आरतीकी छोरी भन्छिन्–‘पैसा सकियो, अब मामुको उपचार कसरी गर्ने ?’

ज्ञानेन्द्र निरौला

बिर्तामोड । मङ्गलबार दिउँसो करीब ३ बजेको थियो । धुलाबारीकी आरती बुढाथोकीको स्वास्थ्य अवस्था बुझ्न हामी (म र मोहन काजी) बिर्तामोडको बीएन्डसी अस्पताल पुगेका थियौं । गत जेठ ८ गते साङ्घातिक आक्रमणमा परी गम्भीर घाइते भएकी बुढाथोकीको अवस्था र उनलाई आक्रमण गर्नेका बारेमा प्रहरीले अझै केही नभने पछि केही दिनदेखि यो घटनाका बारेमा मैले नजिकबाट नियालिरहेको छु ।

धुलाबारी इलाका प्रहरी प्रमुखसँगको भेटपछि हामी म र मोहन काजी सर आरतीको स्वास्थ्य अवस्थाका बारेमा चिकित्सकसँगै भेटेर बुझ्ने प्रयासमा बीएन्डसी अस्पताल गएका थियौं ।

बीएन्डसी अस्पताल प्रशासनसँग बुझ्दा थाहा भयो कि आरतीको अवस्थामा केही सुधार भएर आइसीयुबाट हिजो मात्र एसडीयुमा सारिएको रहेछ । आरतीलाई भेट्नका लागि उनका श्रीमान र छोरीलाई मात्र अनुमति रै’छ । अन्य मानिसले आरतीलाई भेट्न नपाउने अवस्था रै’छ । हामीले आरतीलाई भेट्न जबरजस्ती गर्ने कुरा भएन किनकि बिषय नै संवेदनशील भएकाले हामीले त्यो ब्यवस्थाको सम्मान नै गर्यौं र बाहिरै बसेर परिवारका सदस्यबाट अवस्थाका बारेमा बुझ्ने सल्लाह भयो ।

बीएन्डसी अस्पतालको दोस्रो तल्लामा रहेको एसडीयुको अगाडि रहेको कुरुवा बस्ने ठाउँको भित्ता पट्टि आरतीका परिवारका सदस्यलाई मोहन सरले चिन्नु भयो । वहाँले यस अघि नै आरतीका पति ओमबहादुर बुढाथोकी र जेठी छोरी अनिसालाई भेटिसक्नु भएको रहेछ ।

आरतीकी जेठी छोरी अनिसा बुढाथोकी मलिन अनुहार लिएर बसिरहेकी थिइन् । उनका साथमा केही आफन्त र छिमेकीहरु पनि थिए । आरतीका साथीसङ्गीहरु धुलावारी र गोलधापबाट आएका रहेछन् । आरतीका श्रीमान उपचारका लागि ऋण खोज्न बाहिर निस्किनु भएको समय थियो हामी पुग्दा ।

आजसम्म कै उपचार खर्च १० लाख भन्दा बढी भइसक्यो । शुरुमा २ लाख र हिजो १ लाख ५० हजार जम्मा गरेका छौं । यो पैसा पनि आफन्तसँग ऋण काढेर बाबाले ल्याउनु भएको हो । अब हामीसँग पैसा छैन ।

छोरी अनिसासँग आरतीजीको स्वास्थ्य अवस्थाका बारेमा कुरा गर्यौं । आनिसाले कुराको शुरुवात मै ‘मामुको स्वास्थ्य अवस्था त राम्रो हुँदैछ तर पैसा सकियो, अब के गर्ने’ भनेर निन्याउरो अनुहारले मतिर हेरिन् ।

मैले सोधें किन र अस्पतालले केही भनेको छ र ? अनिसा बोलिन–‘आजसम्म कै उपचार खर्च १० लाख भन्दा बढी भइसक्यो । शुरुमा २ लाख र हिजो १ लाख ५० हजार जम्मा गरेका छौं । यो पैसा पनि आफन्तसँग ऋण काढेर बाबाले ल्याउनु भएको हो । अब हामीसँग पैसा छैन । अस्पतालले रकम जम्मा गर्न भनेको छ । अस्पताल आएर स्वास्थ्य सुधार हुँदै गर्दा पनि खर्च अभावकै कारणले मामुको उपचार गर्न अप्ठ्यारो भयो ।’

अनिसाले भनिन्–‘घर भएको जमिन पनि बैङ्कमा धितो राखेर पैसा निकालिसकिएको छ । त्यो पनि तिर्न नसकेकाले बाबा भर्खरै बिदेश जानु भएको थियो । अब बैङ्कबाट ऋण निकाल्ने अवस्था पनि छैन ।’ अनिसाको यो कुरा सुने पछि मलाई लाग्यो अरु सब हुँदै गर्छ, अब आरतीजीलाई बचाउन चन्दा नै माग्नु पर्छ । नत्र आफन्तसँग पैसा ऋण काडेर आरतीजीको उपचार खर्च जुटाउन गाह्रो छ । त्यसैले मैले तत्कालै मोहनलाई भने अब हाम्रो कलम आरतीजीका लागि रकम सङ्कलन तर्फ लगाउनु पर्यो । मोहन सरको पनि यसमा सहमति भयो । मैले अनिसा बहिनीलाई भने–‘तिमी आजै मामुको अवस्थाको र उपचारमा पैसा अभाव भएको कुरा लेख र फेसबुकमा सहयोगको अपिल गर ।’

सकिनेसम्म हामी गर्छौ भन्दै हामी अनिसासँग बिदा भएर हिड्यौं । बाटोमा आउँदा मेरो मस्तिष्कमा एउटै कुरा चलिरह्यो कि पैसा नभएकै कारण उपचार नपाएर मर्नु पर्ने अवस्था आउन दिनु हुन्न । जस जसलाई भनेर भए पनि रकम सङ्कलन गर्नै पर्छ । आरतीको उपचारमा २० लाख भन्दा बढी रकम खर्च हुने अनुमान गरिएको छ । त्यस बाहेक टाउकोको चोट भएकाले लामो समय औषधी सेवन गर्नु पर्ने हुन सक्छ त्यसैले पनि करीब २५ लाख रकम आरतीजीका लागि अहिले नै आवश्यक भएको छ ।

अब प्रहरीले आफ्नो काम गर्दै गर्छ । मुद्दा अदालतमा पुगे पछि अदालतको फैसला जे आउँछ त्यो स्वीकार गर्नु नै पर्छ तर त्यस भन्दा अगाडि आरतीजीको जीवन रक्षाका लागि सबैले एकपटक आ–आफ्नो ठाउँबाट सहयोग गरौं ।

केही दिनदेखि धुलाबारी प्रहरी कार्यालयमा पुगिरहेको त्यो मानव सागर अब आरतीको उपचार खर्च जुटाउन लागौं । प्रहरी कार्यालय घेराउ गर्दा अपराधी त भेटिएला तर त्यो बेलासम्म आरती भेटिइनन् भने त्यसको के अर्थ । पछि पछुताउनु भन्दा स्थानीय नागरिक समाज, देश बिदेशमा रहनु हुने सबै सहयोगी मनहरु एकपटक आरतीको उपचार खर्च जुटाउन सहयोग गर्नुहोस् ।

(पत्रकार निरौला रेडियो साथीका कार्यकारी निर्देशक हुन् ।)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    loktantrapost@gmail.com

हाम्रो बारेमा

सम्पादक :- मोहन कुमार नेउपाने
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: