धर्म, विज्ञान र आजको मान्छे – Loktantra Post Loktantra Post
                                                                                                                                                                                                                           

धर्म, विज्ञान र आजको मान्छे

धर्म र विज्ञान एकअर्काका परिपुरक हुन् । यसलाई आधुनिक समाजले परस्पर विरोधी तत्वका रुपमा व्याख्या गर्दै आएको छ, जुन गलत छ । विज्ञान धर्मबिना चल्न सक्दैन ।

पहिले धर्मले विज्ञानको बाटो देखाउने हुनाले विज्ञान त्यति हानीकारक थिएन तर आज विज्ञान धर्म छाडेर एक्लै दौडिएको हुनाले सम्पूर्ण मानवका लागि नै हानीकारक अनि विनाशकारी बन्न थालेको छ ।

अहिले विश्व त्रस्त मात्र नभइ गतिहीन पनि बनेको छ । उद्योगधन्दा , कलकारखाना, विद्यालय, कार्यालय सबै सबै ठप्प छन् । मानिस सीमित घेरामा खुम्चिन बाध्य छ ।

एकातिर महामारीकको फैलावटको अनुमान गर्न सकिएको छैन भने अर्कातिर विपद लम्बिएमा हुनजाने भोकमरी तथा तत् सृजित समस्याबाट कसरी त्राण पाउन सकिन्छ भनेर मानिस घोत्लिएको छ । मानिस मानौ युद्ध मैदानममा पराजित भएको छ र निःशस्त्र भएर मौन छ ।

अहिले सहरहरु मानिस भइकन पनि सुनसान छन् । गाउँ बिउँझेर पनि सुतेजस्तोे छ । गाउँमा मानिसहरु भेला भएका छन् तर प्रत्यक्ष संवाद हुन सकेको छैन ।
सबै भन्दै छन् यो कस्तो व्याधी हो जसलाई न देख्न सकिन्छ न यसलाई रोक्ने कुनै अश्त्र नै छ । यसका लागि राजा र रङ्क सबै समान छन् । मानौ सम्पूर्ण मानवलाई एउटै स्तरमा ल्याईदिने साम्यवाद हो यो । विश्व भ्रमणमा निस्किएको यो अद्भूत जीवबाट सावधानी रहनुबाहेक अब कुनै विकल्प छैन ।

कुनै अमुक देशले केही समयअगाडि हाइट्रोजन बम परीक्षण गरेर ठूलो दम्भ प्रदर्शन गर्यो । मानौँ ऊ संसार ध्वस्त बनाएर विजयी बन्न खोजिरहेको छ । तर आज त्यही देश एउटा सानोभन्दा अति सानो अदृश्य जीवसँग डराइरहेको छ । संसारको शक्तिशाली भनेर आफूलाई चिनाएको देश पनि आज हार खाएर ईश्वर पुकार्दै छ ।
धेरै नास्तिकहरु आस्तिक भएका छन् अनि प्रत्येक पदार्थमा ईश्वरीय अंश देख्दैछन् । त्यसैले अमेरिकाले पनि वैदिक पाठ गराएको छ । यो चराचर जगतको आफ्नै नियम र अनुशासन छ । मानिसले गर्ने कामहरुको पनि सीमा छ ।

तर आजको मान्छेले विकास र उन्नतिको नाममा सबै सीमाहरु भत्काउँदै गएको छ । प्राकृतिक विनास तीव्र बनाई उन्नतिको सिँडी निर्माण गर्दैछ । तर त्यो अल्पकालीन दुस्प्रयास मात्र हो भन्ने कुरा उसले बुझको छैन ।

मानिसलाई केका लागि यो सब गरेको ? भनेर सोध्यो भने आत्मसन्तुष्टिका लागि हो भन्छ । आत्म सन्तुष्टिको नाममा मानिसको विनास गर्न पछि पर्दैन मान्छे । तर सबैभन्दा ठूलो आत्मसन्तुष्टि दया, पे्रम करुणाबाट मात्र प्राप्त हुन्छ भन्ने कुरा तथाकथित मानव बन्न नसकेको मान्छेले अनेक मोहका कारण बुझ्न सकेको छैन ।

गीतामा भनिएको छ ‘कर्मयोग, ज्ञानयोग र भक्तियोगबाट नै मानवीय जीवनले पूर्णता प्राप्त गर्न सक्दछ ।’ आजको मान्छे न शुद्ध चित्त भएर कर्म गर्न जान्दछ न उसको ज्ञान र भक्तिमा तन्मयता नै छ । कवि लेखनाथले भनेजस्तो ‘मै खाउँ मै लाउँ’मा नै उसले जीवन व्यर्थै व्यतित गरिरहेको छ ।

मानिसको जीवन क्षणिक छ । यसलाई सत्कर्ममा लगाउन सकेमा मात्र सार्थक बन्दछ । धर्मको अर्थ अनुशासन हो । त्यसभन्दा पनि बढी आत्मानुशासन हो । जसले आफ्नो आत्मालाई अनुशासित बनाउन सक्दैन उसले न यस लोकमा सुख प्राप्त गर्दछ न परलोमा । मानिसले धर्मलाई केवल पूजापाठसँग मात्र जोडेर हेर्यो ।

त्यसभित्र रहको विज्ञानलाई हेर्नै सकेन । बिहान उठेर नित्य स्नान गर्नु, तुलसीलाई पानी चढाउनु, पीपलमा पानी चढाउनुलाई धर्म कमाउने कार्य मात्र सम्झियो तर त्यसपछिको शारीरिक तथा मानसिक फाइदालाई बुझ्नै सकेन । न्यास, ध्यानको अभावमा मानिलाई आज विभिन्न मानसिक रोगले च्यापेको छ ।

आजको मानिसमा चैन छैन । लोभ, डाहा, ईष्या, अहमता, कुण्ठा आजको मान्छेका गहना बनेका छन् । मानिस मांसाहारी प्राणी होइन भन्ने कुरा आज पनि उसले बुझेको छैन । मानिस अभक्ष वस्तुहरुको सेवन गर्दैछ, जसका कारणले कैयौँ प्रकारका रोगको सामना गर्नु परेको छ ।

अहिले महामारीको रुपमा फैलँदै गएको कोरोना भाइरसले जसरी नमस्कार संस्कृतिलाई उत्कृष्ट संस्कृतिका रुपमा विकास गर्दै लगेको छ, त्यसरी नै हामीले हाम्रा पूर्वजले स्थापना गरेका वैैज्ञानिक पद्धतिको खोज गरी नयाँ पुस्तालाई सार्थक हस्तान्तरण गर्नु आवश्यक छ । पुर्वीय अथाह ज्ञानको भण्डारलाई उजागर गर्दै लोभ, डाहा, ईष्र्यारहित समाजको निर्माण गर्नु छ ।

भ्रष्टाचार, कूरीति, अन्धविश्वास र पछौटेपनलाई निर्मूल पार्दै प्राप्त जीवनलाई सदाचारी बनाउन हामी सबै सत्मार्गमा लाग्न सक्नुपर्छ । जीवन क्षणिक छ । यो जान्दाजान्दै पनि आजको मान्छे अनैतिक कर्ममा अहोरात्र जुटेको छ । प्राकृतिक मान्छे धनको उन्मादमा आडम्बरी भएको छ । धनलाई सर्वोच्च वस्तु ठान्दा मानिस भने नैतिक रुपमा खिइँदै गएको छ ।

निष्कर्षमा भन्दा आजको यस्तो विकराल अवस्था आउनुमा पनि कहीँ न कहीँ मानिसको प्रकृति बिरुद्धको भूमिका अवश्य छ । मै हुँ भन्नेलाई पनि यो अदृश्य जीवाणुले तह लगाउने तरखर गर्दैछ । तर यस महामारीका पनि केही फाइदाहरु रहेका छन् । यसले महिनौसम्म एकै ठाउँ बस्न नभ्याएका परिवारलाई एकत्रित गराएको छ ।

पितापुत्रको सान्निध्यता बढाएको छ । विद्यार्थी वर्गलाई व्यावहारिक ज्ञान प्राप्त गर्ने अवसर मिलेको छ । एउटी गृहिणी घरमा कसरी दिन कटाउँछिन् भनेर पुरुषले बुझ्ने मौका पाएका छन् । घरको काम मिलेर गरेका छन् ।

त्योभन्दा बढी विषम परिस्थितिमा जीवन चलाउने कला निर्माण हुँदै गएको छ । यो महामारीलाई सम्यमतापूर्वक झेल्ने शक्ति सबैमा प्राप्त होस् ।

जयश्रीमन्नारायण !

लेखक ः इन्द्रप्रसाद ढुङ्गेल  (काँकरभिट्टा स्थित लक्ष्मीनारायण मन्दिरका पुजारी हुन् )

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    loktantrapost@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
झुलन रेग्मी
प्राविधिक समर्थन :- मौसम न्यौपाने
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: