विचित्रका विष्णुहरि

।। द्रोण अधिकारी ‘गुयेली’ ।।

रत्नकुमारी तथा दुर्गाहरि अधिकारीको कोखबाट वि. सं. १९९० सालमा साविकको सगरमाथा अञ्चलमा पर्ने टारकेरावारी–१ डाडाखर्क, ओखलढुङ्गामा जन्मेका कवि, समालोचक, शिक्षक, राजनीतिज्ञ लगायत विचित्र रूपमा जीवन शैली अपनाएका व्यक्तित्व हुन् विष्णुहरि अधिकारी ।

उनी झापाको भद्रपुर–१० चन्द्रगढीका स्थायी बासिन्दा हुन् । अधिकारी झापाली समाजमा शिक्षण र साहित्य जगतमा परिचित भए भने जन्मस्थलोमा राजनीतिज्ञ र शिक्षक, प्रहरी जस्ता पहिचान बनाउन सफल देखिए । कविता, काव्य समालोचना जस्ता साहित्यका विधामा आधा दर्जन बढी कृति दिन सफल अधिकारी प्रगतिशील विचारधाराका स्रष्टा हुन् ।

उनका चर्चित प्रकाशित कृतिहरुमा आक्रोशित आमाको विलौना २०६०, सामाजिक दर्पण २०६१, पारिजात समीक्षात्मक काव्य २०६४ र आत्मोद्गार २०६९ रहेका छन् । कृतिगत रूपमा हेर्दा अधिकारीका कविता काव्यका र काव्यात्मक समालोचनाका रचना सङ्ग्रह मात्र प्रकाशित भएका छन् । छन्द र लयमा कविता काव्य रच्ने विष्णुहरि कविता मार्फत नै समालोचनात्मक अभिव्यक्ति दिन सक्ने प्रतिभा रहेका छन् ।

प्रगतिवादी स्वर उठाउने कवि विष्णुहरि शोषित पीडित वर्गको पक्षमा आवाज उठाइरहने स्रष्टा पनि हुन् । उनको पछिल्लो कृति आत्मोद्गार लघु कविता सङ्ग्रह पनि पूर्ण रूपमा प्रगतिवादी स्वर उठान भएको कृति हो ।

परम्परागत रूढीवादलाई अस्वीकार गर्ने विष्णुहरि पुराना थोत्रा सामाजिक मान्यताले समाज विकासमा अवरोध गर्ने ठहर गर्दछन् । उनका कवितामा सामाजिक शोषण, अत्याचार, अन्याय, वर्गीय विभेद, सामन्ती सत्ता, राष्ट्रघात र जनविरोधी प्रवृत्तिविरुद्ध आक्रोश पोखिएको हुन्छ ।

उनको आत्मोद्गार कृतिमा रहेको यस कवितालाई हेरौं —
ठूला ठालु उनी नै प्रमुख पद विशे भुक्त भोगीहरू छन्
पुराना राज्य चालक अटुट र विधि विधान धानी राखी रहेछन् ।।
(हाल कै समयमा पनि)

यस कविताले लोकतन्त्र प्रति लक्षित गरेर लोकतन्त्रानुकूल शासन नभएको प्रति आक्रोश पोखेको छ । नेपाली जनताका लागि नयाँ शासन व्यवस्था भए पनि लोकतान्त्रिक शासकले पुरानै शैलीमा शासन लान खोज्दा जनताले परिर्वतनको अनुभूति गर्न नपाएकोप्रति कविले कवितामा आक्रोश पोखेका हुन् ।

कवि अधिकारीको ‘आत्मोद्गार’ लघु कविता सङ्ग्रहमा तेह्र वटा कविताहरु रहेका छन् । छोटा छरिता आयामका यी कविताहरु नेपाली समाजको वर्ग विश्लेषणमा बढी मात्रामा केन्द्रित देखिन्छन् ।

कविले आफ्नो जन्मस्थलबाट सुरु गरेको कविता लेखन यस सङ्ग्रहमा नेपाल आमासँग गुनासो राख्दै राष्ट्रघात गर्नेहरूप्रति प्रहार गर्दै टुङ्गिएको छ । कवि अधिकारीको यस सङ्ग्रहको अन्तिम कविता ‘सङ्घर्ष बाँकी रहेको कुरा नेपाल आमासंग लेखकको गुनासो’ रहेको छ । यो कविताले नेपालको परिवर्तनको अभियान अपूर्ण रहेको सङ्केत कविले कवितामा गरेका छन् ।

कविका शव्दलाई सापटी लिँदा—
संसारको कानुनलाई तोडी ।
दशै गजा ठाउँ तकै नराखी ।।
नेपालको दक्षिणी भाग पट्टी ।
पुरै डुवान् पारनु के अचम्म ।।

कवि अधिकारीले यस कविता मार्फत छिमेकी देश चीन र भारतलाई तुलना गर्दै भारतको मिचाहा प्रवृत्तिको उछितो काडेका छन् । भरतले नेपालको भूमि मिच्दा पनि लाचार भएर रमिते जिन्दगी बिताउने नेपाली राज्य सञ्चालकहरूप्रति कडा आलोचना गरी चोटिलो व्यङ्ग्य पनि हानिएको छ । यस कविता मार्फत कविले राष्ट्र प्रेम पनि अभिव्यक्त गरेका छन् ।

कवि विष्णुहरिले यस सङ्ग्रहमा वर्ग विश्लेषण पनि गर्न खोजेका छन् । कविले गरिब असहायप्रति सहानुभूति देखाउँदै अन्याय अत्याचारमथि औंला उठाउँदै भन्छन्—
धेरै नै उच्च वर्गि धन विहिन गरीव् वालिका वाल धेर ।
झुप्रे प्रासाद हुँदे फरक फरकमा हुर्कने श्रोत धेर ।।
बाटाको नै कुनामा अविरल रहने वालमा दुःख धेर ।
यस्ता खाले अनौठो क ख ग घ गतिका वर्ग भिन्नै भएर ।।
(वाल्यवस्था विविधता समाधानको चर्चो)

कवि विष्णुहरि अधिकारीले आफ्ना कविताहरूमा शोषित पीडितका क्रन्दनदेखि प्रकृतिको वर्णनसम्म यस सङ्ग्रहका कवितामा अभिव्यक्त गरेका छन् । सामान्य विषयलाई पनि भावगत अभिव्यक्ति बनाएका अधिकारीले चोट र खोट दुवै ओकलेका छन् ।

शास्त्रीय छन्द परम्परा पछ्याएका विष्णुहरिले भाषिक शुद्धतालाई भने विर्सिएका छन् । यस सङ्ग्रहमा अधिकारी उत्कृष्ट भावगत कवि हुन नसके पनि मध्यम भाव अभिव्यक्त गर्न सक्ने कविमा भने विष्णुहरि दरिएका छन् ।

उमेरको आठ दशक पार गर्न लाग्दा पनि नेपाली साहित्यको कविता विधामा सकृय अधिकारी प्रगतिवादमा राष्ट्र—राष्ट्रियता खोज्ने स्वाधीनता रोज्ने स्रष्टा पनि हुन् । पाँच दशकदेखि साहित्य सिर्जना सक्रिय अधिकारीको ‘आत्मोद्गार’ कविता सङ्ग्रहले झापाली साहित्य जगतको कविता विधामा एउटा इँटा थपेको छ । यो उनको साहित्यप्रतिको अमूल्य देन हो ।

यस्तै अधिकारीको पारिजात समीक्षात्मक काव्य स्रष्टा पारिजातको साहित्यिक विशेषतालाई समीक्षा गरी काव्य बनाइएको कृति हो । यस कृतिले कविताको भाषामा स्रष्टाको समीक्षा गरी मूल्याङ्कन गर्ने प्रयास गरेको छ । यो समालोचनाको क्षेत्रमा नयाँ प्रयास वा प्रयोग पनि हो ।

आक्रोशित आमाको विलौना कृतिले शोषण सामन्तवादको चक्रमा देश परेपछि नेपाली आमाले आक्रोस पोख्नु पर्ने विडम्वनालाई कवितात्मक रूप दिइएको छ । यो कृति राष्ट्रवादी स्वर बोकेर आएको कृति पनि हो ।

विष्णुहरिको साहित्यिक पाटोको अलवा राजनीतिक, सामाजिक पाटो अझ रोचक छ । उनी कम्युनिस्ट विचारधारा बोकेर राजनीतिमा प्रवेश गरे । व्राह्मण समाजका युवा कम्युनिस्ट हुँदा समाजले काड्ने डरले त्यसबेला कालीदास भुजेलको उपनामबाट राजनीतिमा सकृय भए ।

अधिकारीले वि. सं. २०१४ सालदेखि २०१६ सालसम्म भूमिगत समेत हुनु परेको थियो । कारण तत्कालीन शासकको विरोधमा विद्रोह गर्दा अपराधीका रूपमा राज्यले कारवाही गर्ने भएपछि भूमिगत भएर विद्रोह गरिरहेका अधिकारीले टार केरावारी गाविसको उपप्रधानपञ्च भएर २०१६ सालदेखि राजनीतिक नेतृत्व समेत लिन पुगे ।

२०२४ सालदेखि शिक्षणमा सेवा सुरू गरेका अधिकारीले २०५२ सालबाट अनिवार्य अवकाश पाएपछि साहित्यको सेवामा निरन्तर अघि बढिरहेका थिए । अधिकारीको लेखन यात्राले दुई वर्षयता विश्रामको बाटो लिएको थियो । कारण शारीरिक अस्वस्थता थियो ।

विधिको विधान अधिकारी अब हामी माझ जीवित छैनन् । वि. सं. २०७६ साल माघ ४ गते विहान सँधैका लागि भौतिक शरीर छोडेर विदा भइसकेका उनका आधा दर्जन बढी कृति तथा योगदानका संस्मरण मात्र हामी माझमा जीवित छन् । उनकी धर्मपत्नी डम्बरकुमारी, छोराहरू श्यामहरि, रमेशहरि, अरविन्द, दुई छोरी लगायत दर्जन बढी नाति नातिना, पनाति पनातिना रहेका छन् ।
(भद्रपुर १० झापा)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    loktantrapost@gmail.com

हाम्रो बारेमा

सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
झुलन रेग्मी
प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: