतप्रतिशत हुनु एकदमै राम्रो कुरा हो तर यस्तो हुन लगभग सम्भव छैन । त्यसैले समृद्धी चाहनेहरु एक ठाउँमा हुन र एकले अर्कोलाई सहयोग गर्दै अनुकुल वातावरण बनाउन आवस्यक छ । फियर व्यवसायीको पक्षमा राज्य (कर्मचारी प्रशासन, अनुकुल नीति, मित्रवत राजनीतिज्ञ) हुनुपर्छ । जब फियर व्यवसाय गर्नेहरुको उत्साह बढछ, काम हुन्छ तब देशमा रोजगारी बढछ, उत्पादन बढछ, राजश्वमा बृद्धि हुन्छ । यो नै समृद्धिको बाटो हो ।

समृद्धिको बाटोमा लाग्न युवालाई आषा जगाउने काम गर्नुपर्छ । युवामा मैले मेहनत गरें भने मैले गरेको काममा सफल हुन्छु भन्ने विश्वास जगाउन सक्नु नै आशा जगाउने काम हो । अहिले अवस्था कस्तो छ भने मैले जतिसुकै राम्रो गरे पनि मलाई चिनेर कसैले सहयोग गर्ने अवस्था छैन बरु चिनेको, पहुँच बनाउन सक्ने व्यक्ति मभन्दा निकै कमजोर भएर पनि उसले नै सहयोग पाउने, अवसर पाउने अवस्था छ । मेरो कोही पनि सहयोगी छैनन् । निश्पक्ष हँुदैहुदैन । त्यसैले मैले यहाँ बसेर मेहनत गरेर के गर्नु बरु विदेश जान्छु । जे होला, होला ! भन्ने मानसिकता धेरै छ । त्यसैले सिर्जनशील र उर्जाशील व्यक्ति देशमा भविस्य खोज्न चाहदैनन् । यहाँ हेपिएको, दलनमा परेको, अवसर पाउने कुनै सम्भावना नदेखेको मानिस कुनै तवरले विदेश पुगेछ भने उसको मेहनत र सृजनशीलताले उसैले नसोचेको सफलता पनि पाउन सक्छ । यो के कारणले हुन्छ ? यति कुरा बुझ्न र समाधान गर्न सके देशमा युवामा आशा जगाउन सकिन्छ । त्यो भनेको ‘युवा तिमी काम गर, मेहनत गर, सिक, सम्भावनाको खोजी गर तिमीलाई सरकारले सकेको सहयोग गर्छ । सहयोग गर्न सकेन भने पनि अन्याय गर्दैन, अन्याय हुन दिदैन’ । यति वातावरण बनाउने हो मात्रै भने पनि युवामा आशा जगाउन सकिन्छ । यहाँ त पहुँच हुनेको मात्रै देश भयो । फियर भएर काम गर्न चाहनेका लागि अनेक अवरोध छन् । 

सबै प्रकारका ठगहरुलाई निर्ममतापुर्वक कार्वाही गरेर जनता र देशलाई अन्याय हुनबाट जोगाउने काम गरौं । बिना उद्यम, बिना श्रम, बिना सेवा अरुको लुटेर, सरकार ठगेर, अरुलाई छलेर आर्थिक समृद्धि हासिल गर्न चाहने जमातलाई तिमीले सोचेको र गरेको गलत छ भनेर अनुभुति गराउने र युवालाई समृद्धिको अभियानका लागि उद्यम, श्रम र सेवा नै एकमात्र बाटो हो भनेर सम्झाउन एवं बुझाउन सके देशले समृद्धिको यात्रा शुरु गर्छ । 

अहिले देखिएको केही मान्छेको समृद्धि सुन्निएको समृद्धि हो । यो जग नभएको घर जस्तै हो, कमजोर जरा भएको रुख जस्तै हो । यो कुनै पनि धक्काले ढल्न सक्छ । कोभिड पछिको आर्थिक मन्दीले यो थलिएको छ,  यसले धक्का खाएको छ । अभैm यसलाई नसच्याउने हो भने भविस्यमा अभैm ठुलो धक्का खान तयार हुनुपर्छ ।

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले विगतमा प्रधानमन्त्री भएको पालामा आएको नारा हो ‘सुखी नेपाली समृद्ध नेपाल’ । अहिले फेरी बलियो जनमत सहित प्रधानमन्त्री बन्ने अवसर पाउनु भएको छ । देश बनाउने, देशको विकास गर्ने हुटहुटी समकालिन नेताहरुमा सबैभन्दा बढी उहाँलाई नै छ । अनुभवी हुनुहुन्छ, अध्ययनशील हुनुहुन्छ । युवाहरुमा आशा जगाउने काम गर्नु भएको छ, त्यो क्षमता राख्नु हुन्छ । यो पटक अब शुसासन र निस्पक्षतालाई व्यवहारमा प्रयोग गरेर युवाहरुमा आशा र भरोसा जगाउने काम हुन्छ नै । मेरै पालामा, मैले नै गरेर देश बन्छ, मेरो भविस्य मेरै देशमा खोज्ने छु भनेर श्रम, व्यवसाय, पेशा र कर्ममा लाग्नेहरुको सम्मान, विश्वास एवम् भरोसा गरेर दिगो समृद्धिको आधार खडा गरौं ।


लेखकको बारेमा
Image
रामचन्द्र उप्रेती

(लेखक नेपाल बहुउद्देश्यीय सहकारी संस्थाका संस्थापक अध्यक्ष हुनुहुन्छ ।)