मेचीनगर पोलिटेक्निक इन्स्टिच्युटको कक्षा सञ्चालन मंसिरदेखि

  प्रकाशित मिति
२ आश्विन २०७७, शुक्रबार १७:३६


मेचीनगर, २ असोज । आगामी मंसिर पहिलो साताबाट मेचीनगर पोलिटेक्निक इन्स्टिच्युटको कक्षा सञ्चालन गर्ने तयारी अन्तिम चरणमा पुगेको छ ।

मेचीनगर–१० रघुवीरबाडी स्थित धुलावारी क्याम्पसमा सञ्चालित यो संस्था मेचीनगर नगरपालिका र प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् सिटीभिटीको साझेदारी कार्यक्रम अन्तर्गत पर्दछ ।

मेचीनगर नगरपालिकाको शिक्षा शाखाले शुक्रबार नगरप्रमुख विमल आचार्यको सभाकक्षमा आयोजना गरेको पत्रकार सम्मेलनमा कक्षा सञ्चालनका लागि आवश्यक पूर्वाधारदेखि सवै तयारी भएको जानकारी गराइएको हो ।

इन्स्टिच्युटका प्रमुख प्रशासक पुष्पराज पौडेलले नगरका तीनवटा कलेजमा विभिन्न विषयमा अध्ययन गराउने, विद्यार्थीहरुको तानातान, आफूले चाहेको विषय पढन टाढा टाढा धाउनु पर्ने बाँध्यताको अन्त्यका लागि समेत धुलावारीमा प्राविधिक विषयको पढाई शुरु गर्न लागिएको बताए ।

मेचीनगरमा रहेका सामुदायिक काँकरभिट्टा क्याम्पसमा व्यवस्थापन, चारआलीको त्रिदेव क्याम्पसमा शिक्षा संकाय र धुलावारी क्याम्पसले प्राविधिक शिक्षाको व्यवस्था मिलाएको उनले बताए ।

हाललाई धुलावारी क्याम्पसकै संरचना प्रयोग गर्ने तथा सात विगाह जमीनमध्ये ५ विगाह जमीनमा प्राविधिक क्याम्पस सञ्चालन हुने धुलावारी क्याम्पसका प्रमुख समेत रहेका पौडेलले बताए ।

मेचीनगरक्षेत्रमा प्रविधिक शिक्षा उच्च तहको अध्ययनको आवश्यतकालाई मध्येनजर गरी न्यूनतम शुल्कमा प्राविधिक शिक्षा प्रदान गर्न प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् सिटीभिटीबाट सम्बन्धन लिई आर्किटेक्चर इन्जिनियरिङ र सुचना प्रविधिको ३ वर्षे डिप्लोमा तहका २ वटा कार्यक्रम सञ्चालन हुने पत्रकार सम्मेलनमा कार्यक्रम संयोजक तथा प्रिन्सिपल ईन्जिनियर रुद्र मैनालीले जानकारी दिए ।

ईन्जिनियरिङका विविध विधाहरुमध्ये आर्किटेक्चर इन्जिनियरिङ एक प्रमुख र लोकप्रिय विधा भएको मैनालीको भनाइ छ । विकसित देश, विकासोन्मुख देश र अति कम विकसित देशका धेरै मानिसलाई आर्किटेक्चर इन्जिनियरिङको वृहत प्रयोगका लागि जोड दिने गरेको पत्रकार सम्मेलनमा ईन्जिनियर मैनालीले बताए ।

यसले भौतिक पूर्वाधारको चौतर्फी विकासका लागि विश्वलाई सहयोग गरिरहेको भन्दैं यसले सार्वजनिक र निजी दुबै क्षेत्रहरुमा पेशा र स्वरोजगारका अवसर सिर्जना गरेको उनको दावी छ ।

