तपाईंले ‘त्रिवेणी आमा’ पढ्नुभयो ?

मैले साहित्यकार जगतमा निकै दोहो¥याएर सोधेको प्रश्न हो– “तपाईंले ‘त्रिवेणी आमा’ पढ्नुभयो ?” किन मैले यही चाहिं प्रश्न गरें ? यसको सहीसही उत्तर त म स्वयंबाट पनि हुन नसक्ला । तीन वटा कथा सङ्ग्रह, दुई उपन्यास, एक यात्रा संस्मरण आदि गरी सात–आठ पुस्तक प्रकाशन गरेको मैले यो प्रश्न गरिरहँदा अन्य पुस्तकहरूउपर सर्वथा अन्याय भएको वोध मलाई हुन्छ । तार्किक रूपमा ‘त्रिवेणी आमा’को समकक्षमा ठिङ्ग उभिन सक्ने छन् कथा सङ्ग्रहहरू, अर्को उपन्यास ‘दोसाँधको घाम’ पनि । तैपनि मैले दोहो¥याएर सोधेको प्रश्न त्यही हो, सत्यता त्यही हो ।

अरु पुस्तकहरू निजी प्रकाशनबाट छापिएका, तिनीहरूको बिक्रीवितरण पनि व्यवस्थित नभएको तर यो चाहिं साझा प्रकाशनले छापेको र विक्री वितरणमा पनि गएकाले नै अञ्जानवश युक्तिसङ्गत वोध गरी मबाट यस्तो प्रश्न निस्किएको हुनसक्छ ।

दुई–तीन महिना पहिले झापाका नेकपा (एमाले) अध्यक्ष रविन कोइरालालाई एक्कासि मैले प्रश्न सोध्न पुगें– “तपाईंले ‘त्रिवेणी आमा’ पढ्नुभयो ?”

उहाँका हातमा ‘सेतो धरती’ देखें । यसै साल मदन पुरस्कार पाएको, विशेष चर्चा पनि पाएको, विवाद पनि जन्माएको पुस्तक उहाँका हातमा हुनु अचम्मको कुरा होइन । त्यो पुस्तक पढिसकेको कुरा उहाँले भनेपछि नै मेरा मुखबाट त्यो प्रश्न उम्केको हो । उहाँले– “म तुरुन्तै किन्छु र पढ्छु” भनेर उत्तर गर्नुभयो । पुस्तकको नाम दोहो¥याएर सोध्नु पनि भयो ।

काँकरभिट्टामा रिडर्स, झापाले यही फागुन २७÷२८÷२९ गते आयोजना गरेको कला–साहित्य उत्सवमा एउटा समूह–बहसको विषय राखिएको थियो– “कति पढ्छन् झापाली राजनीतिकर्मी” बहसमा सहभागी व्यक्तिहरू थिए एमालेका रविन कोइराला, कांग्रेसका विश्वप्रकाश शर्मा र एमाओवादीका सीपी कडरिया । यथार्थमा यी झापाली युवा नेताहरू सापेक्षित रूपमा आ–आफ्नो दलमा पढन्ते नै हुन् ठान्छु म । यिनले नै नपढे अरुले पढेको हुनु भनेको त विरालाका टाउकामा सिङ खोज्नु नै हो ।

सहजकर्ताले एउटा प्रश्न तीनै जनालाई राखेथे– “तपाईंले पढ्नुभएको सबभन्दा पछिल्लो पुस्तक कुन हो ?”

उत्तर आउनुपूर्व मैले अनुमान गरेको थिएँ– “रविनजीले पक्कै पनि ‘त्रिवेणी आमा’ भन्नुहुनेछ । किनभने दुई–तीन महिना पहिले उहाँसँग माथिको सम्वाद भएको थियो । तर उहाँले ‘सेतो धरती’को नाम भन्नुभयो । त्रिवेणी आमा त भन्नु भएन । सायद उहाँले किन्नु पनि भएको थिएन र पढ्नु पनि भएको थिएन नै होला । उहाँले बहसको प्रसङ्गमा भन्नु पनि भयो– “पुस्तक नपढे पनि म हजारौं जनताका जीवन पढ्छु ।” यथार्थमा उहाँ जनताको जीवन पढ्न व्यस्त हुनु भएकैले कागजी पुस्तक पढ्न भ्याउनु पनि हुन्न नै । उहाँलाई ‘सेतो धरती’ पढ्न पनि कस्तो हविगत बेहोर्नु प¥यो होला ! मदन पुरस्कार पाएकैले र कहाँकहाँ डडाएको चर्चाले उहाँलाई त्यो पढ्ने बाध्यताको भाम्लो आइपरेको हुनुपर्छ ।

मलाई थाहा भएको थियो, विश्वप्रकाशजीले भने त्रिवेणी आमा पढ्नु भएको थियो । सीपी कडरियाजीले भने पढ्नु भएको थिएन होला । सायद उहाँलाई ‘त्रिवेणी आमा’ नामको कुनै उपन्यास छापिएको छ भन्नेसम्म पनि थाहा नहोला ।

मैले यो प्रसङ्ग किन उठाएको भने, यसै प्रश्न उपर लेख किन लेख्न बसेको भने, झापाली साहित्यकार जगतसँग कमसेकम झापाली वामपन्थी भनाउँदासँग, अझ झापाका एमालेहरूसँग एउटा गुनासो गर्न मन लागेको हो । नेपालमा २०५२ देखि यता दस वर्षको अवधि अविस्मरणीय द्वन्द्वकाल रह्यो । माओवादीहरू त यस द्वन्द्वकाललाई ‘जनयुद्ध’ सम्बोधन गर्छन् । जनयुद्ध होस् या जेहोस्, त्यो समय नेपालमा दुई थरी बन्दुकको टकराहटको समय रह्यो र परिणामस्वरूप धेरै नेपालीहरूको मृत्युको समय रह्यो ।

‘त्रिवेणी आमा’ले त्यो समयलाई निष्पक्षतापूर्वक चित्रण गर्न प्रयत्न गरेको छ । नारायण वाग्लेले त्यो द्वन्द्वकालको आलोचनात्मक पक्षमा उभिएर ‘पल्पसा क्याफे’ लेखे । कान्तिपुर जस्तो पत्रिकाको सम्पादक भएकाले प्रचारकै कारण त्यो पुस्तक चर्चित पनि भयो र चर्चित भएकै कारण ‘मदन पुरस्कार’ पनि लुँढ्यायो । युग पाठकले त्यो द्वन्द्वकालको महिमा गान गर्दै ‘उर्गेनको घोडा’ लेखे । कान्तिपुरका स्तम्भकार भएका कारण, राजधानीका चल्तापुर्जा लेखकको ग्याङमा भएका कारण उनको पुस्तक पनि चर्चित भयो । तर मोफसलको लेखकको पुस्तक भएकै कारण, कुनै चल्तापुर्जा लेखकको ग्याङमा नभएकै कारण सकेसम्म निष्पक्ष भै त्यो द्वन्द्वकालको चित्रण भएको ‘त्रिवेणी आमा’ निसास गुम्सिएको गुम्सियै छ ।

मलाई लागेको थियो पाँचसय–हजार प्रति त झापामै बिक्री होलान् । म झापाका पन्ध्र सय–दुई हजार इमान्दार शिक्षकहरूको नेता पनि भएको हुँ कुनै बेला । म झापाका वामपन्थी जगतमा पनि परिचित लेखक हुँ । कसो साझा प्रकाशनले प्रकाशित गरेको आफ्नो साथीको उपन्यास पढूँ–पढूँ नलाग्ला त ! एमालेहरूले पढ्लान्, वामपन्थीहरूले पढ्लान्, शिक्षकहरूले पढ्लान्, चिनारुहरूले पढ्लान् ! मेरो सोझो अनुमान थियो ।

तर ‘त्रिवेणी आमा’ निराक्षरहरूको समाजमा टाँसेको अक्षरको सूचना जस्तो भयो, भील्लका देशमा मणि भयो ।

यथार्थ नबुझ्ने भएका कारण म अब आफैंलाई धिक्कार्दै छु । झापाको मात्र होइन देशभरिकै कुन वामपन्थी राजनीतिकर्मी आजकल पुस्तक पढ्छ ? अझ कुन शिक्षकले कुन साहित्यको पुस्तक किनेर पढ्छ ? त्यस्सै प्राप्त भएमा लगेर बाकसमा थन्क्याउँछ, पढौंपढौं नै लाग्दैन । किताबमा पैसा खर्च गर्नु भनेको पैसा इनारमा हाल्नु हो झैं ठान्छ ।

मैले पहिले पनि एक पल्ट लेखेको थिएँ– “यदि नेपालका कुनै राजनीतिकर्मी या कुनै शिक्षकका घर निरीक्षण गर्ने हो भने केही अपवादलाई छाडेर उनीहरूको घरमा कुनै पुस्तक पाइने छैन । अपवाद भनेको औंलामा गन्न सकिने केही अध्ययनशील, सिद्धान्तनिष्ठ व्यक्तिहरू हुन सक्छन् ।

यो बेलामा अहिले अलिक चिच्चा भएर, अलिक लबस्तरो भएर लेख्न मन लागेको छ । विष्णु प्रसाईं एमालेका मैले थाहा पाउँदा देखिका जिल्लाका नेता । उनले त्यो ‘त्रिवेणी आमा’ पढेका छन् ? दुई कार्यकाल भयो देवकुमार राई मेचीनगरको इञ्चार्ज भएका छन् । म उनको एउटै वाडको ‘कामरेड’ पनि हुँ र उनको सर पनि हुँ । उनले मैले लेखेको त्यो उपन्यास पढेका छन् ? यही नगरको वासिन्दा गोपाल बुढाथोकी, यस क्षेत्रकै एमालेका नेता हुन् । उनलाई ‘त्रिवेणी आमा’ नामको उपन्यास छ भन्ने थाहा छ ? भीम खवास मेरा शिक्षक साथी पनि हुन् र पार्टीगत साथी पनि हुन् । अलिअलि साहित्यिक मित्र पनि हुन् ।

उनले ‘त्रिवेणी आमा’ पढेका छन् ? झापाको मैहुँ भन्ने प्रगतिवादी साहित्यकार यज्ञराज प्रसाईं निकै अध्ययनशील र क्याम्पसका प्राचार्य हुन् । उनले पढेका छन् ? राजु कार्की निकै उर्जावान युवा नेता हुन् । उनले यो पुस्तक पढेका छन् ? अर्थात् म अहिले यस्ता दर्जनौं नामहरू बताउन सक्छु जसले साँच्चै पढेका छैनन् । मैले यो ‘त्रिवेणी आमा’ नाम त निमित्त मात्र उठाएको हुँ । यो त्रिवेणी आमाको सरोकारको कुरा होइन र पुण्यप्रसाद खरेलले लेखेको पुस्तकको सरोकारको कुरा पनि होइन । मान्छेको मनोविज्ञान हो आफूले चिनेको मान्छे, आफन्तले लेखेको पुस्तकमा अलिक बढी जिज्ञासा अवश्य हुन्छ भनेर नै मैले यो कुरा उठाएको हुँ ।

यस कुराले कसैको मानमा आघात पु¥याएमा माफ पाउँ । हामी सबैले आफ्नो पदमा योग्य हुने हो भने, आफूलाई अद्यावधिक राख्ने हो भने यो ‘त्रिवेणी आमा’ मात्र होइन तर यतिका पुस्तक बेलैमा पढीसक्नु पर्छ । हामी मोटर साइकल नवीकरणको कुरा गर्छौं, गाडी नवीकरणको कुरा गर्छौं, तर आफू नवीकरण हुनु पर्छ कि पर्दैन ? कि आफू नवीकरण त्यसै भै रहिन्छ भन्ने हो ? त्यसै हामीलाई अरुहरूले लाटो देशका गाँडो तन्नेरी भनेको होइन । हामीसँग प्रतिस्पर्धा गर्ने अर्को नगाँडो नभएकाले नै हामी गाँडाले तन्नेरी भैरहन पाएका हौं भन्दा अन्यथा हुन्छ र !

अचेल त फेसन कस्तो आएको छ भने कसै मित्रका घरमा कोठा–चोटामा गयो भने त्यहाँ दराजमा पुस्तकहरू हुँदैनन् । साहित्य–संस्कृतिका, कलाका वस्तुहरू हुँदैनन् । त्यहाँ गाग्रा, लोटा, बटुका, थाल, कुकुर, बिरालो, चरा–चुरुङ्गी आदिका वस्तु हुन्छन् । सजावटका लागि पचास हजार–लाखका दराज हुन्छन् । त्यसभित्र हजार–दस हजारका बोतल हुन्छन् तर पुस्तक हुँदैनन् । नयाँ नयाँ कोट हुन्छन्, पुस्तक हुँदैनन् ।
“पुरानो कोट लगाऊ नयाँ किताब किन !” लेख्ने थोरोलाई उनीहरूले ‘थारो’ ठानेका छन् । नयाँ कोट लैनो हो । लैनो छोडेर थारो पट्टि को लाग्यो अचेल !

नेकपा (एमाले)का जिल्ला नेता दुई–तीन सय होलान् । नेकपा (एमाओवादी)का जिल्ला नेताहरू दुई–तीन सय होलान् । नेपाली कांग्रेसका जिल्ला नेताहरू पनि दुई–तीन सय होलान् । यी छ–सात सयमा त्यही ‘त्रिवेणी आमा’ पढेको साँच्चैको तथ्याङ्क लिने हो भने पढेको संख्या एक प्रतिशत कदाचित पुग्दैन । पुस्तकको नाम सुनेको चाहिं कतै एक प्रतिशत पुग्ला कि ? झापाको दुई–तीन वटा दैनिकले एउटा बेलामा यस पुस्तकको समीक्षा पनि निकालेकै हुन् । न त यी नेताहरू पत्रिका पढ्न भ्याउँछन्, पढ्छन् न त पुस्तक पढ्छन् । तर पनि उनीहरू नै हाम्रो गाउँठाउँका नेता हुन् ।

हाम्रो गाउँठाउँ सचेत मान्छेहरूको गाउँठाउँ होइन, भेडाहरूको गाउँठाउँ हो । भेडाहरूको गाउँठाउँ भएकाले यहाँ केही भेडिगोठालाहरू छन् । भेडिगोठालाहरू घरिघरि आफ्ना भेडाहरू जम्मा गर्छन्, तालिमसालिम दिन्छन्, आफ्ना सुसेलीहरू, आफ्ना सिर्कनाहरू सुनाउँछन्–देखाउँछन् । आ–आफ्ना चरन चराउँछन् । कैलेकाहीं यो गोठालाका एक–दुई भेडाहरू ऊ गोठालाका बगालतिर र ऊ गोठालाका एक–दुई भेडाहरू यो गोठालाका बगालतिर चर्न आएको पत्रिकाले लेख्छन् ।

पैसा हालेर किन्नु नपर्ने, दुई–एक टीका सिन्दुरमा पाइने भेडा यो बगालतिर बढी हरियो घाँस पाइएला कि भन्दै घरि यो बगालतिरबाट ऊ बगालतिर र ऊ बगालबाट यो बगालतिर सर्छन् पनि ।

विचरा, तिनलाई आफू आफ्नै आँखाले देखेर, आफ्नै खुट्टाले हिडेको भ्रम पनि छ, आफ्नै मुखले चरेर आफ्नो पेट पालेका पनि छन् । तर यी भेडाको गन्ती देखाएर गोठालो ठाउँठाउँमा पदोन्नत भैरहेको छ । त्यसकारण न गोठालालाई पुस्तक पढ्नुको मतलब, न भेडालाई पुस्तक पढ्नुको मतलब ! यस्तै छ हाम्रो जनता जनार्दनको भेडिगोठ । यस्तै छन् हाम्रा जीवन । यस्तै छन् हाम्रा आफ्नै गालो अफ्नै लबटो पनि ।
(यो लेख दुई वर्ष अघि लेखिएको हुँदा यसमा त्यसबेलाको परिवेश र संगठनहरुकै नाम समावेश भएको छ । )

पुण्यप्रसाद खरेल
प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    loktantrapost@gmail.com

हाम्रो बारेमा

सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
झुलन रेग्मी
संचालक/सम्पादक :- मोहन कुमार न्यौपाने
प्रधान सम्पादक :- प्रकाश पौडेल
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: