मेचीनगरले काम गर्नै नसकेको नेकपा बाहेकका दलहरुको ठहर – Loktantra Post Loktantra Post
                                                                                                                                                                                                                           

मेचीनगरले काम गर्नै नसकेको नेकपा बाहेकका दलहरुको ठहर

ज्ञापन पत्र बुझाउन जाँदै तीन दलका नेताहरु ।

।। अर्जुन कार्की ।।

मेचीनगर । नेकपा बाहेकका मेचीनगरका राजनीतिक शक्तिहरु नगरपालिकाले जनअपेक्षा बमोजिमको काम गर्न नसकेको ठहर गर्दै विरोधमा उत्रिएका छन् ।

नेपाली काङ्ग्रेसको नेतृत्वमा समाजबादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको नगर नेतृत्वले मङ्गलवार मेचीनगर नगरपालिकासमक्ष विरोध ज्ञापनपत्र बुझाउँदै २१ बुँदे माग पेश गरेको छ ।

दलहरुले प्रस्तुत गरेका २१ बुँदे मागपत्रमा तीन वर्ष पुग्नै लाग्दा मेचीनगरका जनप्रतिनिधिले जनताको चाहना र आफ्नो पूर्व प्रतिबद्धता अनुसारको काम गरेर देखाउन नसकेको ठहर गरिएको छ ।

नेपाली काङ्ग्रेसका नगर सभापति इन्द्र बुढाथोकी, समाजबादी पार्टीका नगर अध्यक्ष ओमप्रकाश खापुङ र राष्ट्रिय प्रजातन्त्र पार्टीका नगर अध्यक्ष सुशिल आचार्यले ज्ञापनपत्रमा हस्ताक्षर गरेका छन् ।

मेचीनगरमा नगर प्रमुख पदमा नेपाली काङ्ग्रेसबाट विमल आचार्य निर्वाचित भएका हुन् भने उपप्रमुख मीना उप्रेतीसहित बहुमत जनप्रतिनिधि नेकपाबाट निर्वाचित हुन् ।

ज्ञापन पत्र बुझाउन तीन दलका उच्च नेताहरु ठूलो दलबलका साथ नगरपालिकामा आएका थिए । उनीहरुले आआफ्नो दलको झण्डा बोकेका थिए भने नगरपालिकामा भीडभाड बढेपछि प्रहरी समेत परिचालित भएको थियो ।

ज्ञापन पत्र बुझेपछि मन्तब्य राख्दै नगरका प्रमुख र उपप्रमुख ।

यस्ता छन् मागहरु : (पुरै पढ्न यहाँ क्लिक गर्नुहोस्)

दलहरुले चर्को कर, खोला दोहन, हात्ती आतङ्क, सार्वजनिक जग्गा अतिक्रमण, टेलिफोन, शिक्षा, स्वास्थ्य लगायतका विषयमा नगरपालिकाको ध्यानाकर्षण गराएका छन् ।

ज्ञापनपत्रमा नदीजन्य पदार्थको राजस्व अत्यधिक बृद्वि भएको जनाउँदै प्रदेश र स्थानीय सरकारले निर्धारण गरेको कर पूनःविचार गरी सच्याउनु पर्ने माग गरिएको छ ।

ठेकदारसँग गरिएका विभिन्न सम्झौताहरु तत्काल कार्यान्वयनमा ल्याउनु पर्ने, गौरवका योजनाहरु तयार गर्दा राजनीतिक दलहरुसँग सहकार्य गर्नुपर्ने, नगरपालिकामा समायोजन भएका साविकका गाविसहरुमा समायोजन पूर्वका निर्माण भएका घरहरुको नक्सा पास निःशुल्क हुनु पर्ने र न्यायका लागि आएका अधिकांश मुद्दाहरुको न्याय सम्पादन छिटो र प्रभावकारी बनाउनु पर्ने मागपत्रमा उल्लेख छ ।

नेपाल चिया विकास निगमले बुझाउनु पर्ने करोडौँ करको रकम उठाउन पहल गर्नु पर्ने, नगरबासीलाई करको दायरामा ल्याउन थोरैै कर धेरै करदाता बनाउन जोड दिनुपर्ने, टेम्पो, सिटि सफारी लगायतका तीनचक्के सवारी साधानलाई उचित कर र पार्किङको व्यवस्था गरिनु पर्ने र बाहुनडाँगी, मागुरमाडी लगायतका दुर्गम ठाउँमा टेलिफोनको टावरको व्यवस्था गर्नु पर्ने दलहरुको माग छ ।

कुलो, पैनी, तथा वगान क्षेत्रका ऐलानी जग्गा व्यक्तिको नाममा दर्ता भइरहेकाले अबिलम्व संरक्षण गर्नुपर्ने, काँकरभिट्टा क्षेत्रका सार्वजनिक महत्वका जग्गाहरु राष्ट्रिय आवास कम्पनीको नाममा रहेकाले नगरपालिकाको नाममा ल्याउनु पर्ने, प्यारीभिट्टा बसपार्कलाई व्यवस्थित गरी सञ्चालनमा ल्याउनु पर्ने, मेचीनगरमा कृषि र पर्यटन समृद्धिको ूुल आधार भएकाले एक व्यक्ति वा फर्म, एक सुविधा दिइनुपर्ने र भारतबाट भित्रिएको अखाद्य उपभोग्य सामाग्रीहरुले स्वास्थ्यमा असर पुर्याएकोले नगरभित्र खाद्य प्रयोगशाला स्थापना गर्नु पर्ने माग गरिएको छ ।

नगरका शैक्षिक संस्थाहरुलाई वजेटको व्यवस्था गर्नु पर्ने, स्वास्थ्यमा आउन सक्ने समस्यालाई मध्यनजर गरेर स्थानीय मेची आम्दा अस्पताल तथा अन्य स्वास्थ्य संस्थाहरुलाई चौबीसै घण्टा खुलाउनु पर्ने, आपतकालिन सेवा सञ्चालन गरिनु पर्ने, एम्बुलेन्स र शवबाहनको व्यवस्था गरिनुपर्ने, फोहोरमैला व्यवस्थापन गर्न ल्याण्डफिल्ड साइडको व्यवस्था गर्नु पर्ने र नेपालको संविधान २०७२ ले स्वच्छ पिउने पानीलाई व्यक्तिको मौलिक अधिकारको रुपमा व्यवस्था गरेकोले सबै जनताको घरघरमा पुग्ने गरी खानेपानी उपलब्ध गराउनु पर्ने दलहरुले मागपत्रमा समेटेका छन् ।

जङ्गली हात्तीको संरक्षण र जनधनको क्षतिलाई रोक्न सोलार फेन्सिङ, टर्चलाइट, पटाका लगायतका सामग्री वडामा समेत उपलब्ध गराउनु पर्ने, लागुऔषधजन्य पदार्थहरुको कुलतबाट रोक्न युवाहरुलाई रोजगारमूलक काममा प्रेरित गराउनु पर्ने र नगर क्षेत्रभित्र बस्ने विभिन्न जातजातिका धर्म, संस्कृतिहरुको जगेर्ना गर्दै उनीहरुको चाडपर्वमा सार्वजनिक विदा दिइनु पर्ने लगायतका मागहरु दलहरुले राखेका छन् ।

यस्तो थियो माहोल ः
मङ्गलबार विहान दश बजे इटाभट्टास्थित मेचीनगर नगरपालिकाको कार्यालय अगाडि मान्छेहरुको भीडभाड थियो ।

कार्यालय समय भए पनि मूलप्रवेशद्वार बन्द थियो । सुरक्षाकर्मीहरुको उपस्थिती बाक्लो हुँदै गइरहेको थियो । भित्र नगर पिता र अन्य जनप्रतिनिधि, कर्मचारी र सेवाग्राही आ–आफ्नो काममा व्यस्त थिए ।

काङ्ग्रेस, राप्रपा र समाजवादी पार्टीका नेता तथा कार्यकताहरुको बाक्लै भीड बढ्न सुरु भइसकेको थियो । पूर्वपश्चिम राजमार्गको चोकदेखि नगरपालिका गेटसम्म सडकको दायाँबायाँ कार्यकर्ताहरुको मोटरसाइकल, कार र जिपले भरिएको थियो ।

ठिक ११ वजेको समयमा नेपाली काङ्ग्रेस मेचीनगरका सभापति इन्द्रबहादुर बुढाथोकीको नेतुत्वमा राप्रपा नगर अध्यक्ष सुशिल आचार्य, समाजवादीका नगर अध्यक्ष ओमप्रकाश खापुङ लगायतका नेता तथा कार्यकर्ताहरु रातोसेतो, हरियो र पहेलो झण्डा फराउँदै दलबलका साथ गेटबाट भित्र पसे । माहोल आन्दोलनमय थियो ।

काङ्ग्रेस नगर सभापति बुढाथोकीले मागपत्रको फायल बोकेका थिए । कार्यालय पस्नु अघिको मुख्य गेटमा सबैजना अडिए । कार्यकर्ताले हो–हल्ला गर्न थाले–‘मेयर, उपमेयरलाई यहि गेटमा बोलाउनु पर्छ ।’

नाराजुलुसको स्थिति भएपछि प्रहरीले थप सुरक्षाकर्मी मगाउँदै थियो । यस्तो लाग्दै थियो कि नगरपालिकाको कार्यालय परिसरभित्र लाठीचार्ज हुने सम्भावना छ ।

त्यतिखेरसम्ममा संविधानसभा सदस्य उषा गुरुङ, काङ्ग्रेसका जिल्ला सचिव प्रेम सम्वाहाम्फे, कोषाध्यक्ष केशवराज पाण्डे, राप्रपा क्षेत्र नं. १ का क्षेत्रीय अध्यक्ष रमेश दाहाल लगायतका नेताहरु नगरपालिका गेटमा भेला भइसकेका थिए ।

सर्वसाधारणहरु भन्दै थिए–‘मेयर र उपमेयरलाई दवाव दिन काङ्ग्रेसकै मान्छे आएछन् । नेकपाका मान्छे त देखिएनन् ।’

त्यति हुँदासम्म नगर प्रमुख विमल आचार्य र उपप्रमुख मिना उप्रेती आफ्नो कार्यकक्षमा व्यस्त थिए । होहल्ला हुन थालेपछि मेयर–उपमेयर र डीएसपी राजेन्द्र पोखरेल मुख्य गेटमा आए ।

त्यतिखेरसम्म भिड निक्कै बढिसकेको थियो । त्यसैबेला सभापति बुढाथोकीले आफ्नो हातमा बोकेको फायल पल्टाउँदै मागपत्र पढ्न सुरु गरे । २१ वटा बुँदाको व्याख्या गरिसकेपछि काङ्ग्रेस सभापति बुढाथोकीले मेयर र उपमेयरलाई ज्ञापनपत्र बुझाएका थिए । उनलाई छेउमा रहेका राप्रपाका नगर अध्यक्ष आचार्य र समाजवादीका नगर अध्यक्ष खापुङले ज्ञापनपत्र बुझाउन साथ दिएका थिए ।

बेलाबेला झक्झकाइदिनु होला ः
ज्ञापनपत्र बुझ्दै मेयर आचार्य र उपमेयर उप्रेतीले निर्वाचित भएको अढाई वर्षमा धेरै काम गरेको दावी गरे । तर आफैले सोचे जति काम गर्नु नसकेको पनि उनीहरुले स्वीकारे ।

‘तपाईहरुले हामीलाई यसरी बेलाबेला झकझकाई दिनु होला,’ मेयर–उपमेयरको भनाई थियो–‘तपाईहरुले उठाएका महत्वपूर्ण विषयमा सानो आकारको सर्वदलीय समिति बनाएर छलफल गर्नेछौं र समस्या समाधान गर्ने प्रयासमा लाग्ने प्रतिबद्धता व्यक्त गर्दछौं ।’

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    loktantrapost@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
झुलन रेग्मी
प्राविधिक समर्थन :- मौसम न्यौपाने
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: