विचार
विचार
सहकारी अभियान नेपाली समाजको अभिन्न हिस्सा बनिसकेको छ । आर्थिक र सामाजिक क्षेत्रमा सहकारीको गहिरो प्रभाव परिसकेको छ । सहकारीलाई संविधानले महत्वपूर्ण स्थान दिएको छ । सहकारी अभियानलाई व्यवस्थित र निर्देशित बाटोमा हिँडाउन सहकारी ऐन, नियम बनेका छन् र निर्देशनहरु जारी भएका छन् । सहकारीलाई व्यवस्थित गर्न मन्त्रालय र विभाग गठन भएका छन् । केन्द्र, प्रदेश र पालिकास्तरमा सहकारीलाई व्यवस्थित गर्न, दर्ता र नियमन गर्न, कानून बनाउन संरचना बनेका छन् । जिम्मेवारी तोकिएको छ ।
समाजका अरु क्षेत्रमा जस्तै यो क्षेत्रमा पनि समस्या छन् । समस्या बर्तमानका चुनौति हुन् । यस्ता चुनौतिहरुको पहिचान गर्नु र समाधानको उपाय निकाल्नु आजको आवश्यकता हो । सहकारी अभियानले पु¥याएको योगदान र उपलव्धिलाई रक्षा गर्नु र यसलाई प्रोत्साहन गर्नु अर्को आवश्यकता हो ।
हाल सहकारी क्षेत्रमा केही समस्या देखिएकाले तिनको प्रचार धेरै भएको छ । जोखिममा परेका सहकारीसँग जोडिएका कतिपय सहकारीका सदस्य समस्यामा परेका छन् । तिनले सहकारीमा जम्मा गरेको आफ्नो सम्पति गुमाउने खतरा बढेको छ । यही कारण सहकारी प्रति नकारात्मक दृष्टिकोण बनेको र प्रचार भएको छ । आजको सहकारीको चुनौति भनेको सहकारीमा हुने गरेको गैह्रसहकारी कार्यको पहिचान र त्यसको निराकरण गर्नु हो ।
सहकारीमा देखिएका समस्याका केही कारण ः
१) खराव मनसाय भएको नेतृत्व – सहकारी एक आत्मनिर्भर, अन्तरनिर्भर, स्वाभिमानी, सहयोगी, विभेदरहित सुन्दर समाज निर्माणको अभियान हो । यसमा जान्नेले कम जान्नेलाई, हुनेले कम हुनेलाई, सहयोग गर्न सक्नेले सहयोग आवश्यक पर्नेलाई सहयोग गरेर सँगसँगै उन्नतिमा सहभागी बन्ने अभियान हो । ‘एकका लागि सबै र सबैका लागि एक’ भन्ने मान्यतामा काम गरिन्छ । सहकारीमा लिन, पाउनभन्दा दिन र सहयोग गर्ने भावना भएका मानिस नेतृत्वमा हुनुपर्छ । यस्तो नेतृत्वले मैले के पाउँछु भनेर कहिल्यै सोच्ने गर्दैनन् । म कसरी संस्था र सदस्यलाई सहयोग गर्नसक्छु भनेर सोच्ने गर्छन् । म कसरी धनी बन्न सक्छु भन्ने सोचाई भएको मानिस सहकारी नेतृत्वमा आउनु नै हुँदैन । त्यस्तो सोच भएको मानिस नेतृत्वमा आउने प्रयास गरेमा त्यसलाई सदस्यले रोक्न सक्नु पर्छ । सहकारी मन, सहकारी सोच, सहकारी व्यवहार र आदर्श नभएको मानिस सहकारीको नेता हुन पुगेमा त्यस्ता व्यक्तिबाट सहकारीलाई नोक्सानी हुने गर्छ । अहिले सहकारीमा देखिएको समस्या यस्ता मानिसहरु जुनजुन संस्थामा नेता बन्न पुगे ती ती संस्थामा समस्या देखिएको छ ।
२) नेतृत्वमा क्षमताको अभाव – केही सहकारीमा नेतृत्वको मनसाय गलत थिएन, छैन तर पनि समस्यामा परेका छन् । त्यसको कारण भनेको नेतृत्वको अक्षमता हो । चाहिनेभन्दा बढता उदार, सहकारीको मूल्य, दर्शन, सिद्धान्त र भावनाको बुझाईमा भएको कमी र सिक्ने जाँगर नहुदा पनि समस्या भएको छ । यस्तोमा कि नेतृत्वले ज्ञान, शिप आर्जन गरी लागु गर्ने क्षमता राख्नु पर्यो कि नेतृत्व छाड्नु पर्यो ।
सहकारी सामूहिक नेतृत्वमा चल्ने भएकाले असल मनसाय भएका, सहकारीको मर्मलाई आत्मसात गर्नसक्ने सदस्यहरु मध्येवाट सहकारीको नेतृत्वमा ल्याउन निरन्तर अभ्यास गर्नुपर्छ । यस्ता सदस्यको क्षमताको विकास गरेर नै नेतृत्वमा स्थापित गर्नु पर्छ । नेतृत्वमा हुनेले निरन्तर सिक्न प्रयास गरिरहनु पर्छ ।
३) सहकारी नै नबुझी सञ्चालक पद स्विकार्नु ः कतिपय सहकारीमा कस्तो समस्या देखिएको छ भने समाजका लव्धप्रतिष्ठित व्यक्तिलाई सहकारीको सञ्चालक बसिदिन अनुरोध गर्ने र सहकारी नै नबुझिकन सहमति जनाउने, सहकारीमा के भइरहेको छ थाहा नपाउने, सहकारी चल्दासम्म मख्ख पर्ने, हाम्रो सहकारी भन्ने तर समस्या देखिन थालेपछि मलाई केही थाहा छैन भन्ने प्रवृत्ति छ । सहकारीमा समस्या देखिन थालेपछि अलि चतु¥याई गर्ने सञ्चालकले यस्ता सरल स्वभावका मानिसलाई जिम्मा लाएर आपूm उम्कने गरेको पनि पाएको छु । त्यसैले कसैले सहकारीमा सञ्चालक बसिदिनु पर्यो भन्ने वित्तिकै सहकारी र संस्थाको अवस्था नबुझी संस्थामा सञ्चालक बस्न हुँदैन ।
४) सदस्यको उदासिनता – सहकारीका सदस्यले संस्थाको बारेमा खासै चासो नराख्ने, योगदान गर्न मन नगर्ने, भत्ता र लाभान्समा मात्रै ध्यान दिने, एकभन्दा बढी संस्थाको सदस्य भएर लाभ र सुविधा मात्रै खोज्ने प्रवृत्ति हावी भएर खराव मनसाय भएका सञ्चालकले मनपरी गर्न पाएको अवस्था छ । संस्था जोखिममा पर्दा स्वार्थी र योगदान नगरेका सदस्यले संस्था जोगाउन कुनै भूमिका निर्वाह गर्दैनन् बरु संस्थामा भएको निक्षेप र शेयर समेत झिक्न लाइन लाग्ने गर्छन् । यस्ता उदासिन सदस्यले संस्थाको सही नेतृत्व निर्माण गर्न सक्दैनन् । बरु भ्रम र लोभलालचमा परेर खराव मनसाय भएका मानिसलाई नै नेतामा स्थापित गर्छन् ।
सहकारीमा सदस्य बनाउँदा आवश्यकताको सिद्धान्त अपनाउनु पर्छ । जसलाई सदस्य बनाउने हो उसको आवश्यकता हो भने मात्र सदस्य बनाउनु पर्छ । सदस्यलाई योगदान गर्न सिकाउनु पर्छ । सदस्यको योगदान भएमात्र संस्थाको माया गर्छन् ।
संस्थाले करकापमा सदस्य बनाउनुभन्दा आवश्यकता भएकालाई सदस्य बनाउने र सदस्य बनेकालाई निरन्तर सकृय बनाउन प्रयास गर्दा नै सहकारी बलियो हुन्छ । सकृय सदस्यले मात्रै सहकारीका समस्या बुझ्ने र समाधानमा सहयोग गर्ने अवस्था बन्छ ।
५) भ्रष्ट र दवावमा नियमक निकाय – सहकारीमा गलत काम हुँदा आन्तरिक नियन्त्रण गर्ने पद्धतिले काम नगर्दा वा गर्न नसक्दा नियमन र नियन्त्रण गर्ने अर्को निकाय भनेको नियामक निकाय हो । नियामक निकायले राम्ररी अध्ययन गर्ने हो भने कहाँ र कसले गलत गर्दैछन् भन्ने धेरैहदसम्म जानकारी लिन सक्छन् । तर लाभ, प्रभाव र दवावमा परेर नियामक निकाय चुप बस्ने गरेका कारण पनि सहकारी जोखिममा परेको अवस्था छ । नियामक निकायलाई साधन, श्रोतले सक्षम बनाउने र सहकारी अभियानको विकासमा प्रतिवद्ध बनाउन राज्यले ध्यान दिदामात्रै सहकारी अभियान ठिक बाटोमा अगाडि बढ्न सक्छ ।
६) अधिक सहकारी न्युन कर्मचारी – सहकारी ऐन बमोजिम देशमा जुन सङ्ख्यामा सहकारीको विकास भयो, सहकारीको कारोवार भयो त्यसको अनुपातमा त्यसलाई शिक्षा दिने र नियमन गर्ने निकायको विकास भएन । त्यसको नतिजा खराव मनसाय भएका सहकारीका नेता भएका संस्थामा मनपरी गर्ने अवसर प्राप्त भयो र सहकारी संस्था जोखिममा परे । सरकारले सहकारीको सङ्ख्या बृद्धि गरेसँगै यसको नियन्त्रण गर्न सक्ने क्षमता (दक्ष जनशक्ति र प्रविधि) विकास गर्न नसकेका कारण यो समस्या देखिएको छ । सहकारीको आवश्यकता पहिचान गरेर सङ्ख्या घटाउनु पर्छ । सङ्ख्यात्मक भन्दा गुणात्मक सहकारीको विकासमा ध्यान दिनु पर्छ । नियमक निकायले आफ्नो मातहतको सहकारीको नियमन गर्न सक्ने क्षमताको विकास गर्नु पर्छ । अर्थात क्षमता अनुसारको सहकारी मात्रै राख्नु पर्छ ।
७) अभियानको अतिराजनीतिकरण – सहकारी संस्थाहरुको नेतृत्व गर्ने, बहस पैरवि गर्ने, सरकारसँग लविङ गर्ने, सहकारीको संरक्षण गर्दै सही बाटोमा हिँडाउने भूमिका भएको सहकारीहरुका जिल्ला, प्रदेश, केन्द्रका सङ्घ तथा महासङ्घमा सहकारीका नेता कम र पार्टीका कार्यकर्ता धेरै भएकाले त्यहाँ सहकारी नै नभएका, सहकारी नबुझेका, सहकारी भावना र मर्मलाई आत्मसात नगरेका मानिसको हालिमुहाली धेरै भयो । जसले समग्र सहकारी अभियानको नेतृत्व गर्नै सकेन । आफ्नो करियर बनाउन मात्र सहकारीमा लागेकाले सहकारीको मर्म र उद्देश्य अनुरुप काम गरेको देखिएको छैन । यस्ता नेता मौका पाउना साथ राजनीतिमा हामफाल्ने हुनाले सहकारीको विकासमा होइन आफ्नो विकासमा ध्यान केन्द्रित गरेको देखिएको छ । त्यसैले सहकारीमा लाग्ने, सहकारीको नेतृत्व गर्न चाहने मानिस सहकारीको अनुभव भएको, मर्म बुझेको र सहकारीको विकास र उन्नति चाहने मानिस मात्रै नेतृत्वमा हुने व्यवस्था गर्नुपर्छ ।
यी र यस्तै कारणले हालमा सहकारीमा केही समस्या देखिएका छन् । यति समस्या हुँदाहँुदै पनि सहकारीले जनसमुदायमा पु¥याएको योगदान यति धेरै छ कि त्यसलाई कसैले नकार्न सकिने अवस्था नै छैन । त्यसैले सहकारीमा यति समस्या भएको भनेर प्रचार हुँदा पनि असल नेतृत्वमा भएका अत्यन्त धेरै सहकारी संस्थाहरु समाजमा चुपचाप काम गरिरहेका छन् र तिनले सकारात्मक योगदान गरिरहेका छन् ।
अबको बाटो ः सहकारीमा खराव मनसाय राखेर धन कमाउन, करियर बनाउन, नाम चलाउन आउने मानिसलाई रोक्न र छेक्न सक्नुपर्छ । सहकारीमा केही राम्रो गर्छुृ भनेर आएकालाई क्षमताको विकास गर्न र सहकारीको दर्शन, सिद्धान्त, मूल्य अनुसार चल्न सहयोग गर्नुपर्छ । सरकारी संयन्त्र नियामक निकाय र सहकारी सङ्ख्याको अनुपात मिलाउनु पर्छ । सहकारीका जिल्ला, प्रदेश, केन्द्र र महासङ्घमा निस्कृय संस्थाका प्रतिनिधिले भाग लिन नपाउने व्यवस्था गर्नु पर्छ र अभियानलाई प्रभावकारी बनाउनु पर्छ ।
सहकारीका सदस्यको स्वामित्व, कर्तव्य र भूमिका प्रष्ट बुझाएर सदस्यको सकृयता बढाउनु पर्छ । एकै प्रकृतिका सहकारीमा दोहोरो सदस्यताको अन्त्य गर्नु पर्छ । सकृय र जिम्मेवार सदस्य भएका प्रारम्भिक संस्था बनाउनु पर्छ ।