‘आइरन गेट’ होइन एसइइ

।। मोहन काजी ।।

प्रसन्न मुद्रामा काँकरभिट्टाको अरुणोदय माध्यमिक विद्यालयका विद्यार्थी ।

माध्यमिक तहको परीक्षा (एसइइ) सुरु भएको छ । लाखौं विद्यार्थी सहभागी हुने यस्तै परीक्षालाई विगतमा फलामे ढोका (आइरन गेट)को संज्ञा दिएर हाउगुजी सिर्जना गरिएको थियो । अब त्यो त्रास छैन, एसइइ परीक्षालाई नियमित कक्षा १० उत्तीर्ण गराउने सामान्य प्रक्रियाको रुपमा स्वीकार गरिएको छ । सैद्धान्तिक रुपमा सामान्य मानिए पनि व्यवहारमा भने पहिलेकै एसएलसीको जस्तो त्रास धेरैजसो विद्यार्थी र उनीहरुका अभिभावकहरुमा व्याप्त छ । यसो हुनुमा वर्षौदेखि दिमागमा बनेको धारणा बदलिन बाँकी रहेको अर्थमा लिइनु पर्छ । कुनै पनि आधारमा एसइइ फलामे ढोका अब होइन ।

सरकारले कक्षा १२ लाई माध्यमिक तहको अन्तिम खुड्किलो मानेको छ । नेपालमा सरकारी जागिरका क्रममा अबको पुस्ताले एसइइको होइन, कक्षा १२ को शैक्षिक प्रमाणपत्र देखाउनु पर्ने हुन्छ । जसरी अहिले कक्षा ५, ८ र ९ कक्षा उत्तीर्ण गरेको प्रमाणपत्र सरकारी जागिर खानका लागि लोकसेवा आयोगमा देखाउनु पर्दैन, ठिक त्यस्तै हो एसइइ । सरकारी जागिरका लागि न्यूनतम् शैक्षिक योग्यता कक्षा १२ उत्तीर्ण तोकिइसकेको हुँदा अब एसइइमा ठूलो त्रास पाल्नु पर्ने अवस्था रहेन । यो यथार्थ विद्यार्थी र अभिभावकले बुझ्न जरुरी छ ।

अधिकांश विद्यार्थीले उत्कृष्ट नतिजाका लागि प्रयास गर्नु राम्रो हो । अभिभावकहरुको चाहना समेत यस्तै हुन्छ । तर जसरी पनि राम्रो गर्नु पर्ने भनेर विद्यार्थीमाथि मानसिक दवाव सिर्जना गरिनु उचित होइन । दवावकारी मानसिकताले गर्दा कतिपय विद्यार्थीले विगतमा कमसल नतिजा सहन नसकेर अनाहकमा गलत बाटो समेत रोजेका छन् । एसइइलाई डरलाग्दो परीक्षाको रुपमा लिन आवश्यक छैन । विद्यार्थीहरुले शान्त, धैर्य र आनन्दपूर्वक परीक्षा दिन सक्ने वातावरण तयार पार्न आआफ्नो ठाउँबाट सबैले पहल गर्न आवश्यक छ ।

एसइइलाई डरलाग्दो परीक्षाको रुपमा सरकार आफैले देखाउन खोज्नु जायज छैन । हप्तौंदेखि प्रहरी कार्यालयमा प्रश्नपत्र थुपार्नु, सरकारको शक्तिशाली प्रतिनिधि सीडीओको अध्यक्षतामा परीक्षा समिति बनाउनु र केन्द्राध्यक्ष लगायतको चयनलाई निकै ठूलो विषय बनाउनु सरकारले सिर्जना गरेको त्रास हो । कुनै पनि परीक्षामा सुरक्षा, सतर्कता र अनुशासन जरुरी हुन्छ । तर सरकारले त्यो अनुशासन एसइइमा मात्र चाहिन्छ जस्तो व्यवहार गर्नु हुँदैन । कक्षा ११, कक्षा १२ र त्योभन्दा माथिको परीक्षामा कुनै त्रास सिर्जना गरिएको हुँदैन । यतिसम्म कि डाक्टर र इन्जिनियर तहको परीक्षा कहिले कहाँ हुन्छन् भन्ने विषय आम चर्चाको विषय बन्दैनन् । यही एसइइ मात्र सरकारी बढी चर्चा एवम् चासोको विषयमा परेको कारण त्रास घट्न नसकेको हो । एसइइ सामान्य परीक्षा हो,  जीवनकै परीक्षा होइन । तसर्थ, विना कुनै त्रास विद्यार्थीहरुले परीक्षा दिने वातावरण बनाउन जरुरी छ । एसइइका नाममा प्रहरीको परिचालन समेत त्रास बढाउने कारण हो । यो जरुरी नै छैन ।

(विशेष सम्पादकीय )

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    loktantrapost@gmail.com

हाम्रो बारेमा

सम्पादक :- मोहन कुमार नेउपाने
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: