आफैलाई प्रश्न गर्रौं–हामीले किन पत्रकारिता गरेको ?

पत्रिकाहरुले दलको पक्षपोषण गर्नै हुन्न भन्ने होइन । गर्नुपर्छ । तर साँच्चिकै लिटी कसेर पक्षपोषण गर्ने हो भने पत्रिकाको नामभन्दा माथि एक लाइन चाहिँ लेख्नै पर्छ ‘म फलानो राजनीतिक दलको मुखपत्र हुँ’ भनेर । यी पङ्ति पढ्नेहरुले लेखकलाई पनि कुनै दलको कित्तामा  सोचिरहेका होलान् ।

मोहन काजी

मलाई एक मित्रले अलि अघि पत्रिकाको फस्टपेजमा छापिनेगरी शुभकामना जस्तो जस्तो हजार शब्दको लेख लेखिदिन आग्रह गर्नुभयो । ती मित्रको पत्रिकाले बार्षिक उत्सव मनाउँदैथियो । मैले बुझिहालें–उहाँलाई नयाँ वर्षगाँठको नयाँ अङ्कलाई विशेष बनाउनुथियो ।

मैले आग्रह गर्दै मित्रलाई भनेँ–‘प्रथम पृष्ठमा पाठकलाई बेकारमा शुभकामनाको बोझ नबोकाउनु ।’ मैले सानातिनो लेख इमेल गरिदिएँ । धन्यवाद भन्ने शब्दसम्मान पनि पाएँ । भोलिपल्ट पत्रिका हेरेँ–मेरो लेख पहिलो पृष्ठमा ठाँटसँग छापिएको थियो ।

मलाई चित्त नबुझी नबुझी शुभकामना लेखेको थिएँ । वास्तवमा पत्रिकाको वार्षिकोत्सवमा मन्त्री, नेता र ठूलाठालुहरुको शुभकामना छाप्ने काम सही हो जस्तो लाग्दैन । यस्तो गल्ती मैले आफ्नो पत्रिकामा पनि गरेँ हुँला । तर दोहोर्याएको छैन । आफुले हाल सञ्चालन गरिरहेको लोकतन्त्र पोस्टको ६ वर्षे यात्रा जारी छ । मेरो सौभाग्य को कि नेताको दुर्भाग्य, एउटा वर्ष पनि नेताको शुभकामना छाप्नु परेको छैन ।

नेता, मन्त्री वा अरु कुनै ठूलो ओहोदावालासँग शुभकामनाको नाममा प्रशंसा बटुलेर पाठकमा भ्रम छर्ने कार्य राम्रो होइन । उनीहरु पनि पत्रिकाका लागि एउटा पाठक मात्र मानिनुपर्छ । बरु छाप्नै परे उनीहरुबाट एउटा पाठकको हैसियतमा प्रतिक्रिया लिँदा हुने हो । तर हामीकहाँ पत्रिका असल हो, पत्रकार अझ बढी असल हो, सम्पादक मेरा पुराना मित्र हुन् लगायतका हनुमाने शब्दकोष खर्च गरिएका शुभकामना आजको प्रवुद्ध पाठकले पचाउन सक्दैनन् भन्ने मेरो आफ्नै बुझाई छ ।

झापाको पत्रकारिताको स्वास्थ्य यतिबेला त्यति राम्रो छैन । पत्रकार महासङ्घमा अढाई सयभन्दा बढी सदस्य भएको झापाली पत्रकारिता झट्ट हेर्दा सुन्निएको हो कि जस्तो लाग्छ । मोटाएको हो भनुम् भने हरेक दिन पत्रपत्रिकाहरु कि त रासस सार्छन्, कि त अनलाइनका समाचार सुधार्छन् । रेडियो र टिभीहरु साधारणसभा भट्याउँदैमा समाचार सिध्याउँछन् । अनलाइनहरु आफ्ना लाइन नै कुन अनलाइनबाट साभार गरिएको हो भन्ने पत्तो पाउँदैनन् । नयाँ, खोजमूलक र पढुँपढँु लाग्ने समाचारको दर्शन पाउन हप्तौ कुर्नु पर्छ । पत्रकार महासङ्घलाई सोध्यो भने ‘खाम’ले विगार्यो भन्दै मुन्टो बटार्छ । सपार्ने मेलो उसलाई पनि पत्तो छैन ।

धेरै वर्ष अघि पूर्वाञ्चलमा छँदा लुना मलले हो कि कसले हो (आयोजक ठ्याक्कै सम्झिन सकिन) सन्ध्याकालीन पत्रकार सम्मेलन गरेको थियो । विज्ञापन सीसीमा नाप्ने चलन धेरैलाई थाहै छ, उसबेला पत्रकार सम्मेलनमा पत्रकारलाई पनि सीसीमै नाप्ने चलन थियो । जसले ठूलो सीसी उचाल्छ उही ठूलो पत्रकार दरिन्थ्यो । पत्रकार सम्मेलन दुई चरणमा हुने गथ्र्याे । दिउँसो भाषणभूषणसहितको र साँझ रासनसहितको हुन्थ्यो । रासनमा मांसाहार र रसपानको राम्रै व्यवस्था हुन्थ्यो ।

दिउँसोको पत्रकार सम्मेलनमा गइयो, साँझमा गइएन । भोलिपल्ट पूर्वाञ्चलमा यस्तो शीर्षकमा एउटा समाचार छापियो–‘वारि जमुना पारि जमुना…।’ त्यसमा बेलुका पत्रकारहरु कसरी आयोजकले दिएको रसपानमा रमाए भनेर सानो दृश्यचर्चा गरिएको थियो । विहान पत्रिका बजारमा निस्किएपछि पत्रकारहरुले नै झण्डै भकुरे । त्यतिबेला झापाको पत्रकारितालाई मदिरा खुवाउने चलनले विगारेको थियो । खाम र दाम उसबेला चल्दैनथियो । त्यसको दृष्टान्त थियो लुना मलको पत्रकार सम्मेलन ।

२०४६ सालपछि नेपालमा पत्रकारिता स्वतन्त्र मात्र भएन, फस्टायो पनि । झापामा विवेचना, पूर्वाञ्चल, झापा एक्सप्रेस जस्ता दैनिक पत्रिका प्रकाशित भए । २०६२ सालको जनान्दोलनसँगै आएको जनसंसद् र पछि आएको प्रतिदिन र पूर्वसन्देश जस्ता सशक्त पत्रिकाले बजार जमाउन पुगे । अरु पनि कति पत्रिका आए, कति केही समय निस्किएर बन्द भए ।

पत्रकारिता पेशा समाजमा उच्च सम्मानित कर्मको रुपमा स्थापित हुँदै जाँदा यसमा भित्रिएर स्वार्थसिद्ध गर्न चाहनेहरु बढ्न थाले । यो क्रम अहिले पनि रोकिएको छैन । पत्रिकामा लगानी गर्ने र परिश्रम गर्ने दुबै पक्ष स्वार्थले जेलिएपछि पत्रकारिता भीरबाट खस्नबाट कसैले जोगाउन सक्दैनथियो । अहिले पत्रकारिताप्रति गुम्दै गएको जनविश्वास यही स्वार्थकारिताको साइडइफेक्ट हो ।

पत्रिकाहरु सटरमुनि छिराउँदैमा दोकानेले पढ्छ भन्ने ग्यारेन्टी छैन । उसले त कपडा पोको पार्न पत्रिका प्रयोग गरिरहेको हुन्छ । पत्रिका भनेको इतिहासको दस्तावेज हो भने पाठकले फाइलिङ गरेर राख्नु पर्ने हो । पत्रिकाको इज्जत हुँदो हो त चटपटे खाइसकेपछि आफ्नै पत्रिकाको अक्षर पढ्नु पर्ने नियति सम्पादकहरुले भोग्नु नपर्ने हो ।

पत्रिकाको मात्र हालत यस्तो भएको होइन, टिभीवाला र रेडियोवालाको पनि उस्तै गतिमति छ । अचेल आफुले बनाएको समाचार पाठकले पढ्न छाडेपछि अरुका फेसबुक च्याट र ग्रुपमा फुत्त फुत्त लिङ्क घुसपैठ गराउनेहरु अरु कोही होइनन्, टिभी र रेडियोका पत्रकारहरु नै छन् । पाठकले, श्रोताले वा सरोकारवालाले लिङ्क शेयर गरेको पो राम्रो हो त । आफ्नो समाचार आफै अर्काको पेजमा ट्याग गर्दै हिँड्नु पर्ने अवस्था आउनुले रेडियो र टिभीवालाको हविगत पनि छर्लङ्गै हुन्छ ।

हुन त पत्रकारिता र पत्रकारका बारेमा केही सत्य लेख्नु र बोल्नु भनेको आफ्नै आङ कनाएर छारो उडाउनु जस्तै हो । गैडालाई काउकुती लगाएर के हुन्छ र, त्यस्तै मोटो भएका छन् पत्रकारहरु । पत्रकारहरुलाई कार्यक्रममा जान निम्ता चाहिन्छ । निम्ताले मात्र पुग्दैन । उद्घोषकले फलाना वरिष्ठ पत्रकार हाम्रो निमन्त्रणालाई स्वीकारेर पाल्नुभएको छ भनिदिनु पर्छ । पत्रकारलाई सिधै मञ्चमा पालिदिनु पर्छ र आयोजकले तीनखाद माला लगाइदिनु पर्छ । त्यति मात्र कहाँ हो र, वक्ताको रुपमा मन्तब्य समेत पत्रकारले राख्न पाउनु पर्छ । यही त हो अहिलेको पत्रकिारता अवतार । के यसो गर्दा पत्रकारिताको हित भएको छ कि छैन कसैलाई सोच्ने फुर्सद छैन ।

पत्रकारको काम जे भएको हो, त्यो विना पूर्वाग्रह पाठक वा श्रोतासामू राखिदिने हो । पत्रकारिता नजानेर भन्दा अचेल बढी जान्ने भएर पनि बिग्रिन थालेको छ । पत्रकारहरु आफुलाई सबै विषयको विज्ञ ठान्छन् । विज्ञ हुनु नराम्रो होइन । त्यो विज्ञता पत्रकारितामा प्रस्फुटित हुनुपर्यो । समाजमा समाचार लेख्ने पत्रकारभन्दा बढी विज्ञ पाठक र श्रोता छन् भन्ने पत्रकारले कहिल्यै बुझेनन् ।

पूर्व पत्रकार रविन्द्र मिश्रले भर्खरै एउटा भेटमा भन्नुभयो–‘पत्रकारहरुले आस्थाको झोला न्यूजरुमको ढोका बाहिरै राखे दलमा आस्था राख्दैमा केही फरक पर्दैन ।’ तर हामीकहाँ आस्थाको झोला बोकेर न्यूजरुममै छिर्ने र दलको नोटबुक निकालेर समाचार बनाउने चलन हावी भइसकेको छ । दलहरुले अचेल पत्रकारहरुलाई पत्रकारिताको ट्युसन पढाउन थालेका छन् । पत्रकारहरु सात सयजनालाई रोजगारी दिने र उद्यमशीलताको अन्तर्राष्ट्रिय नमुना बनिरहेको एनएमसीका बारेमा खासै जान्न चाहँदैनन्, लेख्दैनन, खोज्दैनन् । पत्रकारहरु एमसीसीका बारे विषयविज्ञ जस्ता लाग्छन् । कारण दलहरुले जो ट्युसन पढाएका छन् ।

