चिलिमकोटको चिया बगानसम्म…..

  प्रकाशित मिति
८ फाल्गुन २०७७, शनिबार १५:११


यात्रा संस्मरण

केही समय अघिदेखि एउटा पृथक यात्राको योजना गरिरहेका थियौँ । निकै समय यसैउसै कुराकानी मै सीमित भयो र साहित्यकारहरुसँगको त्यो यात्राको योजना सरेर फागुनमा पुग्यो, चिसोको कारणले । त्यसपछि अन्य यात्राको योजना नबनाई चुपचाप घरमा बसेकी थिएँ ।

अचानक २०७७ साल मंसिर ५ गतेका दिन योजना नै विनाको यात्रा तयार भयो । म मेरा जीवनसाथी खेमराज दाहाल, छोरो प्राञ्जल गायिका पवित्रा ओली, हल्दिबारी गाउँपालिकाका सुचना अधिकृत राजन न्यौपाने तथा उहाँकी जीवन सँगिनी ममता निरौला । यति सदस्यको यात्रा टोली विहान दस तीसमा घरबाट निस्कियौँ । मूल बाटोमा निस्कँदा पवित्रा जि अघि नै बाटोमा आएर पर्खिरहनु भएको थियो । हामी तीन जना भएकोले सरस्वति चोकबाट छोरोलाई पवित्रा जीको स्कुटीमा राख्याँै र उत्तरतिर लाग्यौँ ।

शहिदचोक पुग्दा राजन सर तयार भैसक्नुभएको भएपनि मूलबाटोमा आइपुग्न समय लाग्यो । झण्डै पन्ध्र मिनट राजन सरको घर अगाडिको अलमल पछि राजन सर र ममता दिदी सँगै यात्रा अगाडि बढ्यो । त्यहाँबाट पवित्राजीले गफ गर्ने साथि हुन्छ भनेर ममता दिदीलाई स्कुटीमा राख्नु भयो, छोरो प्राञ्जल राजन सरको बाइकमा बस्यो । चन्द्रगढी देखि चाराली सम्मको बाटो यति फराकिलो र सजिलो भएको छ, भनिसाध्य छैन । दुरीका हिसावमा बिर्तामोड चन्द्रगढीबाटो छोटो भएपनि हामी चाराली चन्द्रगढीकै बाटोबाट यात्रा गर्ने गर्छाैँ सधैं विर्तामोड जाँदा । त्यही सजिलो बाटोबाट चारालि पुग्न कतिबेर पनि लागेन ।

चारआलीमा एकछिन रोकेर हामी खेमसर र म सुन्तला किन्न इलाम रोड गयौँ । त्यहाँबाट एकसय चालिस रुपैयाँ किलोको दुईकेजी सुन्तला किनेर झोलामा राख्यौँ । फेरि अगाडि बढ्यौँ । चारालिबाट बिर्तामोड जाने बाटोमा जङ्गलको बीचबाट पश्चिमतिर जाने पीच बाटो छ, त्यही बाटोबाट छि¥यौँ हामी । साना, ठूला सालका रुखका फेदमा सेतो रङ लगाएर आकर्षक बनाइएको छ, सेल्फी हान्नेका लागि काम पुगीहाल्यो त्यतिभए । फोटो खिचौँ खिचौँ हुँदाहुँदै सालका रुख भएजति कटिहाल्यो । पवित्राजीको स्कुटीलाई भेट्दा पल्लो छेउको चिहानघारी भित्र बनाएको एक दुई चौतारी भएको ठाउँमा पुगियो । त्यहीँ भएपनि नखिची छाडिएन । यो यात्राको सबैभन्दा पहिलो तस्वीर त्यहीँ खिचियो । पन्ध्र मिनेटको अलमल र फोटोखिचाई पछि सालबारीको बाटो हुँदै शनिश्चरे तिर लाग्यौँ । शनिश्चरेबाट पनि उत्तरतिर लाग्यौं । मेरो जन्मथलो खुदुनाबारी प्रवेश गरेदेखि नै फुरुङ्ग भयो मन, त्यहाँको एउटा घुम्ने ठाउँ भनेको अहिले बन्दै गरेको कैंदले पार्क, खुदुनाबारीको पूर्वी चोकबाट तल बाङ्गेहोली(फाल्गुनन्द पार्क बनाउँदै गरेको ठाउँ) निस्कने योजनाले त्यहीँबाट दक्षिण लगें मैले ।

जनता मावि पढ्दा प्रसस्त घुमेका ९ नम्बरको पूर्वीभागका घरहरु धेरै बढेका रहेछन् । फाल्गुनन्द पार्कको ठूलो पोखरी वर्खाको पानीले सबै भत्काएछ । पहिलाको बाङ्गेहोली जस्ताको त्यस्तै भएछ फेरि । हेर्न लायक केही थिएन । त्यहाँदेखि कैंदले पार्क (रोज गार्डन बन्दै गरेको ठाउँ) तिर लगें । भदौमा मात्र मैले नै चार हजार सयपत्री फूलका विरुवा उपलब्ध गराएकी थिएँ जुकेखाडी वन उपभोक्ता समितिलाई । रोप्न राम्रै गरी रोपेको भएपनि समय वितेको र मलको मात्रा नमिलेको कारण फूल त्यति सप्रिएर फुलेनछन् । त्यही फूलबारीमा पुगेर फोटो खिच्ने र टिकटक बनाउने काममा एकछिन् अल्मलियौँ । जुकेखाडी सामुदायिक वन उपभोक्ता समिति विभिन्न योजना ल्याएर नयाँ तरिकाले पर्यटकीय स्थल बनाउने काम गरिरहेको त्यसठाउँमा रोज गार्डेन बनाउनका लागि धेरै रोज प्लान्टहरु रोपिएको रहेछ ।

त्यहाँ लगभग आधा घन्टाको अलमल पछि हामी फेरि मेरो माइतीघर (पहिलाको खुदुनाबारी–७ अहिले अर्जुनधारा ३ कुम्भिटार) पुग्यौं । बुबा आमा, भाउजु र भदा भदै हामीलाई नै पर्खेर बसिरहनु भएको रहेछ । भाउजुले चिया बिस्कुट र सेलरोटी तताएर दिनुभयो । त्यही खाउन्जेल बसेर छोरो प्राजललाई त्यहीँ छाडेर हामी फेरि बाटो लाग्यौँ । मेरो माइतीघरबाट सिधा उत्तरतिर । सुखानी खोला तरेर जङ्गलभित्र छि¥यौं । जङ्गल प्रवेश गर्नासाथ आउने सुखानी पार्क । देशमा प्रजातन्त्र ल्याउनका लागि ज्यान दिने पाँच सहिदहरुलाई मारेको ठाउँमा पुगेर फेरि एकछिन सहिदका सालिकहरुसँग तस्वीर खिच्ने र टिकटक बनाउने काम ग¥यौँ । त्यहाँ पनि निकैबेर अलमल गरेपछि त्यहाँ भन्दा पनि उत्तर लाग्यौं । जङ्गलै जङ्गलको बाटो गरुवातिर लाग्यौँ हामी । ज्यामद्वारको जंगल पुरानो समयमा धेरै प्रख्यात थियो । दुईतिर अग्ला अग्ला पहाड र घना जंगल भएको ठाउँ, त्यो समयमा त्यहाँ भन्दा दक्षिण सबै भागमा जंगलै जंगल थियो रे । घना जंगल, बाघ भालु लाग्ने । औलो लाग्ने । त्यहाँ भित्र छोडिदिइसके पछि मान्छेले बाँच्ने अवसर कमै पाँउथे । त्यसैले पहाडतिर मात्रै मान्छेको बसोबास भएको त्यो समयमा पहाडतिर वद्मास गर्ने, अनैतिक व्यहारका र बौलाएका मान्छेहरुलाई त्यहीँ ल्याएर छाडिदिन्थे अरे । त्यही सुनाइको आधारमा केन्द्रीत भएर मैले ज्यामद्वार कथा लेखेकी हुँ ।

ज्यामद्वारको बाटो हुँदै सानामा एक दुइ पटक म इलाम मंगलबारे क्यावुङ (मावल) गएकी छु । पछिल्लो पटक चिसापानीका स्रष्टा शिवप्रसाद अधिकारीको पिताजी वितेको समयमा गएको सालमा त्यो वाटो हिँडकी थिएँ । यो पटक फेरि त्यही बाटोको रमाइलो यात्रामा सहभागी भइरहेकी छु, फरक साथिहरुसँग । जंगल भित्रका केही ठाउँहरुको दृष्य भिडियो भित्र कैद गरें मैले । गरुवाको सुक्रबारे बजार पुग्यौं । त्यहाँ सम्म म पटक पटक पुगेकीले बजार र त्यहाँ सम्मको बाटोको लागि म परिचित थिएँ, त्यस भन्दा अगाडिको बाटोको निर्देशन गर्दै पवित्राजी अगाडि बढ्नु भयो । पवित्राजीका जीवनसाथि चिलिमकोट चिया बगानमा जागिरे हुनुहन्छ । त्यसैले पवित्रा जी पटक पटक त्यहाँ सम्म पुग्नु भएकोले बाटो र ठाउँको बारेमा उहाँ जानकार हुनुहुन्छ । हामी उहाँको पछि लाग्यौँ ।

गरुवा बजार कटेपछि हामीले बोकेर लगेको सुन्तलाको सम्झना आयो । घाम पनि लागेकोले कतै बसेर सुन्तला खाने मन भयो । खेमसरले बाइकको गति तीव्र बनाउनु भयो र पवित्राजीलाई भेटियो । मैले पवित्राजीलाई सुन्तला खाने प्रस्ताव राखेँ । उहाँले “आइ त सक्यो, अव वहीँ पुगेर खाउँ” भन्नुभयो । हामी चुपचाप फेरि उहाँकै पछि लाग्यौं । एकैछिनमा एउटा चिया बगान सुरुभयो । साह्रै सुन्दर चियाबारीको बीचबाट आँखाभरि हरियाली सजाउँदै हामी अगाडि बढिरह्यौँ । पीच बन्नका लागि खनेर धुलैधुलो बनेको बाटो हिंड्दा हिँड्दै अलिकति उकालो, साना ग्याग्रेन ढुङ्गा भएको अलि अफ्ठ्यारो बाटोबाट उकालो लाग्यौं । छोटो तर निकै अफ्ठ्यारो त्यो बाटोमा पवित्रा जी र खेमसरले जवर्जस्ती बाइक उकाल्नु भयो, राजनसरको भने ममता दिदी उत्रनै पर्ने भएछ । त्यो उकालो कट्ने वित्तिकै एउटा फाँटिलो ठाउँमा इँकडा गरेको भुँइघरमा पुग्यौँ ।

पवित्राजी स्कुटी रोकेर घरभित्र पस्नुभयो । ‘उहाँको श्रीमान बस्ने क्वाटर रहेछ’ हामीले अनुमान गर्यौँ । नभन्दै एकैछिनमा श्रीमान गुरु मैनाली सहित वाहिर निस्कनु भयो उहाँ । राजनसरहरु पनि आइपुग्नु भयो । सफा सुन्दर माटोको आँगन वरिपरिको हेर्न लायक सुन्दर ठाउँको अवलोकन पछि हामी सबै घरभित्र पस्यौं । तातो पानी, किवी फल र हामीले सँगैलिएर गएको सुन्तला पनि त्यहीँ बसेर खायौं ।

हामीले एउटा निश्चित गन्तव्य राखेर यो यात्राको सुरुवात गरेका थियौँ । सानिमा हाइडूो पावरको अवलोकन । अहिले पुगेको ठाउँ भन्दा केही माथि रहेछ त्यो हाइडूो पावर । हामी त्यही अवलोकनका लागि फेरि गुरुसरलाई पनि यात्रामा थपेर त्यही हाइडूो पावरतिर लाग्यौं । चियाबारी र पहाडी पाखाहरु भएको सुन्दर प्राकृतिक मनोरम दृष्यहरु हेर्दै, ठाउँठाउँमा तस्वीर र भिडियोहरु खिच्दै खिचाउँदै हामी अगाडि बढ्यौँ । बीचमा एउटा खोला रहेछ । पानी धेरै थिएन । बगर मात्रै ठूलो भएको । त्यस बगरमा पनि थुप्रै फोटोहरु खिचियो ।

बगर सकिने बेलामा मात्रै थोरै ठाउँमा भेला भएको पानी । बाइक तार्नका लागि अफ्ठेरो नै थियो । खेमसरले जवर्जस्ती पानीबाट तार्नु भयो । हामी कट्यौ पानी । पवित्राजीले चप्पल खोलर तर्नुभयो, राजन सरलाई तर्दातर्दै ढुङ्गा आएर अल्झाएछ, लड्नु त भएन तर एउटा जुत्ता सबै भिज्यो । चिसो बढ्दैगरेको समयमा छालाको जुत्ता भिजेकोले चिसो लाग्ने डर लिएर अगाडि बढ्यौँ ।

सानिमा हाइडूो पावरको बोर्ड अलि अगाडि नै राखिएको रहेछ । बोर्डमै हामी सबैले एकदुई फोटो खिचिहाल्यौं । बाइक त्यहीँ राखेर हिंड्दै हिँड्दै मुख्य कार्यालय, डाइनामो घुमाएर विजुली निस्कने ठाउँ सम्मै पुगियो । वाहिरको गेट नै बन्द थियो । गेटका पाले पर बसिरहेका थिए । हामीले गेटमा बोलायौँ । उनी हामी भए ठाउँमै आइपुगे । हामीले भित्र हेर्न पाइने कि नपाइने? सोध्यौं । उनले सिधा नपाइने भने । हामी हस्रक्क प¥यौं । वहाँदेखि त्यही हेर्नका लागि आएका थियौ । भित्र पस्न नपाउने कारण चाहिँ कोरोना रहेछ । हामी सुरक्षित जान्छौं, कतै नछोई भन्यौं, उनी मानेनन् । माथिबाट हेरिरहेका हुन्छन् भने । त्यसपछि राजन सरले परिचय गराउनु भयो ।

पत्रकार, सञ्चारकर्मी, गायिका, सुचना अधिकृत भन्दै । उ बज्दै बजेन । खासमा यो ठाउँमा घुम्न जाउँ भनेर सुरुमा भन्ने व्यक्ति नै राजन सर हुनुहुन्थ्यो । हामी (खेमसर र म) सन्दकपुर, नभए अन्तुतिर जाने पक्षमा थियौं, दुईदिनेमा नजाने एकदिनेमा नै पुगेर आईहालौं भनेर उहाँले त्यताको योजना बनाउनु भएको तर समय वितिहाल्यो, दिन ढल्किहाल्यो फर्किने समय पनि नभएर त्यही दिन फर्कन सकेनौं । त्यसपछि गुरुसरले त्यहाँ चिनेको भाइ रहेछ उसलाई सोध्नुभयो । उ पनि विदामा रहेछ, हाकिमको बारेमा पनि सोध्नु भयो, केही गर्दा भित्र हेर्न नपाइने जस्तो भयो । एकदुइ पटक शालिन अनुरोध गर्दै, नहुने भएपछि अरु जोरजुलुम नगरी अब फिर्ने तरखरमा थियौं । फेरि मलाई पनि एकपटक अनुरोध गर्न मन लाग्यो ।

‘भाइ हामी त्यती टाढा देखि आएका, अवलोकन गर्न, हाम्रो हेराइ त्यसै खेर जाँदैन, तिमीलाई गाली गरेभने हामीले लेखेको लेख देखाइदिनु नि, तिमीलाई गाली गर्दैनन्’ भनें अरु पनि धेरै कुरा भनें तर यति भने पछि चाहिं एकैछिन है म इन्चार्जलाई फोन गर्छु भन्दै भित्रतिर कुदे । हामीमा फेरि केही आशा पलायो । उनी एकैछिनमा ज्याकेट लगाउँदै हामीतिर आए । ‘के भयो?’ गेटमा आइपुग्न नपाउँदै सोध्यौं उनलाई । ‘मैले इन्चार्जलाई नै बोलाइएिको छु, आउँदै हुनुहुन्छ भने । हामी चुपचाप उभिइरह्यौं इन्चार्ज नआइपुगुन्जेली । एकछिनमा हामी आएकै बाटोतिरबाट एकजना मान्छे हिँड्दै हिँड्दै आए । उनै रहेछन् इन्चार्ज । हामीले हाम्रो बारेमा धेरै भन्नु परेन । हामीले उनको नाम सोध्यौं, जीवन ढकाल रहेछ उनको नाम, बुटवल रहेछ घर । उनलाई हाम्रो परिचय समग्रमा दिइयो, कोही पत्राकार, कोही सुचना अधिकृत, कोही फालानो …. यसरी नै दियौ । उनले “अरुलाई त दिने गरेको छैन, त्यति टाढाबाट आएपछि कसरी नाइ भन्ने’ भन्दै भित्र गएर फोटो नखिच्ने सर्तमा हामीलाई भित्र लगे । उनैले घुमाए ।

भित्रको सबै प्रकृयाबारे बताए । पाइपबाट आएको पानीले डाइनामो घुमाएर वाहिर निस्कने पानी, धेरै गहिरोमा, धेरै अँधेरोमा मोवाइको लाइट बालेर हे¥यौं । यसवेला पानी कम भएर तीनवटामा दुईवटा मेसिन मात्रै घुम्दै रहेछ । २२ मेघावाट विद्युत निकाल्ने त्यो पानी फेरि त्यहाँबाट अलि तल पुगेर अरु ७ मेघावाट विद्युत निकाल्दो रहेछ । सानिमा माई हाइडूोपावर लि.माई जलविद्युत उत्पादन केन्द्र, दानाबारी, इलामको दोस्रो शाखा रहेछ तल्लो केन्द्र, त्यहाँ घुम्नका लागि अझ राम्रो ठाउँ थियो रे रात परेकोले त्यता जान भने सकेनौं । यसरी ढिलो गरेरै भए पनि ती इन्चार्जले हामीलाई हाम्रो उद्देश्य पूरा गर्न दिए ।

नेपालमा धेरै कुराबाट विकाश गर्ने सम्भावनाहरु छन्, त्यस मध्येको पहिलो सम्भावना, विश्वमा नै जलश्रोतको धनी भनेर चिनिएको देश नेपालमा अन्य सम्भावनाहरुको अभ्यास हुँदै होलान, हुन बाँकी होलान तर अभ्यास भैसकेको, धेरै अघिबाट नै उत्पादन पनि सुरु भइसकेको एकमात्र केन्द्र विद्युत उत्पादन केन्द्रको आफ्नो नजिक उत्पादन भइरहेको एउटा कम्पनीको, एउटा शाखा मात्र भएपनि हेर्न, अवलोकन गर्न सक्यौं । फिर्ने बेलामा उनी सँग सामुहिक तस्वीरहरु खिच्यौं, उनलाई हृदयदेखि नै धन्यवाद व्यक्त गर्दै विदा भयौं ।

साँझ परिसकेको थियो । राजन सर र ममता दिदीले अब मात्रै नआउने भनेर घरमा नानीबाबुहरुलाई विदा माग्नु भयो । हाम्रो बाबु प्रान्जल भने अघि नै खुदुनाबारी, माइतीघरमा छोडेर आएका थियौं, हामी सँगै जानका लागि हत्ते गरिरहेको थियो, लान मन पनि थियो तर बाटो अफ्ठेरो र बसाई अनिश्चित भएको कारणले उसले नमान्दा नमान्दै पनि खुदुनावारीमा छाड्न बाध्य भयौं । पवित्राजीको छोरो घरमा हजुरबा सँगै थिए । यसरी हामी तीन दम्पति मात्रै त्यहाँ बस्ने गरी हाइडूो पावरको परिसरबाट बाहिरियौं ।

झमक्क साँझ परेको थियो । मधुरो उज्यालोमा पारिपारिका हलुका निलो पहाडहरुदेख्दा म सानो हुँदा यही बाटो हिँड्दाको सम्झना आयो । सानै थिएँ, मावल क्यावुङबाट फर्कँदा आमा म र चन्द्रादिदी मात्र थियौं, हिँड्दा हिँड्दै रात प¥यो । त्यतैतिर कतै वास मागेर बस्ने कुरा पनि गरिहरनु भएको थियो तर लालमाटी (त्यस्तै लाग्छ नाम बिर्सेँ) भन्ने ठाउँमा कोही चिनेको मान्छे भएकोले त्यहाँ पुगिन्छ भन्ने उद्देश्यमा आमा र दिदी अघि लाग्नु भयो । म सानै थिएँ, एउटा झोला त बोकिरहेकी थिएँ त्यो पनि बोक्न सकिन, दिदीले नै बोक्नुभयो त्यो झोला, आमा पनि खुट्टा चल्नै नसक्ने गरी गल्नु भएको थियो, झोला फालिनहाले पनि दिदीले छिटोको लागि त्यो पनि झेला आफैं बोक्नु भयो र साँझको बेलामा लोदियाबाट अगाडि बढ्यौं ।

तर त्यो लालमाटी पुग्ने भन्दा अगाडि एउटा जङ्गल कटनुपर्दो रहेछ । जुन लागेको थियो, मनभरी डरबोकेर सुमुसुमु जङ्गलको बाटो हिंडिरह्यौं, मधेशको जस्तो अग्ला, ठुला रुखहरु त थिएनन्, रातो सुख्खा माटो, सुक्सुकाउँदो थियो । त्यस्तो ठाउँमा आमाले खै के सोच्नुभयो कुन्नी “बरु यतै छहारीमुनी बसौं हौ” भन्नुभयो । दिदीले आमालाई कराउँदै तीनवटा झोला बोकेर कुदिरहनु भयो । त्यसवेला आमाको पाठेघरको समस्या रहेछ । आमाले कसैलाई भन्नु भएको थिएन । हिँड्न गाहो भएर होला सायद यतै बसौं भन्नु भएको । जङ्गल कटेपछि पनि अझै धेरै हिंड्नु पर्ने रहेछ । खोलो तरेपछि मात्रै त्यो आमाले भनेको घर आउने रहेछ ।

हामीले त्यतिन्जेल हिंड्ने आँट गरेनौ, हुस्सेले केही नदेखिने पनि भयो । त्यहीँ छेउका एकदुई घरमा बास माग्यौं । बल्ल एउटा नेवारको घरमा बास पाइयो, गुन्द्रिको ओछ्यान लगाएर, बेलुका एक एक प्याकेट बिस्कुट खाएर यसै सुतियो । मलाई यो बेलाको तुवाँलो लागेकोे नीलोे लाग्ने वातावरण देख्दा त्यही बेलाको याद आयो । त्यही वातावरण हेर्दै पुरानो सम्झनामा हराउँदै कतिखेर गुरुसरको क्वाटरमा आइपुगियो पत्तै भएन ।

क्वाटरमा पुग्दा खाना पाकिसकेको रहेछ । सबैजना वरिपरि बसेर धेरैबेर लगाएर खाना खाईयो । तीन परिवारका बीचमा मीठा, रमाइला गफ भए, दुख, सुखका गफ भए, एउटै परिवार जस्तो भइयो एक दिनको घुमाइ र एक साँझको बसाइले । खाना अनि गफगाफ सकिएपछि थाकेको शरीर लिएर हामी ओछ्यानतिर लाग्यौं ।
सँगसँगै जस्तो ओछ्यान् पनि, केटाहरु एकातिरको ओछ्यानमा, केटीहरु एकातिरकोमा, सुतेर पनि धेरै बेर गफ गरियो, विहान पनि चार बजे नै ब्यूँझिएर सुतेरै गफ गरिरहेको सुनें, मैले चाहिं गरिन ।

विहान ६ बजेपछि भने उठेर हिंड्न मन लाग्यो मलाई । खेमसर मान्नु भएको थिएन जवर्जस्ती गरेर लिएर बाहिर निस्केँ, मध्ये जाडोमा जस्तो हुस्से लागेको रहेछ । निकैतल सम्म हिँडेर बाटोे छेउछाउको चियाबारीमा फोटो, भिडियो पनि खिच्यौं । फर्कँदा पनि कोही उठ्नु भएको रहेनछ । पुगेर पानी तताएर खाएँ, दिएँ पनि । एकैछिन्मा खाना बनाउने दिदी आएर चाउचाउको खाजा पकाएर दिनुभयो । त्यही खाएर गुरुसर सोक्तिमतिर काम छ भन्दै उता लाग्नुभयो । हामी पनि घरतिर लाग्यौं । लाग्यौ मात्र अगाडि बढेनौ, थोरै तलतिर आएर चियाबारी भित्र पसेर डेढ घण्टाजति फोटो भिडियो र टिकटक खिच्दै वित्यो ।

मैले माइतमा भाउजुलाई फोन गरेर खाना बनाउनका लागि भनिसकेकी थिएँ । त्यहाँबाट हिंडेर माइतमा आइपुुग्दा साढेदश भइसकेको थियो । खाना पनि पाकिसक्न लागेको रहेछ । पाकुन्जेलमा म जन्मिएर हुर्किएको एक वर्ष अगाडि सम्मको घरभएको ठाउँ देखाउन लिएर गएँ । घर त भत्किएको थियो, तर जन्मेदेखि म सँगसँगै हुर्किएका आँप, कटहरको रुख अझै त्यहीँ छन्, घर जत्तिकै पुगिरहनु पर्ने ग्वाली त्यहीँ छ, घर जस्तो त छैन तर सिकुवा भएको ठाउँ, आँगन भएको ठाउँ अझै त्यहीँ छ ।

त्यहीँ आँगन भए ठाउँमा बसेर आँगनको पल्लो छेउमा फलेको ७, ८ वटा भोगटे खायौं, ६÷८ वटा बोक्यौं र फेरि घर(माइतघर) फक्र्याैँ । भाउजुले खाना पस्किनु भयो भोगटेले पेट भरिए जस्तो भएपनि खानाको आनन्द भिन्नै थियो । माइतघरको मीठो खाना खाएर छोरो प्राञ्जललाई फेरि पवित्राजीको स्कुटरमा राखेर बुबाआमा र भाउजु सित विदा मागेर बाटो लाग्यौँ ।

तलतिर जुकेखाडी सामुदायिक वन उ.समितिमा आइपुग्दा राजन सरको बाइक पन्चर भएछ । आइतबारे (गरुवाचोक) सम्म ममता दिदी पवित्राजीको स्कुटरमा चढ्नु भयो । त्यहाँ पुगेर बाइकको समस्या समाधान गराएपछि फेरि म पवित्राजीको स्कुटरमा चढें ।

लामोबाटो यात्रा गर्दा पवित्राजीसँग मनका कुराहरु साटासाट भए । हिँजो जाँदा पहिलो पटक तस्वीर खिचेकै ठाउँमा आज आउँदा पनि अन्तिम पटक तस्बीर खिचियोे र त्यसपछि भने कतै नहेरी सिधा घर पुगियो ।

                                                                                                                                             लेखक : खगिन्द्रा खुसी

                                                                                                                                                

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
हाम्रो फेसबुक पेज