आज मजदुर दिवस : पीडा कसले सुनिदिने ?

  प्रकाशित मिति
१८ बैशाख २०७८, शनिबार १०:१७


झापा, १८ वैशाख । आज शनिबार मे १ तारिख अर्थात १३२ औँ अन्तराष्ट्रिय श्रमिक दिवस ।

कोरोनाको नयाँ भेरियन्टका कारण यस पटकको मजदुर दिवस पनि खल्लो भएको छ ।

गतवर्ष पनि मजदुरका संघ–संगठनहरुले दिवस मनाउन पाएनन् । विगत वर्षहरुमा धुमधामसँगले मनाउदै आएको मजदुर दिवस कोभिड–१९ का कारण यसपटकको पनि सबै कार्यक्रम स्थगित भएका छन् । सरकारले उचित ज्याला प्रणाली अन्तर्गत मार्यादित कामको सुनिश्चितता कायम गर्नका लागि न्यूनतम ज्यालामा वृद्धि गरेपनि त्यसको कार्यान्वयन अझै हुन सकेको छैन ।

अहिलेसम्म देशभित्र श्रमको उचित ढंगले सदुपयोग र सम्मान गर्ने वातावरणको अभाव खड्किएको छ । ठूलो संख्यामा युवा जनशक्ति श्रमका लागि मुलुकबाट बाहिरिन बाध्य भएको र श्रम शोषणको शिकार हुन विवश भएकोसमेत मजदुरका नेताहरुको भनाइ छ ।

झापाका मजदुरहरुलाई आफ्नो कमाइले परिवार पाल्न सकस छ । जिल्लाका अधिकांश मजदुरहरुले सरकारले तोकेको सुविधा नपाएको गुनासो व्यापक आउने गरेको छ । विशेष गरेर भारत, भुटान र बंलादेशबाट आयतित मजदुरहरुका कारण पनि झापाली मजदुरहरुलाई परिवार पाल्न गाहे पर्ने गरेको गुनासो छ ।

मजदुरहरुलाई विभिन्न पार्टीका नेताले संघ–संगठनमा आबद्ध गराएपनि उनीहरुको रोजगारीको ग्यारेण्टी र सेवा सुविधाका लागि कुनै पहल नगरेको मजदुरको दावी छ । दलका नेताले आफ्नो अनुकुल मजदुरको प्रयोग गर्ने तर, गाँस र बासको समस्यामा सहयोग कुनै नेताले नगरेको गुनासो अधिकांश मजदुरको भनाइ छ ।

नेपाल ट्रेड युनियन काँग्रेस झापाका सहसचिव गोपालप्रसाद शिवाकोटीले यातायात क्षेत्रका मजदुर न्युन पारिश्रमिकमा काम गर्न विवस रहेको बताए । सरकारले तोकेको पारिश्रमिक भन्दा कम मुल्यमा काम गरिरहेको उनको भनाइ छ । सरकार र मजदुरका संघ–संगठनका नेताहरुवीच पारिश्रमिकका विषयमा पटक पटक सहमति हुन्छ तर कार्यान्वयन नहुने गरेको शिवाकोटीले बताए ।

मेचीनगर–६ स्थित काँकरभिट्टामा घर बनाउने (राजमिस्त्री) काम गर्दै आएका धुलाबारीका कृष्ण चौधरी आफुले कमाएको पैसाले परिवार पाल्न गाहे पर्ने गरेको बताए । ४ जनाको परिवारलाई आफ्नो कमाइले जिवीकोपार्जन गर्न समस्या परेको सुनाए । चौधरी भन्छन्–‘दैनिक ४ सयदेखि ५ सय रुपैयाँ कमाउछु, त्यसले एक दिनको खर्च धान्न मुस्किल पर्छ । काम हुँदा त ठिकै हो, काम नभएको दिन चामल किन्न पनि मुस्किल छ, छोराछोरीहरु पढाउन समेत झन समस्या छ ।’

उनी जस्तै भद्रपुर–२ स्थित पृथ्वीनगरका कमला र खड्गु राजबंशी पनि चिया बगानमा काम गर्छन । उनको परिवार पनि बाबुआमा सहित ६ जनाको छ । दुवैजना मजदुरी कार्यमा संलग्न छन् । उनीहरुले कमाएको रकमले परिवार नचल्ने भएपछि खड्गु कतार जाने तयारीमा छन् ।

खड्गु भन्छन्– ‘पासपोर्ट मेनपावरमा पेशेको छु, भिसा नलागुन्जेल काम गर्छु, त्यसपछि बिदेश जान्छु ।’ उनले बिदेश जानका लागि सहकारीबाट ब्याजमा पैसा ऋण लिएको बताए । तर, कोरोनाका कारण जान पाइने हो की होइन चिन्तामा परेको बताए ।

मजदुर दिवस मनाउन सरकारले एकदिन सार्वजनिक विदा दिने गरेको छ । तर, स्वदेशमा युवालाई रोजगार सिर्जना गर्न नसक्दा सयौँ युवा दैनिक बिदेशिने गरेका छन् । सरकारले सार्वजनिक विदा दिने बाहेक मजदुरको हितमा केहि काम गर्न नसकेको उनीहरुको आरोप छ ।

झापाका विभिन्न इटा उद्योग, चिया पसल, होटल, कारखाना लगायतका स्थानमा बालबालिका मजदुरी काम गरिरहेका छन् । उक्त स्थानहरुमा बाल शोषण चरम रुपमा हुने गरेको छ । केटाकेटीहरुलाई काम लगाउने अनि भनेको बेला पैसा पनि नदिइ मालिकले खेदाउँने गरेको घट्ना जिल्लामा प्रशस्त पाइन्छ ।

मजदुरका समस्या नेताहरुको भाषण गर्ने माध्यम मात्र बन्ने गरेको छ । उनीहरुको समस्याको दिर्घकालिन समाधानमा सम्बन्धित निकायले ध्यान दिन सकेको छैन । चुनावमा दलहरुको मुख्य नारा नै मजदुरहरुको हक हितको ग्यारेन्टी, ज्याला बृद्धि लगायतका हुन्छन् । तर, चुनाव सकिएपछि दलका नेता गुमनाम हुन्छन् ।

हरेक वर्ष मे १ को गौरवपूर्ण दिनले विश्व मजदुर आन्दोलनको महत्वपूर्ण उपलब्धी–आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जन लगायतका आधारभूत हक अधिकारको स्मरण गराउँदै आएको छ । देशमा श्रमको सम्मान गर्ने, सबै प्रकारका श्रम शोषणको अन्त्य गर्नेे र श्रम ऐन–२०७४ को पूर्ण रुपमा कार्यान्वयनका लागि सरकार प्रतिबद्ध रहेको फलाक्छ तर मजदुर जहिले आधा पेट खाएर काम गर्न बाध्य छ ।

कोरोनाका कारण मजदुर गतवर्ष काममा जान पाएनन् । भोकभोकै मर्नु पर्यो । रोगले भन्दा पनि खाना नपाएर मर्नु पर्ने बाध्यता मजदुरलाई छ । दोस्रो लहरको कोरोनाको भेरियन्टले देश संक्रमण ग्रस्त छ । सबैतिर लकडाउन हुने अवस्था आएको छ । यसले फेरि मजदुरलाई पेट पाल्ने समस्याले गिजोलेको छ ।

‘राज्यले यातायात क्षेत्रका मजदुरलाई विभेद गरेको छ’, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन मेचीनगरका अध्यक्ष खडानन्द भण्डारीले भने–‘यातायात क्षेत्रका मजदुरलाई सरकारले असंगठित मजदुरका रुपमा हेरेको छ । यातायातका मजदुरलाई हेर्ने सरकारको स्पष्ट नीति छैन ।’ उनका अनुसार मजदुरको मासिक पारिश्रमिक नभएकाले दैनिक जति कमाउन सक्यो त्यसैले पेट पाल्नुपर्ने बाध्यता छ । कोरोनाले गर्दा आज मजदुर दिवसमा कुनैपनि कार्यक्रम नहुने उनीहरुको भनाइ छ ।

।। अर्जुन कार्की ।।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
हाम्रो फेसबुक पेज