किन हुन्छन् पार्टीमा आन्तरिक झगडा ?

  प्रकाशित मिति
४ मंसिर २०७७, बिहीबार १२:२७


नेताको अयोग्यताको सजाय जनताले भोग्नुपर्छ । जति ठूलो नेता त्यति ठूलो प्रभाव । नेता योग्य, असल, निस्वार्थी र सक्षम भइदिदा त्यसको लाभ पनि जनतालाई नै प्राप्त हुन्छ ।

घरको मूली अर्थात् परिवारको नेता अक्षम र खराव भए पहिलो सजाय भोग्ने परिवारका सदस्य हुन्छन् र त्यसपछि छिमेकी हुँदै समाज । तर, परिवारको मूली असल, क्षमतावान, दूरदर्शी र परिवारको हितलाई नै आफ्नो स्वार्थ पुरा भएको सोच्ने भयो भने त्यसको लाभ पहिले परिवारका सदस्यले र त्यसपछि छिमेकी हुँदै समाजले नै प्राप्त गर्छन् ।

समूह, सामाजिक सङ्घसंस्था, व्यावसायिक, धार्मिक प्रतिष्ठान, राजनीतिक दल आदिको समुचित विकासका लागि नेता र पद्दतिको ठूलो भूमिका हुन्छ । जहाँ पद्दति बलियो हुन्छ, पद्दतिले नियमित काम गर्छ अर्थात विधिको शासन स्थापित हुन्छ त्यहाँ नेताको नियमित भूमिका पद्दतिले निर्धारण गरे बमोजिम हुन्छ ।

जब नियमित भूमिकाभन्दा माथि उठेर वा अगाडि बढेर कुनै महत्वपूर्ण कार्य देश, समाज, प्रतिष्ठान, दलले गर्नुपर्ने अवस्था आवश्यकता महशुस हुन्छ त्यो बेला नेताले पहल लिनुपर्छ, लिन्छन् । यस्तो पहलमा सबैको र नभए धेरैभन्दा धेरैको सहमतिबाट स्थापित पद्दतिभन्दा माथि र फराकिलो निर्णय लिइन्छ । यस्तो निर्णय वा कार्य पुनः पद्दतिमा रुपान्तरण हुन पुग्छ ।

जस्तै नेपाल सरकारले कालापानीदेखि लिपुलेक लिम्पियाधुरासम्मको राजनीतिक नक्सा जारी ग¥यो त्यसमा देश एक ढिक्का भएर प्रस्तुत भयो । नेपालमा राजसंस्थाको अन्त्य हुनु, गणतान्त्रिक संविधान बन्नु, संघीयता लागु हुनु जस्ता कुरामा देश एक ढिक्का त भएन तर अत्यधिक बहुमतले निर्णय गरेर यस्ता दूरगामी महत्वका निर्णय भएका हुन् ।

चुनाव हुनु, सरकार बन्नु, सरकार फेरिनु जस्ता कुरा पनि देशका लागि नियमित र पद्दति अनुरुपका काम हुन् । यद्यपि खास पार्टी र खासखास व्यक्तिका लागि अति नै महत्वपूर्ण हुन सक्छन् ।

समाजमा व्यक्ति, परिवार, समूह, सङ्घसंस्था, प्रतिष्ठान आदि हुन्छन् । देश हुनका लागि समाजका अतिरिक्त भूगोल, सरकार र सम्प्रभुताको आवश्यकता पर्छ । कुनै पनि देशको सबैभन्दा ठूलो, बैधानिक र शक्तिशाली संस्था भनेको सरकार हो । विभिन्न देशमा सरकार बन्ने आ–आफ्नै प्रकृया हुन्छन् । त्यसको निर्धारण त्यही देशको संविधानले गरेको हुन्छ ।

नेपालमा राजनीतिक दलहरुले निर्वाचनको माध्यमबाट संसदमा बहुमत पु¥याएर सरकार बनाउने गरेका छन् । अर्थात् सरकार बनाउने काम राजनीतिक दलहरुले गर्छन् । नेपालमा अहिलेसम्म जति पनि सरकार बने ती कुनैले पाँच वर्ष (एक अवधि) पूरा गर्न पाएका छैनन् । २०४७ साल पूर्वको दोष राजालाई दिन सकिएला तर त्यसपछिको अस्थिरताको दोष राजनीतिक दल र तिनका नेताले लिनु पर्छ । यसको मूल कारण भनेको पार्टीभित्र सुशासन कमजोर हुनु र पद्धतिले ठिकसँग काम नगर्नु हो ।

नेपालमा आधुनिक युगको शुरुवात भनेर २००७ सालपछिको समयलाई मानिन्छ । २०१५ सालमा पहिलो आम निर्वाचन भयो र राजनीतिका शिखर व्यक्तित्व मानिएका बीपी कोइराला नेपालमा निर्वाचित पहिलो प्रधानमन्त्री भए । त्यो बेलादेखि नै मान्ने हो भने पनि यो बेलासम्म कुनै सरकारले पनि स्थिरता प्राप्त गर्न सकेन र कुनै सरकार औधी लोकपृय थियो, राम्रा काम गरेको थियो भन्ने अवस्था रहेन ।

२०५१ मा प्रधानमन्त्री मनमोहन अधिकारीको नेतृत्वमा बनेको नेकपाको ९ महिने सरकार लोकप्रिय र केही राम्रा कामको जग बसालेको सरकारको रुपमा लिइन्छ । तर त्यो पनि सबैका लागि स्वीकार्य भएन त्यसैले त्यो सरकार ढालियो । सरकार ढालेको मात्रै होइन तत्कालीन नेकपा एमाले विभाजन गराइयो, गरियो । त्यसपछि र त्यस अघि पनि के के भयो राजनीतिमा सामान्य चासो राख्ने सबैलाई थाहा छ ।

नेपालमा यति धेरै अस्थिरता किन छ र हुन्छ ? यसको बारेमा अलिकति चर्चा गरौं । बीपी कोइराला, पुष्पलाल, कृष्णप्रसाद भट्टराई, मदन भण्डारी, मनमोहन अधिकारी, गणेशमान सिंह आज कुनै पनि नेता हाम्रो माझमा हुनुहुन्न र नेपाली राजनीतिमा निकै सम्मानका साथ यी नेताको नाम लिइन्छ । तर जब यी नेता जीवित थिए, अझ कार्यकारी पदमा थिए त्यो बेला यी कुनै पनि नेताको आलोचना आजका कार्यकारीको भन्दा कम थिएन ।

खुट्टा तान्ने, लडाउने, छेक्ने, बदनाम गराउने, अफवाह पैmलाउने जस्ता काम त्यो बेला पनि खुव भयो । किन यो सब भयो ? एउटै पार्टीमा हुँदा र साख्खै दाजुभाइ भएर पनि बीपी कोइराला र मात्रिका प्रसाद कोइराला किन एकअर्काका बिरुद्ध थिए । कृष्णप्रसाद भट्टराई, गिरिजा कोइराला, गणेशमान सिंह किन मिल्न सकेनन् ? मदन भण्डारी, झलनाथ खनाल, सीपी मैलानी किन मिल्न सकेनन् ? प्रचण्ड, बाबुराम, मोहन बैद्य किन मिल्न सकेनन् ? कुनै समय एकै ठाउँमा उभिएका माधव नेपाल र केपी ओलीको सम्वन्ध किन यति तिक्ततामा पुगेको छ । शेरबहादुर देउवा र रामचन्द्र पौड्याल लोकतान्त्रिक भनिएको नेपाली कांग्रेसको एक नम्वर र दुई नम्वरका नेता भएर पनि किन यत्रो विश्वासको संकट ?

हिजो एकअर्काका कट्टर आलोचक केपी ओली र प्रचण्ड किन हठात मिले र दुईवर्ष नपुग्दै किन फेरि मिल्न सकेनन् ? नेताहरु एकआपसमा निरन्तर झगडा गर्ने र जनताले नेताहरुप्रति आक्रोस पोख्ने काम किन भइरहन्छ ? अहिले भइरहेका पार्टी भित्रका झगडालाई यही श्रृङ्खलाको निरन्तरताका रुपमा बुझ्नुपर्छ भन्ने लाग्छ । पार्टी भित्रको झगडा त्यतिखेर धेरै चर्किन्छ जब पार्टी बलियो हुन्छ, पार्टी सरकारमा हुन्छ वा सरकारमा पुग्ने सम्भावनाको एकदमै नजिकमा हुन्छ ।

हाम्रो समाज आर्थिक रुपमा मात्रै पछौटे होइन सामाजिक चिन्तनका हिसावले पनि निकै पछौटे भएको महशुस भएको छ । कुरा जतिसुकै आदर्शका गरे पनि व्यवहारमा सबैको समानता केमा देखिन्छ भने अरुको अर्थात् आफ्ना समकक्षीको असफलतामा आफ्नो सफलता खोज्ने गरेको देखिन्छ । व्यक्तिगत इस्र्या, डाहा, कुण्ठा, पदको लोभ, भोगको लोभ, पटकपटक पदमै भइरहनु पर्ने इच्छा, सम्पतिको मोह, परिवार र निकटमा भएकालाई अवसर दिने दिलाउने कुराबाट लगभग सबै नेता ग्रस्त भएको अवस्था छ ।

अर्को समस्या पनि छ । कुनै नेता साँच्चिकै आदर्शवान्, निष्ठावान, त्यागि, निस्वार्थ सेवा गर्ने र देश एवं जनताको हितमा कर्म गरिरहने रहेछ भने पनि उसलाई काम गर्न पदको आवश्यकता पर्छ । पद प्राप्त गर्न त्यस्ता नेताले समेत स्वार्थी र ढोंगी नेतासँग प्रतिस्पर्धा गर्नुपर्छ । चाहे त्यो पार्टी भित्र होस् वा पार्टी बाहिर ।

अवस्था कस्तो छ भने बाटामा हिँडिरहेको कुनै मानिसलाई दुईजनाले आएर भकाभक कुटन थाले, किन कुटेको भनेर सोध्नसम्म पाएन, घाइते बनाए । घटना भएपछि पुग्नेले सबैलाई उस्तै देख्छन् र भन्छन् तिनजना झगडा गर्र्दैथिए । पुलिसले घटना पछि भेट्यो भने छानविनका लागि भए पनि तिनै जनालाई लगेर केरकार गर्नै पर्यो। अझ थुनिनु प¥यो, मुद्दा नै पर्यो भने निर्दोषको के हालत होला ? म आफ्नो गन्तव्यमा जाँदै थिए मलाई यिनले समातेर कुटे भन्दैमा कसैले पत्याउनै पर्छ भन्ने छैन । निर्दोष भएको प्रमाण आफैले दिनुपर्छ ।

राजनीतिमा पनि यस्तै हो । म काम गर्छु, देशको सेवा गर्छु, व्यक्तिगत कुनै स्वार्थ राख्दिन, गलत गर्दिन भनेर मात्रै पुग्दैन । हुल बाँधेर लडाउन आउनेका बिरुद्ध लड्ने सामथ्र्य (धनबल, जनबल, कुटनीति)को जोहो नगरे राजनीतिमा जतिसुकै बेला पनि आफ्नै साथीले बल्र्याङ्ग उत्तानो पार्ने जोखिम सँधै रहन्छ । किनकि नेताका समूहको मूल्य र मान्यता अरुलाई पछारेर आफु नेता हुने हो । नेता भएपछि नेता भइरहन आफुलाई धनबल र जनबलले अझैं सुसज्जित बनाउने हो । जनबलका लागि पदको पजनी गर्ने धनबलका लागि पैसा दिन सक्नेहरुसँग सामिप्यता बढाउँदै लाने हो ।

भनाईमा आफ्नो प्रतिष्पर्धी वास्तवमा शत्रु खुकुरी बोकेर लड्न आयो भने काठको लुते लौरो बोकेर लडाई गर्न जानु हुँदैन । कि भाग्नु पर्छ, होइन लडाईमै जाने हो भने भए बन्दुक नभए पनि खुकुरी नै चाहिन्छ । खुकुरी भएर मात्रै हुँदैन चलाउने बल र कला दुबै चाहिन्छ ।

नेकपामा पहिले पहिले झगडा हुँदा सिद्धान्तको लेप लगाइन्थ्यो । कार्यकर्ता त्यसैमा विभाजित हुन्थे । यो पटक त्यो छैन । कुरा सिधा छ । तिमी बलियो हुँदै जाँदा, सफल हुँदा, अग्लिदा हामीलाई खतरा भयो, हामी निरर्थक हुने भयौं । हामीले भनेभनेको गर्नु पर्नेमा मनखुसी गर्यौं। अब तिमीले छाड्नु पर्छ हामीलाई दिनुपर्छ । सजिलै छाड्छौ कि घोक्र्याउँ ?

बीपी कोइरालालाई सहोदर दाजु एउटै पार्टीका समकक्षी नेता मात्रिका प्रसादले पार्टी प्रमुख र प्रधानमन्त्री मध्ये एक छाड्नु पर्छ भनेर जिद्दी कसेपछि पार्टीको अध्यक्ष बनेका मात्रिका राजासँग टाँसिन पुगे । कांग्रेसलाई पार्टी जोगाउन हम्मे परेको इतिहास छ । निष्ठावान नेता कार्यकर्ता थिए, बीपी जस्तो उच्च व्यक्तित्व र त्याग भएका दूरदर्शी नेता भएकाले कांग्रेस जोगियो । अब शेरबहादुरको काँधमा भएको नेकां क्विन्टलको हुन्छ कि दुईचार सेरको त्यो शेरबहादुरले नै जान्ने हो ।

नेकपाको भविश्य अप्ठ्यारोमा छ । नेकपाले बहुमत पाउँदा काम गर्न सकेन भनेर आरोप लाउनेहरुले यो सरकारलाई कति सहयोग गरेका छन् त्यो सबैले थाहा पाउने गरी छ । प्रायः सबै गौडामा भ्रष्ट, कामचोर, कमिशनखोर, कमिशन मसिहा, कमिशनजीविहरुको बोलवाला भएको मुलुकमा रातारात ठूलो परिवर्तन र चमत्कार कोही भए पनि हुँदैन । अस्थिरताको इतिहासमा रमाएका र अवसरको खोजीमा घरघरमै आगो लगाउन उद्दत रहेको समाजमा जति काम भएको छ त्यो कम हुँदै होइन ।

कम्तिमा पार्टीको पूर्ण सहयोग भएको भए योभन्दा धेरै काम हुने कुरामा कुनै दुईमत छैन । पार्टीले सरकारका दैनिक काममा हस्तक्षेप गर्ने र नेताले भाग माग्न थालेपछि समस्या बल्झिएको छ ।

प्रधानमन्त्री केपी ओली कुनै कमजोरी नै नभएका नेता होइनन् । औसतमा समकालिन अरु नेताभन्दा अगाडि छन् । अरुलाई लपेटेको परिवारवादले यिनलाई लपेट्न सक्दैन । पैसा कमाएर सन्तानका लागि थुपारिदिन सन्तान नै छैनन् । पटकपटक मरेर पाएको फाउ जीवनमा केही गरौं भन्ने हुटहुटी छ । आँटिला छन् । कसैसँग नझुक्ने नदब्ने स्वभाव छ ।

समकालिन अरु नेताभन्दा बढ्ता अध्यन गर्छन्, कुरा बुझ्छन् तर अरुका कुरा कम सुन्ने, आलोचकहरु प्रति खरो र तिखो टिप्पणी गरेर मान मर्दन गर्ने स्वभावले कतिपय समर्थकको पनि मन कुँडिएको हुन सक्छ । उनले पाएको पदको उचाई र जिम्मेवारीको कारण कटुबाणीहरु बोल्नु हुँदैन । आवेग र आवेसमा निर्णय लिनुभन्दा पर्खेर, सोचेर बोल्दा, निर्णय लिदा बढी उपयुक्त हुन्छ । आलोचना पनि ध्यानपूर्वक सुन्नुपर्छ । गल्ति नै भएको भए सच्याउनु पर्छ, सच्याएको पनि देखिन्छ, पूर्वाग्रह मात्रै देखिए त्यसलाई सालिन पाराले जवाफ दिन सकिन्छ । मनसाय गलत नभएका, जिम्वेवारी पूरा गर्न सक्ने र लाग्ने क्षमतावान् मानिस आलोचक नै भए पनि जिम्वेवारी दिन कन्जुस्याई गर्नुहुन्न ।

माग्न आउने, सधै वरिपरि धाउने गणेशहरुभन्दा क्षमता भएका आलोचकहरुबाट देशको हित हुन्छ भने तिनलाई काम लगाउनु उत्तम हुन्छ । आफ्नो नजिकमा सजिलै पहुँच पाउने मानिसलाई भित्रैबाट चिन्न आवश्यक छ । स्वार्थीहरु धेरै चिप्ला हुन्छन् । तिनले सत्तालाई प्रभावित गर्न र स्वार्थ पूरा गर्न जे गर्छन्, जे भन्छन् । ती आफ्नाजस्ता लागे पनि वास्तवमा ती सत्ताका नजिकका स्वार्थी हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
हाम्रो फेसबुक पेज