आइ लभ यु जिन्दगी

  प्रकाशित मिति
२५ जेष्ठ २०७८, मंगलवार १७:०४


            ।। अम्रिता खरेल ।।

सोचे जस्तो हुन्न जीवन
सम्झें जस्तो हुन्न जीवन
जस्तो भोग्यो उस्तै हुन्छ
देखे जस्तो हुन्न जीवन

गीतकार दिनेश अधिकारीका यी जीवन्त हरफ जस्तै भएको छ आजको समय र हामी मान्छेको जिन्दगी । सधैं व्यस्त र कहिले फुर्सद नहुने यो जिन्दगीको यात्राको सुरुवात आज मान्छेको अनौठो तरिकाले हुने गरेको छ ।

कसैलाई आफ्ना दैनिक काम गर्न हतार छैन । सजिलो छ आजभोलिको जीवनशैली । लाग्थ्यो जीवन भित्रको समयको गति सधैं उस्तै हुन्छन् । सधैंभरि पन्छी जसरी स्वतन्त्र भएर नाँच्न सकिन्छ, बाँच्न सकिन्छ अनि हाँस्न र गुन्गुनाउन पनि सकिन्छ । तर, ती सोचहरु कहिलेकहीँ भ्रम बनिदिँदारहेछन् । आज लाग्दैछ मान्छेले कल्पनै कल्पनामा केही यस्ता दिनहरुको दैनिकी बनाउन आवश्यक हुनेरहेछ जहाँ मान्छे बन्दकोठामा सीमित होस् । सबै प्रियजनहरुबाट टाढा होस् । अनि आफ्ना मान्छेलाई आफ्नो होस् भनेर संबोधन गर्ने र नजिक राखेर आफ्ना पीडा सुनाउन पनि नसकियोस् ।

मान्छे आज भोलिको यो समयमा यति दिक्क भइसक्यो कि आफ्नो जिन्दगीको केही पल भए पनि यी श्रद्धाञ्जलि बनेर आउने प्रत्येक दिनहरुबाट भागेर मान्छे प्रकृतिमा हराउन चाहान्छ । ऐठन भन्दा नमीठा दिनहरु चलिरहँदा मान्छे आजभोलि यो परिस्थितिहरुसँग त्रसित बनेको छ । यस्तो अनौठो मृत्युको सिजन मान्छेले जुनसुकै इतिहास कालमा पनि फर्केर नआओस् भन्ने कामना गरिरहेको छ ।

स्वर्गीय गायिका तारादेवीले गाउनु भएको गीत
फूलको थुङ्गा बहेर गयो
गंगाको पानीमा
कहिले भेट होला है राजै
यो जिन्दगानीमा ………..

भने झैं आज हामी त्यहि दिनको प्रतीक्षा गरिरहेका छौँ जहाँ यो समयसँग गरेको संघर्ष चाँडै सकियोस् । चिनको वुहान प्रान्तबाट सुरुवात भएको कोरोना महामारीले नेपालीलाई मात्र होइन कुनै समय विश्वमानै तहल्का मच्चाई रहेको थियोे भने विस्तारै त्यसको प्रभाव आज पनि धेरै देशहरूमा कहि कम त कहिं बढी देखिनै रहेको छ । हाम्रो देश नेपालको सन्दर्भमा कुरा गर्ने हो भने यो १४ महिना भन्दा लामो समय भइसक्दा पनि नेपालीका दिनहरु सोचे जस्तो सहज हुन सकेन । कारण स्वरुप हरकोही नेपालीको चाहना, दैनिकी, जीवनशैलीमा परिवर्तन गरिदिएको छ यो समयको संक्रमणले …….

गीतामा भनिएको छ जे भयो त्यो राम्रो हुनका लागि भयो र जे हुनेछ त्यो पनि राम्रो हुनका लागि हुनेछ । सधैं सपना जस्ता दिनहरु बिकराल परिस्थितिहरु, संक्रमण रहिरहन नसक्ला । तर यस परिस्थितिले हामी मान्छेलाई पढाएको पाठ र शिक्षा न त कुनै विश्वविद्यालयका किताबमा पढ्न पाउछौँ न त जिन्दगीमा । हामीले यो संक्रमणका दिनहरुलाई सजिलोसँग बिर्सने छैनौं । किनभने यो संक्रमणको घडीले हामी मान्छे भित्रको अहमता र बहादुरीपनलाई पनि राम्रो जवाफ दिएको छ । जिन्दगीका जस्तासुकै चुनौतीहरुको सामना एक्लैले गर्नुपर्दछ भन्ने शिक्षा आजको समयले मान्छेलाई सिकाएको छ ।

हामी आफू आत्मनिर्भर हुन सकेनौं भने परनिर्भरताले हामीलाई कसरी गुलाम बनाउँछ भन्ने उदाहरण पनि हामीले बिस्तारै सिकिरहेका छौं । अन्त्यमा यी कमजोर दिनहरु हाम्रा निम्ति शक्ति बनुन् । प्रत्येक दिन पृथ्वीमा पर्ने घामका झुल्काहरु सम्पूर्ण प्रााणीका निम्ति घातक मात्रै पनि सावित हुँदैनन् । त्यसैले त केही सुन्दर सपना भोलिका बिहानीहरुका निम्ति साँच्नु त छँदैछ । भोलिका सूर्यदयका दिनहरु सबैका निम्ति उज्याला र पारिला हुन सकुन् ।यही आसाहरु साँच्नुको विकल्प सास रहुन्जेलसम्म हामी मान्छेमा रहिरहने पनि त रहेछ । त्यसैले आफुलाई आफैँसँग भन्न मन लाग्यो लभ यु जिन्दगी…………….।

 

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
हाम्रो फेसबुक पेज