‘खोप खोइ’ भनेर सोध्दा जाइलागे वडाध्यक्ष पनेरु (हेर्नुहोस् भिडियो पनि)

  प्रकाशित मिति
२७ जेष्ठ २०७८, बिहीबार १५:०८


सेवाग्राहीलाई धम्क्याउँदै वडाध्यक्ष पनेरु ।

मेचीनगर, २७ जेठ । आज विहान १० बजे धुलावारी स्वास्थ्य केन्द्रमा ६२ देखि ६४ वर्ष उमेरका सयौं व्यक्ति भेरोसिल खोप लगाउन एकत्रित भएका थिए ।

तर उनीहरुले खोप लगाउन पाएनन् । बरु, खोप खोइ भनेर प्रश्न गर्नेहरुलाई सम्बन्धित वडाका अध्यक्षले उल्टै थर्काए ।‘हिजै खोप सिद्धियो’ भन्ने जवाफ वडाका अध्यक्ष र स्वास्थ्यकर्मीबाट पाएपछि उनीहरु निराश भएर घर फर्किए ।

हिजै कसरी खोप सिद्धियो ? केही ज्येष्ठ नागरिक र सचेत नागरिकहरुले खोप केन्द्रमा उपस्थित मेचीनगर वडा नं. १० का अध्यक्ष सुदय पनेरुलाई प्रश्न गरे ।

‘मैले सिद्धियो भनेपछि सिद्धियो, कुरा बुझ्नुस्,’ वडाध्यक्ष पनेरुले सबैलाई रुखो जवाफ फर्काउँदै भने–‘मैले सिद्ध्याएको होइन, लुकाएको र ढाँटेको होइन ।’

६४ वर्ष उमेरका वुवाआमालाई खोप लगाउन मेचीनगर–९ का सागर शिवाकोटी पनि स्वास्थ्य केन्द्रमा आएका थिए । उनले स्वास्थ्यकर्मी र वडाध्यक्षलाई खोप खोई भनेर प्रश्न गर्दा ‘हिजै सिद्धियो’ भन्ने उस्तै जवाफ पाएको बताए ।

मेचीनगर वडा नं. ९ कै कमलमणि पौडेलले हिजो मनपरी ढंगले खोप लगाउँदा वास्तविक उमेर पुगेकाहरु खोपबाट वञ्चित भएको गुनासो वडाध्यक्षसमक्ष गरे ।

‘खोप किन पुगेन भनेर खड्ग ओलीलाई सोध्नु,’ वडाध्यक्ष पनेरु प्रश्नकर्ता पौडेलमाथि आक्रामक भएर खनिए । खोप वितरणमा अनियमितता भएको भनेर आफुसँग निहुँ नखोज्न वडाध्यक्षले पौडेललाई ठाडो चुनौति दिए ।

पौडेलले वडाध्यक्षको व्यवहार र बोलीको प्रतिबाद गरेपछि स्वास्थ्य केन्द्रमा तनावको वातावरण बन्यो । खोप लगाउन आउने र गुनासोकर्तालाई यथार्थ बताएर सम्झाउनुको साटो वडाध्यक्ष भिडन्तमा उत्रिएको दृश्यको पत्रकार, प्राध्यापक, स्वास्थ्यकर्मी लगायत थुप्रै प्रत्यक्षदर्शी थिए ।

वडाध्यक्ष पनेरुले आफ्ना विरुद्ध प्रश्न गर्ने पौडेलमाथि जाइलाग्न निर्देशन दिदै भने–‘ओई केटाहरु हो निस्क, कसले गर्न सक्छ मलाई आक्रमण ?’ वडाध्यक्षले प्रश्नकर्ता पौडेलसँग झडपमा उत्रिन खोज्दा अन्य जनप्रतिनिधि र सेवाग्राहीले रोकेका थिए । नरोकेको भए त्यहाँ कुटाकुटको सम्भावना थियो ।

त्यहाँ कञ्चनजंघा एफएमका निर्देशक एवम् पत्रकार दिपेन्द्र पौडेल, नेपाल पत्रकार महासंघको केन्द्रीय प्रतिनिधि एवम् सेतोपत्र अनलाइनका सम्पादक ज्ञानेन्द्र निरौला र लोकतन्त्र पोस्टका सम्पादक मोहन काजी उपस्थित थिए ।

खोपको वास्तविकता यस्तो छ

सरकारले ६२ देखि ६४ वर्ष उमेर पुगेकाहरुका लागि चिनियाँ खोप भेरोसिल लगाउनका लागि जेठ २५ र २६ गते मिति तोकेको थियो ।

जिल्ला बाहिर (राजधानी)मा यसअघि भेरोसिलको पहिलो खोप लगाइसकेकालाई पनि यसपाली दोस्रो खोप लगाइने भनिएको थियो ।

फ्रन्टलाइनर स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीलाई समेत यसपाली खोप लगाइने भनिएको थियो ।

तर मेचीनगरको ९ र १० वडाका लागि खोप केन्द्र तोकिएको धुलावारी स्वास्थ्य केन्द्रमा २५ गते खोप आएन । २६ गते (हिजो) खोप आउनासाथ उमेर पुगेका र नपुगेका दुबैखाले सेवाग्राहीको घुइँचो लागेको थियो ।

दिउँसो १२ बजेसम्म ६२ देखि ६४ वर्ष उमेरका व्यक्तिलाई मात्र खोप लगाइएको थियो । अरु उमेर समूहलाई फर्काइएको थियो । तर अपरान्ह दुई बजेतिर वडाध्यक्ष सुदय पनेरुको निर्देशनमा अन्य उमेर समूहका व्यक्तिले धमाधम खोप लगाएको प्रत्यक्षदर्शीहरु बताउँछन् ।

वडाध्यक्ष र उनका समर्थकले फोनबाट बोलाई बोलाई आफन्त, समर्थक र शुभेच्छुकलाई खोप लगाइदिएका थिए । त्यहाँ खोप लगाउन खटिएका स्वास्थ्यकर्मीले वडाध्यक्षको दवाव खेप्न सकेनन् । नियमविरुद्ध जान बाध्य भए ।

वडाध्यक्ष पनेरुले बुधवार (हिजो) खोप उब्रिएपछि अन्य उमेरका व्यक्ति जो जो थिए उनीहरुलाई लगाइएको पत्रकारहरुसँग स्वीकार गरे ।

‘जेठ २६ गतेसम्म खोप लगाइसक्नु भनिएको थियो, खोप उब्रियो,’ वडाध्यक्ष पनेरु भन्छन्–‘भीड थाम्न सकिएन, अनि त्यहाँ भएका सबैलाई लगाइदिनै पर्यो ।’

हिजो जथाभावी खोप लगाउनेहरु काङ्ग्रेस र कम्युनिस्ट सबै पार्टीका भएको उनको दावी छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
हाम्रो फेसबुक पेज