यो पाठ्यक्रम नेपालको राष्ट्रिय आर्थिक विकासमा योगदान पुर्याउन आवश्यक पर्ने जनशक्तिको माग पूरा गर्नका लागि आर्किटेक्चर इन्जिनियरिङ सम्बन्धी ज्ञान र सीप भएका मध्यम स्तरीय प्राविधिक जनशक्ति उत्पादन गर्ने उद्देश्यले तयार गरिएको उनको भनाइ छ ।

नगरपालिकाका शिक्षा शाखा प्रमुख तथा इन्स्टिच्युटका प्रमुख व्यवस्थापक होमनाथ भण्डारीले दुवै कार्यक्रममा ४८÷४८ जना विद्यार्थीको कोटा रहेको पत्रकार सम्मेलनमा बताए ।

मेचीनगर नगरपालिकाभित्र प्राविधिक शिक्षाका प्राविधिक एसएलसी तहका कार्यक्रम मात्रै सञ्चालन रहेकोमा मेचीनगर पोलिटेक्निक इन्स्टिच्युटको स्थापनाले डिप्लोमा तह अध्ययन गर्नै अवसर प्राप्त भएको समेत पत्रकारहरुलाई उनले जानकारी दिए ।

सामुदायिक तथा निजी संस्थाहरुमा सूचना प्रविधि सम्बन्धी सेवा दिनसक्ने मध्यम स्तरीय दक्ष प्राविधिक मान संसाधन उत्पादन गर्ने, सामुदायिक तथा निजी संस्थाहरुका सामान्य सञ्चार बैकिङ्ग, तथा व्यापारका निश्चित क्षेत्रहरुमा काम गर्न सक्ने प्राविधिकहरु तयार गर्नु, पेसा तथा सामाजिक सांस्कृतिक मूल्य मान्यताप्रति सकरारात्मक सोच राख्ने प्राविधिक जनशक्ति तयार गर्ने, नेपालको सार्वजनिक र निजी संस्थाहरुका लागि आवश्यक पर्ने सूचना प्रविधि सम्बन्धी प्राविधिकहरुको माग पूरा गर्नु, विदेशी प्राविधिक रोजगारहरु प्रतिको परनिर्भरता घटाउनु र अत्यवधिक स्वरोजगारीका अवसर सिर्जना गर्नु यस कार्यक्रमका मुख्यः उद्देश्य रहेको भण्डारीले बताए ।

अध्ययनका लागि माध्यमिक शिक्षा परीक्षामा गणित र विज्ञान बिषयमा न्यूनतम सी ग्रेड तथा अंग्रजीमा डी प्लस गरेको हुनुपर्ने तथा विगताको एसएलसी उतीर्ण विद्यार्थीहरुका हकमा गणित, विज्ञान अंग्रेजी विषयक लिएको हुनुपर्ने आवश्यक योग्यता कायम गरिएको छ ।

नगरप्रमुख आचार्यले यसलाई नगरकै गहनाका रुपमा लिएर सवैले आ–आफ्नो ठाउँबाट सहयोग गर्न सवैमा आग्रह गरे ।

उनले हालको धुलावारी क्याम्पसमा मेचीनगर पोलिटेक्निक इन्स्टिच्युटको कक्षा सञ्चालन गर्दा धुलावारी क्याम्पसको अस्तिव्त समेत संकटमा पर्छ कि भन्ने कसैलाई पनि शंका नगर्न आग्रह गर्दै धुलावारी क्याम्पसको अस्तित्व कुनै हालतले संकटमा पर्न नदिने प्रतिवद्घता समेत व्यक्त गरेको नगरपालिकाका प्रेस संयोजक लक्ष्मी उप्रेतीले जानकारी दिए ।

उपप्रमुख मीना पोखरेल उप्रेतीले ‘प्राविधिक विषय पढौं स्वरोजगार बनौं’ भन्ने मुलमन्त्रलाई आत्मसाथ गरेर नगरपालिकाले मेचीनगर पोलिटेक्निक इन्स्टिच्युटको सञ्चालन गरेको दावी गरिन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
हाम्रो फेसबुक पेज
error: content is protected if you want please contact Admin
error: content is protected if you want please contact Admin