प्रधानमन्त्री रोजगार कार्यक्रम ः औजार बोकेर गाउँगाउँ पुगे युवा


अम्बिका भण्डारी
भद्रपुर, ६ असार (रासस) ः नेपालमा पहिलोपल्ट बेरोजगारहरुलाई ‘कामका लागि पारिश्रमिक’ दिने गरी सुरु गरिएको ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ झापामा प्रभावकारी देखिएको छ । पहेलो हेल्मेट र ज्याकेट लगाएका युवाहरु औजार बोकेर निर्माणका काममा खटिदा गाउँ गाउँमा विकासको जागरण फैलिएको छ ।

झापामा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत रोजगार प्राप्त जनशक्तिलाई विद्यालयको रङरोगन, धार्मिक पर्यटकीय स्थलको सरसफाई लगायतका काममा परिचालन गरिएको छ ।
जिल्लाका १५ स्थानीय तहमध्ये ८ नगरपालिका र ६ गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत यसवर्ष दुई हजार ७५३ जनाले रोजगारी प्राप्त गरेका छन् । गौरीगञ्ज गाउँपालिकाले भने तथ्याङ्क सङ्कलन कार्य भइरहेको जनाएको छ ।

कमल गाउँपालिका भवनको कम्पाण्ड वाल बनाउँदै

झापाका ८ नगरपालिकामध्ये सबैभन्दा सानो कनकाईले सबैभन्दा धेरै ९४६ जनालाई रोजगारी प्रदान गरेको छ । रोजगारीका लागि आवश्यक मापदण्ड पूरा गरी निवेदन दिन आएका कसैलाई पनि रोजगारी पाउने हकबाट वञ्चित नगरिएको नगरका प्रमुख राजेन्द्रकुमार पोखरेल बताउँछन् ।

कनकाई नगरपालिकाले कोटीहोम, धनुषकोटी धाम लगायतका धार्मिक पर्यटकीय स्थलमा सरसफाई, टहरा निर्माण, वृक्षारोपण लगायतका काममा उनीहरुलाई परिचालन गरिएको नगरप्रमुख पोखरेलले जानकारी दिए ।

झापाको ७ गाउँपालिकामध्ये बुद्धशान्तिले सबैभन्दा बढी १४० जनालाई रोजगारी प्रदान गरेको छ । बुद्धशान्ति गाउँपालिकाले सरकारले तोकिएको दैनिक ज्याला रु. ५१७ मा गाउँपालिकाका तर्फबाट रु. ५० थपेर ज्याला प्रदान गरेको अध्यक्ष रमेश भुजेल बताउँछन् ।

हल्दिबारी गाउँपालिकाले ६२ जनालाई रोजगारी प्रदान गरेर विद्यालयहरुको रङरोगन कार्यमा खटाएको छ । गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङ्देनले स्थानीय १७ वटा सामुदायिक विद्यालयमा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत रङरोगन कार्य धमाधम भइरहेको जानकारी दिनुभयो । रङरोगन सकेपछि उनीहरुलाई हुलाकी राजमार्गको दुवै साइडमा बृक्षारोपण गर्न लगाउने योजना रहेको उनले बताए ।

कमल गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रमबाट रोजगारी पाएकाहरुलाई नदी कटान रोक्ने बाँध निर्माणमा खटाएको छ । गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्लेले उनीहरुलाई गाउँपालिका कार्यालयको पर्खाल र रिङरोड लगायतका सार्थक निर्माण काममा लगाइएको बताए ।

मेचीनगरमा रोजगारवालासँग उपप्रमुख मिना उप्रेती

झापाका नगरपालिकाहरुमा, कनकाईमा ९४६, मेचीनगरमा २५२, अर्जुनधारामा २७०, भद्रपुरमा १४९, विर्तामोडमा १८९, शिवसताक्षीमा १४४, गौरादहमा १२५ र दमक नगरपालिकामा १७६ जनाले प्रधानमन्त्री रोजगार कार्यक्रमबाट रोजगारी पाएका छन् । गाउँपालिकाहरुमा बुद्धशान्तिमा १४०, बाह्रदशीमा ७२, कमलमा ८३, कचनकवलमा ८३, हल्दिबारीमा ६२ र झापामा ६२ जनाले रोजगारी पाएका छन् ।

राज्यको ‘सुखी नेपाली, समृद्ध नेपाल’को लक्ष्यलाई प्रधानमन्त्री रोजगार कार्यक्रमले निकै ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गर्दैै अर्जुनधारा नगरपालिकाका प्रमुख हरि रानाले रोजगारी पाउनेहरुमा आधाभन्दा बढी महिला भएको बताए ।

आर्थिक वर्षको अन्त्यतिर मात्र कार्यक्रम लागू भए तापनि प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत रोजगारी पाउँदा बेरोजगारहरु उत्साहित भएको मेचीनगर नगरपालिकाका कार्यपालिका सदस्य टिकाराम मग्राती बताउँछन् । पहेलो हेल्मेट र ज्याकेट लगाएर तातो घाम र झरी नभनी काममा खटिएका पुरुष तथा महिला कामदारहरुलाई सर्वसाधारणहरुले समेत गाउँगाउँमा स्वागत सम्मान गर्न थालेका छन् ।

सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गर्न सबै स्थानीय तहमा रोजगार संयोजक नियुक्त गरेको छ भने कतै रोजगारी नपाएकाहरुले वडा कार्यालयमार्फत आ–आफ्नो नगर तथा गाउँपालिकामा बेरोजगारको सूचीमा नाम दर्ता गराएका छन् ।

बेरोजगारहरुले निवेदन दर्ता गर्दा नै काम रोज्न पाउने व्यवस्था मिलाइएको कनकाई नगरपालिकाका रोजगार संयोजक सरोज मैनाली बताउनुहुन्छ । निरक्षरदेखि स्नातकोत्तर तह उत्तीर्ण गरेका व्यक्तिहरु समेत प्रधानमन्त्री रोजगार कार्यक्रममा काम पाउनका लागि निवेदन दिन आएको उनले बताए ।

रोजगार पाउनेहरुले दैनिक रु. ५१७ ज्याला पाउने सरकारी व्यवस्था रहेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम लागू भएपछि गाउँ तथा नगरका भित्री कच्ची सडक र पर्यटकीय तथा सार्वजनिक स्थलहरुमा रहेको झाडी–फोहोर सरसफाइ भएकाले चिटिक्क देखिन थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    loktantrapost@gmail.com

हाम्रो बारेमा

सम्पादक :- मोहन कुमार न्यौपाने
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: