क्रान्ति आफैँबाट थालौँ

  प्रकाशित मिति
२९ बैशाख २०७८, बुधबार १५:३५


कथा आफैले भोगेको कुरा हो । साँझपख घरमा खाना बनाउँदै गर्दा एक जाना केटी साथीको फोन आयो । गफ गर्दै खाना बनाउदै थिए उताबाट प्रश्न आयो ‘के गर्दैछौँ ?’ मैले उत्तर दिए ‘खाना बनाउदै छु ।’

त्यतिकैमा उताबाट सुझाव आयो “तिम्रो बिहे गर्ने बेला भएछ“ मैले प्रश्न गरे किन ? उस्ले हास्दै उत्तर दिईन् “विहे गरे पछि खाना बनाउनु पर्दैन नि त ।’ यो उत्तरले एक छिन मुटु बिझ्यो, अनि विचार गरे ।

के साच्चै विवाह गरे पछि खाना बनाउने जिम्मा श्रीमतीको मात्रै हो त ? मैले बारम्बार यही खालको सुझाव मेरै परिवारमा समेत पाएको छु । घरमा खाना बनाउने कोही भएन अब त छोरोको विहे गरिदिनु पर्छ भन्ने सुनेको छु । अझै पनि मेरो पढे लेखेका, समाज बुझेका साथीभाइ, दाजुदिदी, आमाबुबालाई खाना बनाउने काम श्रीमती र बुहारीको मात्र हो भन्ने मनोवृत्ति रहेको छ । त्यसैले लैङ्गीक क्रान्ति आफू र आफ्नो परिवार भित्र अनिवार्य छ ।

क्रान्ति ल्याटिन शब्द ‘रेभोल्युशियो’ बाट आएको शब्द हो । जस्को अर्थ “अवस्थापल्ट“ हुन्छ । सामान्य रुपमा बुझ्ने हो भने क्रान्ती भन्नाले सकारात्मक परिवर्तनको लागि गरिने बिद्रोह हो । विद्रोह हिसांत्मक मात्र हुन्छ वा हुनुपर्छ भन्ने छैन । विद्रोह भन्नाले आज्ञा वा आदेशको पालना नगर्नु हो । त्यो समाजको असामाजिक मूल्य मान्यताको आदेश होस् वा कुनै अमुक व्यक्ती वा शत्ताको । समाज रुपान्तरणको लागि बिद्रोह गर्नेहरु क्रान्तिकारी हुन । क्रान्तिकारीहरुको एउटै सपना हुन्छ, परिवर्तन !

कुनै पनि क्रान्ति गरिनु पूर्व समाजको विश्लेषण गरिनु पर्छ । समाज बुझ्न परिवार बुझ्नु पर्छ । परिवार भनेको व्यक्ति–व्यक्तिको सानो समूह हो । क्रान्तिकारीहरुको पहिलो विद्रोह आफैबाट, आफ्नो परिवारबाट सुरु गर्नुपर्छ । नेपाली समाजको ईतिहासमा महिलामुक्ति र पितृसत्तात्मक सोचको अन्त्यको लागि धेरै क्रान्तिहरु भए÷गरिए । ती क्रान्तिहरु घर बाहिरबाट सुरु भए÷गरिए । त्यसैले ती त्यति सफल हुन सकेनन् । अझै पनि हाम्रो समाजले एउटा क्रान्ति खोज्दैछ, आफू भित्रको क्रान्ति जस्को सुरुवात स्वयम् आफू र आफ्नो परिवारबाट हुन्छ÷हुनुपर्छ ।

हाम्रो समाजमा अझै पनि घरको ठूलो मान्छे वा प्रमुख भन्नाले बुबा भनेर परिचित गरिन्छ । यस्को सुरुवात सबै भन्दा पहिला विद्यालयबाट हुन्छ । एउटा बच्चालाई घरको ठूलो मान्छे अर्थात बुबाको नाम के हो भनेर प्रश्न गरिन्छ । घरको आन्तरिक काम आमाको हो र बाहिरको पैसा कमाउने काम बुबाको भनेर पढाईन्छ । अझै पनि कतिपय पुस्तकमा यहि लेखिएको र यहि छापेको भेटिन्छ । यसरी ठूलो भनेको पुरुष भन्ने मनोवृत्ति जवरजस्त रुपमा कलिलो मस्तिष्कमा स्थापित गरिन्छ÷गर्ने कोसिस गरिन्छ ।

जब बच्चा घरमा आउँछ उस्ले सधैँ घर भित्रको सम्पूर्ण काम आमाले मात्र गरेको भेट्छ । घरको सरसफाइदेखि खाना बनाउने सम्पूर्ण काम आमाले गरेको देख्छ । सङ्गै बढ्दै गरेकी बहिनीले भाडा सफा गर्दा आमाले उस्लाई कहिल्यै बहिनीलाई सघाउनु पर्छ भनेर सिकाउनु हुँदैन । आमालाई भान्सामा बुबाले सघाएको कहिलै भेट्दैन, लुगा धुदा बुबाले पानी लगाएको देख्दैन यसरी बच्चाको मस्तिष्कमा घरको सम्पूर्ण काम भनेको आमा अर्थात् नारीको हो भन्ने अर्को मनोवृत्ति स्थापित गरिन्छ ।

संघर्ष आफ्नै रितिरिवाजका विरुद्ध नि अनिवार्य छ । महिनावारीको पिडामा रहेकी महिलालाई पर सरेको÷ अपवित्र भएको भनी कसैलाई छुन÷ केही शुभकार्य गर्न बन्देज गरिन्छ । रजस्वलाको पीडा सँग जुदिरहेकी एक नारीलाई पारिवारिक तिरस्कारको पीडाले अझ पोल्ने कार्य हाम्रै घर परिवारले गर्छ ।

एउटा प्रकृतिको प्रकृयालाई यसरी कसैलाई पीडा दिने÷अपहेलित गर्ने कार्यको रुपमा बुझिन्छ ÷ बुझाईन्छ । यो कुप्रथा पुस्तादेखि पुस्ता सर्दै आएको छ । छोरीले आफ्नो आमा बुबालाई दागवत्ती दिन नपाउने, कपाल खैरेर क्रिया गर्न नपाउने आदि जस्ता संस्कारका विरुद्ध पनि स्वयम् युवा अगाडि सरेर आउनु पर्छ । यो कसैले रोक्न छेक्न सक्छ, कसैले यस्को चेन ब्रेक गर्न सक्छ भने त्यो युवा पुस्ता मात्र हो ।

हाम्रो समाजको अर्को घटना : केही समय यता समाजमा हुने गरिने विभिन्न धार्मिक ÷ सामाजीक कार्यको सहयोग संकलनको जिम्मा मैले पाए । हाम्रो समाजमा हुने प्रायः कार्यक्रममा ८० प्रतिशत सहभागिता महिलाको हुन्छ । तर सहयोग रसिदमा ९० प्रतिशत नाम पुरुषको भेटिन्छ । उपस्थित हुने महिलाहरु कहिले आफ्नो नाममा सहयोग गर्न रुचाउदैनन् । आफूलाई क्रान्तिकारी भन्ने महिला दिदी बहिनीहरु पनि सहयोग रसिदमा आफ्नो नाम टिपाउन गाह्रो मान्नु हुन्छ । त्यसैले यहाँ पनि आफैबाट एउटा क्रान्तिको अभाव महसुस भयो ।

समाजमा अझै पनि आर्थिक आर्जनको बिषयमा महिलालाई पछाडि पारिएको घटनाहरु छन् । बाहिर जतिसुकै काम गरे पनि घरायसी काम बाट महिलालाई छुटकारा मिल्दैन । निर्वाद रुपले अर्थाेपार्जनमा समेत महिलाको पहुँच हुँदैन । सकेसम्म श्रीमतीलाई आफ्नो श्रीमानसँग आर्थिक रुपमा निर्भर गर्ने कोसिस गरिन्छ । घरको व्यवहार पुर्णरुपले श्रीमतीलाई दिने गरिन्न । एउटा क्रान्ति यहाँ महिलालाई आर्थिक रुपमा सबल बनाउन अनिवार्य छ । सिपमूलक शिक्षाको व्यवस्था गर्ने अनि आफ्नो खुट्टामा आफै उभिन सके क्रान्ति सम्भव छ ।

प्रायः शिक्षक युवा छन्, अहिलेका आमाबुबा÷अब हुने आमाबुबा सबै युवा नै हुन् । अब समाजको हरेक अङ्गमा आउने भनेको युवा नै हो । त्यसैले अब युवाले आफैबाट क्रान्ति थाल्नु पर्छ । क्रान्ति परिवारबाट थालिनु पर्छ, क्रान्ति स्कुलमा थालिनु पर्छ । जबसम्म स्कुलदेखि घरको प्रमुख भन्नाले बुवा मात्र हो । पैसा कमाउने जिम्मा बुबाको मात्र हो । आर्थिक रुपमा आमा बुबामा निर्भर हुनु पर्छ ।

रजस्वला भएको बेला महिला अपवित्र हुन्छिन् । घरमा घर भित्रको काम आमाको मात्र हो । घरायसी काम गर्न विवाह गर्ने हो । सामाजिक कार्यमा बुबाको मात्र नाम आउनु पर्छ जस्ता मनोवृत्तिहरुलाई क्रान्तिकारी युवाले आफू र आफ्नो घर परिवार, स्कुल, समाजबाट परिवर्तन गर्न सक्दैनन् तब सम्म उनीहरु क्रान्तिकारी बन्न सक्दैन्न । किनकि क्रान्ति आफैबाट सुरु हुनु पर्छ । आफू र आफ्नो परिवारबाट ।

लेखक : मदन ओली

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
हाम्रो फेसबुक पेज