कथा : कस्ता दिन आए ….

  प्रकाशित मिति
२२ जेष्ठ २०७८, शनिबार १६:३४


‘ला ! ला ला ! लौन, यहाँ आउनु न, यता सुन्नु न !!’ भन्दै मोवाइल हातमा लिएर दौडँदै गणेश भए ठाउँमा पुगि गरिमा ।
‘होइन के भयो ? के सारो आत्तिएकी ?’ भन्दै कम्प्युटरबाट आँखा हटाएर गरिमाको हातको मोवाइलमा आँखा पुर्यायो गणेशले ।
‘यहाँ…. यी यहाँ हेर्नु न…!’ भन्दै कसैको स्टाटसमा गरेको प्रतिक्रिया देखाई । गणेशले कमेन्ट पढ्यो ‘भावपूर्ण श्रद्धाञ्जलि’

‘लौ को हो फेरि?’ गणेशले शसङ्कित हुँदै गरिमालाई हेर्यो । उसका आँखामा आफ्ना नजिककै कोही मरेछन् कि भन्ने डर प्रस्ट देखी गरिमाले । ऊ झन् अत्तालिई ।
‘होइन क्या, पहिला यो डिलिट गर्नु त, कस्तो डिलिटको अप्सन नै पो देखाउँदैन त आपत परेको बेलामा त झन् । यसलाई कसरी डिलिट गर्नु, हेर्नु हेर्नु’ भन्दै मोवाइल गणेशको हातमा राखेर छोरो भएठाउँमा कुदी । सोफामा सुतेर टिभिमा युटयुब हेरिरहेको छोरोलाई केही नभनी पहिला तानेर उठाई अनि मात्र ‘हेर् हेर् तैँले जान्दछस् कि!’ भन्दै गणेश भएठाउँमा लगि ।
‘के भयो ? ह्या.. यो आमा पनि! के भयो कसो भयो छैन एकैचोटि ठेलेर ल्याउनु हुन्छ । छोरोले रिसाए भन्यो ।

‘त्यहाँ हेर न ! हेर त ! तैँले जान्दछस् होला, डिलिट नै भएन क्या!’ भन्दै कुइना र पाखुरामा हुत्त हुत्त ठेल्दै गणेशको हातको मोवाइलतिर सङ्केत गरी ।
गणेश मुसुमुसु हाँस्दै ‘तँ हत्पतेलाई त ठिक्क पर्यो, कम्तिमा पहिला हेर्नु त पर्छ, स्टाटस नपढी अन्दाजको भरमा प्रतिक्रिया लेख्छेस् नि, यी यस्तै हुन्छ’ भन्दै मोवाइल छोरोको हातमा राखिदियो । गणेशले कुरा बुझीसकेछ । गणेशको कुरामा ध्यान नदिई उसको हातबाट मोवाइल लिएर त्यही प्रतिक्रिया देखाउँदै–

‘यो, यो बाबु, हेर त डिलिट नै भएन’ भनी । छोरोलाई के प्रतिक्रिया, कस्तो प्रतिक्रिया केहीको वास्ता भएन, उसलाई डिलिट गरेर त्यहाँबाट उम्किनु थियो ।
उसको युट्युवमा हेरिरहेको गेम पनि बन्द गर्न नपाउँदै आमाले तानेर ल्याएकी थिइन् । त्यसैले केही प्रश्न नगरी मोवाइल हातमा लिएर प्रतिक्रियालाई व्याक गर्यो । व्याक गर्ने वित्तिकै कहाँ थियो थियो फेरि त्यो प्रतिक्रिया भेटेन ।

‘लौ न कतिजनाले हेरिसके होला, फेरि के ग¥यो यो केटाले, डिलिट गर्छहोला भनेको त’ भन्दै स्टाटस राख्नेको नाम सर्च गरेर निकै समय लगाएर भेटी । यी हेर् त यो !’ भन्दै उसलाई देखाउँदा देखाउँदै आफैँ देखी त्यहाँ डिलिटिको अप्सन आईसकेको थियो । उसले  ‘ए, लु लु आयो, मै गर्छु’ भन्दै डिलिट गरी आफैंले लेखेको प्रतिक्रिया ‘भावपूर्ण श्रद्धाञ्जलि’ उसले त्यति गर्दासम्म छोरो अघि नै त्यहाँबाट भागिसकेको थियो । गरिमा त्यो प्रतिक्रिया डिलिट गरिसकेर छेउको पलङमा थ्याच्च बसेर लामो स्वास फेरि । ‘क—कसले हेरे नि… ’ उसलाई मनमनै डर र दुःख पनि लागेर आयो ।

‘कस्तो भएको यो.. जन्मदिनको शुभकामना दिनुपर्ने श्रद्धाञ्जलि लेखिन थाल्यो ।’ गणेशले पनि मोवाइल हेरेदेखि फेरि ल्याप्टपमा आँखा लगेको थिएन ।
‘हिँजो बेलुका सुत्ने बेलामा पनि कोरोनाबाट मरेका चार पाँच जनामा श्रद्धाञ्जलि लेखेर सुतेकी थिएँ, अहिले बिहान उठेर पनि चिया खाँदै फेसबुक हेरेको पाँच छ जना कोरोनाबाटै मरेकाहरुको फोटो राखेको रहेछ, सबैलाई श्रद्धाञ्जलि लेख्दै थिएँ ।

यो पनि त्यस्तै होला जस्तो लाग्यो, स्टाटस पूरा पढिन, अगाढि हाम्री छोरी, साह्रै मिलनसार…. लेखिएको थियो, अरु लेखिएको पढ्न थप हेर्नमा थिच्नु पर्ने थियो, मैले त्यसो गरिन, मरेकै जस्तो लागेर प्रतिक्रिया दिईहालेँ, फेरि अरु प्रतिक्रियाहरु देख्दा पो थाहा पाएँ जन्मदिन रहेछ भनेर …’ उसले गणेशलाई बृतान्त सुनाईँ । गणेशले केही प्रतिक्रिया दिएन खासमा उसलाई पनि आजभोलि फेसबुकमा आएका फोटो देख्ने बित्तिकै श्रद्धाञ्जलि लेख्नुपर्ने हो कि होकि जस्तो लाग्न थालेको छ ।

‘साँच्चै, यो कस्तो समय आयो? यो महामारीले यति धेरै मान्छेहरु भकाभक मरे कि फेसबुकमा, सामाजिक सञ्जालहरुमा मरेकै मात्र खबर, मरेका मान्छेका मात्र फोटो राखिरहेकाले होला अन्य फोटोहरु राख्दापनि श्रद्धाञ्जलि नै लेख्न मन लागिहाल्छ मलाई पनि’ गणेश आफ्नो टेवल छाडेर गरिमासँगै आएर बस्दै आफ्नो मनोदशा पनि सुनायो ।’

‘यस्ता दिन त मानव इतिहासमै आएका थिएनन् होला जस्तो लाग्छ, एकातिर आफ्नै आमा बाबु, छोराछोरी मर्दैगर्दा, विरामी भएर छटपटाई रहँदा पनि गएर सहयोग गर्न नपाउनु, रुन कराउन नपाउनु, अर्को तर्फ हुँदा हुँदा अब त ज्यूँदै मान्छेलाई श्रद्धाञ्जलि लेख्न थालिसकियो, यो भन्दा त्रासदिपूर्ण समय कहिले आएको थियो होला र है..’ भन्दै गरिमा सुँक्क सुँक्क रुन थाल्छे ।
गणेशले पछाडिबाट गरिमालाई अँगालेर भन्यो ‘खै… यी कस्ता दिन आए आए, कहाली लाग्दा’

लेखक : खगिन्द्रा खुसी

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
हाम्रो फेसबुक पेज