राप्रपाको र्यालीमा ‘गणतन्त्र मुर्दाबाद’को नारा (भिडियो पनि)
प्रकाशित मिति
२० मंसिर २०७७, शनिबार १५:५३झापा, २० मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीले आज झापामा आयोजना गरेको मोटरसाइकल र्यालीमा गणतन्त्रविरुद्ध र राजतन्त्रको पक्षमा खुल्ला नाराबाजी भएको छ ।
काँकरभिट्टाबाट अपरान्ह सुरु भएको र्यालीमा हजारौं सहभागी भए । सहभागितको दृष्टिले र्याली निकै भब्य र विशाल थियो ।
र्याली विर्तामोड नपुगुञ्जेल पूर्व पश्चिम राजमार्ग अवरुद्ध भएको थियो । नेपाल प्रहरीको गाडीले र्यालीको अग्रभागमा स्कर्टिङ गरेको थियो ।
र्यालीमा गणतन्त्र मुर्दाबाद र राजतन्त्र जिन्दाबादको नारा लागेको थियो ।
सहभागी अधिकांशको मोटरसाइकलमा राष्ट्रि«य झण्डा बाँधिएको थियो भने राप्रपाको आफ्नै झण्डा समेत उल्लेख थियो ।
सडक कब्जा भएको हँुदा आयोजकले र्यालीलाई तीब्र रफ्तारमा अघि बढाएका थिए । साना गाडीको लस्कर पनि लामै थियो ।
सहभागीले माइकिङ र नाराबाजी गरेका थिए । कतिपयले पूर्वराजा ज्ञानेन्द्रको तस्वीर अंकित लुगा लगाएका थिए ।
र्याली पुछारमा रहेको एउटा गाडीमा पूर्वराजा ज्ञानेन्द्र गद्दीमा बसेको तस्वीरको झाँकीलाई आकर्षक ढंगले सजाइएको थियो । पूर्वराजा ज्ञानेन्द्रको झाँकीलाई र्यालीको अग्रभागमा भने राखिएको थिएन ।
र्यालीलाई हेर्न राजमार्गको दुबै किनारमा राप्रपा कार्यकर्ता र सर्वसाधारण लामा लागेका थिए । चोक चोकमा प्रहरीको ठूलो संख्या गडबडी केही नहोस् भनेर तैनाथ देखिन्थ्यो ।
राजमार्ग किनारमा बसेर रमिता हेरेका एक राप्रपा कार्यकर्ताले र्यालीले उत्साहित बनाएको र अर्कोपटकको र्यालीमा आफु पनि जाने बताए ।
र्यालीलाई रमिताको रुपमा हेरेका एक नेकपा नेताले राप्रपाको र्याली देखेर केन्द्रमा जुँगाको लडाई गरिरहेका नेकपा नेताहरु होशमा आउने अपेक्षा गरिएको बताए ।