‘शैक्षिक परामर्श लिन काठमाडौं धाउनै पर्दैन’

।। ११ प्रश्न ।।

करीव दुई दशक अघिदेखि विर्तामोडमा बोस्टन एजुकेसन फाउन्डेसन सञ्चालन गरी शैक्षिक परामर्श र तयारी कक्षा चलाउँदै आउनु भएको संस्थापक सुमन शर्मा जमरकट्टेललाई विशुद्ध शैक्षिक परामर्शदाता मात्र भनियो भने अन्याय नै हुन्छ । किनकि उहाँको नाम झापाको सामाजिक र राजनीतिक क्षेत्रमा पनि उत्तिकै जोडिने गरेको छ । सरल, शालिन र मृदुभाषी व्यक्तित्वको रुपमा चिन्नेहरुले उहाँको इमान्दारी र सामाजिक भावको खुलेरै प्रशंसा गर्छन् । शैक्षिक परामर्श सेवा र सामाजिक सेरोफेरोमा उहाँसँग सम्पादक मोहन काजीद्वारा लिइएको अन्तरवार्ता प्रस्तुत छ–

१. कहिलेकाहिँ राजनीतिमा पनि सुमन शर्माको नाम जोडिएर आउने गरेको छ । शैक्षिक र सामाजिक क्षेत्रमा छुट्टै पहिचान बनाइसकेको व्यक्ति तपाई अहिले चाहिँ कुन क्षेत्रमा केन्द्रित हुनुहुन्छ ?
राजनीति त प्रत्यक्ष परोक्ष सबैले गरेका हुन्छन् । विशेषतः म चाहिँ दमन, विभेद, अन्याय वा आवाजविहीनहरुको लागि आवाज बन्ने मेरो इच्छा हो, यो सँधै रहन्छ । अहिले शिक्षा तथा सामाजिक क्षेत्रमा नै क्रियाशिल छु भन्दा अत्युक्ति नहोला ।

२. शैक्षिक परामर्श (एजुकेसन कन्सल्टेन्सी)लाई झापामा चिनाउने काम नै तपाईको नेतृत्वमा भएको हो । झापाकै पहिलो कन्सल्टेन्सी बोस्टन अहिले के गर्दैछ ?
गौरव लाग्छ, झापाका विद्यार्थी र अभिभावकहरुको चाहना र आवश्यकतालाई ध्यानमा राख्दै बोस्टन एजुकेसन फाउन्डेसनको स्थापना गरेका हौँ । यसमा हामीले विशेष गरी परामर्श दिने काम गर्छौ । एउटा विद्यार्थी एसइइ, प्लस टु तथा कुनै पनि विषय लिएर एउटा तह सकिएपछि कुन विषय, कहाँ र कसरी पढ्ने भन्ने कुराको परामर्श दिनु नै बोस्टनको प्रमुख काम हो ।
भर्खरै कक्षा १२ को परीक्षा सम्पन्न भएको छ । प्लस टु सकिएपछि विद्यार्थीहरु एमबीबीएस, बीडीएस, बीएससी नर्सिङ, बी फर्मा, इन्जिनियरिङ, बी अप्टोमेट्र«ी, साथै कमर्स सङ्कायका विद्यार्थीहरुले बीबीए, बीसीए, बीएचएम, बीटीटीएम लगायतको कोर्सहरुको तयारी कक्षा गराउन विगत वर्षहरुमा झैं यसपाली पनि पूर्णरुपमा तयार भएका छौं । झापामा यो इन्ट्रान्स प्रिपरेसन पनि हामीले नै ४ वर्ष अघि सुरु गर्ने अवसर पाएका थियौं ।

३. ब्रिज कोर्स, प्रिपरेसन क्लास, आएलटीएस क्लास, टोफेल क्लास अर्थात् समग्रमा अबोर्ड एजुकेसनका लागि मानिसहरुमा काठमाडौं धाउनुको साटो झापामै रहेका कन्सल्टेन्सीमा जाने बानी बढ्दै गएको देखिन्छ । तर, मानिसहरु विश्वासिलो कन्सल्टेन्सी पाउन गाह्रो छ भन्छन् । किन त्यस्तो गुनासो आएको होला ?
लामो समय एउटा केन्द्रिकृत राज्य व्यवस्थाबाट ग्रुजेको यो समाज, सबै सेवा सुविधाहरु काठमाडौँ केन्द्रित रहेकोले तत्काल नजिकै आएको सुविधामा विश्वास गर्न गाह्रो लाग्नु स्वाभाविक ठान्दछु । भनिन्छ, नजिकको देवता हेला । तर, विगतका वर्षहरुमा भन्दा अहिले शैक्षिक परामर्श लिन र ब्रिज कोर्स गर्न काठमाडौं धाउने पुरानो ट्रेन्ड धेरै घटाउन सफल भएको अनुभूति हामीले गरेका छौँ ।

४. के तपाई बोस्टनले दिने परामर्श सेवा र कक्षाहरु काठमाडौंको भन्दा भरपर्दो र गुणस्तरीय छ भनेर ग्यारेन्टी गर्न सक्नुहुन्छ ?
विगत १७ वर्षदेखिको परिश्रम र अभ्यासले पनि हामी सम्पूर्ण हिसावले परिपक्क भएका छौँ । म पूर्ण रुपमा विश्वस्त छु, हाम्रो सेवा प्रति । विद्यार्थी र अभिभावकहरुलाई उचित गाइड गर्ने सवालमा हरसम्भव प्रयत्नरत् छौँ ।

५. प्लस टु सकेपछि धेरै नेपाली विद्यार्थी इन्डिया, अस्ट्रेलिया, जापान, चाइना, बङ्गलादेश, यूरोप, अमेरिका आदि विदेशी मुलुकमा अध्ययनका लागि जाने गरेका छन् । जानु अघि उनीहरुले के कस्ता विषयमा ध्यान पुर्याउनु पर्छ ?
प्रथम कुरा त आफुले इच्छाएको विषय यदि नेपालकै शैक्षिक प्रतिष्ठानहरुमा उपलब्ध छन् भने यहिँ पढ्नु राम्रो हो । बाहिर नै पढ्न जानु पर्ने भए नेपाल सरकारले शिक्षा मन्त्रालयले सम्बन्धन वा मान्यता दिएको–नदिएको बुझेर अनि आफ्नो अनुकूल बातावरण छ–छैन बुझेर जानु उचित हुन्छ । सँगसँगै आफ्नो परिवारको आर्थिक हैसियतलाई पनि विशेष ध्यान दिन जरुरी हुन्छ । राम्रो परामर्श लिएर, सोची बुझी विदेशमा पढ्नु जानु पर्छ । नत्र लहै लहैमा कुदेर पछि दुःख पाइन्छ ।

६. अब नेपालमै र खासगरी झापामै पनि मेडिकल कलेज र नर्सिङ कलेज खुलिसकेको अवस्था छ । कन्सल्टेन्सीहरुले स्वदेशमै डाक्टर र नर्सिङ विषय अध्ययनका लागि परामर्श दिन मिल्दैन र ?
यहिनेर बुझाई गलत छ । हामी विदेश पढाउनलाई मात्र प्रोत्साहन गर्दैनौं । विदेशीहरुलाई यहाँ भर्ना गराउने काम पनि गछौं । तर, नेपालमा साह्रैै धेरै विद्यार्थीहरुको चाप रहेको छ । विद्यार्थीहरुले विकल्प खोज्दा सीमित शैक्षिक प्रतिष्ठानले मात्र नधान्ने हुँदा विदेशी कलेज तथा विश्वविद्यालयहरुमा पनि भर्ना प्रक्रियामा हामी सहयोग गर्छौ । नेपालको प्रवेश परीक्षामा बसेर मात्र यहाँ भर्ना नपाएमा विद्यार्थीहरु बाहिर जाने गर्छन् ।

७. आलोचना गर्नेहरुले वैदेशिक रोजगारीको क्षेत्रमा जनशक्ति पठाउने कतिपय म्यानपावरले जथाभावी गरेको सन्दर्भसँग शैक्षिक परामर्श दिने कन्सल्टेन्सीहरुको तुलना गर्छन् । कन्सल्टेन्सीहरुको बढ्दो सङ्ख्या र अस्वथ प्रतिष्पर्धाका कारण यस्तो टिप्पणी आउने गरेको हो कि ? यसमा तपाईको धारणा के छ ?
हो बेथितिबाट सम्पूर्ण हिसावले मुक्त छौँ भन्न सक्दैनौँ । तर हामी परामर्शदाताहरुलाई म्यानपावरसँग राख्न मिल्दैन जस्तो लाग्छ । हामी त विद्यार्थीहरुलाई उच्च शिक्षा अध्ययनको लागि सम्बन्धित कलेज, विश्व विद्यालयमा भर्ना गराउने गर्छौ, त्यति नै हो । तर, उचित नियमन, अनुगमन हुनु जरुरी छ । राज्यले दिएको परिधिभित्र रही सम्पूर्ण प्रक्रिया पूरा गरेर चलेका संस्थाहरुमा अभिभावक र विद्यार्थीहरुलाई उचित परामर्श दिनमा सबै सक्षम छन् भन्ने लाग्छ ।

८. शैक्षिक परामर्शको व्यावसायिक क्षेत्रमा चन्दा चिठ्ठाको पिरलो छ कि छैन ? अनि, सरकारी नीति र नियम कस्ता रहेका छन् ?
चन्दा आतङ्क आंशिक रुपमा हामी पनि भोग्छौँ विभिन्न बहानामा । तर अहिलेसम्म हामी आफैले त्यस्ता घटनाहरुलाई फर्साएर आएका छौँ । राज्यको कुनै खालको उपस्थिति नरहेको जस्तो पाउँछौँ ।
सरकारी नीतिहरु बन्छन् तर नीतिहरु राम्रा भए पनि सहज भने छैनन् । दर्ता गर्ने प्रक्रिया लगायत सबैमा अलिक झन्झटिलो किसिमको रहेको छ । २१ औँ शताब्दीमा हामी छौँ । प्रविधिको युग पनि भन्छौ तर अहिले पनि डकुमेन्टहरु फायलमा च्यापेर हिड्नु पर्ने विडम्बना कायम छ । साथै राज्यको नीति नियम भित्र रहेर काम गर्ने संस्था भएकोले विभिन्न खालको तालिमहरु पनि हामीले पाउन जरुरी छ भन्ने लाग्छ ।

९. लामो समयदेखि सामाजिक एवम् शैक्षिक क्षेत्रमा समर्पित नागरिकको हिसाबले तपाई मुलुकको भविष्य कत्तिको सुखी र समृद्ध देख्नु हुन्छ ?
समृद्विको बाटो नलिई त सुखै छैन । अहिलेको शक्तिशाली सरकार जसबाट नागरिकहरुले ठूलो आशा र भरोसा बोकेका छन् । केहि आशलाग्दो कामहरु देखिए पनि यो सरकारले भ्रष्टाचार नियन्त्रण तथा जनजीविकासँग सरोकार राख्ने विषयहरुमा त्यति सशक्त कदम चालेको देख्न सकिरहेको छैन ।

१०. सरकारले निजी विद्यालय (शिक्षा)लाई क्रमशः निरुत्साहित गर्दै अन्त्यमा बन्द हुन बाध्य पार्ने रणनीति लिएको भन्ने पनि सुनिन्छ । के नेपालमा निजी क्षेत्रको शिक्षालाई बन्द गर्नु जायज होला र ?
असम्भव संंसारमा केही छैन भनिन्छ । तर सूर्यमा म घर बनाउँछु भन्नु त पत्यारिलो कुरो हुँदैन नि । निजी क्षेत्रलाई बन्द हुन बाध्य पार्नु वा त्यो ढङ्गले राज्य लाग्नु भनेको फेरि हाम्रा नानीहरुलाई सिक्किम, सिलिगुडी, दार्जीलिङ लगायतका विद्यालयहरुमा भर्नाको लाइन लगाउने तयारीको रुपमा म लिन्छु । राज्य त सामुदायिक विद्यालयहरुको स्तर उकास्न कम्मर कसेर लाग्नु पर्यो । निजी शैक्षिक प्रतिष्ठानहरुलाई उचित अनुगमन गर्नु पर्यो र समानन्तर ढङ्गले हातेमालो गर्दै नेपाल एउटा शैक्षिक गन्तब्यको रुपमा विकसित गर्ने योजना चाहिँ सरकारले ल्याउनु पर्छ जस्तो लाग्छ । जम्मा भोट बटुलेर फेरि नानीहरुलाई विदेशी भूमिमा पढ्न जान बाध्य पारिनु हुँदैन । निजी क्षेत्रले २०५२ देखि २०६२ सालमा त्रास र भयको विचमा रहेर शिक्षामा लगाएको गुणको, त्यसबेलाको योगदानलाई राज्यले यति छिट्टै भुल्नु हुन्न ।

११. अधिकांश अभिभावकहरु अहिलेका विद्यार्थी अनुशासित, मर्यादित र अग्रजहरुप्रति आज्ञाकारी भएनन् भन्ने गुनासो गर्छन् । तपाई एउटा शिक्षाविद् भएको नाताले कस्तो अवस्था देख्नु हुन्छ र ती अभिभावकहरुलाई के सल्लाह दिनु हुन्छ ?
अत्यन्त सान्दर्भिक प्रश्न राख्नु भयो । म पनि यस विषयमा गम्भीर छु । उहिले गुरुकुलको समयमा विद्यार्थीहरु जति धेरै शिक्षा लिदै जान्थे उनीहरु त्यति नै ज्ञानी, विवेकी, जिम्मेवार र इमान्दार हुन्थे । तर अहिले जति पढ्दै गयो, उति नानीहरुमा अनुशासनहीनता, असहिष्णुता र गैरजिम्मेवार बढेको देखिन्छ । त्यसैले जुन शैक्षिक प्रणाली छ, त्यसमा नै समस्या छ । यसप्रति सम्पूर्ण मेरा अग्रज, शैक्षिक व्यक्तिहरुको विशेष ध्यान जान जरुरी छ । नैतिक शिक्षाको ठूलो अभाव देखिएको छ । हाम्रो आफ्नो संस्कृति जसलाई विश्वले उच्च सम्मान गर्छ, त्यो मासिएर नाश हुने क्षणमा पुगेको छ । यसमा सम्पूर्ण प्रेस जगत, शिक्षासेवी, राजनीतिज्ञ सबैको पहलकदमी आवश्यक रहेको म ठान्दछु ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    loktantrapost@gmail.com

हाम्रो बारेमा

सम्पादक :- मोहन कुमार नेउपाने
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: