झापामा जति जनसङ्ख्या, उति नै मानिस बिरामी

अर्जुन कार्की

झापा । २०६८ को जनगणना अनुसार झापाको जनसङ्ख्या ८ लाख छ । अहिले बढेर यो सङ्ख्या ९ लाखको हाराहारीमा पुगेको छ । अचम्मलाग्दो कुरा त जिल्लामा जति जनसङ्ख्या उति नै मानिस विरामी छन् ।

२०७५÷०७६ मा झापाका सरकारी तथा निजी हस्पिटलहरुमा उपचार गर्न आउने विरामीको सङ्ख्या ८ लाख ५१ हजार ३८४ दर्ता भएको छ । २०६८ को जनगणनालाई मान्ने हो भने अब झापामा हरेक व्यक्ति विरामी छन् ।

जिल्लाका हस्पिटलहरु जति बढे, विरामी उति नै धेरै बढ्दै गएका छन् । जुन हस्पिटल गयो, उस्तै भीड देखेर एक जना सामाजिक कार्यकर्ताले फेसबुकमा प्रश्न गरेका थिए, ‘घरघरै विरामी छन् कि क्या हो ?’

स्वास्थ्य सम्बन्धी सर्वेक्षण कसैले नगर्ने भएकाले झापामा वर्षेनी कति मानिस कस्ता रोगले विरामी हुने गरेका छन् भन्ने तथ्य पाउन सकिदैन । तर, यस प्रश्नको उत्तर खोज्न लोकतन्त्र पोस्टको टिमले यसपटक तथ्याङ्क विश्लेषण गरेको छ भने हस्पिटलहरुको अवस्था अध्ययन गरेको छ । यसबाट निस्किएका नतिजाहरु यस्ता छन् ः

झापामा एक दशक यता अस्पतालको सङ्ख्या बढेको छ । मेची अञ्चल अस्पतालले पाँच दशकभन्दा अघिदेखि अञ्चलभरिका चारै जिल्ला धान्ने गरेकोमा भद्रपुरमा एघार वर्ष अघि ओमसाई पाथिभरा पहिलो सुविधा सम्पन्न निजी हस्पिटलको रुपमा जन्मियो ।

अञ्चलमै पहिलोपटक आइसीयु सुविधा भित्राउने ओमसाई जस्तै ठूला निजी हस्पिटलको सङ्ख्या जिल्लामा दर्जन पुगिसकेको छ । बिर्तामोड त हस्पिटलको हब नै भइसक्यो । बीएन्डसी, बिर्तासिटी, मनमोहन, कनकाई लगायतका ठूला हस्पिटल खुल्नाले उपचारको नाममा भारतमा लुटिन जाने बाध्यता पुरै हटेको छ । बीएन्डसीले सीटी स्क्यान र एमआरआई प्रविधि पहिलोपल्ट भित्र्यायो ।

झापाको जनसङ्ख्या बढेर ९ लाख पुगेको मान्ने हो भने पनि करीव एक लाख त जिल्ला वा मुलुक बाहिर पक्कै छन् । त्यसो हुँदा तिनै आठ लाख मानिस जिल्लामा बस्छन् र विरामी भएका बेला उपचार खोज्न यहीका सरकारी र निजी हस्पिटलमा धाउँछन् ।

स्वास्थ्य कार्यालय झापाका तथ्याङ्क अधिकृत चुडामणि लुइँटेलका अनुसार आव २०७५÷०७६ मा २ लाख ६२ हजार ४७ जनाले निजी हस्पिटलहरुबाट उपचार गराएका छन् । यीमध्ये ६२ हजार पहाडी जिल्लाबाट रेफर भई आएको मान्ने हो भने पनि चोखो २ लाख जनसङ्ख्या झापाकै मान्नु पर्छ ।

निजीको तुलनामा सरकारी अस्पताल र स्वास्थ्य केन्द्रहरुमा विरामीको लर्को थामिनसक्नु छ । अझ सरकारले स्वास्थ्य विमा उपचार सेवा लागू गरिदिएपछि हस्पिटलमा भीड उर्लिएको छ ।

गत एक आर्थिक वर्षमा सरकारी स्वास्थ्य प्रतिष्ठानहरुमा ५ लाख ८९ हजार ३ सय ३७ जनाले उपचार लिएको स्वास्थ्य कार्यालयको तथ्याङ्कले पुष्टि गरेको छ । माथिको तथ्यले नै झापामा अब घरघरमा विरामी भएको कथनलाई सावित गर्दछ । विरामी नभएको घर होइन, मानिस नै छैन भन्ने अवस्था आइसकेको छ ।

टप फाइभ रोगहरु

प्रेसर, सुगर, ग्यास्ट्रिक, कब्जियत र युरिक एसिड त्यस्ता रोग हुन्, जसका शिकार सबैभन्दा धेरै छन् ।

सरकारी तथा निजी हस्पिटलहरुमा जाने अधिकांश विरामी यिनै रोगको उपचार खोज्छन् । सबैभन्दा बढी प्रेसरका र त्यसपछिका धेरै विरामी सुगरका हुने गरेका छन् । ग्यास्ट्रिक, कब्जियत र युरिक एसिडका विरामी त्यसपछिका धेरै छन् । अव्यवस्थित जीवनशैली र अस्वस्थ खानपिनले घरघरमा विरामी बढ्दै गएको चिकित्सकहरुको भनाई छ ।

स्वास्थ्य कार्यालय झापाका प्रमुख मधुसुदन कोइरालाले घरैपिच्छे विरामी हुनुमा मुख्य कारण नै अस्वस्थकर खानपिन तथा अव्यवस्थित जीवनशैली रहेको दावी गरे । खान नपाएर होइन, खान नजानेर पनि मानिस विरामी हुन थालिसकेका छन् ।

‘विगतमा सर्ने रोगको महामारी थियो’, प्रमुख कोइरालाले भने, ‘त्यसमा सरकारले लगानी पनि धेरै गर्यो । तर, अहिले डाइविटिज, प्रेसर, मुटु, मिर्गाैला, क्यान्सर लगायतका नसर्ने रोगको विगविगी छ ।’

धेरै नेपालीको बानी कस्तो छ भने जब रोग लाग्छ तब मात्र अस्पताल धाउन थाल्छन् । रोगको पहिचान गर्नै ढिलो भए पछि रोग गडेर विराम निको नहुने अवस्थासम्म पुग्छ । यस्तो अवस्था क्यान्सर र मिर्गौलामा बढी आउने गरेको पाइएको छ ।

असन्तुलनले निम्तिन्छ मुटुरोग

बिर्तासिटी अस्पतालका मेडिकल डाइरेक्टर डा. अनिल बस्नेतका अनुसार खानपिन र रहनसहन सन्तुलित नहुँदा मुटु रोगी बढिरहेका छन् । ‘मानिसहरु आफ्नो स्वास्थ्यप्रति नै जिम्मेवार बन्न सकेका छैनन्’, उनले भने, ‘दैनिक आधा घण्टा दौडिनु अथवा शारीरिक व्यायाम गर्ने हो भने पनि मुटु रोगको सम्भावना कम हुन्छ ।’ पछिल्लो समय युवा उमेरमै हर्ट एट्याकको समस्या देखा पर्नुमा आहार र विहारमा भइरहेको लापरवाही कारक देखिन्छ ।

मिसावट भएको खानपिन, खसीको छाला, बोसो भएको मासु, अल्कोहल, जङ्कफुड लगायतका खाद्य पदार्थ नखान चिकित्सक वस्नेतको सुझाव रहेको छ । स्कुले बालबालिका तथा युवाहरुमा युरिक एसिड, कब्जियत, हड्डी तथा छालाको समस्या बढी देखिएको जनाउँदै उनी खानपिनको खराबीले यस्तो हुने बताउँछन् ।

फैलिदैछ महारोगहरु

मुटु, मिर्गौला र क्यान्सरका विरामी पहिचान हुने वित्तिकै विदेशका ठूला हस्पिटलहरुमा रेफर गरिहाल्ने चलन छ । विगतमा उपचार हुन नसकेर रेफर गरिए तापनि अब त्यस्ता रोगको सबै उपचार नेपालकै हस्पिटलमा सम्भव हुने बीएन्डसी टिचिङ हस्पिटलका क्यान्सर रोग विशेषज्ञ डा. वीरेन्द्र यादव बताउँछन् ।

सरकारले मुटु, मिर्गौला र क्यान्सर जस्ता घातक रोगको उपचारका लागि एक लाख रुपैयाँ सहयोग दिने गरेको छ । तर, उपचार यति महँगिएको तुलनामा सरकारको सहयोग हात्तीको मुखमा जिरा जति पनि हुँदैन ।

स्वास्थ्य कार्यालय झापाले २०७५ सालमा जोखिम युक्त रोगका विरामी भन्दै १ हजार ४ सय २४ जनालाई स्वदेशकै ठूला अस्पतालमा रेफर गर्दै आर्थिक सहयोगका लागि सिफारिस समेत गरेको छ ।

सहयोगको सिफारिस लिएको आधारमा मिर्गाैला, क्यान्सर र मुटु रोगका अधिकांश विरामी महिला भएको स्वास्थ्य कार्यालयकी तारा सुवेदीले बताइन् । गतवर्ष सिफारिस गरिएकोमा मुटुका ७७ जना, क्यान्सरका १ सय २२ र मिर्गौलाका २९ जना महिला थिए । सहयोगको सिफारिस पाउनेमा अरु खाले रोगी पनि छन् । पछिल्लो समय विषादीको मात्रा बढी भएको खानपानले गर्दा मानिसमा क्यान्सर जस्ता घातक रोगको प्रकोप बढेको बताइएको छ ।

क्यान्सर बन्दैछ भयावह

बीएन्डसी टिचिङ अस्पतालका क्यान्सर रोगका विशेषज्ञ डा. वीरेन्द्र यादवले क्यान्सर रोग समयमा उपचार गराए निको हुने बताए ।

उनले अन्धविश्वासमा लागे क्यान्सर रोगको जोखिम झन् बढ्ने जनाउँदै बीएन्डसी हस्पिटलको सौगातको रुपमा यही वर्षदेखि सञ्चालनमा आउने पूर्वाञ्चल क्यान्सर हस्पिटलमा संसारको विकसित मुलुकमा हुने सरह क्यान्सरको उपचार हुने बताउँछन् ।

किटनासक भएको खानेकुरा, पोलेको मासु, अल्कोहल र सुर्तीजन्य पदार्थ धेरै सेवन गरे क्यान्सरबाट जोगिन गाह्रो हुने उनको भनाई छ । सुर्तीजन्य पदार्थबाट मुख र घाँटीको क्यान्सर रोग लाग्ने यादवको दावी छ ।

खकारमा रगत आउनु, कालो दिशा तथा रातो रगत आउनु, शरीरका विभिन्न भागमा अनौठो किसिमको गाँठागुठी हुनु क्यान्सर रोगका लक्षण हुन् ।

दिउँसोको खाजामा मकै, रोटी, चिउरा, तरकारी सलादयुक्त खाना र दही खाएमा शरीरलाई अत्यधिक फाइदा हुन्छ भने बिहान एक छाक भात र बेलुका रोटी खानु उत्तम रहेको उनको भनाई छ । पछिल्लो समय गाउँ नै पिच्छे क्यान्सरका विरामी देखिएका छन् । मृत्यु हुने मानिसहरुमा समेत क्यान्सर नै कारण भएको देखिन्छ ।

बिरामी बढेका बढ्यै

आव २०७५/०७६ मा झापाको सरकारी अस्पतालहरुमा उपचार गर्न आउने विरामी ५ लाखबाट उकालो लागेका थिए भने ०७४÷०७५ मा यो सङ्ख्या ४ लाख १३ हजार ३ सय ७८ जना थियो ।

स्वास्थ्यको तथ्याङ्क अनुसार ०७३÷०७४ मा ४ लाख ५ हजार ८ सय ७२ जना विरामी उपचार गर्न आएका थिए । यता, निजी अस्पतालमा आव ०७५/०७६ मा २ लाख ६२ हजार ४७ जना, ०७४÷०७५ मा ३ लाख २९ हजार ३ सय ६९ जना र ०७३÷०७४ मा २ लाख ६४ हजार २ सय ८० जना विरामी निजी अस्पतालमा उपचार गर्न गएका थिए । अघिल्लो वर्षको तुलनामा ०७५/०७६ सालमा झापामा १४ दशमलव ६ प्रतिशतले विरामीको सङ्ख्यामा वृद्वि भएको छ ।

बेहाल छ मिर्गौलाका विरामीको

झापामा मेची अञ्चल अस्पताल, ओमसाई पाथिभरा, विर्तासिटी हस्पिटल लगायतले सरकारी अनुदानका आधारमा मिर्गौलाको निःशुल्क डाइलासिस गरिँदै आएका छन् ।

अग्रज पत्रकार अमृतलाल श्रेष्ठका अनुसार सरकारले निःशुल्क डाइलासिसको सुविधा दिएर मात्र विरामीलाई नपुग्ने अवस्था छ । श्रेष्ठ आफै विगत तीन वर्षदेखि मिर्गौलाको डाइलासिस गराइरहेका छन् ।
मृर्गौलाको विरामी भएपछि उपचारमै खेतबारी र भएभरको सम्पत्ति सकिने अवस्था छ । प्रत्यारोपण भरपर्दो उपचार भएकाले यसका लागि ठूलो धनराशी चाहिने हुन्छ । जो जुटाउन अन्त्यमा चन्दा नै माग्नु पर्ने अवस्था छ ।

ओमसाई पाथिभरा हस्पिटलका डा. अमर कपुरीका अनुसार क्रोनिक खालका विरामीलाई मिग्रौलाको समस्या ज्यादा हुन्छ । सामान्यतया पिसावमा इन्फेक्सन भएपछि त्यसको असर मिर्गौलामा देखापर्ने उनी बताउँछन् ।

‘विभिन्न प्रकारका अनावश्यक औषधिको सेवनले पनि मिर्गौलालाई असर गर्छ’, चिकित्सक कपुरीले भने, ‘बेलैमा विरामीले रोगको पहिचान गरेर उपचार नगरे मिर्गौला ड्यामेज हुने डर हुन्छ ।’

हातखुट्टा दुख्ने, सुनिने, झम्झमाउने, कट्कट् खाने, वाक्वाकी लाग्ने, पातलो दिसा आउने, सास बढ्ने, खाना अपच हुने, निन्द्रा नलाग्ने लगायतका लक्षणहरु देखिए तत्काल उपचारमा ध्यान दिन जरुरी रहेको उनी बताउँछन् । माछा मासु धेरै नखाने, सन्तुलित भोजन गर्ने, दैनिक व्यायाम गर्ने र आफ्नो जीवनशैलीमा परिवर्तन गरे मिर्गौला स्वस्थ हुने चिकित्सकहरुको सुझाव छ ।

स्वास्थ्य बिमा गर्नेहरु २ लाखबढीे

झापामा २ लाख ४१ हजार ५ सय जनाले स्वास्थ्य विमा गरेका छन् ।

स्वास्थ्य विमा बोर्ड झापाका दर्ता अधिकारी दिलिप पोखरेलले २०७४ असोज २५ गतेदेखि दर्ता प्रारम्भ भएको स्वास्थ्य विमा २०७४ मङ्सिर १ गतेदेखि झापामा लागू भएको बताए । उनका अनुसार धुलाबारी, शनिश्चरे, बनियानी, सुरुङ्गा, शिवगञ्ज र खजुरगाँछी स्वास्थ्य केन्द्रमा स्वास्थ्य विमा लागू भइसकेको छ ।

मेची अञ्चल अस्पताल, दमक अस्पताल, मेची आँखा अस्पताल, लाइफलाइन अस्पताल, आम्दा अस्पताल, एडभान्स मल्टिस्पेसलिटि अस्पताल दमक र कनकाई अस्पताल बिर्तामोडमा प्रारम्भ देखिनै सुरु भएको छ । बीएन्डसी हस्पिटल, बिर्तामोड आई हस्पिटल, दृष्टि आँखा अस्पताल र मेची नेत्रालयमा भर्खरै स्वास्थ्य विमा उपचार कार्यक्रम सुरु भएको छ ।

अस्पतालहरुमा भीड बढ्यो

हस्पिटल सञ्चालकहरु स्वास्थ्य सम्बन्धी जागरुकता बढेको कारण झापामा उपचारका लागि हस्पिटल धाउने राम्रो बानीको विकास भएको बताउँछन् ।

 

विमा लागू भएका हस्पिटलमा त झन् विरामीको व्यवस्थापन गर्नै कठिन भइरहेको देखिन्छ । विरामीको व्यवस्थापन गर्न नसकेका कारण विमाको उपचार गर्न आएकाहरुले कतिपय हस्पिटलमा दोस्रो दर्जाको हेपिएको विरामीको व्यवहार भोग्नु परिरहेको गुनासो गरेका छन् ।

पैसा तिर्नेलाई तत्कालै उपचार गरिदिने र विमाका विरामीलाई सात दिनसम्म झुलाएर हैरान पार्ने क्रम बढेको सेवाग्राहीको गुनासो छ ।

हेरौँ हस्पिटलहरुमा कति आउँछन् विरामी :

मेची अञ्चल अस्पताल

मेची अञ्चल अस्पताल भद्रपुरमा आर्थिक वर्ष ०७५÷०७६ मा १ लाख ६ हजार ५ सय २८ जना विरामी विभिन्न रोगको उपचार गर्न आएको अस्पतालका प्रशासन प्रमुख मनोज पोखरेलले बताए । त्यस्तै, ०७४÷०७५ सालमा ९२ हजार २ सय ७२ जना विरामी उपचार गर्न सो अस्पताल आएका थिए ।

बीएन्डसी अस्पताल

बीएन्डसी टिचिङ अस्पताल बिर्तामोडमा आर्थिक वर्ष ०७५÷०७६ मा १ लाख ३६ हजार ८ सय ८२ जना विरामी विभिन्न रोगको उपचार गर्न आएको अस्पतालका प्रशासन प्रमुख प्रमिस गिरीले बताए ।

०७४÷०७५ सालमा १ लाख ६६ हजार ३ सय २४ जना विरामी उपचार गर्न सो अस्पताल आएका थिए । अस्पतालले ०७५÷०७६ मा १२ हजार ३ सय २४ जना मानसिक रोगीको उपचार गरेको छ । मुटु, मधुमेह, प्रेसर, थाइराइड लगायतका २७ हजार ३ सय २५ जना विरामीको उपचार गरेको गिरीले जानकारी दिए ।

बिर्तासिटी अस्पताल

पूर्ण–टुङ्ग बिर्तासिटी अस्पताल बिर्तामोडले २०७६ वैशाखदेखि साउन महिनाको चार महिनामा २ हजार १ सय ७० जना विभिन्न रोगका विरामीको उपचार गरेको जनाएको छ ।

त्यस्तै, ०७५÷०७६ सालमा सीकेडीका ३६, मुटुका १ सय २४, सीएका २८, एचटीएनका २ सय २२, मधुमेहका २ सय ६२, सीएलडीका १ सय ४८ जना विरामीको उपचार गरीएको अस्पतालका सञ्चालक आनन्द बस्नेतले जानकारी दिए ।

ओमसाई अस्पताल

ओमसाई पाथिभरा अस्पताल भद्रपुरले २०७५÷०७६ मा ३१ हजार ५ सय ७१ जना विरामीको उपचार गरेको थियो ।

अस्पतालले १ हजार ५ सय ४९ जना विभिन्न रोगका विरामीको शल्यक्रिया गरेको अस्पताल प्रशासन शाखाका मनोज दाहालले जानकारी दिए ।

यसैगरी, २०७४÷०७५ मा २२ हजार ४ सय १२ जना विरामीको उपचार गरिएकोमा १ हजार ५ सय २८ विरामीको शल्याक्रिया गरिएको बताइएको छ ।

मनमोहन अस्पताल

मनमोहन सामुदायिक अस्पताल बिर्तामोडले २०७५÷०७६ मा ७५ हजार ५ सय ५७ जना विरामीको उपचार गरेको अस्पताल सञ्चालक रोमणी भट्टराईले बताए ।

अस्पतालले २ हजार ८ सय ४३ जना विरामीको शल्यक्रिया गरेको छ । मुटुका १४, क्यान्सरका ११ र मिर्गौलाका ३८ जना विरामीले उपचार पाएको उनले जानकारी दिए ।

त्यस्तै, २०७४÷०७५ मा ४५ हजार ४ सय ४४ जना विरामीले उपचार पाएका थिए भने १ हजार ८ सय ३२ जना विरामीको शल्यक्रिया गरिएको थियो ।

 

कनकाई हस्पिटल

कनकाई हस्पिटल बिर्तामोडमा आर्थिक वर्ष २०७५ साउनदेखि २०७६ असार महिनासम्ममा १९ हजार ३ सय १३ जना विरामी विभिन्न रोगको उपचार गर्न आएको अस्पतालका सञ्चालक ख्याम श्रेष्ठले बताए । अस्पतालमा २ हजार ७९ जनाको शल्याक्रिया भएको थियो भने डिप्रेसनका २ सय १० जना विरामीको उपचार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    loktantrapost@gmail.com

हाम्रो बारेमा

सम्पादक :- मोहन कुमार नेउपाने
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: