किन यति धेरै फोहोर यहाँ ?

  प्रकाशित मिति
११ फाल्गुन २०७७, मंगलवार ०६:००


अमितकुमार प्रसाई

अझै पनि मष्तिष्कमा ताजै छ त्यो दिन, माघ २३ गते शुक्रबार जहाँ एकातिर प्रधानमन्त्री ओली राजधानीमा आफ्नो समर्थनमा आएका विशाल जनसमुदायलाई सम्वोधन गर्दै थिए भने म चाहिँ एक जना आफन्तको अन्त्येष्टिमा भाग लिन सुङ्गामा अवस्थित माई खोला गएको थिए । विशेषतः माईखोला भन्ने बित्तिकै हामी हिन्दु धर्मावलम्वीको रूपमा एउटा छुट्टै श्रद्धाभाव जागेर आउँछ । यसलाई हामी एउटा धार्मिक तीर्थस्थलको रूपमा नै हेर्ने गर्छौँ ।

तर त्यो दिन त्यहाँको दृष्य देखेर मलाई एउटा उखान मनमा आयो, “नजिकको तीर्थ हेला ।” त्यहाँ देख्न सकिन्थ्यो त केवल मलामीहरूले खाएर फालिएको पानी र जुसका बोतलहरू हजारौँको सङ्ख्यामा यत्रतत्र छरिएका अनि जताततै फलफूल् खाएर फालिएका छिल्काहरू, पहिले त मलाई लाग्यो हामी नेपालीको बानी नै यस्तै हो जहाँ खायो त्यहीँ फाल्ने, तर त्यही समय मैँले दुईचार जना शिक्षित मानिसहरू भेट्टाएँ जसले हातमा भएको फोहोर फाल्न डस्टविन खोज्दै हिँडिरहेका थिए । म पनि उनीहरूसँगै लागेर डस्टविन खोज्न थाले तर दश मिनेटको खोजाई पश्चात पनि त्याँ एउटा फोहोर फाल्ने निश्चित ठाउँ भेटाउन सकिएन, ‘अन्त्यमा ती मानिसहरू पनि फोहोर त्यहीँ झुइमा फालेर आफ्नो गन्तव्यतर्फ लागे ।

मलाई भने यो कुराले अति भित्रसम्म छोएको थियो तसर्थ त्यहाँको समितिलाई नै भेटेर कुरा राख्ने निर्णय गरेँ । तर समितिको डेस्कमा पुग्दा त्यहाँ कोही भेटाउन सकिएन । अन्ततः त्यही नजिकै पानी र जुस बेच्ने एउटा पसलेलाई सोधेँ–दाइ किन यति धेरै फोहोर यहाँ ? यहाँको समितिले फोहोर फाल्न किन निश्चित ठाउँहरू नबनाएको ? यसले मेरो प्रश्नलाई कसरी बुझ्यो त्यो त थाहा भएन तर निकै उर्जापूर्ण शब्दमा जवाफ दिनुभयो–“भाइ बिहान त यहाँ सबै सफा हुन्छ ।” उसको त्यो जवाफसँगै उसको विवेकको परिचय पाएँ । मलाई फेरि उसलाई थप प्रश्न गर्न मन भएन, अनि खिन्न मन लिएर म पनि अन्त्येष्टि पछि घर फर्कें ।

आजसम्म पनि त्यो दृश्यले मनमा प्रश्न आउँछ । त्यो समितिमा कस्ता बुद्धिजीवि होलान्, जसलाई त्यो सबै कुरूप दृश्य देखेर अलिकति पनि फोहोर व्यवस्थापनको लागि केही गर्ने सोच नआएको । हाम्रो सम्पूर्ण पाप पखालेर पाप मुक्त बनाउँछ भन्ने दृढ विश्वास राख्ने हामी त्यहीँ हाम्रो तीर्थस्थललाई एउटा सानो सहकार्यबाट सफा राख्न सक्दैनौँ भने के साँच्चै हामीलाई अधिकार छ त ? त्यहाँ आफ्नो पाप पखाल्न ? यस्ता थुप्रै प्रश्नहरूले मनमा घर बनाएको छ ? शायद त्यसकै उपज हो यो सानो लेख । यो समस्या केवल माई खोलामा मात्र हैन हाम्रो आफ्नै बजार धुलाबारीको सन्दर्भमा भन्नुपर्दा यस क्षेत्रभित्रका सडकका ढलहरू हे¥यौँ भने काहीँ पनि एक मिटर लामो सफा ठाउँ देख्न सक्दैनौँ । जहाँ फोहोर नफालिएको होस्, चाहे त्यो पसलबाट निस्केको फोहोर होस् । या तपाईँ हामीले फालेको फोहोर किन नहोस् ।

यदि हामी कसैलाई ढलहरूको उपयोगिता बारे ज्ञान नभएको भए भनिदिउँ त्यो विशेष गरी वर्षायाममा परेको पानी सडक खण्डमा जम्मा भएर सडक अवरोध नहोस् भन्नका निम्ति बनाएको हुन्छ । जसलाई सधैँ राख्न अति आवश्यक छ । साथ–साथै यसले बजारको सुन्दरता वा पनि ग्रहण लगाउने काम गर्छ । अनि हाम्रो शहर बजारमा आउने नव आगन्तुकहरूलाई हाम्रो परिचय दिने काम गर्छ, कति अशिक्षित र फोहोरी जीवन जिउँदैछौँ हामी धुलाबारीका बासिन्दाहरू । के साँच्चै हाम्रो परिचय यही हो त ? सोच्नुपर्ने बेला भएको छ । हामीले पश्चिमी सभ्यतालाई धेरै हदसम्म जीवनमा उतारेका छौँ, विदेशी मदिरा पिउन सिक्यौँ, मकै भटमासलाई छाडेर पिजा र बर्गर समात्यौँ । तर खै ¤ उनीहरूको सकारात्मक पक्षलाई अङ्गालेको सफा र स्वास्थ्य जीवनका लागि उनीहरूले गर्ने प्रयासको नक्कल गरेको पश्चिमी मुलुकहरूमा हामी पाउँछौँ । देशको सरकार, स्थानीय निकाय अनि जनता बिचको गजबको जिम्मेवारीपूर्ण समन्वय जसले उनीहरूको देशलाई फोहोर र धेरै हदसम्म प्रदूषणमुक्त बनाउन ठूलो भूमिका खेलेको छ ।

आजको २१ औँ शताब्दीको व्यस्त जीवनमा पनि उनीहरू चाँडै उठेर एकछिन भए पनि दौडन र व्यायाम गर्न समय निकाल्छन् । स्वास्थ्य जीवनको लागि तर हामी धेरै भन्दा धेरै नेपाली बेलुका घाँटीसम्म आइपुग्ने भात खाएर बिहान ८ बजेसम्म उठ्न कहिले पछि परेनाँै नतिजा आज ग्याष्ट्रिक, सुगर, प्रेसर हाम्रो राष्ट्रमा रोग नै बनेको छ कारण यो होइन कि उनीहरू हामी भन्दा धेरै शिक्षित र धनी मुलुकका नागरिक हुन किनकी सफा र फोहोर छुट्याउन अनि स्वास्थ्य जीवन जिउने प्रयास गर्न हामीलाई पीएचडी नै लिन आवश्यक छैन, कमी छ त केवल एउटा संकल्पको सफा र स्वास्थ्य जीवन जिउने ।

केही दिन अघि एउटा समाचार पढ्ने मौका पाएँ, भारतको इन्दौर भन्ने शहरलाई सबै भन्दा स्वच्छ र सफा शहरको श्रेणीमा पहिलो पुरस्कार भारत सरकारले दियो । अब कल्पना गरौँ, करोडोँको जनसंख्या भएको शहरमा अनि सयकडौं अरू शहरलाई उछिनेर सफा र स्वच्छताको उदाहरण पहिलो श्रेणीमा प्रस्तुत गर्न त्यहाँको स्थानीय निकाय र जनताबीच कति ठूलो अनि जिम्मेवारीपूर्ण सहकार्य भएको होला । जबकि हामी केही हजार बासिन्दा भएको शहर बजारको यो दुर्गति छ । तर अब हामीले पनि अरूको उदाहरणलाई अनुशरण गर्ने समय भएको छ । तर यो एकतर्फबाट मात्र सम्भव छैन । यसका लागि देशको सरकार, स्थानीय निकाय अनि विशेष रूपले हामी जनताले जिम्मेवारीपूर्ण ढङ्गबाट यसलाई सफल बनाए मात्र सम्भव छ । त्यसैले आउनुहोस् आजबाट नै सफा र स्वास्थ्य जीवनको प्रण गर्दै विवेकशील प्राणी हुनुको परिचय दिऔँ ।

([email protected])

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
हाम्रो फेसबुक पेज