झापामा पत्रकारिताको कुरा गरिरहँदा दैनिक पत्रिकाहरुको प्रगति विवरण साझा प्रकृतिको छ । निस्किरहेकै छन् । पाठकका सटरमुनि छिरिरहेकै छन् । सम्पादकहरु फेरिए पनि पत्रिका चलिरहेकै छन् । पत्रिकाको चार पातो कहिल्यै खाली छापिएका छैनन्, अर्थात् समाचारहरु भरमार छापिएकै छन् । बर्षमा एकचोटी आउने वर्षगाँठमा शुभकामनाहरुमा गुणगान आएकै छन् । म आफु काम गर्ने लोकतन्त्र पोस्ट दैनिकको हालत पनि यही हो, प्रतिदिन दैनिकको हालत पनि उही हो ।

सुरुका दिनमा प्रतिदिन बजारमा निस्कँदा आँधी आएजस्तो भएको थियो । अरु पत्रिकाहरुलाई बढार्ला कि जस्तो । हुन त लोकतन्त्र पोस्टले पनि त्यस्तै हुण्डरी ल्याउला कि जस्तो गर्यो । झापामा करोडको लगानीमा पत्रिका सुरु भएको पहिलो अखबार प्रतिदिन नै हो । त्यसबेलाका जनसंसद्, पूर्वाञ्चल जस्ता दमदार पत्रिकाहरु डराएका थिए प्रतिदिनको जोश, जाँगरसँग । तर सेलाउन धेरै बर्ष लागेन । कारण प्रतिदिन आफैले खोजोस् ।

वर्तमानमा प्रतिदिन कुनै दमदार पत्रिका अब रहेन । निस्कनका लागि निस्किरहे जस्तो मात्र लाग्छ । त्योभन्दा अलिबढी केही भए जस्तो लाग्छ भने पत्रिकाका सम्पादक र प्रकाशकहरुले पाठकलाई आफै लेखेर बताउन् । पत्रिका निष्पक्ष हुनुपर्छ । तर यता पनि ठिक्क, उता पनि ठिक्क भनेजस्तो निष्पक्ष चाहिँ होइन । प्रतिदिन निकै लामो समयदेखि यो मुलुकमा नेपाली काङ्ग्रेस मात्र ठिक पार्टी हो जस्तो गरेर समाचारको बान्की पस्किन्छ । यो मलाई लागेको कुरा हो, सबैलाई यस्तो नलागेको पनि हुनसक्छ ।

कुनै पनि पत्रिकाहरुले दलको पक्षपोषण गर्नै हुन्न भन्ने होइन । गर्नुपर्छ । तर साँच्चिकै लिटी कसेर पक्षपोषण गर्ने हो भने पत्रिकाको नामभन्दा माथि एक लाइन चाहिँ लेख्नै पर्छ ‘म फलानो राजनीतिक दलको मुखपत्र हुँ’ भनेर । यी पङ्ति पढ्नेहरुले यो लेखकलाई पनि कुनै दलको कित्तामा छ भनेर सोचिरहेका होलान् । म कुन कित्तामा छु कि छैन, त्यसको प्रभाव पत्रकारिताका परेको छ कि छैन भनेर म आफैले दावी गर्नुको अर्थ छैन । पाठक वा श्रोताले पारख गरिरहेका हुन्छन् । त्यसैले भनेको होला–‘पत्रकारहरुले समाचारैपिच्छे परीक्षा दिइरहेको हुन्छ ।’

अचेल म भन्न थालेको छु । पत्रिका किन प्रकाशित गरेको हो भनेर अब प्रकाशकहरुले गम्भीर भएर सोच्नु पर्छ । पत्रिकाले समाजमा के योगदान पुर्यायो भनेर सम्पादकहरुले पनि सोच्नु पर्छ । प्रतिदिन दैनिकलाई पनि यो विषयमा सोचविचार गर्न आजको वर्षगाँठको अवसरले प्रेरित गरोस् शुभकामना ।

(प्रतिदिन दैनिकमा प्रकाशित)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    loktantrapost@gmail.com

हाम्रो बारेमा

सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
झुलन रेग्मी
संचालक/सम्पादक :- मोहन कुमार न्यौपाने
प्रधान सम्पादक :- प्रकाश पौडेल
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: