संगठनात्मक चेतमा दुधभाते सदस्य

  प्रकाशित मिति
२५ बैशाख २०७८, शनिबार १४:३९


कुरा केही साता अगाडिको मात्रै हो । खै के कारणले म घर अलिक झमक्कै भएसि पुगेको थिएँ । घरमा भतिजी आएकी रहिछन् । भतिजी उमेरमा म भन्दा लगभग ३–४ बर्ष मात्र सानो हो । त्यसैले उनी र म बिच त्यति धेरै बार्तालाप हुँदैन । ठ्याक्कै कामको कुरामा मात्र गफ हुन्छ । देख्ने बित्तिकै हालखवर सोधेर म भित्र पसें । भान्साबाट मामूले खाना खान बोलाउनु भयो म सरासर लुगा फेरेर खाना खान टेवलमा बसे । हाम्रो घरमा बेलुकाको खाना सबै भेला भएर एकैपटक खाने पुरानो चलन छ । सबै जना खाना खान बसिम् ।

हाम्रोमा खाना खान बसेसी सबैलाई दिनभरको गफ सुनाउनै हतार हुन्छ । फेरि हाम्रो टेवलमा सबैभन्दा धेरै गफ हुने बिषय भनेको राजनीतिसँग सम्बन्धित हुन्छ । म र मेरी मामू बिच ठूलो बैचारिक खाडल छ । उहाँ सदैव भइरहेकै पार्टीहरुको नेतृत्वमा आचरणको परिवर्तन होस् भन्नुहुन्छ भने म सदैव हाल शीर्षस्थानमा रहेका पार्टीहरुको अन्त्य नभएसम्म मुलुक बन्दैन भन्ने तर्कमा हुन्छु । हामी आफ्नो तर्कमा हरदम छलफल गर्न तयार हुन्छौं र प्रायः गरिपनि रहन्छौं ।

गफैगफमा मैले भतिजी तिर हेर्दै सोधें अनि स्कुलमा त पुरा संगठन बिस्तार गर्दै रहेछन् कुनैले समेटेकी समेटेनन् तिम्लाई ? उनले अलिकती मुख खुम्चार प्रतिप्रश्न गरिन् स्कुल ? भतिजी हाल कक्षा ११ मा पढ्छिन् उनलाई स्कुल भनेको अलिक पचेन । ११ मा पढ्नेहरुलाई स्कुल गैनस भनेर सोध्यो भने अलिक रिसाउछन् । हुन त रिसाउने कुरा त हैन तर पनि । १० देखि ४ बजे सम्मको ९ ओटा पुस्तकबाट छुटकारा पाएर बिहानी शत्र पढ्न भर्खर सुरु गरेको मानसिकतालाई स्कुल भन्दा नपच्नु त्यति ठूलो कुरा हो जस्तो मलाई लाग्दैन । मलाई नि ११ मा पढ्दा अनि स्कुल जादैछस् भनेर कसैले सोध्दा अत्ति नै रिस उठ्थ्यो । एसएलसी सकिएको दिन देखि त साडेँ फुस्के जत्ती कै स्वतन्त्रताको महसुस मैले गरेको थिए । बिहान कलेज जाने दिउँसो सुत्ने २ बजे उठेर फुटबल खेल्न जाने प्लान बनएको थिए । फेरि ११–१२ का विद्यार्थीलाई स्कुलमा नि कसैले कडा अनुशासनको साङ्लोले नबाध्ने भएकाले पुर्णरुपले स्वतन्त्रताको अनुभव हुन्छ ।
उनको प्रतिप्रश्नलाई हाँस्दै उत्तर दिए ए… साँची कलेज । उनले फेरि प्रश्न गरिन् कस्तो संगठन भन्नू भाको काका ? त्यो विद्यार्थी युनियनका नेताहरु मिलेर समिति बनाउँछन् नि हौ । तिमिहरुको कलेजमा नि बनाको देख्दैथिएँ त १०५ कि ११५ सदस्यसहितको समिति तिम्लाई कुनै समितिमा हाले कि हालेनन् ? मैले सोधे । उनले एकछिन सोचेर भनिन् ए…… छु नि म पनि । अरे वा ! कुनले समेटेनी ? मैले सोधे । अलि सोच मग्नपारामा उत्तर आयो अ…. एउटा अनेरास्ववियु, अनि फेरि अर्को अनेरास्ववियु, अनि नेविसंघ, अनि…. अनेरास्ववियु क्रान्तिकारी यो क्रान्तीकरी चाहिँ त्यो नेपाल बन्द गथ्र्यो नि अस्ति अस्ति विप्लव उसैको हरे । अनि तिम्लाई कुनमा हाले नि ? उत्तर सबैमा हलेका छन् साँचि के हो काका यो अनेरास्ववियु, नेविसंघ भनेको ? मैले उनलाई यिनीहरु बारे आफूले बुझे जति कुरा बताइदिएँ । कुन संगठन बनाउँदा को आकोथ्यो विद्यार्थी नेता नाम सोधेर सबैको दातृ संगठनहरु फलना फलना हुन् भनेर बताइदिएँ ।
विद्यार्थी संगठन र हाल देखिएका चल्तापुर्ता पार्टीहरुको यो घिन्लाग्दो चरित्र देखेर नचाहदा नचाहदै एउटा सानो लेख लेख्ने प्रयास गर्नै पर्ने आवश्यकता ठानेर सानो प्रयास गरेको छु । आज भोलि म हरेक दिन सामाजिक संजाकहरुमा देखिरहेको हुन्छु विद्यार्थी नेताहरुको स्टाटस । फलना क्याम्पसमा फलनाको प्रमुख आतिथ्यतामा फलनाको नेतृत्वमा १२०–१५० सदस्यीय समितीको निर्माण गरियो । सबैलाई बधाई तथा सफल कार्यकालको शुभकामना । अच्चम लाग्छ एउटाको एउटा संकायमा मरेर जम्मा १००–१५० जना रेगुलर विद्यार्थी हुन्छन् त्यो नि निकै नाम चलेकोमा मात्र । त्यस्तो ठाउँमा कसरी एउटै संकाय भित्र ४–५ वटा पार्टीका छाता संगठन निर्माण हुन्छ त्यो नि १०० सदस्य माथिको ?

मेरि भतिजी नै चारवटा संगठनको सदस्य बनिछन् कसरी एउटै मान्छेले चारवटा राजनीतिक बिचार अवलम्बन गर्न सक्छ ? हालको संगठन निर्माणको प्रक्रिया र फेसन हेर्दा त मलाई सानोमा चुङ्गी र एक्किदुक्की खेल्दा बिजोरी भएको साथीलाई दुधभातेको उपनाम दिई दुबै टिमबाट खेलाएको स्मरण हुन्छ । हैन भने एउटै मान्छेलाई चारवटा संगठनमा राख्नुको अर्थ के ? ती सबै संगठनमा हुने विद्यार्थी बाल्यकालको दुधभाते भए कि भएनन् ?

काहीँ नभएको जात्रा हाडी गाँउमा भने झै कहिलेकाही त ८–९ मा पढ्ने विद्यार्थीहरुलाई नि संगठनात्मक बनाउने होड चलेको छ । उनीहरुलाई राजनीतिक दलको छाता संगठनको झण्डा मुनि राखेर तस्बीर खिचिन्छ । के ८–९ मा पढ्ने ती नानीहरुले बुझेरै संगठनमा लगेका छन् त ? यरि बुझेका छैनन् भने कस्ले दियो ती संगठनहरुलाई बालमनोभावनालाई दुर्गन्धित पार्ने अधिकार ? संगठनमा लाग्न संगठनको सबै कुरा बुझ्नु पर्छ भन्ने छैन । विद्यार्थीलाई संगठनात्मक गरे पछि पनि आफ्नो संगठनको काम कर्तव्य र इतिहास बारे बुझाउन सकिन्छ तर एकै व्यक्तिलाई तीन देखि चारवटा संगठनमा रखेर कस्तो किसिमको संगठनात्मक सिद्धान्त पढाउने स्वैर कल्पना गरेको हो मैले बुझ्न सकिरहेको छुइन ।

विद्यार्थीहरु संगठनात्मक हुने कुरा राम्रो हो । उनीहरुले अप्रत्यक्ष रुपमा राष्ट्रिय राजनीतिमा भाग लिने यो एउटा अवसर हो तर हालको संगठनात्मक पद्धतिलाई हेरौं । नेपाली कङ्ग्रेसको भात्री संगठन नेपाल विद्यार्थी संगठनमा लाग्दा त त्यति धेरै गहिरिनु पर्दैन तर कम्युनिस्टको भात्री संगठनमा लाग्ने हो भने त पहिलै एउटा गुट समाउनु पर्छ । कुन गुटमा कति धेरै सदस्य बनाउने दौड चल्या छ । हाल कुनै पनि संगठनलाई विद्यार्थीको मुद्दामा बोल्ने बहस गर्ने फुर्सदै छैन उनीहरुलाई दुधभाते सहितको संगठन बिस्तार गर्नु छ । अर्कोले भन्दा धेरै सदस्य आफ्नोमा हाल्नु छ । यस किसिमको धमिरा लागेको संगठनात्मक चेतले कसरी परिवर्तनको बाटो अवलम्बन गर्न सक्ला ?

अब हामीले संगठनलाई संख्यात्मक रुपमा देखावटी मजबुत बनाउनु भन्दा गुणात्मक मजबुत बनाउन तर्फ अग्रसर हुन जरुरी छ । हामीले आफै बुझेर मात्र कसैको पछि वा अघि लाग्नु पर्छ । फलनाले यस्तो गरो उस्तो गरो भन्नु भन्दा म के गर्दैछु भन्ने कुरामा ध्यान दिन जरुरी छ । जहाँ सुकै जुनसुकै संगठनमा लागे नि नैतिकता र अनुशासनका साथ आफूलाई सकारात्मक परिवर्तन गर्न जरुरी हुन्छ । कसैले कसैलाई तुच्छ गाली गलोच गरेर भाषण गर्छ भने उसलाई बिस्तापित गर्न खुलेर अभियान चलाउने प्रण गर्नुपर्छ । संगठनलाई दुधभाते बनाउनुको सट्टा थोरै सदस्यीय सकृय र गुणस्तरीय बनाउन जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
हाम्रो फेसबुक पेज