अलबिदा ‘गरीवका काका’

मेचीनगर । अरुण बुढाथोकी हरेक दिन बिहान आफ्नो निवासबाट धुलावारी मोडसम्म ओहोरदोहोर गर्दा उनलाई आदरपूर्वक अभिवादन र सम्बोधन गर्नेहरु सयौ हुन्थे । सबैले उनलाई ‘काका’ भन्थे । रिक्सा चलाउनेदेखि क्याम्पसका प्रमुखसम्मले ‘काका’ नै भन्दथे । खासगरी गरीव, असहाय र पीडितका लागि मरिमेटेर सहयोग गर्ने स्वाभावका कारण उनी ‘गरीवका काका’ कहलिएका थिए ।

जनजनमा लोकप्रिय, सादा जीवनका पर्याय, उच्च शैक्षिक योग्यता हासिल गरेका उनै ‘गरीवका काका’ अर्थात् झापाली सामाजिक तथा राजनीतिक व्यक्तित्व अरुण बुढाथोकीको आइतवार निधन भएको छ ।

मिर्गौलाको प्रत्यारोपणपछिको सकस भोगिरहेका मेचीनगर–१५ रघुबीरबस्ती निवासी ६३ वर्षीय बुढाथोकीको आइतवार भारतको सिलगढीमा उपचारकै क्रममा निधन भएको हो ।

सात सालको क्रान्तिमा योगदान दिएको पारिवारिक पृष्ठभूमि भएका कारण उनमा सानैदेखि प्रजातान्त्रिक चेत थियो । राजनीतिक रुपमा नेपाली काङ्ग्रेसका सक्रिय नेता र उच्च शैक्षिक योग्यता भएर पनि उनी राजनीतिक लाभको ठूलो पदमा भने पुग्न पाएनन् । उनले दार्जीलिङबाट उच्च शिक्षा हासिल गरेका थिए ।

मिगौलाको रोगको उपचारमा रहेका बुढाथोकीको एक दशक अघि दक्षिण भारतको एउटा हस्पिटलमा मिगौला प्रत्यारोपण गरिएको थियो । उनमा मधुमेहको समस्या पनि थियो ।

एक साता अघि मिर्गौलामा थप समस्या देखिए पछि उनलाई उपचारका लागि भारतको सिलगढीस्थित एक नर्सिङ होममा भर्ना गरिएको थियो ।

‘जहाँ मिर्गौला प्रत्यारोपण गरिएको थियो, उतैबाट डाक्टरले बोलाएको कारण आइतवार उहाँलाई दक्षिण भारत लैजाने गरी प्लेनको टिकट समेट काटिएको थियो’–उपचारका क्रममा साथै रहेका नेपाली कांग्रेसका जिल्ला कोषाध्यक्ष केशवराज पाण्डेले भने–‘एयरपोर्ट पुर्याइएको थियो, उहाँले प्लेन चढ्न सक्दिन भन्नुभयो, त्यहीबेला प्रेसर डाउन भयो भने सुगर ह्वात्तै बढ्यो ।’ कोषाध्यक्ष पाण्डेका अनुसार त्यसपछि बुढाथोकीलाई फर्काएर हस्पिटलमै लगियो । विहान साढे १० बजेतिर उनको निधन भएको थियो ।

राजनीतिज्ञको रुपमा अरुण :

नेपालको प्रजातान्त्रिक आन्दोलनमा योगदान पुर्याएको बुढाथोकी परिवारमा उनको जन्म भएको थियो ।

उनको बुवा रघुबीर बुढाथोकी, दाजु केशवकुमार बुढाथोकी (पूर्व मन्त्री), प्रकाश बुढाथोकी, सुदर्शन बुढाथोकी लगायत बुढाथोकी परिवारका थुप्रै सदस्य राजनीतिमा होमिएको पाइन्छ ।

२००७ सालको जनक्रान्ति, २०३६ सालको जनमत सङ्ग्रह, २०४६ सालको जनान्दोलन र २०६२÷०६३ को दोस्रो जनान्दोलनमा बुढाथोकी परिवारको योगदान थियो ।

अरुण बुढाथोकी नेपाली काङ्ग्रेस झापा १ नं. क्षेत्रीय समितिका सभापति भइसकेका थिए ।

नेपाली काङ्ग्रेसबाट उनी तत्कालीन ज्यामिरगढी गाउँ विकास समितिको अध्यक्षमा उम्मेद्वार बनेका थिए ।

दाजु केशवकुमार बुढाथोकीकै राजनीतिक लाइन पछ्याउँदै उनी नेपाली काङ्ग्रेसको राजनीतिमा सक्रिय थिए ।

नेपाली राजनीतिक क्षेत्रका हस्तीहरुसँग राम्रो हिमचिम भएका उनी पार्टीमा बढेको गुटबन्दी र भेदभावविरुद्ध खुलेरै बोल्थे । नेताहरुको आलोचना गर्न उनी पछि पर्दैनथे ।

शिक्षासेवीको रुपमा सक्रिय :

अरुण बुढाथोकी राजनीतिक र सामाजिक क्षेत्रमा बराबर सक्रिय थिए । उनले क्याम्पस र विद्यालयको स्थापना र विकासमा योगदान पुर्याएका थिए ।

धुलावारी क्याम्पसको उनी संस्थापक एवम् जग्गादाता थिए । उनी उद्यमी समेत थिए । एकताका उनले इटहरीमा चाउचाउ उद्योग खोलेका थिए ।

सामाजिक क्षेत्रमा सक्रिय उनी धुलावारी सामुदायिक सेवा केन्द्रको अध्यक्ष भएका थिए । ज्यामिरगढी माध्यमिक विद्यालय र डिगेन आधारभूत विद्यालयका उनी अध्यक्ष भइसकेका थिए ।

तीन छोरीका पिता :

आर्थिक रुपमा सम्पन्न परिवारका सदस्य भएर पनि उनी सादा जीवन बिताउन रुचाउँथे । उनी आफ्ना कुरा राख्न नडराउने र नधकाउने हक्की स्वाभावका थिए ।

गरिव, असहाय र पीडित परिवारलाई जे दिएर पनि सहयोग गर्ने उनको उपकारी स्वाभाव थियो । समस्या र आफुलाई परेको अन्याय सुनाउन उनका घरमा हरेक दिन सर्वसाधारणको घुइँचो लाग्थ्यो ।

मिर्गौला फेल भएर उपचारमा लागेपछि उनी राजनीतिक भन्दा सामाजिक जीवनमा बढी सक्रिय भए ।

उनको पत्नी नमिता बुढाथोकी र तीन छोरीहरु अश्वेता, अस्मिता र अङ्किता रहेका छन् ।

फुटबलका खेलाडी :

खेलकुद क्षेत्रमा समेत लागेका अरुण बुढाथोकी युवा उमेरमा फुटबलका राम्रो खेलाडी मानिन्थे ।

उनी ज्यामिरगढीमा जन्मे पनि शनिश्चरे घरमा हुर्किएका थिए । उनले प्रारम्भिक शिक्षा समेत शनिश्चरेमै पाएका थिए ।

शनिश्चरेको पुरानो नामी डाइनामाइट क्लवका संस्थापक उनी फुटबल खेल्न देशका थुप्रै भागमा पुगेको बताइन्छ ।

गावै शोकाकूल :

मेचीनगर–१५ रघुबीरबस्तीस्थित निजी निवासमा बुढाथोकीको पार्थिव शरीर आइतवार भारतको सिलगढीबाट ल्याइएको थियो ।

उनको निधनको खबर फैलिएसँगै घरमा ज्यामिरगढी, धुलावारी, शनिश्चरे र विर्तामोडबाट शुभचिन्तक, नातेदार र पार्टीका कार्यकर्ताको ओइरो लागेको थियो ।

नेपाली काङ्ग्रेस मेचीनगरका सभापति इन्द्र बुढाथोकीले अरुण बुढाथोकी पार्टीका अत्यन्त जनप्रिय नेता र सामाजिक व्यक्तित्व भएको बताए । उनको निधनले पार्टीलाई अपूरणीय क्षति पुगेको बताउँदै सभापति बुढाथोकीले शोकाकूल परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।

युवा काङ्ग्रेस नेता रुपसागर अधिकारी अरुण बुढाथोकीको निधनबाट पार्टीले गरीव दुःखीको हितमा लाग्ने जनप्रिय नेता र समाजले अभिभावक गुमाएको बताउँछन् ।

शबयात्रामा हजारौ :
सोमवार मेचीनगर-१० रामघाटमा बुढाथोकीको दाहसंस्कार गरिएको छ ।
ज्यामिरगढीस्थित निजी निवासबाट रामघाटसम्मको शबयात्रामा हजारौं सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: