भड्किलो होइन, चहकिलो बन्दैछ तीज

नेपाली नारीहरुले मनाउने चाडहरुमध्ये तीजले पृथक विशेषता बोकेको छ । पतिको दीर्घायू लगायतका केही परम्परागत मान्यताका कारण पानी समेत नपिई विवाहिता महिलाहरु तीजमा उपवास बस्ने पुरानो चलन हो । तर अचेल स्वास्थ्यमै हानी पुर्याएर निर्जल ब्रत बस्नु पर्ने पुरानो मान्यताबाट माथि उठेर महिलाहरुले तीजलाई महिला हक र हितका लागि सङ्गठित आवाज बुलन्द गर्ने अवसरको रुपमा उपयोग गर्न थालेका छन् ।

घरको कोठा र परिवारका थोरै सदस्यका विचमा मात्र अब तीज मनाइन्न । वृहत भेटघाट गर्ने र सामूहिक दर खाने प्रचलन बढ्दो छ । तीज मनाउने विकसित शैलीले महिलालाई सामाजिकीकरण र सशक्तिकरणमा ठूलो योगदान पुर्याइरहेको पक्षलाई बिर्सन सकिन्न । तीज अब कुनै एक जाति र धर्मको चौघेराभित्रको चाड नभएर यसले फराकिलो स्वरुप धारण गरिसकेको छ ।

हरितालिका तीज, होली (फागु), दसैँ, छठ, उद्यौली उभौली, गौरा, सिरुवा, तिहार लगायतका अनेकन चाडहरु अब जाति विशेषको पेवा मान्नु बदलिदो नेपाली चेतनालाई पछ्याउन नसक्नु हो । यी पर्वहरु साझा भइसकेका छन्, यसले नेपाली समाजलाई एकता र सद्भावको एउटै मालामा उन्न सघाउ पुर्याएको छ । यदाकदा तीज भड्किलो भयो भनेर एकाङ्की आक्षेप लगाएको सुन्न पाइन्छ । समय अनुसार चाडपर्व मनाउने तरिकाहरु बदलिन्छन् । तीजमा पनि त्यति मात्र भएको हो । हिजो पनि आज पनि तीज मनाइएको छ ।

हिजोका दिनमा नेपाली महिलाहरु चुलो र चौका बाहिर निस्कन सकेका थिएनन् । आज महिला नै यो देशको राष्ट्रपति भएका छन् । महिलाले नै न्यायालय र संसदको नेतृत्व कुशलतापूर्वक चलाएका छन् । समाज कहाँबाट कहाँ पुगिसक्यो भन्ने मनन नगरी सतिप्रथाका बेला जस्तो तीज खोजेर आज पाइन्न । समाजका हरेक अवयवहरुमा महिला हस्तक्षेपकारी देखिएका छन्, यसलाई पुरुषहरुले नराम्रो मान्नु पर्दैन ।

समानताको अधिकारका लागि महिलाहरुको सशक्तिकरण अझै तीब्र हुन जरुरी छ । अझ सांस्कृतिक चाडपर्वका विषयमा राजनीतिक रुपमा महिलालाई विभाजित गर्ने कार्य कहिँ कतैबाट हुनु हुँदैन । महिलाहरुले स्वतस्फुर्त ढङ्गले चाड मनाउन पाउनु पर्छ ।

स्थानीय तहमा सरकार बनेपछि आम जनताले आफ्ना सबै अपेक्षाहरु चाँडै पूरा हुने आशा गर्नु गलत होइन । हाम्रा सांस्कृतिक चाड पर्व र सम्पदाहरुको संरक्षण गर्नु पनि स्थानीय सरकारको कत्र्तब्य हो । तीज मनाउन नगरपालिका र गाउँपालिकाले सहयोग गर्दैमा करको चरम दुरुपयोग भन्नु पूर्वाग्रह हो । किनकि, हिजो स्थानीय तहमा जननिर्वाचित प्रतिनिधि नहुँदा पनि सबैजसो दलमा आस्था राख्नेहरुले सञ्चालन गरेका संस्थाहरुले तीज मनाउन सहयोग लिने गरेकै थिए ।

बरु सरकारको जिम्मेवारी बोकेको स्थानीय नगर र गाउँपालिकाले तीजमा मात्र कार्यक्रम आयोजना गर्छ कि अरु चाडहरुमा पनि यसरी नै उदारपूर्वक सहयोग गर्छ भन्ने विषय विचारणीय छ । आज तीजमा नगर र गाउँपालिकाहरुले बजेट खर्च गर्दै गर्दा आगामी दिनमा उद्यौली उभौली, सिरुवा, ल्होछार, इद र होली पर्वमा समेत यसरी नै उदारता प्रदर्शन गरोस् । त्यसो भयो भने जनप्रतिनिधिले बजेटको सदुपयोग र सांस्कृतिक सम्पदाहरुको जगेर्ना गरेको ठहरिने छ ।

(लोकतन्त्र पोस्ट दैनिकको सम्पादकीयबाट)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    loktantrapost@gmail.com

हाम्रो बारेमा

सम्पादक :- मोहन कुमार नेउपाने
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: