युएईको तातो बालुवामा – Loktantra Post Loktantra Post
                                                                                                                                                                                                                           

युएईको तातो बालुवामा

निद्रा खुलिसकेको थिएन, मोवाइल बज्यो । उठाएँ, दुवईमै रहनु भएका कवि मित्र अजित क्षेत्रीले गर्नु भएको रहेछ । विहानै फोन गर्नु कारण भने उहाँ मलाई लिन आउँदै हुनुहुन्थ्यो र हामी युएईकै आवुधावीमा हुने कार्यक्रममा जाँदै थियौं । उहाँले आफू एक घन्टामा म बसेको ठाउँमा आइपुग्ने जानकारी दिदैँ बाहिर निस्किरहन भन्नु भयो । मैले पनि एक घण्टापछि बाहिर निस्कन्छु भन्दै फोन राखेँ । यो थियो, १८ अक्टोबर २०१९ को दिन । समय हेरेँ बिहानको ९ बजेको रहेछ । स्थान थियो, युएई मुलुकको व्यस्त सहर मध्येको देरा आसपास । म थिएँ वैनी ज्वाईंको अपाटमेन्टमा उनीहरुकै एक महिने पाहुना बनेर । 

नेपालमा हुँदा बिहान ढिलो भनेको पनि ३ः४५ बजे उठिसक्थे । उठेर आफुलाई तयार गरेर मर्निङ वाक गर्दै ४ः४५ बजे म आफुलाई रेडियोको समाचार कक्षमा पु¥याउँथे भने बेलुकी ११ देखि ११ः३० सम्म सुतिसकेको हुन्थे । तर ६ अक्टोबरमा युएईको दुबई सहरमा उत्रेदेखि मेरो दैनिकी ठिक उल्टो भइरहेको थियो । अर्थात नेपालमा सुत्ने समयमा त्यहाँ उठ्ने अनि उठ्ने समयमा त्यहाँ सुत्ने । मध्यदिनमा काममा निस्केकी वहिनी मध्यरातमा ड्युटी सकेर आउँथी । त्यसपछि सँगै खाना खाएर दुबईको रात्रीकालीन सुन्दरता हेर्न निस्कन्थ्यौं । सहरमा निस्केर फर्केर सुत्दा बिहान भाले बास्ने समय भइसकेको हुन्थ्यो । त्यसपछि सुतेर दिउँसो उठ्ने अनि दिउँसोको खाना खाँदा तिन, चार या पाँच नै बजिसक्ने । साँझपख ज्वाइँ, ज्वाईंका साथीहरु, आफन्त र बैनीकी छोरीसँग सहरका मनोरम दृश्य हेर्न निस्केर फर्कदा बेलुकी अबेर भइसक्ने । यो रुटिङ म दुबई रहँदासम्मै चलिरह्यो ।

मेरो फोन संवादले बैनी पनि ब्युँझी सकेकी थिई । म फ्रेस भएँ । चिया पकाएर पिएँ अनि आबुधावीमा हुन लागेको साहित्यिक कार्यक्रमका लागि तयार हुन थालँे । सगरमाथा साहित्य प्रतिष्ठानले आयोजना गरेको सो साहित्यिक कार्यक्रममा मलाई प्रमुख अतिथिको रुपमा बोलाइएको थियो । सोही कार्यक्रममा मलाई र गजलकार टक गुरुङलाई सम्मान पनि गरिदैँ थियो । मनमा छुट्टै किसिमको उत्साह भरिएको थियो । सँगसँगै डर पनि थियो । कार्यक्रम कस्तो होला भनेर । करिब एक घन्टापछि अजितजी आइपुग्नु भयो । उहाँले नै व्यवस्था गरेको गाडीमा उहाँका दुई साथीहरु सहित हामी आबुधावीतर्फ प्रस्थान ग¥यौं ।

नेपालबाट ३ हजार किलोमिटर हवाई दुरीमा रहेको मध्यपूर्वको यो सुन्दर मुलुक युएई विश्वकै उदाउँदो अर्थतन्त्र हो । २०१८ को विश्व बैङ्कको तथ्याङ्क अनुसार यो मुलुकले सो वर्ष वस्तु तथा उत्पादन निर्यातमा विश्वमै तेस्रो स्थान ओगटेको छ ।

दुई लाख २५ हजार नेपाली कार्यरत रहेको यो मुलुक सन १९७१ मा स्वतन्त्र भए लगत्तै सात स–साना मुलुकहरु एकीकृत भएर युनाइटेड अरब इमिरेट्स भएको हो । जम्मा ८३ हजार वर्गफिटमा फैलिएको यो मुलुक इस्लामिक राज्य भए तापनि सबै धर्म संस्कृति, भाषा र परम्परालाई सम्मान गर्ने भएकाले त्यहाँ रहने हरेक मुलुकका नागरिकले स्वतन्त्र रुपले आफ्नो धर्म र संस्कृतिलाई अभ्यास गरेको पाएँ ।
बितेका दस वर्षमा युएईमा काम गर्न जाने नेपालीको सङ्ख्या ८० प्रतिशतले वृद्धि भएको त्यहाँको चर्चित अखबार गल्फ न्युजले प्रकाशित गरेको छ ।

समाचारपत्रका अनुसार सन २००८ मा जम्मा एक लाख २५ हजार नेपाली कामदार रहेकोमा सन २०१८ मा आइपुग्दा त्यो सङ्ख्या दुई लाख २५ हजार पुग्यो । यद्यपि यो सङ्ख्या नेपालबाट वर्क परमिट लिएर काम गर्न गएका कामदारहरुको मात्र हो । भिजिट भिसामा गएर काम खोजेर बस्ने र पारिवारिक भिसामा गएर काम गरिबस्ने सबै सङ्ख्या हिसाब गर्ने हो भने युएईमा कार्यरत नेपालीको सङ्ख्या तीन लाख नाघ्ने बिगत १० वर्षदेखि युएईलाई कर्मभूमि बनाइरहनुु भएका कवि अजित क्षेत्रीले यात्राको क्रममा सुनाउनु भयो । नेपाल र युएई बीचमा अहिले दैनिक १२ हवाई उडान हुने गरेका छन् ।

दिउँसो बाह्र बजे कार्यक्रम आयोजनास्थल पुगियो । केही आइपुगेका र केही आउने क्रम जारी थियो । आयोजक संस्थाका साथीहरुसँग फेसबुकको माध्यमबाट धेरथोर चिनजान भए पनि अधिकांशसँग मेरो चिनाजान थिएन । परिचय आदानप्रदान भयो । एकैछिनमा कार्यक्रम पनि सुरु भयो । युएईमा शुक्रबार साप्ताहिक बिदा हुन्छ । यो दिन काममा जाँदा अन्य दिनको भन्दा दुगुना तलब पाउँछन त्यहाँ कार्यरत कामदारले । अधिकांश नेपालीहरु त्यहाँ निर्माण कार्य, सेक्युरिटी, घर, होटेल र कारखानामा काम गर्छन् ।

आजको कार्यक्रमका सहभागीहरु पनि प्राय सबैजसो शुक्रबारको दुगुना तलबको काम छोडेर आएका थिए । तर, सबैका मुहारमा साहित्यप्रतिको गहिरो लगाव देखिन्थ्यो । पूर्व झापादेखि पश्चिम धनगढीसम्मका नेपालीको जमघटमा साँच्चिकै लोभलाग्दो थियो । नेपाली एकता देख्न सकिन्थ्यो । साहित्यिक कार्यक्रमको सुरुमा नेपाली धार्मिक समुदायका समूहले भजन किर्तन गरे र कार्यक्रमको अन्त्य पनि भजन किर्तनबाटै गरे । कार्यक्रममा सहभागी साहित्य अनुरागीहरुले गजल कविता र मुक्तक वाचन गरे ।

युएईमा काम गरिरहेका नेपाली साहित्य अनुरागीहरुले २०६९ सालमा गठन गरेको सगरमाथा साहित्य प्रतिष्ठानले आयोजना गरेको कार्यक्रम थियो यो । र, यसखाले रचना वाचन र सम्मान कार्यक्रम पहिलो भएको संस्थाका अध्यक्ष कृष्ण विश्वकर्माले जानकारी दिनु भएको थियो । मेरो पनि विदेशको कार्यक्रम पनि एक किसिमले पहिलो नै थियो । पहिलो कार्यक्रममै सम्मानित हुन पाएकोमा अझ गर्व महसुस भइरहेको थियो । सँगसगैँ युएईमै कार्यरत गजलकार टक गुरुङलाई पनि सम्मान गरियो । कदरपत्रसहित सम्मान त आफ्नो ठाँउमा छँदैछ, त्यहाँ जाँदा उहाँहरुले देखाउनु भएको प्रेम, स्नेह र आफ्नोपन साँच्चिकै अविस्मरणीय रह्यो ।

कार्यक्रममा सहभागिता जनाउन १२०÷१३० किलोमिटर प्रतिघण्टाको रफ्तारमा दौडने गाडीमा चार घण्टासम्म यात्रा गरेर आउनु हुने संस्थाका संस्थापक अध्यक्ष आदरणीय विवेक दुलाल क्षेत्री जस्ता स्रष्टाले देखाउनु भएको आत्मियतालाई ह्रदयदेखि नै सलाम गरेँ ।

कार्यक्रममा संस्थाका अध्यक्ष कृष्ण विश्वकर्माले सुरिलो स्वरमा गीतको साथै कविता प्रस्तुत गर्नु भयो । यसैगरी अमन एकल, दुरवस्तिको शिशिर, अजित क्षेत्री, डिजि शर्मा, समर चेम्जोङ आभाष, संस्थाका संस्थापक अध्यक्ष विवेक दुलाल क्षेत्री, जीवित खड्का मगर, डीएल घिमिरे, राजीव सङ्घर्षी, आरोही मादेन, खगेन्द्र समरस, चन्द्र साम्बाहाम्फे, शाश्वत ढुङ्गाना गोबिन्द, सन्दिप खनाल, ऋतु सन्धी रोक्का, कृष्ण दास, बृजराज, कान्छो भूपेन्द्र आचार्य र गजलकार टक गुरुङ लगायत हुनुहुन्थ्यो ।

मैले केही कविता, मुक्तक र कविता सुनाएँ । साँझ ६ः३० तिर कार्यक्रम समापन गरी सबैसँग विदा भएर दुबई फर्कियौं ।

अरबको चर्काे घाममा पसिना बगाउने परिश्रमी युवाहरु यसरी नेपाली भाषा, साहित्यको उत्थानको लागि कम्मर कसेर लागेको देख्दा साँच्चै मन हर्षले विभोर भयो । अधिकांशले वाचन गरेका गजल, कविता र मुक्तकमा देश छाड्नुको पीडा पोखिएको थियो । कसैले देशप्रेम बोले, कसैले आमाको सम्झना बोले, कसैले प्रेमीसँग विछोडिएको पीडा बोले । ज–जसले आफ्ना रचना मार्फत जे–जे बोले पनि आफ्नो देश बोले, आफ्नो माटो बोले ।

सगरमाथा साहित्य प्रतिष्ठान युएईको बालुवामा साहित्य फुलाउन २०६९ सालदेखि कृयाशील संस्था रहेछ । यसले गतवर्ष विश्वव्यापी गजल प्रतियोगिता आयोजना गरेको पनि कार्यक्रममा संस्थाका महासचिव शाश्वत ढुङ्गाना गोविन्दले जानकारी गराउनु भयो । गत वर्ष नै संस्थाले १०५ जना गजलकारहरुको संयुक्त गजल कृति अक्षरहरुको सगरमाथा बजारमा ल्याइसकेको छ । संस्थाले छिट्टै विश्वव्यापी कविता प्रतियोगिता आयोजना गर्न लागेको पनि कार्यक्रममा जानकारी दिइएको थियो ।

यसैगरी युएईमा अर्काे साहित्यिक संस्था सृजना वाचन डबली रहेछ । डबलीले हरेक दुई–दुई महिनामा रचना वाचन कार्यक्रम गरेर साहित्यिक मनहरुलाई जोड्दै आइरहेको सुन्दा अझ मन रमायो । दुबै संस्थामा गरी करिब एक सय सर्जक साहित्यमा जोडिएका रहेछन् । युएइमै रहेर साहित्य साधकहरुले रचना लेख्ने मात्र होइन, पुस्तक प्रकाशन पनि गरेका छन् ।

कृष्ण विश्वकर्माले भोकको लय नामक कबिता सङ्ग्रह प्रकाशन गरेका छन् भने गजलकार टक गुरुङ र जे सागरले पनि गजल सङ्ग्रह निकालिसकेका छन् । विवेक दुलाल क्षेत्रीले कविता सङ्ग्रह र सरोज संगमले मुक्तक सङ्ग्रह निकालिसकेका छन् । नेपालमा सञ्चारकर्ममा रहँदा रहँदै विदेशिएका कवि अजित क्षेत्री कविता सङ्ग्रहको तयारीमा छन् । यस्तै भर्खरै युएईको बाँडेको मुस्कान पुस्तक पनि प्रकाशित भएको छ ।

समग्रमा युएईको मरुभूमिमा फक्रदै र फुल्दै गरेको नेपाली साहित्य लोभलाग्दो छ । व्यस्तताका बाबजुद पनि गहकिला रचनाहरु लेख्नु, त्यसलाई आफ्नै खर्चमा आयोजना गरिएका कार्यक्रममा एक आपसमा सुनाउनु, नेपालबाट साहित्यकार सर्जक बोलाएर कार्यक्रम र सम्मान गरी हौसला बढाउनु, अनि आफ्ना रचनालाई प्रकाशन गर्नु कम तारिफयोग्य काम होइनन् ।

युएईको तातो बालुवामा नेपाली साहित्य अझ फस्टाओस् । नेपाली साहित्यलाई युएईको कलमले अझ तिखारोस् र युएईले अझ राम्रा सहित्य साधक जन्माओस्, शुभकामना ।

मायामितु न्यौपाने
प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    loktantrapost@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
झुलन रेग्मी
प्राविधिक समर्थन :- मौसम न्यौपाने
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: