कविता : हाम्रो प्रेम

मेचीनगर –६ निवासी कवयित्री भूवन सुब्बा साहित्य, शिक्षण र स्काउटमा बराबर क्रियाशील हुनुहुन्छ । कोभिड १९ को महामारीले सर्वत्र त्रास थोपरिरहेका बेला उहाँले समसामयिक विषयलाई संश्लेषण गर्दै रचना गर्नुभएको ‘हाम्रो प्रेम’ शीर्षकको कविता प्रस्तुत छ-

हाम्रो प्रेम
भूवन सुब्बा

महिना दिन भयो आज बेपत्ता मेरो माया
प्रत्येक दिन तिम्रो शुभप्रभात कामनाले
मेरो बिहानी नजानिदो पाराले उत्साहित
नशा नशामा ताजगी लिएर दिनभरिका लागि
मन मस्तिष्क कपास झैं हलुको
म युग हाँक्न तम्तयार हामी साथ थियांै र
हामी साथ थियांै र ऊर्जाशील पनि
म सम्झिरहेछु भाव संकेत चित्र (इमोजी)
रुन्चे हाँसोसँग टुप्लुक्क
मेरो अनुहार पुस्तिका भित्तामा
तिम्रो गुनासो लिएर––– “म सम्झिरहेछु”
महिना दिन भयो आज बेपत्ता मेरो माया
तिमीले आजभोलि बिहान बिहान मलाई
सम्झिन्छौं कि सम्झिन्नौं कुन्नि
तिम्रा सन्देश बाकसमा टाँगिएका
मेरा इमोजीहरु बिरहका अनकन्टार जंगल भित्र
प्रतिक्रियाको पर्खाइमा बिचलित बिचलित
यहाँ अहिले हाम्रा अभिभावकहरुको लडाई
मानौं कोशेढुंगो आजै ठडिँदैछ
नालापानीको प्रतिशोधमा
मानौं यो सानो सुन्दर भूगोल समाहित हुँदैछ
अपरिमित महत्वाकांक्षाको गहिरो खाडलमा
हामी वारि पारिका प्रेमिल जोडी
एक अर्कालाई कहिले नदेखी नभेटी
केवल प्रेमयुक्त शुभकामनामा
वैंशको पूmलहरु अँजुलीभरि साट्दै
स्वर्ग पारिको सुसम्यतामा डुल्दै हुन्थ्यौं तर
महिना दिन भयो आज बेपत्ता मेरो माया
हाम्रा प्रातःकालीन नित्य शुभप्रभात सन्देशहरु
कालापानी र लिपुलेकतिर भौँतारिदै छन्
अनि चिसिँदैछन् मानसरोवरको कठ्यांग्रिने हिउँमा
हराएको सम्बन्धले सुस्ताको किनारा छाम्दैछ अब
हामी हाम्रा अभिभावकहरुसँगै
अपराजेय भूगोलको विशालता नाप्दैछौं
हाम्र्रो सम्बन्ध
केही बलमिच्याईहरुमा
केही विद्रोहका स्वरहरुमा कुण्ठित
पाथिभरा देवीको पाउमा
श्रद्धाको पूmल चढाउन नपाई
वियोगी पथ रोज्दैछ
कामाख्या देवीको बरद आशिष
थाप्न नपाई ब्रह्मनाल तकिया लाउँदैछ
तिम्रो डल झिल जत्तिकै कन्चन
मेरो प्यारो फेवातालमा
केही अहंकार अनि केही अतिशयोक्तिहरु
सप्तकोशीका मनसुनी भेल सरी
उद्दण्डता बाढी आएको छ
तिमी चकमन्न छौं तिम्रो मौनता भित्र
हाम्रा आस्थाहरु
स्वाभिमानको अजंग शालिक उभिएको
अस्मिताको समरभूमिमा
घात प्रतिघात गरिरहेछन्
युगौंदेखि अपहेलित बहादुर र भैयाहरु
अब न्याय पाउने अभिलाषामा
मनको सीमा काँढेतारले बेरा बार्न उद्वेलित छन्
त्यसैले अब हामी
ती लामा रात काट्ने अलौकिक प्रेमालापलाई
उध्याएर रातको जूनले
स्वाभिमानका बाणहरु तिर्खादैछौं अनि
छामेर एक अर्काका मर्म पानपाते मुटुमा
वेदनाका मूल फुटाउँदैछौं
दुखेर अभैm कति दिन बस्ने हो प्रिय ?
थाहा छ तिमी कहाँ झरी पर्दा
हामी कहाँ छाता ओड्नु पर्छ
त्यसैले सकिन्छ भने अब
तह लाएर उन्मादहरुलाई
केही त होला अब कि तिमी कि म
कि धोई पखाली कलुषित रागहरु
जय पराजय भन्दा पनि माथि
शुभप्रभातका सन्देशहरुसँग अब
अजर अमर हुने गरी स्वीकारोक्ति
हाम्रा आत्मसम्मान र स्वाभिमानहरु प्रति
कि रातकी रानीको सुवासमा फेरि
मगमगाउँदै हाम्रा मुहार पुस्तिका भित्ताहरु
कि प्रेम सन्देश सँगै हजारौं रंगिन मुटु चित्र
विगतमा भन्दा अझ कसिलो बनाउँदै
हाम्रो प्रेम ।

(मेचीनगर –६ काँकरभिट्टा)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: