सस्तियो जिल्लाको पद

  प्रकाशित मिति
११ बैशाख २०७८, शनिबार १०:५८


तिम्लाई जिल्ला सदस्यले भएन ? लु प्रदेश, केन्द्र के माग्छौँ ? ह्या दुनियाँ कुरा नगर न यहि हो के आधिकारिक । तिमीले चिन्तै लिनुपर्दैन हामी भएको सङ्गठन नै आधिकारिक हो क्या । तिमी बस्न चाहिँ बसिदेउ न के । यत्रो गौरवशाली पार्टीको भ्रातृ सङ्गठन हो यो । यसको यतिको पद भनेको जो कोहिले पाउँदैनन् । तिम्लाई पो हाम्रो भाइ भनेर मिलाइदिएको त । ‘ए चन्द्रजी यो भाइ मान्ला जस्तो छ, हस्ताक्षर गराइहाल्नु त कुरो फेर्दिन भनेर ।’

माथिको वाणी मैले एक निकै लोकप्रिय हुँ भन्ने, आफूले आफूलाई सबै कुराको ज्ञाता मान्ने नेताज्यूको मुखाराविन्दबाट सुनेको हुँ । कुरो निकै कडा लाग्यो । बिचरो मेरो प्यारो छिमेकी कान्छो नेताज्यूको कुराले अवाक् छ । न हातमा आएको पद नै छाड्न सक्छ न त आफूलाई प्यारो गर्ने पूर्वसांसद् र सांसद्हरुको आशिर्वाद नै भुल्न सक्छ । बिचरो बबुरो ठूलो धर्म सङ्कटमा छ । नुनको सोझो गरोस् त चियामा चिनी हराउला । चिनीको लोभ गरोस् त सब्जी नै अलिनो पर्ने डर । यसलाई यस्तो खाडलबाट निकाल्न कलीमा कृष्ण कै आवश्यकता पर्छ ।

ठूलो सङ्कटमा छ केटो । साडेसातको शनीले नै बक्र दृष्टि पारे जस्तो छ । जे होस् यसको सङ्कट हेर्दा मलाई राजनीति नजानेको वा राजनीति भन्दा टाढा भएको मा गर्व महसुस भएको छ । प्रायः सधँै घरमै बसेर हैरान भएका हामी (म र छिमेकी भाइ कान्छो हरिनाथ) यसो देशको हल्लीचल्ली पनि बुझिने दार्शनिकको दर्शन पनि हुने भनेर गाउँको चियापसल छिर्छौ । यो चियापसल अलिक परैसम्म पनि चर्चित छ । यसको चर्चित नाउँ चाहिं न्यू खाजाघर हो । खाजा घरमा पाउने उत्कृष्ट खाजा भनेको चनामुराई मात्र हो । यहाँ चनामुराई भन्दा अर्को केहीं फेमस छ भने त्यो हो चिया । पसले दिदीको हात मीठो भनौं या चिया डेलिभर गर्ने उनकी भदैनी बिमला । कति त भदैनी हेर्नै भए नि चिया खान जान्छन् भन्ने हल्ला छ । फेरि मेरो आजको पार्टर्नर कान्छो चिया भनेसी हुरुक्कै । भाइ आज खाना नखा ल भन्दा मान्ला उसलाई चिया चाहिँ चाहिन्छ चाहिन्छ ।

केटो विद्यार्थी नेता पनि हो । दुईचार जना केटाहरु त मुट्ठी मै हुन्छन् दाइ भन्दै कहिलेकाही गफ नि लगाउँछ । आफूलाई चाहिं सानैदेखि देखेर होला केटो ठूलै नेता होला भनेर चाहिं भरै लाग्दैन । तर, सानोतिनो चाहिं पक्कै हो, यति चाहिँ म ठोकुवा नै गर्दिन्छु ।
फेरि कस्तो लोदर दिनमा हिँडिएछ चियापसल सुनसान । किरो फटेङ्ग्रो छैन । आजको चिया पनि क्या नमिठो हुनेभयो । अरे ! दार्शनिकको दर्शन बिना नि चिया मीठो हुन्छ र भन्या । मलाई त लाग्छ मान्छे चिया खानभन्दा पनि गफ लगाउन धेरै चियापसल छिर्छन् । यहाँको गफ अरे अरे म त बयान नि गर्न सक्दिन । कहिलेकाही चियापसल छिर्दा लाग्छ यही हो दार्शनिकहरुको अखाडा, यही हो सर्वज्ञाताहरुको वासस्थान । मलाई त आश्चर्य लाग्छ मान्छेको मुखमा चियाको चुस्की पर्नासाथ यत्रो ज्ञान कहाँबाट आउँछ ? सायद चियामा कुनै जादु हुनुपर्छ । जादु नभए कुनै ज्ञान बुस्टर भने पक्कै हुनुपर्छ । नत्र केही नहुने भए कसरी आउँछ एकै चुस्कीमा यत्रो ज्ञान ?

चियाको चुस्की लिदै दार्शनिकद्वारा दीक्षित हुने अवसर हामीले प्राप्त गरेनौं । अवसर नपाएकोमा मन खल्लो हामीले चिनी हालेको चिया मागौँ । दिदी….. ए….. दिदी….. दुईटा चिया बनाइदिनु त । उताबाट आवाज आयो लेमन कि ? सेतो ? कान्छोले हतार हतार भनो सेतो तर चिनी कडा है । बरु दुईटा खुर्मा चाहिं ल्याउँदै गर्नु । बिमलाले खुर्मा ल्याइन् । हामी खुर्मा खाँदै आज रमाइलो गफ सुन्न नपाएकोमा थक्थक् गर्दै चियाको प्रतीक्षामा थिइम् । पसल बाहिरबाट केही अदवका साथ आवाज आयो । आवाज बिस्तारै हामीतिर नजिक नजिक भएको हामीले अनुभव गरिरहेका थियौं । अ…..रे….. हरिनाथ भाइ के गर्दै ? देशको हालत यस्तो छ तिमी चाहिं स्वाद लि लि चियाखुर्मा खाँदै बस्ने ? यही हो युवाको जिम्मेवारी ? यत्तिको चल्तापुर्जा युवाले आफ्नो संगठनलाई सहयोग गर्ने बेला भाइ भने मस्त चियामा भुलिराछ, के हो यार तिम्रो ताल ? सानैदेखिको मिजासिलो कान्छो हाँस्दै उत्तर दिन्छ । हामीले गरेर केही हुँदैन दाजु बुझ्नेले कुरा बुझेनन् । जुँगाको लडाइले हाम्रो संगठनको हरिबिजोग भयो । हामीले भनेर गरेर केही हुँदैन माथि नसुध्रे हामीले मात्र संगठन संगठन भनेर टिक्दैन दाजु । लेग्रो तानेर नेता ज्यूले सुरु गरे ‘अरे भाइ अब हामीले संगठनमा भएको फोहोरलाई संगठनबाट मिल्काउने समय आएको छ । हिजो अन्तरघात गर्नेहरु आज प्रस्ट चिनिएको अवस्था छ । यिनीहरुलाई साइड लगाई विधिको शासन ल्याउनु पर्छ । यो अहिलेको अराजकहरुलाई चुनिचुनी कारबाही गर्नुपर्छ । शासन संवैधानिक र विधिको होस् न भाइ हाम्रो चाहना त्यति मात्र हो । सुखी नेपाल समृद्ध नेपालीको नाराले बिकास हुने हो र भन्या काम हुनु परो नि काम । अब हामीले यो एक व्यक्तिमा अडिएको सर्वसत्तावादी राजनीतिलाई सबैको पहुँचमा पुर्याउन बिस्तार गर्नु पर्छ भाइ । अबको पहिलो लडाइ विधिको शासनको निम्ति सर्वसत्तावादविरुद्ध हुन जरुरी छ ।’

भाइ बडो शान्त ढंगले उत्तर दिन्छ ‘हो नि दाजु तपाईले भनेको ठिकै हो तर हामीले संगठनको आधिकारिकता नछुट्टि हतारिनु हुँदैन । आधिकारिकता नै छुटिए पनि हामीले जुटको राजनीति गर्नुपर्छ फुटको राजनीतिले कसैलाई फाइदा हुँदैन । संगठन भित्र भएका समस्यालाई छलफल गरेर मिलाउन सकिन्छ दाजु मलाई यो फुटको फोहोरी राजनीतिमा फँस्नु छैन ।’ भाइको कुरा मजाले सुन्दै नसुनी नेताज्यू भन्न थाल्छन् । ‘अरे भाइ तिमी कुन आधिकारिकताको कुरा गर्दैछौं ? म भएको ठाउँ नै आधिकारिक हो तिम्लाई के लाग्छ म जहाँसुकै कुद्छु होला ? आफै भन त । बरु आउ दाइ भएको ठाउँमा खुलेर लाग म तिमीलाई जिल्ला सदस्य मिलाइदिन्छु । तिमीलाई जिल्लाले हँुदैन भने प्रदेश, केन्द्र के माग्छौ त्यही मिलाइदिन्छु । बस तिमीले संगठनमा बसिदिनुपरो ।’

कान्छो मुस्कुराइ रहन्छ । तर उसको मुस्कानको सुन्दरता भने कतै उडेको छ । उ त वेरङ्गी बाध्यात्मक हसाइ मात्र हासिरहेको छ । उसको मुस्कान हेर्दा लाग्छ उ जबर्जस्ती मुस्कुराइरहेको छ । उसको मुहार हेर्दै म सोचिरहेको छु बिचरो कान्छो न कुरा इन्कार गर्न सकोस् न स्विकार नै । नेताज्यु लगातार भनिरहन्छन् । ‘अब भाइलाई हाम्रो पार्टीको गौरव बारे मैले बुझाइ राख्नु पर्दैन । यत्रो ठूलो गौरवशाली पार्र्टीको भ्रातृ संगठनको नेतृत्वमा मौका आउँदा नि तिमी सोचमग्न हुने ? यसरी हुन्छ र भन्या जो कोहिलेटीका लगाएर पाउने हो र यो पद ? यत्तिको पद पाउन कति जनाले फोन गरिसके यार तिमीलाई पो आफ्नै प्यारो भाइ भनेर मिलाइदेको त । तिमी हामीसँग आउ । अरु अराजक गैरअधिकारिकको पछि नलाग । तिमी जत्तिको मान्छेले अब हामीलाई सहयोग गर्नुपर्छ ।’

बिचरो कान्छो उराठलाग्दो मुहार बनाएर मुस्कुराइरहेछ । उसले नेताज्यूको कुरो जबर्जस्ती पचाइरहेको छ । खै नेताज्युले उसको उदासी हाँसोमा के देखे, छेउको आफ्नो साथीलाई बोलाउँदै भन्न लागे –‘चन्द्रजी भाइ माने जस्तो छ छिटो कागज निकालेर पछि कुरो फेर्दिन भन्ने कागजमा हस्ताक्षर गाराइहाल्नुहोस् । चुनाव आउन लाग्या छ कुरो फेरो भने बर्बाद हुन्छ ।’ हामी नेताज्यूको हस्ताक्षरवाला अभिव्यक्तिले चकित भयौँ । कान्छोले न त्यस कागजमा हस्ताक्षर गरो न त आफ्नो मुहारमा राँगको भाव नै ल्यायो । कान्छो आफ्नो मिजासको पहाडमा अटल भएर स्थिर रहिरह्यो । न उसले कुरा नफेर्ने प्रतिज्ञा गरो, न त संगठनमा आउँदिन नै भन्न सको । उ त नदी किनारको ढुंगा झैं स्थिर रयो । मलाई लाग्छ कान्छाले राजनीतिको भेलमा आफूलाई बगाउन सकेन । न त उस्ले आफ्नो अडान नै कायम राख्न सको न त यो जञ्जिरताबाट निश्कन नै प्रयास गरो । उसले आएको पदलाई स्विकार र अस्विकार केही गर्न सकेन । सायद यस्तै परिस्थितिहरुले गर्दा होला नैतिकवान मानिसहरु राजनीतिमा टिक्दै टिक्दैनन् । उनीहरु सदैव नैतिकता र पदको द्विविधामा पर्छन् । पद जोगाए आफैसँगको हार, नैतिकता जोगाए राजनीतिक हार ।

मलाई त्यो दिन त अहिलेसम्म भोगेका दिनहरुमध्ये सबैभन्दा लोदर दिन अनुभव हुन्छ । सुन्दर दर्शन र गफहरु सुन्न चिया पसल छिरेका हामी पुङ न पुच्छ्रको पाँडे राजनीतिका कुरामा अल्झिन पुगेका थियौँ । राजनीतिका कुरा नि यति सम्म गए गुज्रिएको कि त्यो भन्दा काम नलाग्ने बेतुकको कुरा त सायदै मैले त्योभन्दा अगाडि सुनेकै थिइन । कसरी मान्छेलाई आफ्नै स्कुलिङ माथि विश्वास लाग्दैन ? त्यति सानो कुरो मै किन कागजी हस्ताक्षर आवश्यक पर्छ ? म त छक्क परे कसरी मान्छेको सोच त्यत्रो धेरै दुर्गन्धित हुन्छ । कान्छोमा साच्चै नैतिकवान मानिसमा हुने गुणहरु रहेछ तर राजनीतिमा टिकिरहने गुण भने नभएको मैले त्यस दिन अनुभव गरेको थिएँ । बिचरो नेताज्यूसँग आत्मविश्वास थियो, न त आफ्नो बैचारिक स्पष्टता नै । उनलाई त आफ्नै स्कुलिङमा समेत भरोसा थिएन । उनीहरुले संगठनको पद गोजीको खैनी साथीसँग सेयर गरेझैं पकेटका साथीहरुलाई बितरण गरिरहेका थिए । आफ्नै नैतिकतालाई बेची पदका लागि संघर्ष गरिरहेका थिए । त्यस दिन ती नेतालाई देखेपछि मलाई यो लाग्छ कि थोरै मात्र भए पनि नैतिकता भएको मान्छेले राजनीति गरिदिने हो भने देशले कति चाँडो मुहार फेर्दो हो । तर नैतिकता र राजनीति एकै सिक्काको दुईपाटा जस्ता देखिए पनि यसमा त आकाश जमिनको फरक हुँदोरहेछ । बिचरो कान्छोको राजनीति नैतिकताको युद्धसँग हार खायो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
हाम्रो फेसबुक पेज