केटु हिमालको सफल आरोहण, नेपाली पर्वतारोहीद्वारा कीर्तिमान
प्रकाशित मिति
४ माघ २०७७, आईतवार १२:५६
झापा, ४ माघ । विश्वको दोस्रो सर्वोच्च शिखर केटुको दश जना नेपाली पर्वतारोहीको टोलीले हिउँदमा नयाँ विश्व कीर्तिमान कायम गर्दै सफल आरोहण गरेका छन् ।
टोलीका एक सदस्य निर्मल पुर्जाले शनिवार बेलुकी ५ बजे शिखरमा पुगेको जानकारी गराए ।
यो हिउँदमा उक्त हिमालमा दर्जनौँ पर्वतारोहीहरू उक्त विश्व कीर्तिमान कायम गर्ने प्रयासमा थिए । तर, उनीहरुले नयाँ विश्व कीर्तिमान कायम गरे ।
आरोहण दलमा १० जना नेपालीहरू सुरुमा फरक–फरक दलमा समावेश भएको भए पनि पछि नेपालको नाममा कीर्तिमान कायम गर्न सबैले एकै दल बनाएका थिए ।
सगरमाथा भन्दा २०० मिटर मात्रै कम उचाइको केटु पाकिस्तान चीन सिमानामा रहेको काराकोरम हिमश्रृङ्खलामा पर्छ ।
संसारमा भएका ८,००० मिटरभन्दा अग्ला १४ शिखरमध्ये केटु हिउँदमा आरोहण गर्न सबैभन्दा कठिन मानिन्छ ।
केटुको सबैभन्दा गा¥हो स्थानको रूपमा सन् २००८ मा ११ जना पर्वतारोहीको मृत्यु भएको एउटा साँघुरो स्थान रहेको छ ।
सफल आरोहीमध्ये एक निर्मल पुर्जाले इन्स्टाग्राममा शिखरको तस्बिर राखेका थिए भने उनीहरूको सफलतालाई व्यवस्थापक सेभेन समिट ट्रेक्सले पनि पुष्टि गरेको छ ।
पुर्जाले लेखेका छन ः ‘असम्भव सम्भव बन्यो । मानव जातिका लागि इतिहास बन्यो । नेपालका लागि इतिहास बन्यो ।’
त्यो क्षण विशेष रहेको लेख्दै उनले भनेः ‘आरोहण दलका सबै सदस्यले शिखरभन्दा १० मिटर तल कुरेर समूहका रूपमा नेपाली राष्ट्रिय गान गाउँदै शिखरमा पाइला टेकेका हौँ ।’
केटु शिखरमा पुग्ने नेपालीहरू पुर्जा, मिङ्मा डेभिड शेर्पा, मिङ्मा तेन्जी शेर्पा, गेल्जेन शेर्पा, पेम छिरी शेर्पा, दावा तेम्बा शेर्पा, मिङ्मा जी, दावा तेन्जीन शेर्पा, किलु पेम्बा शेर्पा र सोना शेर्पा छन् ।
(बीबीसी)