माथि समृद्धिको साइनबोर्ड, तल कमिसन र लुटका बाला – Loktantra Post Loktantra Post
                                                                                                                                                                                                                           

माथि समृद्धिको साइनबोर्ड, तल कमिसन र लुटका बाला

सन्दिप ओली

२०४५ सालतिरको कुरा हो । हाम्रो गाउँ सतिघट्टाका दलबहादुर दाइ दिनहुँ काँकरभिट्टा उक्लिन्थे, कुनै इलम पाइएला भन्ने उनको ध्याउन्ना हुन्थ्यो । गरिबिको दुष्चक्रमा फँसेको उनको जीवनमा फेला पर्न सक्ने त्यो कामले केही परिवर्तन ल्याइदेला भन्ने आशाले उनलाई त्यता डोर्याउँथ्यो । दिनभरिका अनेक चक्कर र ठक्करका बाबजुद जीवनमा कुनै परिवर्तन आउने लक्षण नदेखेपछि दिक्दार भएर हुनसक्छ रक्सीको लती बन्न थालेका थिए । नशाले झुम्म शरिर र जोशिएको विद्रोही मन लिएर दलबहादुर दाइ साँझ घर फर्कन्थे । गाउँ नजिक पुगेपछि मनमा पत्रिएका बिद्रोह उक्किन थाल्थे । हत्केला एक्कासी मुठ्ठीमा परिणत हुन्थ्यो, दाहिने हात टाउको माथि लम्किन्थ्यो, चोर औँले ठडिन्थ्यो र थरथराइरहेको ओठबाट एउटा हुँकार फुत्त फुस्किन्थ्यो, ‘त्यो सत्ताईस लाख टन गहुँ कहाँ गयो ?’

सुरुमा हामीले उनको प्रश्नको आशय बुझेनौँ, अक्सर खिल्ली उडायौँ । दुखी जँड्याहाले बेसुरा प्रश्न फलाकेको मान्यौँ । धेरैपछि उनको नियमित हुँकारको अर्थको अन्तर्य थाहा पायौँ । २०४५ सालको भूकम्प पश्चात पीडितलाई राहतस्वरुप केही टन गहुँ आएको रहेछ । त्यो खाद्यान्न पीडितका दैलोसम्म कहिल्यै पुगेनछ । स्थानीय पञ्चले राहतको गहुँ बिचैमा गायब पारेर आफ्ना ढुकुटी भरेका रहेछन् । पञ्चका नकामको सुईँको पाएका दलबहादुरले रक्सीले जोसिएका बेला आँट गरेर त्यो प्रश्न हावामा बत्याएका रहेछन् । प्रश्नको आशय बुझेपछि हामीले केही दिनसम्म त्यसबारे गफ गर्यौँ तर त्यसले समवेत आवाजको स्वरुपधारण गरेन । त्यो त्यसै बतासमै बिलायो ।

२०४६ को आन्दोलनले २०४७ को प्रजातन्त्र ल्यायो । पञ्चायत विरोधी आन्दोलनमा जनवादी राग उत्पन्न नभएको होइन तर त्यो जनवादले बतासमा बिलाएका दलबहादुरहरुका प्रश्न टिप्न सकेन । चोक चौतारामा ‘तलतल मैदानमा धानका बाला झुल्न लागे’, ‘फाटेको जालोले छेकेको’ र ‘गाउँ गाउँबाट उठ, बस्ति बस्तिबाट उठ’ नघन्केका होइनन् तर गायब पारिएका त्यस्ता धेरै खाले सत्ताइस टनहरुको हिसाब खोजिएन । क्रान्तिकारी धुनकै बीचमा दलबहादुरहरुका हुँकार बिलुप्त भए । त्यसो त कसका धानमा बाला झुले, कसका झुलेनन् भन्ने हिसाब पनि खासै गरिएन । बस्तीबाट जुरुक्कै उठेर ज्यान फाल्न तयार असल क्रान्तिकारीले कस्तो जीवन भोगे भनेर गम्भिर अध्येताले खोजी गरिरहेका होलान् ।

दलबहादुरहरु अनेक नाममा सतिघट्टा जस्ता गाउँबाट काँकरभिट्टा जस्ता बजारमा अहिले पनि धाइरहेकै छन् । उनले जस्तै हुँकारहरु गरिरहेकै छन् । तीन दशकसम्म मेची नदिको ओह्रालो धेरै पानी बगे, दलबहादुर जस्ता हुँकार गर्ने र उनीहरुका हुँकार गर्नेहरुका शरीर डढेर बनेका खरानी पनि सँगै बगे । पहिले जनवादी गीत गाउँदै र नाच्दै गर्नेहरुले प्रश्नको सुनुवाई गरेनन्, अहिले आर्थिक समृद्धि आलाप हाल्नेहरुले यस्ता जायज प्रश्नहरु दबाउने चेष्टा गर्दैछन् ।

मलर सदासँग जोत्ने जग्गा थिएन, बेच्ने कुनै मालमत्ता थिएन, व्यवसाय गर्ने पुँजी थिएन । उनी भोकले कहिल्यै नउठ्ने गरी ढले । लकडाउनका कारण काम नपाएका सूर्य बहादुर तामाङ भोकै सडकपेटीमा सुतेका थिए, हातमा नाम्लो बोकेरै बिते । राजु सदालाई कोरोना लाग्यो, क्वारिन्टिनमा बसे, जीवन जलसम्म पिउन पाएनन्, झाडा लागेरै मरे । अङ्गीरा पासीलाई बलात्कार गरेर मारियो । नवराज बिकहरुलाई प्रेम गरेकै कारण लखेटेर, कुटेर मारियो र डोरीले बानेर खोलामा बगाइयो । समृद्ध नेपाल र सुखी नेपालीको सुनौलो रजिष्टरमा मलर, राजु, अङ्गीरा र नवराजहरुका नाम लेखिदैनन् । जसरी बिलुप्त भयो दलबहादुरको प्रश्न, त्यसरी नै यी सबैले ज्यान फालेर उठाएका प्रश्न असान्दर्भिक ठहर्याउने कोशिसमा छ कम्युनिस्ट पार्टी सञ्चालक रहेको राज्य ।

राज्यले किन यस्ता दुष्प्रयत्न गर्छ भनेर सोच्दा एउटा घटनाको स्मरण हुन्छ । सन् १९७८ ताका तत्कालीन कम्युनिस्ट राज्य चेकोस्लोभाकियाको आलोचक तथा विद्रोही सिभिक फोरम पार्टीका संस्थापक भाष्लवहावलले निरंकुश अधिनायकवादी शासनको आलोचना गर्दै एउटा राजनीतिक लेख लेखे । ‘द पावर अफ पावरलेस’ अर्थात ‘शक्तिविहिनहरुको शक्ति’ शिर्षकको सो लेखमा उनले एउटा उदाहरण पेश गरेका छन् । एउटा फलफुल पसलेले आफ्नो पसलमा ‘विश्वभरका मजदुर एक हौँ’ लेखेको साइनबोर्ड झुण्ड्याउँछ भन्नुको अर्थ ऊ कम्युनिस्ट पार्टीप्रति बफादार हुँदै साँच्चै विश्वभरिको मजदुर एक भएको हेर्न चाहन्छ भन्ने होइन । यस्ता पोस्टर झुण्डिएका पसलेलाई तिनको अर्थ खासै थाहा पनि हुँदैन । उनीहरु त्यस्ता नारा झुण्ड्याउँदा आफूमाथि पार्टी र सत्ताले कुनै अप्ठ्यारो सृजना गर्दैन भन्ने मात्र बुझ्छन् । सत्ताबाट बँचेर सहजै व्यापार चलाउने उद्देश्यले मात्रै उनीहरुले त्यस्ता बोर्ड झुण्ड्याएका हुन्छन् । कुनै व्यवधानबिना आफ्नो व्यापार चल्छ भने विश्वभरिका मजदुर एक हौँ भनेर उद्घोष गर्नुमा के बेफाइदा भयो र ?

नेपालको कम्युनिस्ट सत्तासँग पनि मजदुर हितको साइनबोर्डहरु प्रशस्त छन् । तर अन्तर्य बुझ्न मलर सदाको भोक बुझ्नुपर्छ, राजु सदाले जीवनजलसम्म नपाएको घटनाको अर्थ बुझ्ने सामथ्र्य बढाउनुपर्छ । मजदुर एवम् कृषक हितमा लेखिएका साइनबोर्ड, दस्तावेज, गीत, राग र आलापहरु नेपाली कम्युनिस्टसँगभन्दा ज्यादा अरु कोसँग होला ? तर ती सबै सत्ताका भर्याङ मात्र हुन् । ती सबै मुठ्ठीभर कुलिनहरुको हितमा उपयोग गर्ने र उपयोग पश्चात क्युरियोमा सजाउने मुलायम बस्तु मात्र हुन् । अहिले उनीहरुले झुण्ड्याएको क्युरियो समेतको मूल्य नभएको साइनबोर्ड भनेको समृद्धिको हो । माथि समृद्धिको साइनबोर्ड सजाएर तल कमिसन र लुटका बाला झुलाउने उपक्रममा लिप्त छन् उनीहरु ।

सत्यको तीतो पचाउन अप्ठ्यारो पर्छ समयलाई । मलर, अङ्गीरा र नवराजहरुको मृत्युसँगै उठेका प्रश्नले खासमा यो लोकतन्त्र, महिमा मण्डित गरिएको संविधान र बहुप्रचारित समृद्धिलाई एकैसाथ धरापमा पारेको छ । सूचनामा पहुँच हुने नयाँ पुस्ताका प्रत्येक नेपालीले संविधान र समृद्धिको गफलाई असाध्यै खोक्रो र कलाहीन देख्न थालेको छ । कोरोनाकालमा सरकारको परीक्षा लिने अवसर पाएको युवा पुस्ताले सरकार, पार्टी र तमाम जिम्मेवार संस्था चलाइरहेका मान्छेका हिसाब किताब राख्न थालेको छ । भ्रष्टाचारका एक पछि अर्को काण्डले एकपछि अर्को गर्दै लुगा फुकालिरहेका शासकको नाङ्गो रुपलाई कसैले निर्ममतापूर्वक हेरिरहेको छ भने त्यो नयाँ पुस्ता हो ।

आशा गरौँ, दलबहादुरहरुले जस्तो अबको पुस्ताले आफ्ना हुँकार बतासमा बिलाउन दिने छैनन् । छद्यभेषीहरुलाई सधैँ साइनबोर्ड एउटा राखेर अर्कै धन्दा चलाउने छुट सधैँ दिने छैनन् ।

(लेखक रिडर्स झापाका सदस्य हुन् ।)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    loktantrapost@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
झुलन रेग्मी
प्राविधिक समर्थन :- मौसम न्यौपाने
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: