झापाका कैदीबन्दी : न हातमा साबुन न मुखमा मास्क - Loktantra Post Loktantra Post
                                                                                                                                                                                                                           

झापाका कैदीबन्दी : न हातमा साबुन न मुखमा मास्क

मेचीनगर, २४ चैत । ‘एक फिटको साँघुरो ओछ्यान छ । एउटा कोठामा थुप्रै ओछ्यान छन् । विश्व स्वास्थ्य सङ्गठनले कम्तीमा एक मिटरको दूरी कायम राख्नु भनेको छ । तर यहाँ एक मिटरभित्र ४ जनासम्मले सुत्नुपर्छ । यति मात्र कहाँ हो र, यहाँ हात धुने एक डल्लो साबुन पनि सरकारले दिएको छैन । स्यानिटाइजर कुन चरीको नाम हो देख्न पाएको छैन । मास्क लगाउनुहोस् भन्दै न सरकारका मान्छे आएका छन्, न कुनै दयालु दाता ।’

कोराना कहरकै बेला एक कैदीले झापा कारागारभित्रको ताजा अवस्था सुनाउँदै लोकतन्त्र पोस्टलाई दिएको जानकारी हो यो । उनले अझ बढी सकस भोगिरहेको सुनाए । भने–‘सरकारले सिदा बन्द गरेको डेढ महिना भइसक्यो । बाहिरबाट कोरोना सर्ला भन्दै आफन्तसँगको भेटघाट बन्द गरिएको छ । खानका लागि खाद्य गोदामको चामल आइरहेकै छ । तर ताजा तरकारी पाइन छाड्यो । औषधि नपाइने भयो । एकजना अहेव आउँथे, अचेल देखा पर्दैनन् । न किन्ने पैसा छ, न कसैले हाम्रो पीडा सुनिदिन्छ ।’

अरुबेलै क्वारेन्टाइनभन्दा कसिलो सुरक्षा घेराभित्र रहने कैदीबन्दीहरु कोरोना त्रास फैलिए पछि झन् दवावमा परेका छन् । राज्यले उनीहरुको समस्या सुन्न समय नै निकाल्न नपाइरहेको जस्तो उपेक्षा गरेको छ ।

कारागारलाई कोरोना सङ्क्रमणको सबैभन्दा जोखिम क्षेत्र नै ठानिएको छ । कथम्कदाचित एक जनामा सङ्क्रमण भयो र थाहा पाइएन भने त्यसले सल्काउने डढेलो सोचेभन्दा ज्यादा भयावह हुने निश्चित छ । यस्तो बेला रोकथाम र प्रतिरोधका दर्बिलो उपाय कारागारमा गरिनु पर्ने हो । नेपालमा यो हुन सकेको छैन भन्ने दृष्टान्त बनेको छ झापा कारागार ।

डेढ महिनादेखि सरकारी सिदा नपाउँदा कोरोना कहरका बेला उनीहरुको दैनिकी झन् कष्टकर भएको छ । सरकारले लकडाउन गरेसँगै कारागारमा भेटघाट बन्द गरिएको हुँदा कैदीबन्दीलाई आफन्तले सहयोग दिन पाएका छैनन् ।

क्षमताभन्दा तेब्बर सङ्ख्यामा रहेका कैदीबन्दीले सामाजिक दूरी राखेर सुत्ने र बस्ने परिस्थिति नभएका कारण कोरोना भाइरस सङ्क्रमणको जोखिम उच्च छ । तर कारागारभित्र उनीहरुले सतर्कताका लागि हात धुने साबुन, स्यानिटाइजर र मास्कको कुनै व्यवस्था गरिएको छैन ।

‘डेढ महिनादेखि हामीलाई सिदा दिइएको छैन, दिनैपिच्छे चाहिने सामान किन्न पाइएको छैन,’ एक कैदीले टेलिफोन सम्पर्कमा भने–‘कोरोनाबाट बच्न हात धुने साबुन किन्ने पैसा पनि छैन, भेटघाट पुरै बन्द गरिएको कारण पविारसँगको सम्पर्क टुटेको छ, कोरोना फैलिएला कि भन्ने त्रास भइसक्यो ।’

कारागारमा सरकारले कोरोना भाइरसको सङ्क्रमणबाट जोगिनका लागि साबुन र स्यानिटाइजरको व्यवस्था गरेको छैन । सुरक्षाकर्मी र कर्मचारीले मात्र सुरक्षात्मक सामग्रीकोउपयोग गरेका छन् ।

सबैभन्दा डरलाग्दो त्रास के हो भने कारागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दी छन् । जसका कारण सामाजिक दूरी कायम गर्न असम्भव भएकोछ ।

सरकारले कैदीबन्दीलाई सिदाको रुपमा दैनिक ६० रुपैयाँ र ७०० ग्राम चामल दिदै आएको थियो । उनीहरुले नभई नहुने साबुन, दाँत माझ्ने ब्रस र मन्जनजस्ता सामान त्यही पैसाबाट किन्थे । अहिले पैसाको अभाव भएको छ ।

सिदा रकम सकिन दुई महिना अघिदेखि कारागार प्रशासनले माथ्लो निकायमा ताकेता गरिरहेको रहेछ । तर यो विषयमा केन्द्रको ध्यानै गएको छैन ।

कारागारसँग स्रोत नभएको हुँदा कैदीबन्दीलाई हात धुने साबुन र सेनिटाइजर दिन नसकिएको कारागार प्रशासनले भन्दै आएको छ । उनीहरु आफैंले किनेर ल्याउन् भने पैसा सकिएको अवस्था छ । पसल पनि सबै बन्द छन् । यस्तो बेला सहयोगी दाताहरुले साबुन, स्यानिटाइजर, मास्क जस्ता सामान दिनुको विकल्प देखिएको छैन ।

झापा कारागारमा ७७ जना महिलासहित एक हजार ९० जना कैदीबन्दी छन् । दश पन्ध्र लाख रुपैयाँ केन्द्रबाट निकासा भयो भने १५ दिन कारागारका कैदीबन्दीको समस्या टर्ने कर्मचारीहरु बताउँछन् ।

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    loktantrapost@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
झुलन रेग्मी
प्राविधिक समर्थन :- मौसम न्यौपाने
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: