बालकथा : चिन्टु र मिन्टु !

  प्रकाशित मिति
२० बैशाख २०७८, सोमबार १२:०४


एक परिलोकमा सबैभन्दा सुन्दर, सुशील र दयालु परि राजकुमारी थिइन । उनिलाई फुल, जनावर, पन्छी, पुतली केटाकेटी असाध्यै मन पर्थ्यो ।

जहाँ जे देखे पनि आफ्नो महलमा ल्याइ हाल्थिन अनि दिन रात सेवा गर्थिन । जसलाई पनि धेरै माया गर्ने स्वभाव थियो भने जे कुरा पनि सबैलाइ बाडेर खान्थिनः त्यसैले त उनि साथी र परिवार कि प्रीय थिइन । एक दिन उनि आफ्नो साथिहरु र सानो सानो पप्पिहरु सङ लुकामारी खेल्नमा ब्यस्त थिइन कसैले बोलेको आवाज आयो, “आहा सुगा ! वाह कति राम्रो मैना ।“ उनिले हतपत हेरिन । एउटा ब्यापारीले ४ वटा सुगा सानो रंगिन पिन्जडा मा हालेर बेच्न ल्याउदै थियो । “बोलाउ त यता ! म किन्छु ।“ त्यो ब्यापारी छेउमा आइपुगे । हेर्दै आकर्षक पिन्जडा मा थुनिएको अती सुन्दर सुगाहरु बोकेर ।

तारको बन्द जाली भित्र पखेटा फटफटाइ रहेका ती निर्दोष चराहरुको आखामा उनले धेरै बेर नियालिन । दया र करुणा को अथाह सागर उर्लियो उनमा सोचिन म किन्छु अनि छोडिदिन्छु । बिचरा कति रोइरहेको होला यसरी बन्धनमा बस्नुपर्दाझ १५०० रुपैया गोटा भनेको त्यो मैनाहरु धेरै बेर को मोलतोल पछि १५०० मा दुई वटा दिन पसले मन्जुर भयो ।

अब चार वटा मध्ये दुई वटा छान्नु थियो उनिले । सहजताका लागि सुगा बेच्न आउनेले भन्यो ‘राजकुमारी ! यी दुई वटा लानुस । सानै छ अलि पछि पखेटा काटिदिनु । सिकाउनु भयो भने छिट्टै बोल्छन यिनिहरु । बाकी दुई वटा बुडो भैसकेको छ धेरै । पखेटा काटेको छ यिनिहरुको ।अहिले राम्रो देखिन्छ तर पछि कमजोर भएर राम्रो पनि देखिदैन र उडन पनि राम्रो सक्दैन ।’

“म ठुलो नै लान्छु अलि दिन पाल्छु पखेटा लामो भएर उडन सक्ने भएपछि उडाइदिन्छु । जति पैसा माग्नुहुन्छ म त्यति नै दिन्छु ।’ उनको कुरा सुनेर त्यहा भेला भएका साथिहरु अचम्मित परेः “यति पैसा हालेर आकाशमा उडाउनलाइ किन किन्नु होला । बरु हामिलाइ दिनु नि ! हामी पाल्ने थियौ ! पैसा कति सस्तो भएको होला ! आखिर राजकुमारी हो नि त : त्यही भएर !!’

उनले ती मैनालाइ घरमा ल्याइन । अति सुन्दर ती दुई पन्छिहरु चिन्टु र मिन्टु को नामले बोलाइन थालियो । बाहिर खुला हावामा उनीहरु बस्ने पिन्जडा लाई झुन्ड्याइन । मकै, काक्रा, पानी, अनार आदि फलफूल जति भन्यो त्यति खुवाइन । दिनहुँ पिन्जडा सफा गर्थिन । कहिले बाहिर कहिले भित्र ठाउ फेरि फेरि ती सुगा हरुलाइ राख्थिन । उनको दरबारमा सानी परि राजकुमारी पनि थिइन । त्यो सानी परिको झन मायाको साथी नै थिए ती मैनाहरु : चिन्टु र मिन्टु ।

नया सालको पहिलो बिहानिमा उनको सामुमा आउन पुगेका ती सुन्दर मैनाहरुले आकास तिर हेर्दै स्वतन्त्रता र मुक्तीको लागि गुहार मागिरहेको थियो । आफ्नो असन्तुष्टि र दुख ब्यक्त गर्न कहिले चुच्चोले तारको जाली च्याप्दथे त कहिले टाउको भित्तामा ठोकेर चोट नै चोट बनाउथे भने प्रायःजसो पखेटा फडकाउदै उडेर बाहिरी रौ नै निकालिसकेका थिए । सबै आउने जानेले ती पक्षिहरुको सुन्दरता र कलाकारिता को प्रसंशा गर्दथेः “कति राम्रा मैना ! आहा बोल्दो पनि रहेछ ! वाह कति सुन्दर कन्ठे सुगा पो रहेछ । राजकुमारिले त माया पनि हदै गर्छिन । कति भाग्यमानी यी सुगाहरु !’ तर उनी मनमनै सोच्थिन, “पिन्जडा भित्र बन्द सुगाको के भाग्य ! के माया !’

तारको जाली बाट जबर्जस्ति मुन्टो बाहिर निकालेर ती सुगाहरु एकटक आकाशमा हेरिरहन्थे । अन्य चरा कराउदा सारो सारो कराउथे । पिन्जडा बाट बाहिर हेर्दै पखेटा फटकारी रहन्थे । केही खान दियो भने खादैन थिए । हातले छुन खोज्यो कि सर्दै परपर पुगिहाल्थ्यो । कोहि उसको छेउमा आएर इसारा दिने बित्तिकै चुच्चो ले जाली च्यापन थाली हाल्थे । यि सबै प्रतिक्रिया बाट स्पष्ट थियो कि उनिहरु त्यो घेराबाट उम्कन चाहन्छन । उनिहरु अरु जस्तै खुला आकाशमा उडन चाहान्छन । आफै चारो को खोजी गर्दै चिसो बतासमा यताउता बहकिन चाहान्छन । आफ्नो बाँसको खोजी गर्दै वल्लो रुख र पल्लो रुखका लहरामा लहरिन चाहान्छन । उनिहरु आफ्नो जीवन जिउन चाहान्छन । उनिहरु मुक्ती पाउन चाहान्छन ।

जति माया गरे पनि जति सुखमा राखेर दिन रात सेवा गरे पनि चिन्टु मिन्टु पिन्जडा भित्र त्यो महलमा पनि खुसी थिएनन । राजकुमारीले दिन रात सेवा गर्दा पनि उनिहरु रिसाइ मात्र रहन्थे अनि आँखा भरी आँसु पारेर झोक्राएर बसि रहन्थे । चिन्टु मिन्टुले उनी सङ खेल्छन होला ! उनि सङ बोल्छ होला । उनिले दियेको खानेकुरा खुसी भएर खान्छ होला भन्ने उनिले सोचेकी थिइन किनकी अरुले पनि मैना घरमा पालेको उनिले देखेकी थिइन ।

अरुले मैनालाइ धेरै मिठो परिकार खुवाएको देखेर कति भाग्यमानी कति खुसी होला यसरी पिन्जडा मा पालिएका मैनाहरु भन्ने उनिलाइ लागिरहन्थ्यो । अहिले आफुले यति नजिकैबाट दुई सुन्दर पन्छिहरु अवलोकन गर्न पाउँदा मात्र उनिलाइ महसुस हुँदैछ कि खुला आकासमा स्वतन्त्र रमाउने पन्छी तारको घेरामा कहिले खुसी हुदैन रहेछ भन्ने । जति माया र जति सेवा गरेपनी ती चराहरुले हामिलाइ सराप दिदारहेछन भन्ने ।

एक त उनिले यति माया गरेर राखेको साथी जस्तो चिन्टु मिन्टु आफुसङ खुसी नभएकोमा राजकुमारीलाई चिन्ता लागिरहेको थियो त्यसमा अझ चिन्टुले केही खान छोडिसकेको थियो भने मिन्टुले आफ्नो चुच्चोले पिन्जडाको तार च्यापेर मुखमा घाउ नै बनाइ सकेको थियो । चिन्टुमिन्टुको त्यो हालत देखेर परि राजकुमारीलाई पनि केही खान मन लाग्दैन थियो । उनी साथीहरू सङ खेल्न पनि जादिन थिइनः न त आमा बुबासँग बस्न जान्थिन । दिनभरी चिन्टु मिन्टु को अगाडि आँखा भरी आँसु पारेर बसि रहन्थिन ।

परि राजकुमारीलाई दिनरात यति दुखी देखेर उनका परिलोक का सबै परिहरु धेरै उदास थिए । सबै चिन्टु मिन्टुलाइ पिन्जडाबाट छोडिदिने सल्लाह राजकुमारीलाई दिन्थे । तर ती सुगाहरुको पखेटा काटिएका थिए पहिले नै त्यसैले राम्ररि उडन सक्दैन पनि थिए । चिन्टु मिन्टु त दुःखी थिए नै उनिहरुको मायाले परि राजकुमारी झन बढि चिन्तित थिइन जसको कारण पूरा परिलोकमा एक प्रकारको सन्नाटा छाइरहेको थियो ।

एक बिहान राजकुमारिले चिन्टु मिन्टुलाइ मकै र पानी दिइन । अरु दिन भन्दा धेरै मकै मिन्टुले त खायो तर चिन्टुले उनितर्फ हेर्दा पनि हेरेन । धेरै बेर बोलाइन र खुवाउन खोजिन तर मिन्टु चुच्चोले तार च्याप्दै बाहिर टाउको निकाल्ने ठाउँ बनाउदै थियो । हैरान भएर राजकुमारी एकछिनपछि स्नान गर्न महल भित्र पसिन तर मिन्टु चुच्चोमा घाउ नै घाउ भइन्जेल पिन्जडाको तार च्यापी नै रहेको थियो ।

स्नान गरिसकेर भोजन गरेर फर्केर आउदा मिन्टु पिन्जडामा थिएन । उ त्यहाबाट आफै निस्केर उडेर तल सानो बोट मा बसिरहेको थियो । उ राम्ररी उडन पनि सकिरहेको थिएन । उसको वरपर परिलोकमा पालिएका कुकुर बिरालो घुमिरहेका थिए । त्यो देखेर त झन राजकुमारी धेरै बेरसम्म रोइरहिन । मिन्टुलाई कुकुर बिरालोले खान्छ भन्दै चिच्याउदै रुन्थिन । त्यो देखेर परिलोकका सबै सदस्य मिलेर ४ घन्टासम्म पछि पछि लाग्दै मिन्टुलाइ समातेर ल्याइदिए र परि राजकुमारिको हातमा राखिदिए । बल्लमात्र राजकुमारी खुसी भइन ।

केही समयपछि परिलोकको राजाले दुई वटा बलियो आकर्षक सुनको पिन्जडा राजकुमारीलाई उपहार दिए । ती पिन्जडामा खाना राख्ने , पानी राख्ने जस्ता धेरै सुबिधा थियो भने त्यो असाध्यै ठुलो हुनाले चिन्टु मिन्टु झुन्डिन खेल्न र एक छिन उड्न पनि सक्दथे । राजकुमारीलाई लाग्यो अब उनको प्यारो सुगाहरु खुसी हुन्छन र रमाइलो मान्नेछन । सुरु सुरुमा त चिन्टु मिन्टु जे दियो त्यही खान्थे, खेलिरहन्थे र खुसी भएको जस्तो देखिन्थे । त्यो सब देखेर परि राजकुमारी पनि पहिला जस्तै रमाइलो गर्ने र साथीहरू सङ खेल्न थालेकी थिइन । चिन्टुमिन्टु खुसी थिए त्यसैले परि राजकुमारी खुसी थिइन । अतः सारा परिलोक हर्ष उल्लास मय थियो ।

समयसँगै चिन्टुमिन्टु पनि ठुलो हुँदै थिए भने उनिहरुको सुरुमा काटिएको पखेटा पनि लामो भइ रहेको थियो । उमेर र पखेटाको परिपक्वता सङै चिन्टु मिन्टुको स्वभाव फेरि पहिला जस्तो या भनौ त्यो भन्दा कठोर हुँदै थियो । एकाएक गर्दै ती दुई मायालु प्राणिहरु फेरि आफ्नो स्वतन्त्रता र मुक्तिको लडाइँ अझ कठोरता साथ लडिरहेका थिए । यस्तो लाग्थ्यो ! अब त चिन्टु मिन्टु को एउटै चाहना छ खुला आकाशमा स्वतन्त्र उड्ने ।

पिन्जडा सुनको थियो : जसलाई ठुलो राजदरबार को अति मनमोहक बगैंचाको बीचमा झुन्ड्याइएको थियो भने, बिशाल पिन्जडा भित्र थरीथरीका खानेकुरा र अन्य सुबिधा उपलब्ध थियो । चिन्टुमिन्टु लाइ केही कुराको कमि थिएन । जति सुख सुबिधा ती मैनाहरुले परिलोक मा पाइरहेका थिए त्यस्तो सुख सुबिधा त त्यहाको राजपरिवार का बालबालिकाले मात्र गर्न पाएका थिए । सबै समान थियो तर फरक मात्र एउटै थियो सबै स्वतन्त्र थिए भने चिन्टु मिन्टु तारको दर्हो घेराभित्र बन्देज थिए जुन चिन्टुमिन्टुलाई स्वीकार्य थिएन ।

आफ्नो बेखुसी र असन्तुष्टि ब्यक्त गर्न दिनभरी आफ्नो चुच्चोले सुनका ती कडा जालिहरु टोकेको टोक्यै गर्दथे । खानेकुरा पनि मन लगाएर खादै खादैनथे भने कोहि छेउमा जाने बित्तिकै घाउ नै हुने गरि टोक्दथे । उडेर भुइमा पछारिनेः घाउ नै हुने गरि चुच्चोले पिन्जडाको तार टोक्नेः टाउको ले भित्तामा ठोकेर रगत नै निकाल्नेः यि त चिन्टु मिन्टुको दिनचर्या नै बनिसकेको थियो ।
उनिहरु त्यहाँबाट आफै त उडेर जान सक्ने अवस्था थिएन तर पखेटा लामो भएर उडन सक्ने भएपछि जङ्गलमा लगेर छोडिदिने तयारी परि राजकुमारी र परिलोकका सबैले गरि सकेका थिए । त्यो सब कुरा त बिचरा ती पन्छीहरुले के बुझ्दथे र उनीहरुको लागि त सबै मानव प्रजाती दुस्मन या अपराधी नै थिए जसमा परि राजकुमारी पनि पर्दथिन !!

एक दिन परिलोकमा ठुलो भोज थियो । राजा, रानी, राजपरिवार, प्रजाहरु सबैलाइ भोजमा निम्तो थियो । यति विशाल भोजको आयोजना गरिएको थियो परि राजकुमारिको जन्मदिन मनाउनको लागि । सबै रङी बिरङी पोशाक गरगहना श्रृङ्गार गरेर झकिझकाउ भएर आइ रहेका थिए । राजा रानी र अन्य सदस्य सबै आफ्नो आफ्नो कार्यमा ब्यस्त थिए भने राजकुमारिका साथी हरु ठुलो बगैचा मा फुल र जनावरहरु सँग रमाइ रहेका थिए ।

जन्मदिन मा पहिरन को लागि राजकुमारिलाइ असाध्यै बहुमुल्य धातु जडित बस्त्रहरु र मोतिहरु र कोहिनुरको गरगहना ले राजकुमारिको कोठा भरी भराउ थियो जुन देखेर उनी दङ्ग र फुरुङ्ग थिइन । बिहानै उठेर बगैचाका फुलहरुमा पानी हालिन , जनावर र पन्छिहरुलाइ मीठो खानेकुरा दिइन र आफ्नो मायालु चिन्टुमिन्टुलाइ पानी, मकै, मिठाइ खान दिइन । र बाहिर महलको खुला बरन्डामा सबैले देख्ने गरि झुन्ड्याइन । एकछिन के के कुरा गरेर जन्म दिन मनाउनको लागि पोसाक र श्रिङ्गार मिलाउन आफ्नो महलमा पसिन । भब्य राजदरबार मा राजकुमारिको जन्मोत्सवको तयारी सबै पूरा भैसकेको थियो । थरीथरीका खानेकुरा, खेलौना, नृत्य र गित हरु साथमा सबै सुन्दर पोसाक र शृङारमा सजिएर आ आफ्नो धुनमा रमाइरहेका थिए । त्यो विशाल समारोहमा सबैलाई राजकुमारिको मात्र प्रतीक्षा थियो ।

हिरा जडित पोशाक, मोतिको जगमग गहना र मनमोहक श्रृङ्गारले सजिएर परि राजकुमारी महल बाहिर निस्किन । त्यहा हुने सबै आँखा नै तिरमिराउने उनको त्यो सुन्दरता र सारिरिक बनोट त्यसमा अमुल्य रत्न जडित उनको ती बस्त्रहरु । सबै हेरेको हेर्यै हुन्छ्न । राजकुमारी आउनु भो ! राजकुमारी आउनु भो ! भन्दै सबै समारोह स्थलमा पुग्छन । राजकुमारीको प्रस्थान को लागि त्यहा छुट्टै स्वागत तयारी गरिएको हुन्छ । सबै ध्यान मग्न भएर परिको प्रतीक्षा गरिरहेका हुन्छन तर परि आउदिनन । धेरै समय बितिसक्यो तर परि आउदिनन । राजकुमारी खोइ ! राजकुमारी खोइ ! सबैले यता उता खोज्छ्न तर कहि पाउदैनन । दरबारमा खैला बैला मच्चिन्छ तर परि कहाँ छिन ! के गर्दैछिन ! कसैले देखेको छैनन ।

उता परि राजकुमारी आफ्नो जन्मोत्सव मनाउन आउदै गरेकी हुन्छिन् उनको आँखा बरण्डामा झुन्ड्याइएको चिन्टुमिन्टुमा पर्दछ । उनी आत्तिदै उनिहरुको छेउमा पुग्छिन र एक्कासि भक्कानिएर रुन थाल्छिन् । उनका साथिहरुको पनि आँखा रसाएर आउँछ जब उनिहरुले चिन्टुलाइ रगतै रगतमा लत्पतिएको देख्छन अनि मिन्टुको घाँटी तारमा च्यापिएर अडकिरहेको हुन्छ ।
त्यो कडा सुनको रडले दुईतर्फ च्यापेकोले मिन्टुको घाँटीबाट रगत बहिरहेको हुन्छ । सायद मिन्टुको त्यो दुःख देखेर होला चिन्टुले पिन्जडाको भित्तामा टाउको ठोक्दै उड्दै गरेर टाउकोको छाला उक्किएर रगताम्मे भईसकेको थियो ।

परि राजकुमारिले मिन्टुको टाउको भित्र पसाउछिन । दुबैलाइ के के खान दिन्छिन र माया गर्दै सम्झाउछिन तर उनको बोली र उनको खाना मा दुबै वास्ता नै गर्दैनन । पखेटा फिजाएर घाउ नै भइ सकेको छ । चुच्चो र टाउको दुबैको रगतै रगतले भिजेको छ । चिन्टुमिन्टुको त्यो दुख देखेर राजकुमारी को मन मान्दैन । आफ्नो दरबार, महल, सुखसुबिधा, जन्मोत्सव उनी सबै बिर्सिन्छ्न ।
राजकुमारी ती पन्छिहरुलाइ अब स्वतन्त्र छोड्न चाहान्छिन तर उनलाइ तिनीहरु उडन सक्छ्न कि सक्दैन्न भन्ने शंका छ । पहिला जस्तै हुन्छ कि भनेर आमाबुबा र अरुलाइ बोलाउन चाहान्छिन तर त्यहा कोहि हुदैन । उनी चिन्टुमिन्टुलाइ त्यस्तो चोट दिएर आफू खुसी साथ जन्मदिन मनाउन सक्दिन थिइन् । धेरै बेर सोच्छिन र हातमा पिन्जडा बोकेर सरासर जङ्गलतर्फ लाग्छिन् ।

उनको सङ्गिहरु केही बुझ्नै सक्दैनन् । चुपचाप राजकुमारिको पछि पछि लाग्छन । घना जङलः बहुमुल्य रत्नले झकिझकाउ परि राजकुमारी र उनका केही साथिसङ्गिहरु हिडिरहेका छन एकोहोरो; हातमा छन सुनको पिन्जडा र त्यसभित्र चुच्चोले पिन्जडा च्याप्दै उड्दै गरेका अर्ध घायल दुई मैनाहरु चिन्टु र मिन्टु । एक घन्टा हिडेपछी उनीहरु पुग्छन कोहि मानिसहरुले देख्न नसक्ने सानो सानो बोटहरु भएको राजपरिवारको लागि मात्र बनाइएको सानो फलफुल बगानमा । उनका साथीहरु पनि उनिलाइ पछ्याउँदै पछ्याउँदै त्यही पुग्छन ।

“यहाँ बस है चिन्टुमिन्टु । यहाँ कोहि मान्छे पनि आउदैन । कुकुर बिरालो पनि छैन । तिमीहरुलाई केही को दुःख हुँदैन । यहाँ यति धेरै फलफुल छ यहि खाएर बस्नु “रुदै रुदै उनी धेरै कुरा भन्छिन् उनको त्यो बेदना देखेर उनका साथिहरु झन मन थाम्नै सक्दैनन ।उता दरबारमा थाहा हुन्छ कि राजकुमारी आफ्नो दुईतीन जना साथीहरुसङग दुईवटा सुगालाइ उडाउन घना जङ्गल गएकी छिन । सबै भय ले काम्न थाल्छन भने राजारानीको मुटुले ठाउँ छोडिसकेको हुन्छ । सबै जना दौड्दै जङ्गलतर्फ जान्छन साथमा बग्गिमा बसेर राजकुमारीको आमाबाबु पनि त्यतै जान्छन् ।
परि राजकुमारीले आफ्नै हातले तन्काएर ती पिन्जडाको मुख ठुलो बनाइदिन्छिन र हातमा चिन्टु मिन्टुलाई राखेर धेरै बेर सुम्सुम्याउछिन र माया गर्छिन । उनको हात र अनुहार भरी रगतै रगतले पोतिएको हुन्छ भने, उनको बस्त्र र गरगहना सबै जङ्गलको झाडीमा च्यापिएर टुक्राटुक्रा भैसकेको हुन्छ । उनलाई खोज्दै दरबारबाट आएका सबै जना त्यही आइपुग्छन् र राजकुमारीको वरिपरि उभिएर हेरिरहन्छन् ।

परि राजकुमारीले हातमा लिएको सुगाहरु फुत्कन खोजेको उनले महसुस गर्छिन । बिस्तारै आफ्नो हात खोल्छिन । भुर भुर उडेर ती दुई पन्छीहरु आकाशमा पुग्छन । उनी आँखाभरी आँसु पारेर माथि हेरि रहन्छिन ! उनी सङ्गै त्यहा भएका सबै आकाश तिर हेरिरहन्छ्न । सबै शान्त छ ! सबै मौन छन । मात्र परि राजकुमारीको आवाज मात्र जङ्गलको चारैतिर गुन्जिरहेको छ, “बाइ ! बाइ !! चिन्टु मिन्टु ! बाइ बाइ चिन्टु मिन्टु !’ ठुलो सुकेको रुखको ठुलो हाँगामा चिन्टुमिन्टु उड्दै गएर टक्क रोकिन्छ्न ।

उनीहरुको बसाइले रुखको पातहरु सररर झरेर राजकुमारीको वरिपरि यसरी झर्दछ मानौँ कसैले आकाशबाट पुस्प वृष्टि गर्दैछन र परि राजकुमारीको जन्मोत्सव मनाउँदै छन । त्यो मनमोहक दृश्य देखेर सबैले भन्छन,“ह्यापी बर्थडे टु यु प्रीन्सेस !! बाइ बाइ चिन्टु मिन्टु !’ परि राजकुमारीलाई राजारानीले बग्गिमा बसालेर महलतर्फ लैजान्छन् । उनी चिन्टु मिन्टुलाई आँखाले देखेसम्म हेरि रहन्छिन् । उनको हात माथी नै उठिरहेको छ, अनि उनको मनले भनिरहेको छ–‘बाइ ! बाइ ! चिन्टु मिन्टु !’

लेखक : बिन्दु अधिकारी

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
हाम्रो फेसबुक पेज