राजनीतिका कुरा र हामी

  प्रकाशित मिति
२० चैत्र २०७७, शुक्रबार ०८:५८


नेपाली समाजमा पेशा व्यवसाय गर्नेभन्दा राजनीतिमा सकृय हुने मानिसको संख्या धेरै छ कि जस्तो भानहुन्छ । शिक्षक, विद्यार्थी, मजदुर, कर्मचारी, वकिल, व्यपारी, कृषक, पत्रकार आदि इत्यादि सबैजना आफुलाई राजनीतिक विश्लेषक र नेता नै सम्झने अभ्यास छ ।

केही सानातिना निउ पाए कि सामाजिक खपतका लागि राजनीतिक शव्दजालको वर्षा शुरु गरिहाल्छन् । समाजमा अहिले एउटा भनाई प्रचलित बन्दैछ ‘नेपालीलाई आफ्नो काम बाहेक सबैको कामको जानकारी छ । कसले के गर्नुपर्छ त्यो थाहा हुन्छ, तर आफ्नो काम के हो र कसरी गर्नुपर्छ त्यो थाहा हुँदैन’ ।

नेपाली समाजमा नेताले के गर्नुपर्छ, के गर्नु हुदैन नेता बाहेक अरु सबैलाई थाहा छ । बिडम्वना के हो भने नेताले के गर्नुहुन्छ के हुदैन भनेर थाहा पाउनेलाई आफ्नो काम राम्ररी गर्न आउँदैन । नेतालाई पनि आफुले के गर्नुपर्छ, कसरी गर्नुपर्छ, कहिले गर्नुपर्छ, के के गर्नु हुँदैन भन्ने मात्रै थाहा नभएको हो । अरु सबै थाहा छ । किसानले कसरी काम गर्नुपर्छ, मजदुरले के गर्ने, व्यापारी, उद्योगी, व्यवसायी, पेशाकर्मी, पत्रकार, डाक्टर, वकिल, गृहणी, विद्यार्थी, युवा आदि इत्यादि सबैले के के गर्नुपर्छ त्यो नेतालाई थाहा हुन्छ ।

राजनीतिमा अनेक बहस चलि रहन्छन् । जस्तै संसद विघटन ठिक थियो वा थिएन । नेकपा एमाले भित्रको विवादमा केपी ओली ठिक थिए वा माधव झलनाथहरु । प्रचण्डका कदम ठिक थिए वा थिएनन् । नेपाली काँग्रेसले ठिक गरेको छ वा गरेको छैन । जनता समाजवादी पार्टी (जसपा)ले ठिक गरेको छ वा छैन । आदि इत्यादि । यस्ता बहस निरन्तर चलिरहन्छन् । नयाँ नयाँ मुद्दाहरु आउछन्, जान्छन् । यस्ता विषयमा आफुलाई लागेको कुरा सालिनता पुर्वक प्रस्तुत गर्न सकिन्छ । गर्नुपर्छ । तर आफ्नो कामकर्तव्य नै बिर्सिएर, अरुको आस्था एवं विश्वास माथि कुठाराघात हुनेगरि, आफ्नो पेशाव्यवसायमा नै नोक्सान पुग्नेगरि समयको बर्बाद गरेर बहसमा उत्रनु जायज मान्न सकिन्न ।

म ढुक्कले भन्नसक्छु, जो पूर्णकालिन राजनीतिमा लागेका छन् जसको पेशा व्यवसाय नै छैन तिनले बाहेक अरु पेशा व्यवसायमा संलग्न मानिसले यो बहसको यता वा उताको पक्षधारमा लागेर आफ्नो काममा समय कम दिएका छन्, काम कम गरेका छन् र नतिजा विगारेका छन् । गर्नुपर्ने जति नगरेपछि, दिनुपर्ने जति समय नदिए पछि नतिजा कमजोर हुनेनै भयो । आफ्नो पेशा व्यवसायको नतिजा कमजोर हुँदा भोग्ने आफुले मात्रै हो ।

राजनीति गर्नु, राजनीतिमा भागलिनु, राजनीति बुझ्नु आफैमा उत्कृष्ट कार्य हो । राजनीति गर्ने मानिस महान नै हुन् । राजनीतिमा भाग लिने मानिस जनताका प्रिय हुन्छन् । राजनीति बुझ्नेहरुले सही निर्णय दिन सक्छन् । राजनीतिमा चासो नराख्नेले पनि राजनीतिका बारेमा निर्णय गर्ने बेलामा अर्थात चुनावमा मत दिने बेलामा असल मानिसको सहयोग लिन सक्छन् । यस्ता असल मानिसले उचित सल्लाह दिएर देशलाई नै सहयोग गरिरहेका हुन्छन् । हुनुपर्ने यस्तो हो ।

तर, हाम्रो समाजमा राजनीति गर्ने मानिसलाई, नेतालाई सम्मानको नजरले हेरिदैन । तथानाम गालि गरिन्छ, चर्को आलोचना हुन्छ । नेताको कामकुरामा पटक्कै विश्वास गरिदैन । कतिपय अवस्थामा मनगडन्ते आरोप लगाएर चरित्र हत्या गर्ने काम गरिन्छ । यसो हुनुमा मुख्य जिम्वेवार नेता आपैm हुन् ।

त्यसको पहिलो कारण भनेको नेतालाई आफुले के गर्नुपर्छ, के गर्नु हुदैन भन्ने थाहा भएर पनि व्यवहारमा ज्यादै कम मात्र प्रयोग गरिन्छ । नेताले बोल्ने कुरा र गर्ने काम धेरैजसो सामाजिक खपतका लागि गरिन्छ अर्थात, सस्तो लोकपृयताका लागि । सस्तो लोकपृयताको आयु छोटो हुन्छ । ढाटेको कुरा काटे मिल्दैन भन्ने उखानै छ । तर पनि ढाटेर काम चलाउने बानि परेकालाई यस्ता कुरा सामान्य लाग्छ ।

यति हुँदाहुँदै पनि राजनीति गर्नेहरु प्रति समुदायको आकर्षण छ । यसको कारण हाम्रो समाजमा चलेका केही चलनलाई बुझ्नु पर्छ । भ्रष्टचार गरेर आएको आम्दानीलाई समाजले सामान्यकरण गरेका कारण राजनीतिमा लागेका मानिसले प्राप्त गर्ने कमिशन, सामाजिक सम्पतिको दुरुपयोग, शक्तिको दुरुपयोगबाट प्राप्त आम्दानी आदि कानुनको दायरामा हत्तपत्त आउने गर्दैनन् । त्यसैले राजनीतिमा लागेका मानिसको आर्थिक हैसियत खासै बिग्रदैन । त्यसैगरि समाजमा र राज्यले प्रदान गर्ने कतिपय सेवाका लागि पनि भनसुनको प्रचलन व्यापक हुनु । अर्थात चिनेको मानिस भए काम चाडै र सजिलै हुन्छ भन्ने मान्यता हुनु । हुने नहुने सबै कामका लागि भनसुन र चिनेको मानिसको सहयोग लिनुपर्ने वाध्यता सामान्य मानिसलाई हुन्छ ।

त्यसैले नेतालाई यस्तो भनसुनका लागि व्यापक प्रयोग गरिन्छ । नेताले भनेपछि काम गरिदिने चलन छ । त्यसैले कहिले के पर्छ भनेर मानिस नेतालाई चिढ्याउँन चाहदैनन् । राजनीतिक फरकताका हिसावले सामाजिक खपतका लागि विरोध गरिहाले पनि साठगाँठ हुन्छ । अझ कतिपय अवस्थामा त हुने कामका लागि पनि आफ्नो प्रभाव विस्तार गर्न, पार्टीले काम गरिदिएको भान पार्न, आयआर्जन गर्न नियम अनुसार हुने कामलाई पनि अडकाएर भन्न लाउने, पैसाको मोलतोल गर्ने काम गरिन्छ । यस्ता कारणले पनि नेतालाई कोही हत्तपत्त चिढ्याउँन चाहदैनन् ।

नेताको आलोचना पहिलाभन्दा अहिले बढेको छ । त्यसको अर्थ पहिलाका नेता ठिक थिए र अहिले खराव भएर आलोचना बढेको भन्ने होइन । पहिला आलोचना गर्ने माध्यमको सिमितता थियो । प्रविधिमा एकदमै थोरै मानिसको पहुँच थियो । आफुले चाहेको कुरा भन्न, लेख्न, सुनाउन पाउँदैन थिए । जनताको आलोचनात्मक चेत कम थियो । वाक स्वतन्त्रताको सिमाना थिए । कानुनले नै बन्देज गरेको थियो । आलोचना गर्नेलाई कानुन र लठैल अर्थात बल प्रयोग गरेर नै आलोचना दवाइन्थ्यो । अहिले पनि यसको पुरै अन्त्य भइसकेको छैन ।

अर्को महत्वपूर्ण कारण भनेको मानिसको आत्मनिर्भरता बढेको अवस्था हो । सिस्टमले पहिलाभन्दा बढी काम गर्न थालेको हो । मानिसमा जागरुकता बढेको हो । मेरो काम किन हुँदैन भनेर प्रश्न गर्न सक्ने हैसियतको विकास भएको हो । आर्थिकरुपमा स्वतन्त्र र आत्मनिर्भर भएको मानिस अभिव्यक्ति स्वतन्त्रताको उपयोग बढी गर्छ । विश्वभरि छरिएका नेपालीले आ–आफ्नै स्थानबाट चाहेको कुरा भन्न, सुनाउन, लेख्न, मन खोलेर आलोचना गर्न सक्ने भएका छन् । यसका लागि न कसैको सहयोगको आवश्यकता पर्छ । न समातिने, दण्डित हुनुपर्ने डर नै छ । त्यसैले स्वतन्त्र भएर मात्रै होइन स्वच्छन्द भएर नै लागेको कुरा सामाजिक सञ्जालमा व्याक्त गर्न आजको पुस्ता सक्षम छ ।

भनिन्छ आधा गाग्री पानी बढी छचल्किन्छ, खहरे खोलाको आवाज ठुलो हुन्छ । सायद यो कारणले पनि होला सामाजिक सञ्जालमा कतिपय मानिसले पोखेका आक्रोस हेर्दा उनिहरुको हैसियत देखिन्छ । एकदमै सिमित ज्ञानका भरमा आक्रोस पोख्न अस्लिल शव्दको समेत प्रयोग हुनु यसैको नमुना हो भन्ने लाग्छ । सुझबुझ भएका, पदिय जिम्वेवारीका बसेका, पढेलेखेका शिक्षित, राजनीतिका विभिन्न ओहदामा बसेका कतिपय मानिसको अभिव्यक्ति पनि शिष्ट र मर्यादित देखिँदैन । आलोचना र बिरोध गर्न निकृष्ट शव्दकै चयन गर्नु बौद्धिक दरिद्रताको परिचय हो भन्ने लाग्छ ।

सबैलाई एउटै रंग मन पर्नुपर्छ भन्ने सोच नै गलत छ । मलाई जे ठिक लागेको छ त्यो अरुलाई पनि ठिक लाग्नुपर्छ । किन हुदैन ? भनेर सोच्नु गलत हुन्छ । हामीले राजनीतिक रुपमा रोजेको पद्धति बहुदलिय पद्धति हो । एक दलमात्रै हुने कुरै भएन । सबैले म भएकै पार्टीलाई समर्थन गर्नुपर्छ, जसले समर्थन गरे ती दुधले नुहाएका र अरु गोवरले नुहाएका भन्ने सोच नै गलत भएन र ? एउटै दर्शनका फरक पार्टी छन्, हुन्छन् ।

पार्टी भित्र फरकफरक स्वभाव, कार्यशैलि, चिन्तन भएका नेताहरु हुन्छन् । कसैलाई कोबढी मनपर्छ, कसलाई को कम मनपर्छ । यो एकदमै सामान्य कुरा हो । मलाई केपी ओलीको बोल्ने शैली, अडान, इच्छाशक्ति, वाकपटुता मन पर्छ । त्यसको अर्थ केपी ओलीका सबै काम र निर्णय मन परेको हुन्छ भन्ने होइन । त्यसैगरि प्रचण्डको निर्णय क्षमता, माधव नेपालको समन्वयकारी भुमिका मन पर्ने कुरा हुन् । तर, मन पर्नेभन्दा मन नपर्ने कुरा धेरै हुनसक्छन् ।

नेकपा बन्दाको हैसियत सर्बाेच्चले त्रुटिपुर्ण भएको भन्दै बदर गरेपछि नेकपा एमाले र नेकपा माओवादी केन्द्र छुट्टाछुट्टै पार्टीको रुपमा स्थापित भएका छन् । यी दुई पार्टीका विचमा कटुता छ । त्यसैगरि नेकपा एमाले भित्र माधव नेपाल र झलनाथ खनालको समुह प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओलीप्रति विगतमा तिनले जेजस्तो हर्कत गरे त्यसको कारण अहिले सँगै बस्नै नसक्ने अवस्था सृजना भएको छ । यद्यपि केही महिना पछि विभिन्न मुद्दामासँगै नबसी हुँदैन । राजनीतिमा यस्ता घटना भईनै रहन्छन् । नेकपा एमाले राजनीतिक रुपमा विभाजन भए जत्तिकै छ तर कानूनीरुपमा विभाजन भएको छैन ।

विभाजन नहुन सक्छ, भएर फेरि एक हुन सक्छ । नभए पनि सहकार्य हुन सक्छ । सहकार्य नै नभएपनि वार्ता र राउण्ड टेवलमा अनेक राष्ट्रिय विषयमा बसेर छलफल त गर्नैपर्छ । नेताहरुले सामाजिक खपतका लागि मत भिन्नताका जति चर्का कुरा गरेका छन् मन भिन्नता त्यति नहुन सक्छ । किनकि भोलि एउटै राउण्ड टेवलमा बस्नुपर्छ भन्ने त पक्कै लागेको छ । तलतल कार्यकर्ता किन यति वारपार भएर गालिगलौजमा, निकृष्ट शव्द प्रयोग गरेर बाडिनु परेको छ र ?

अलि स्वयम् शिष्ट हुँदा नै राम्रो होइन र ? राजनीति गर्ने मानिसले आफ्नो हैसियत आफै बनाउनु पर्छ । समाज र देशको विकास गर्न चाहनेले पहिला आफैलाई सुधार गर्नुपर्छ । त्यो सामाजिक खपतका लागि मात्रै हुनु हुँदैन । व्यवहारमा देखिँदै जानुपर्छ । नत्र जनताले पत्याउने छैनन् ।

लेखक : रामचन्द्र उप्रेती

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
हाम्रो फेसबुक पेज