दाइजो र म

  प्रकाशित मिति
२६ बैशाख २०७८, आईतवार २०:३१


दाइजो लिन्न भन्न सजिलो र दिन्न भन्न गाह्रो विषय हो । तर दिदा गुमाउनु पर्ने र लिदा फाइदा हुने भएकाले धेरै मानिस व्यवहारमा फाइदाको पछि लाग्दा सिद्धान्तमा चुक्ने गरेको मेरो अनुभव छ ।
विगत दुईतिन हप्दा अगाडिबाट कान्तिपुर टेलिभिजनमा ऐना नामको साप्ताहिक कार्यक्रम हरेक बुधवार साँझमा आउन थालेको छ । यो कार्यक्रम विशुद्ध सामाजिक विषयमा छ । समाजमा भएका अध्याँरा पाटाहरुलाई यो कार्यक्रमले उत्खनन् गरेर टेलिभिजनको माध्यायमबाट सतहमा ल्याइदिएको छ । कार्यक्रमको अर्को पाटो पनि छ । यो भनेको यो कार्यक्रमलाई सञ्चालन गरेका छन् राजनीतिक व्यक्ति मेरो निर्वाचन क्षेत्रका नेपाली कांग्रेसका पराजित संघिय संसदका उमेद्वार, लोकपृय युवा नेता, कुशल बक्ता र नेपाली कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले ।

यो कार्यक्रमको विषयमा गएको हप्ता नेपाली समाजमा व्याप्त रहेको दहेज अर्थात दाइजो प्रथाले पुर्याएको चोटको केही अंश देखाईएको थियो । कार्यक्रम हेर्ने सबै दर्शकको मन छोएको हुनुपर्छ । आँखा रसाएकै हुनुपर्छ । यस्ता घटनाले मन पोलेकै हुनुपर्छ । यो समाजको विकृति हो, सबैले भन्छन् । कानुनले निषेध गरेको छ । तर जब विवाहको कुरा हुन्छ तब कतिपय समुदायमा हाक्काहाकी यति रकम वा जिन्जि चाहिन्छ भन्ने गरिन्छ र कतिपय समुदायमा मुखले केही भनिदैन तर जे आउछ मजाले स्विकार्ने गरिन्छ ।

दाइजो लिनेलाई मात्रै फाइदा हुने होइन कतिपयका लागि दिनेलाई पनि फाइदा हुन्छ । दिनेले पाउने फाइदा भनेको त्यो दाइदो दिएको देख्नेहरुले र पाउने परिवारले गरेको प्रशंसा र चर्चा । दिनेका लागि सजिलै श्रोत जुटने रहेको अवस्थामा दिनुको सन्तुष्टि र आनन्द पनि हुन्छ । तर श्रोत जुटाउन ठुलै कष्ट सहनु पर्ने परिवारका लागि भने यस्तो दहेज पीडाको कारण बन्ने गर्छ ।
म जुन समुदायमा छु त्यो समुदायमा दाइजो यति दिनुपर्छ, यो यो दिनुपर्छ भनिदैन । तर विवाह भनेको बेहुला हुन्छन्, बेहुली हुन्छिन् । उनीहरु नयाँ लुगामा सजिएका हुन्छन् । जन्ती हुन्छन् ।

घरगाउँले हुन्छन् । विवाह मण्डप हुन्छ । विवाह गराउने पण्डित हुन्छन् । निम्ता हुन्छ । निम्तालुलाई भोज खुवाइन्छ । बेहुलीसँगै दाइजोको रुपमा केही समान हुन्छन् भन्ने कुरा अनिवार्य जस्तै भएको छ । दाइजो वा दहेजको विरोध मैले सानैदेखि सुन्दै आएको हुँ । म अलिअलि बुभ्mने हुन थालेपछि राजनीति र सामाजिक गतिविधिमा सामेल हुन थालें । त्यहाँ पनि दहेज वा दाइजो लिनुदिनु बेठिक हो भन्ने नै सुनें, पढें ।

मेरो विवाहको समय आयो । म अलिअलि बुभ्mने अवस्थाको थिएँ । विवाहको कुरा हुँदा मैले कुनै पनि समान दाइजोको रुपमा लिनु हुदैन बुबा भनेर बुवालाई भनेको थिएँ । बुबाले त्यो कुरा मेरो श्रीमतीको बुबाआमालाई भन्नुभएछ । वहाँहरुले सहजै स्विकार्नु भयो । लाउने लुगा, साधारण गहना(बेहुलीका लागिमात्र), गोडा धुदा प्रयोग भएको तामाको खडकुडो, गाग्री, लोटा, जग्गेमा बेहुलाबेहुली बस्न प्रयोग भएको दरी बाहेक केहीको लेनदेन भएन । यसमा कसैले कुनै कुरो उठाएको मैले थाहा पाइन ।

हाम्रो परिवार अभावमा थियो तर पनि हामी सन्तुष्ट थियौं । किनकि दाइजो लिनुदिनु हुदैन भन्ने नै ठिक लागेको थियो । समाजमा विवाह हुन्थे, भइरहेका छन् तर दहेज वा दाइजो रोकिएको छैन । दाइजो नल्याएको, कम ल्याएको भनेर छोरी पीडित हुने क्रम रोकिएको छैन । मेरो विवाहमा म दाइजो लिन्न भन्न सक्ने भएको थिएँ । त्यो सजिलै लागुभयो । त्यो बेला अहिले जत्तिको अनिवार्य जस्तो पनि थिएन । समय बित्तै गयो । समाजमा दाइजो वा दहेज लिनुदिनु सामाजिक अपराध हो भन्ने पढन पढाउन छाडिएको छैन । तर, चलन घटनुभन्दा बढेको अनुमान लगाउन गाह्रो छैन ।

मेरो विवाह २०३६ सालमा भएको थियो । त्यसपछि हाम्रो परिवारमा पहिलो विवाह माइलो भाइ लक्ष्मीको २०५० मा भयो । यो बेलासम्ममा म नै घरव्यवहारको हर्ताकर्ता भइसकेको थिएँ । विवाहको कुरा छिनेपछि ससुराबुवाले समान के के दिउँ भनेर सोध्नु नै भएको थियो । त्यो परिवार अलि पहिल्यैबाट परिचित भएकाले कुरा खुलेर गर्न खासै समस्या भएन । मैले दाइजोमा केही लिदैनौं । केही नदिनु होला भनेको थिएँ । ज्वाइले केही लान मान्नुभएन कसरी खालिहात पठाउनु भनेर बेहुलीका हातमा तिनहजार रुपियाँ हाल्दिनु भएछ । यसले टीभि किन्नु भनेको थियोरे । त्यो बेला रंगिन टिभि हाम्रो पहुँचमा थिएन र श्यामस्वेत टिभि यो मुल्यमा किन्न पाइन्थ्यो ।

त्यसपछि बहिनी बविताको बिवाह २०५२ सालमा भयो । यो विवाहमा बहिनी ज्याइको कुरा मिले पछि दुवैतिरका परिवारले मागि बिवाहको औपचारिकता पुरा गरेका थियौं । परिवारमा स्थापित हुदै गएको सोचको कारण दाइजोको लेनदेनको कुरा नै भएन । यसमा पाउने र दिने कसैले पनि असजिलो मानेनौं । हेर्ने र कुरा गर्नेले के कुरा गरे के सोचे ध्यान दिएनौं । थाहा नै पाएनौं । यो पछि २०५६ सालमा साइलो भाइको विवाह भयो ।

केटाकेटीको भेटघाट, हेराहेर र मन्जुरी पछि कन्याको कुरा छिन्दैगर्दा मैले नै दाइजोको रुपमा कुनै जिन्सिको जोरजाम नगर्नुहोला, हाम्रो परिवारमा यस्ता बस्तुको लेनदेन गर्ने परम्परा छैन भनें । ससुराबाले मन्द मुस्कानमा हास्दै सबैले यस्तै भन्छन् तर त्यो हाम्रो खुसीको कुरा हो नि भन्नुभयो । यो कुराको संकेत बुझेपछि मैले कुरालाई अलि गम्बिररुपमा लिन अनुरोध गर्दै हाम्रो परिवारको सोच र परम्पराको कुरा अलि दृढश्वरमा राखें र यो लेनदेन हुदै पर्छ भन्ने होभने त कुरा यही टुङ्गिन्छ, अगाडि नबढौं भने । बढाबुवा प्रजापति अभिभावकको रुपमा जानुभएको थियो ।

उहाँले मध्यस्तता गर्नुभयो । यी केटाहरुले पहिला पनि लिएदिएको थाहा छैन । नगर्दा नै राम्रो हुन्छ । पछि छोरीले घरखाई भन्ने लागेपछि, घरजम भएपछि जे दिन मनलाग्छ लिए भैहाल्छ भन्नुभयो । मैले पनि त्यो दिएको खुसीले हो र अहिले दिने भनेको देखाउने र वाध्यता नै हो भनें । त्यसपछि ससुराबुबाले तपाईहरुको सोच नै त्यस्तो छ भने त हामी के भनौं त भन्नु भयो र कुरा अगाडि बढेको थियो । कान्छो भाइ मनोजको विवाह चिरपरिचित परिवारसँग भएकाले यसबारेमा कुरै उठाउनु परेन । सालो घनस्याम दाहालको विवाह पनि मैले नै गराईदिनु पर्ने थियो । उनको सम्पुर्ण अभिभावक मै थिएँ । केटीको टुङ्गो गर्न र कुरा छिन्न घनस्यामलाई लिएर म नै पुगें । त्यो परिवारमा कुरा छिन्दै कुरा गरियो दाइजो लिने गर्दैनौं भने । कोठामा चाहिने साधारण फर्निचरको व्यवस्था हामी नै गर्छौं भनें । कुरा सकियो ।

सालो घनस्यामको विवाहको कुरा छिने पछि केही समस्याहरु देखा परे । घनस्यामले कलेज पढदाखेरी नै हिमचिम अलि अघि बढेकी एक सहपाठी रहिछन् । उनीले विवाह मसँग हुनुपर्छ भनेर दावि गरिन् । कुरा यतिमै सिमित भएन घरपरिवार हुदै समाजमा पैmलियो । पार्टीमा छलफलको विषय बन्यो । मैले घनस्यामलाई सोधें उनले त्यस्तो केही होइन भनेपछि म उनको पक्षमा उभिएँ र पूmलमाला भएको विवाह रोकिदैन भनेर लागें । सहपाठी चेली(हाम्रो नाताकी)को पक्षमा बजारमा अनेक हल्ला चलाइए । घनस्यामको विवाह पछि पनि उनको अभियान रोकिएन । बेहुली ल्याएर भित्र्याउन नपाउदै घनस्यामको कोठामा आएर बसिन् ।

यो प्रसँग किन उठाएँ भने यहाँ मलाई आरोपित गरिएको विषय थियो घनस्याम त यो केटी विहे गर्न राजी थियो तर दाइजोको लोभले भिनाजु रामचन्द्र उप्रेतीले करकाप गरेर छेकेर घनस्यामलाई उसकी सहपाठीसँग विवाह हुन नदिएको हो भनेर आरोपित गरियो । बजार हल्ला र आरोपको खण्डन गर्न मलाई निकै सकस भएको थियो । यसपछि छोराछोरीको विवाह गर्ने पालो आयो । पहिला छोरा राजुको विवाह गरियो । यहाँ असजिलो केही थिएन । बुहारीका लागि कुरा छिन्दा नै दाइजो लिदैनौं भने । कुरा सकियो । यो बेलासम्म हाम्रो परिवारको संस्कार स्थापित जस्तै थियो । यो धेरै टाडाको कुरा पनि थिएन ।

छोरी सुजाताको विवाह अमेरिकामा भयो । पहिला कोर्टमा र पछि म पुगेको समयमा मन्दिरमा टिकाटालो । यहाँ झन् सजिलो । अन्तिम पटक कान्छी छोरी सरलाको विवाह काठमाडौँमा विल्कुलै नयाँ ठाउँ र नयाँ परिवारसँग हुन पुग्यो । यहाँ चलनलाई नपछ्याई नहुने भयो । चलन अनुसार एकसरो फर्निचर सेटको व्यवस्था गरियो । सायद म आफै हर्ताकर्ता भएर विवाह गरिदिने र दाइजोको कुप्रथालाई व्यवहारमा नै लागुगर्ने मेरो अवसर यो नै अन्तिम हो । मेरो आफ्नो विवाह पछिका आठवटा विवाहमा श्रीमती लक्ष्मी पनि सँगै थिइन् । उनले मेरो विचारलाई साथ दिइन् ।

कहिल्यै यसबारेमा गुनासो गरिनन् । यो उनको ठुलो सहयोग हो । भन्नलाई मानिस आदर्शका कुरा धेरैले गर्छन् तर आफुलाई फाइदा हुने कुरामा मानिस विभिन्न बहाना बनाएर पछिसरेको धेरै देखेको छु । जे होस् म यसमा अडिन सकेको र व्यवहारमा लागुगर्न सकेकोमा गर्व र खुसी महशुस गर्छु ।

लेखक : रामचन्द्र उप्रेती

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
हाम्रो फेसबुक पेज