पत्नीको हौसलाले कोरोना संक्रमित बोकिरहेछन् जंगबहादुर

फोटो साभार : सेतोपत्र अनलाइन / ज्ञानेन्द्र निरौला

झापा, २० भदौ । भनिन्छ, हरेक पुरुषको सफलताका पछाडि महिलाको हात हुन्छ । कोरोनाविरुद्ध फ्रन्टलाइनमा खटिएका झापाका एक योद्धा अर्थात् एम्बुलेन्स चालक जंगबहादुर खड्काका लागि पनि पत्नी लक्ष्मी खड्काबाट प्राप्त हौसला ऊर्जा बन्ने गरेको छ ।

गत जेठ २२ गते उनले पहिलोपल्ट मेचीनगर –४ स्थित क्वारेन्टाइनबाट कोभिड १९ का एक संक्रमितलाई एम्बुलेन्समा हाँकेर विराटनगरको कोभिड हस्पिटल लैजानुभएको थियो ।

‘सुरुमा निकै डर लागिरहेको थियो, सर्ने पो हो कि, यस्तो जागिर छाड्ने पो हो कि जस्तो गरी मनमा अनेक कुरा खेलिरहेको थियो,’ हालसम्ममा एक सयभन्दा बढी संक्रमित व्यक्तिलाई एम्बुलेन्समा हाँकेर अस्पताल पुर्याइसक्नु भएको उहाँ भन्नुहुन्छ–‘त्यतिबेलै श्रीमतीको फोन आयो, उनले तपाई एउटा एम्बुलेन्स चालक हो, अप्ठ्यारोमै सहयोग गर्नुपर्छ । आफू सुरक्षित रहेर काम गर्नु केही हुँदैन भनेपछि मन हलुका र ढुक्क भयो ।’

मेचीनगर नगरपालिका वडा नम्बर–९ निवासी ४५ बर्षीय जंगबहादुर खड्का नगरपालिकाले कोरोना संक्रमित बोक्नका लागि तोकेको मे१झ १३८ नम्बरको एम्बुलेन्सका चालक हुन् । उनले जेठ २२ गते यता कोडिभ अस्पताल विराटनगर, गोठगाउँ, धरान र मेची अस्पताल गरी ११५ जना संक्रमितलाई उपचारका लागि पुर्याइसकेका छन् ।

जंगबहादुरकी पत्नी लक्ष्मी खड्का सामान्य गृहिणी हुन् । कोरोना बोक्ने एम्बुलेन्स ड्राइभरको पत्नी भनेर अरुले औल्याउने गरे तापनि लक्ष्मीले आफ्ना श्रीमानलाई कोरोनाको विश्वव्यापी महामारीका बेला सेवा गर्ने जिम्मेवारीबाट पन्छिन नहुने हौसला थप्दै आएका छन् । ‘जब जब कोरोना संक्रमितलाई बोकेर एम्बुलेन्स चलाइरहेको हुन्छु, त्यसबेला मलाई श्रीमतीले भनेको कुराले आत्मबल बढिहाल्छ’–उनले रासससँग भने ।

संक्रमितलाई एम्बुलेन्समा चढाउँदा र ओराल्दा अपनाउनु पर्ने स्वास्थ्य सावधानी उहाँले राम्ररी पालना गरेको बताए । संक्रमितलाई बोक्न थालेयता ३ महिनादेखि उनी घर पनि जानु भएको छैन । कहिलेकाहिँ घर छेउसम्म पुगेर टाढैबाट परिवारका सदस्यसँग बोलचाल गरी फर्किने गरेको उनले बताए । धुलाबारी स्वास्थ्य केन्द्रको दरबन्दीवाहक एम्बुलेन्स चालक भएको हुँदा उनी कार्यालयले व्यवस्था गरेको कोठालाई क्वारेन्टाइन बनाएर बस्दै आएका छन् ।

जुनसुकै समय र अप्ठेरो परिस्थितिमा समेत संक्रमितलाई अस्पताल पुर्याउन बोलाउनासाथ तयार भएर खटिने उनको स्वाभावबाट आफु प्रभावित भएको मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रकुमार खाम्याहाङले सुनाए ।

नगरपालिकाले उहाँलाई स्यानिटाइजर, गमबुट, मास्क, पञ्जा, फेस शिल्डलगायतका सामान उपलब्ध गराउँदै आएको छ । राति होस् वा बर्खा जहिल्यै पनि उहाँ संक्रमितलाई अस्पतालसम्म पुर्याउने काममा पछि हटेको आफुलाई थाहा नभएको खाम्याहाङ बताउनुहुन्छ ।

‘पहिलो दिन डर लागे पनि आजकल सामान्य लाग्छ’, उहाँले भन्नुभयो, ‘सेवा नै धर्म हो, यस्तो महामारीको बेला सहयोग गर्नु मानवको कर्तव्य हो म त्यही पूरा गर्दैछु ।’ आफूले एकपटक संक्रमित बोक्दा प्रयोग गरेको पीपीइ सेट, मास्क, ग्लोब्सलगायतका सामग्री दोहोर्याएर प्रयोग नगरेको बताउनुभयो ।

कोरोनाका बिरामी बोक्ने भनेर सुरुतिरका दिनमा मानिसहरु छेउछाउ आउँदैनथिए । छिमेकी र सर्वसाधारणले छिछि र दुरदुर गर्लान् कि भन्ने डर अहिले नभएको उहाँले बताउनुभयो । भन्नुहुन्छ–‘जंग दाइ तपाईले अति राम्रो काम गर्नुभएको छ भनेर भेटघाट र फोनमा हौसलापूर्ण प्रतिक्रिया आउँदा ज्यादै खुशी लाग्छ ।’

(अम्बिका भण्डारी/रासस)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: