कुकुर मात्रै छ स्वतन्त्र

यस संसारमा स्वतन्त्र भएर बाँच्नु जति आनन्द केहीमा छैन, तर मान्छे भन्दा बाँधिएको कुनै प्राणी छैन संसारमा । प्राणीहरु त बाहिरी बन्धनमा भएपनि भित्रबाट मग्न हुन्छन् किनकि मान्छेको जस्तो चेतना नभएको कारण उनिहरुमा भित्री तनाव हुँदैन ।

मान्छेको यही चेतनका कारण मान्छे आफैंमा भित्र बाहिर दुवै पक्षमा बन्धनमा रहेका छन् । मान्छे कल्पना गर्छ पंक्षी जस्तै स्वतन्त्र भएर उँड्न पाए ? तर स्वतन्त्र भएर हिंड्न त नपाईरहेको अवस्थामा उँड्नको कुरा त कल्पनामा मात्रै सम्भव हुने भयो ।

प्राकृतिक रुपमा रहेका जङ्गलमा रहेका जनावरहरु र खुला आकाशमा उँड्ने (पिंजडा र चिडियाघर भन्दा वाहिरका) पंक्षी भन्दा वाहिर यस संसारमा कोही स्वतन्त्र छैनन् ।

जङ्गली जनावर त स्वतन्त्र होलान् तर हामीले हामी बाँचेकै जीवन शैलीमा देख्न सक्तैनौं, जङ्गल नै जानु पर्छ, त्यहाँ जाँदा पनि त्यो स्वतन्त्रता देख्न पाइन्छ भन्ने हुँदैन । कहिले काहीँ घरमा मुसा, छुचुन्द्राहरु देखिन्छन् तर ती पनि स्वतन्त्र छैनन्, नदेखिउन्जेल मात्रै देखे पछि तिनिहरुलाई मार्ने योजना सुरु भइहाल्छ, त्यसैले तिनिहरु स्वतन्त्र हो भन्न मिलेन । के छ त यो संसारमा स्वतन्त्र जसलाई मान्छेले आफ्नो दैनन्दिनीमा देखिरहेको होस् । यही सोचमा कहिले काहीं घोर्रिरहन्छु ।

एकदिन माइत जानका लागि स्कुटिमा हुँइकिरहेकी थिएँ । हिंड्दा हिंड्दै स्कुटी अगाडि अचानक एउटा कुकुर आयो । झट्टै स्कुटी ब्रेक लगाउनु प¥यो, लड्न त लडिन तर लड्ने सम्भावना नभएको होइन, त्यस पटक मात्रै होइन धेरै पटक यसरी नै बाटामा अचानक आएका कुकुरहरुका कारण थोरैले लड्नबाट बचेकी छु ।

म त बाँच्न सफल छु, तर मेरा जीवनसाथि कति पटक बँच्दा बँच्दै एकपटक कुकुरकै कारण लडेर घाइते पनि हुनुभएको छ । त्यही बेला मैले फेसबुकमा स्टाटसमा लेखेकी थिएँ ‘यी खुल्ला हिंड्ने, मान्छेलाइ एक्सिडेन्ट गराउने कुकुरहरुको जिम्मा सरकारले लिनुप¥यो’ भनेर । धेरैले ‘आफू कुदाउन नजान्ने अनि सरकारलाई जिम्मेबार ठान्ने ?’ भन्ने खालका प्रतिक्रिया पनि दिएका थिए । तर दुर्घटनाको महत्वपूर्ण कारण भनेको खुला छाडिएका पशु, बाख्रा र वेवारिसे कुकुर नै हुन् ।

पशुहरुबाट भएको दुर्घटनाको जिम्मा पशुधनिहरुले लिनु पर्छ तर कुकुरबाट भएको दुर्घटनामा घर पालुवा छ भने व्यक्तिले नभए सरकारले नै त्यसको जिम्मा लिनु पर्छ भन्ने लाग्छ । व्यक्तिले पालेका भन्दा वाहिर, जस्को जिम्मेबार कोही पनि हुन सक्दैन त्यसको जिम्मा सरकारले नै लिने हो ।

यसरी सडकमा जतापनि भेटिइरहने, गाउँघरमा डुलीरहने, भुकिरहने यस्ता भुस्याहा कुकुर भन्दा स्वतन्त्र ता मैले केही देखिन । बाख्रा, गाई भैंसी, भेडा, च्याङ्ग्रा आदि सबै सबै मान्छेकै अधिनमा हुन्छन् । यी भुस्याहा कुकुर न तिनिहरुलाई कसैले बाँधेर राख्छ,न कसैले आफ्नो अर्डर अनुसार काम गर्न लगाउँछ, न खानका लागि मालिकको, मान्छेको समय पर्खनु पर्छ, बाटाहरुमा, गल्लीहरुमा, फोहोरहरुमा जे भेट्यो त्यही खायो डुल्यो ।

मान्छेले यसरी सोचेको छैन कुकुरका बारेमा । अहिलेको यो शहरीया समयमा पनि एउटा जनावर, कसैको अधिनमा नरही, जङ्गलमा होइन, यतैउतै मान्छेहरुकै वरिवरि स्वतन्त्र भएर हिँडिरहेको छ । यो अचम्मको कुरा होइन ? के चै छ र कुकुर जसरी निस्फिक्री बाँच्ने ? अहिलेको समयमा जङ्गली जनावर पनि जङ्गलमा यसरी निस्फिक्रि हिंड्न पाएको छैन ।

फोहोरमै बस्ने भएपनि सुँगुरले पनि स्वतन्त्र भएर बाँच्न पाएको छैन, उ मान्छेको स्वादका लागि मात्रै बाँचिरहेको हुन्छ, यी भेडा बाख्रा, कुखुरा, खसि, राँखा यी सबैको आयु मान्छेको स्वाद सम्म मात्र, अर्थात मान्छेको काम पूरा गर्ने सम्म मात्रै हुन्छ, कुनै जीव त्यस्तो छैन जो मान्छेको स्वार्थ पूरा गर्न भन्दा वाहिरको भएर पनि यसरी बाँचेको ।

त्यो कुकुर मात्रै हो, जसले न कहिल्यै कसैको खेत जोत्नका लागि दाइनु परेको छ, न मान्छेको स्वादका लागि काटिनु, मारिनु परेको छ (नेपाली समाजमा) । कुखुरा खसी त केही कथम मार्ने समय नभै, यस्तै दुर्घटनामा मरिगयो भने पनि मरेपछि पनि बाँकी राख्तैनन्, कुकुर मात्रै हो जो बाँच्ता पनि मर्दा पनि स्वतन्त्र रहने । ‘कुकुर पनि खान दिएपछि एकपटक भुकिदिन्छ’ भन्ने उखान प्रसस्तै सुनिन्छ गाउँघरमा ।

तर त्यो भुकाइमा पनि बाध्यता हुँदैन, भुक्छस् भने मात्रै खान दिन्छु नभए दिन्न भनेकोले भुकिदिएको होइन उसले, खाएपछि भुक्नु सायद उसको प्रकृति हो, भुकिदिन्छ, मान्छे यसमा खुसी हुन्छन्, मान्छेको वरिपरि बस्न रमाउँछ, यही हो मान्छेहरुका मनमा कुकुर प्रति सकारात्मक भावना आउने एउटा कारण ।

विरालो पनि त हो नि ? भन्ने कुरा आउँछ तर कुकुर जस्तो स्वतन्त्र हुँदैन विरालो । कहीँ न कही कुकुरको तुलनामा विरालो मान्छेहरुमा बढी आश्रित हुन्छ ।

मुसा खानका लागि पनि उसले मान्छेको घरभित्र पस्नु पर्ने हुन्छ, दुध, दही केही छाड्दैन विरालाले, विशेष नेपाली समाजमा विरालोलाई अशुभ मानिने हुनाले बाटामा हिंड्ने विरालाहरु वाटामा कुदिरहेका गाडी, मोटरहरुबाट सुरक्षित भन्दा पनि तिनिहरुकै निशानामा परिरहेका हुन्छन् ।

एक त भुस्याहा कुकुर जस्तो जतासुकै विरालाहरु हुँदैनन्, भएपनि घरहरुमा आश्रित हुन्छन्, वाहिर फेर भैहाले पनि मान्छेहरु तर्किने, त्यसलाई खेदाउने गर्छन्, कुकुर जस्तो मग्न भएर बाँच्तैनन् ।

यसको अर्थ कुकुर पनि सम्मानित छन् भन्ने होइन्, यसैपनि ‘कुकुर’ भन्दा तल्लो स्तरको गाली नै छैन हाम्रो समाजमा । तर विरालाको तुलना गर्दा, स्वतन्त्रताको कुरा गर्दा कतै न कतै कुकुर नै माथि छ ।

‘कुकुरको जस्तो जिन्दगी’ भनेर अति नै घृणित संज्ञाबाट बोलिन्छन् कुकुर हरु तर दुनियाँमा, विशेष नेपाली समाजको कुरा गर्दा कुकुर जसरी स्वतन्त्र, र मनोमानी तरिकाले बाँच्ने अर्को प्राणी छैन हाम्रो समाजमा ।

हिंड्दा हिंड्दै, कुद्दा कुद्दै घरमा बस्दा बस्दै फुत्त निस्कने यी कुकुरहरुले हाम्रो समाजको प्रकृतिमा कहिं न कहिं सुन्दरता थपिरहेका छन् । गाउँघरमा धन्दा गर्दागर्दै फुत्त जुठेल्नामा आईपुग्छन्, धन्दागर्नेले थाहै नपाई ‘आच्चे, आच्चे !’ भनिरहेका हुन्छन्, माछामासु काटेका ठाउँमा, मरेका सिनोहरु खाएर प्रकृतिलाई स्वच्छराख्ने काम थाहै नपाई गरिरहेका हुन्छन् ।

कहिले काहिं यसै पनि शितल ताप्नका लागि घरको आडमा आएर धकिरहेका हुन्छन् कुकुरहरु । कुकुरको यो स्वतन्त्रता सधै.भरि यस्तै रहिरहोस्, यो पनि सकियो भने हामे समाजको प्राकृतिक सुन्दरता प्रदान गर्ने एउटा पाटो नै हराउँछ ।

लेखक ः खगिन्द्रा खुसी

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: