साझासँग एकता हुने भएपछि फुट्यो विवेकशील

  प्रकाशित मिति
१८ मंसिर २०७७, बिहीबार १२:४६


झापा, १८ मंसिर । साझा पार्टीबीचको एकताप्रति असन्तुष्टि जनाउँदै विवेकशील नेपाली दलको एउटा समूहले आफूलाई पार्टीबाट अलग्याएको छ ।

विवेकशीलका उपाध्यक्ष अजीता राई, सचिव संगीता बटाजुसहित १३ जनाले वैकल्पिक राजनीतिको नयाँ एजेन्डासहित अगाडि बढ्ने जनाउँदै अहिलेको प्रकृयाबाट आफूलाई अलग राखेका हुन् ।

पार्टीको संघीय समिति सदस्यहरु कर्मा लामा तामाङ, छिरिङ तामाङ, विजय बाबु शिवाकोटी, जेसन बैद्य, शिशिर राई, जमाल अली, आशीष राई, ज्ञानेन्द्र निरौला, साधना थुलुङ्ग राई, शशिविक्रम कार्की र आलोक सुवेदीले संयुक्त वक्तव्य जारी गर्दै यसबारे जानकारी गराएका हुन् ।

‘विवेकशील नेपाली दल तथा साझा पार्टीबीच एकताको विषयमा दुई दलका वार्ता समितिले सहमति गरेको सम्झौतापत्रमा विवेकशील नेपाली दलका सदस्यहरुले विवेकशील नेपाली दलको विधान तथा नियमावली बमोजिम मतदान गरी अनुमोदन गरेकोले विवेकशील नेपाली दलको यो स्वरुपको यात्राको चरण समाप्त भएको छ,’ उनीहरुले भनेका छन् ।

वक्तव्यमा उनीहरुले विवेकशील साझा पार्टीको रुपमा यात्रामा सहभागी हुने सम्पूर्ण सदस्यहरुलाई शुभकामना दिँदै संघीय समितिमा सदस्य रहेका ३५ मध्ये दुई पदाधिकारी सहित १३ जनाले विवेकशील नेपाली दल र साझाको आगामी यात्रामा सहभागी नहुने जनाएका हुन् ।

‘अहिले एकीकरणको लागि सही समय हैन र विवेकशील र साझाबीच भएका राजनीतिक मतभिन्नताका विषयहरुलाई नटुङ्याइकन एकीकरण गर्न उचित हुन्न भन्ने बारेमा हामीले नेतृत्व तथा आम सदस्यहरुसँग विभिन्न समयमा छलफल पनि गरेका थियौँ तर त्यसको सकारात्मक नतिजा आएन,’ उनीहरुले भनेका छन्, ‘देशमा भइरहेको गलत राजनीतिको विरुद्ध सही राजनीतिको अनिवार्यता नकार्न सकिँदैन । वैकल्पिक राजनीतिको पनि नयाँ परिभाषा सहित नयाँ एजेण्डा कार्ययोजना र रणनीति आवश्यक छ ।’

उनीहरुले पार्टी दर्ताको सम्बन्धमा आफ्नो विचारसँग सहमत विवेकशील नेपाली दलका साथीहरु तथा शुभेच्छुकहरुसँगको छलफलपछि छिट्टै अगाडि बढाउने जनाएका छन् ।

(पहिलोपोष्ट)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
हाम्रो फेसबुक पेज